दोस्रो विश्वयुद्धको समाप्तिसँगै भारत बेलायती उपनिवेशबाट मुक्त हुने वातावरण बनिरहेको थियो । अंग्रेज फर्किन त फर्किन्छन् तर कहिले ? एकिन थिएन । अग्रेजविरुद्ध भारतमा दिनहुँ सभा, नारा, जुलुस, हडताल चलिरहेको थियो । भारतीय स्वतन्त्रता आन्दोलनको प्रभाव नेपालमा पर्दै थियो । यस प्रसंगमा गणेशमान सिंहले ‘मेरा कथाका पानाहरु’ नामक पुस्तकमा भनेका छन् — ‘ती दिन नेपालमा चाहिँ श्री ३ महाराजकी जय ! बाहेक समूहगान अर्को हुँदैनथ्यो ।’ छिमेकी भारतमा इन्कलाव जिन्दावादको नारा धन्किरहँदा यता नेपालमा भने किसानहरु नुहाउने बेला सामूहिकरुपमा अर्को नारा लगाउथे ‘हर हर महादेव पानी देऊ देऊ ।’ जनताको ध्यान राजनीतिबाट अन्यत्र खिच्न राणाहरुले ‘हरे राम हरे कृष्ण’ भजन खुब चलाएका थिए । बौद्धमार्गीहरुबीच ‘तारेमाम’ चलाइएको थियो ।
भारतीयस्वतन्त्रता आन्दोलनको हावाले जनता सडकमा नआउन् भनेर राणा सरकारले ‘काठमाडौं उपत्यका’ भित्र चार जना जम्मा भएर हिँड्न नपाउने गरी निषेधाज्ञा जारी गरेको थियो । कम्युनिस्ट नेता तुल्सीलाल अमात्यले आफ्नो जिवनीमा लेखेका छन् ‘राणाहरुले ‘हरे राम, हरे कृष्ण’ र ‘तारेमाम’ को भजन गरी जुलुस निकाल्न पाइन्छ भनेकाले दुवै भजन मिलाएर हामीले जुलुस निकाल्याैँ । पाटन हुदै शंखमूल पुगेपछि प्रहरीले घेरा हाल्यो । पच्चीस सय मानिस थियाैँ । नाङ्गो तरबार लिएर मिलिट्री अफिसरहरु हाम्रो जुलुसभित्रै घुसे । हामी नारावाजी गरेर थपक्क बसेका थियो । ट्रकमा हाली हनुमानढोका लगिहाले ।’
प्रथम र दोस्रो ‘विश्वयुद्ध’मा बेलायती सेनामा भर्ती भएर युरोपलगायत संसारभरका युद्ध मोर्चामा लडेका उनीहरुले त्यहाँ भएका विकास निर्माणका कथा नेपालीगाउँ घरसम्म पुर्याए । एकैपटक देशभरका जनताले नागरिक अधिकार, लोकतन्त्र, मानवअधिकार र राणाको अत्याचारबारे थाहा पाउन थालेका थिए । तर, शासकलाई भगवान विष्णुको अवतार मान्ने त्यो युगमा उनीहरुविरुद्ध बोल्ने हिम्मत भने सामान्य जनतामा थिएन ।
अर्कोतर्फ भारतमा अध्ययनरत नेपाली विद्यार्थी र देश निकालामा परेकाहरु राणा विरोधी वातावरण बनाउन सक्रिय थिए । तिनताका जिद्दी र कठोर शासक मानिने जुद्धशमशेर राणा सत्तामा थिए । उनकै पालामा पर्चामात्र छरेको सामान्य विषयमा चार जनालाई (शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठ) मृत्युदण्डजस्तो अत्यन्तै कठोर सजाय दिइएको कसैलाई चित्त बुझेको थिएन । तैपनि, राणाको अत्याचारविरुद्ध बोल्ने हिम्मत धेरैमा थिएन ।
तर, यस घटनाले स्वयं श्री ३ जुद्धको मानसिक शान्ति भने खल्बलियो । सानोतिनो कुरामा झनक्क रिसाउने स्वभाव बढ्दै गयो । मनमा शान्ति आउला भनेर महाराजले पण्डितहरु जम्मा गरी भजन किर्तन गरे । इतिहासकार पुरुषोत्तम राणा श्री ३ हरुको इति वृत्तान्त पुस्तकमा लेख्छन् — महाराजले एक हजार गाई दान गरे । पुराण लगाए । आफ्नो शरीरको तौल बराबर सुन दान गरे । त्यही मौका छोपेर मोहनशमशेर र उनका भाइहरु महाराजकी कान्छी महारानीलाई तर्साएर जुद्धलाई राजीनामा गराउने दाउमा थिए । रानीहरुले पनि जुद्धलाई पद त्याग गरी शान्तिपूर्वक भारत वा अन्यत्र कतै बस्न दबाब दिन थाले । यस्तै दाउपेचबीच महाराजको बिछौना र तकियामुनि रहस्यमय ढंगबाट पर्चाहरु भेटिन थाले । राणा परिवारभित्रकै षड्यन्त्रमा परेका महाराज आफ्नै शयन कक्षमा अब तिम्रो आयु धेरै दिन बाँकी छैन भन्ने पर्चा भेटिएपछि त झन् तर्सिए ।
यसबीच मोहनशमशेर राणाले स्वर्गद्वारी आश्रम निवासी रेसुङ्गाका योगीलाई काठमाडौं झिकाए । यी तिनै योगी थिए जसले भविष्यवाणी गरी जुद्वशमशेर प्रधानमन्त्री हुने मिति तोकेका थिए र जुन शतप्रतिशत मिलेको थियो पनि ।
योगीले महाराजलाई एकान्तमा सरकारको भोग विलास सकिने बेला आयो त्यसैले राजकाज छोडेर आफ्नो बिग्रिएको छवि सुधार्न उचित हुन्छ भनिदिए । योगीको वचनले महारानीहरुको सातो गयो । दरबारमा कोलाहल मच्चियो । अनि श्री ३ जुद्धले मोहनशमशेरलाई बोलाई पदत्याग गर्ने विचारमा आफू पुगेको भन्दै उनको राय मागे । के खोज्छस् काना आँखो भने झैँ भयो महाराजको वचन उनलाई । पद छोडे इज्जत प्रतिष्ठा बढ्छ र सबैले राजर्षि महाराज भन्छन्, जयजयकार गर्छन् भनेर उकासी दिए । यसरी जुद्धशमशेर पद त्याग गर्न राजी भए । उनका लागि रिडी नजिकै अर्गेलीमा भव्य महल तयार गरियो । ज्योतिषिको सल्लाहबमोजिम राजपाट छोड्ने तिथि तय भयो । अनि ७१ वर्षीय महाराजले भाइभारदार, जंगी तथा निजामती कर्मचारीलाई सिंहदरबारमा हाजिर गराई चाँदीको बट्टा र सम्झनाका लागि अरु समान दिएर सत्ता हस्तान्तरण समारोह आयोजना गरे — २००२ साल मंसिर १४ गते ।
पद्म शमशेरलाई श्री ३ को श्रीपेच पहिराएर उनी राजपाट छाडेर रिडी जाने तयारीमा थिए । जम्मा १३ वर्ष २ महिना २६ दिन शासन चलाएका जुद्वमशेरकै पालामा चार सहिदको हत्या हुनुका साथै कैयाैं राजबन्दीले थुनामै ज्यान गुमाउनु परेको थियो । मानिसहरुको ज्यान लिनु परेकोमा उनलाई भारी पश्चाताप थियो । त्यसैले ‘शेष जीवन आत्म चिन्तनमा बिताउने’ घोषणा गरेर महाराज जुद्धले आफ्नो एकान्त जीवनमा कसैले चिठीपत्र नपठाउनु’ भन्ने आदेश समेत जारी गरे ।
संस्कृतिविद् सत्यमोहन जोशी श्री ३ जुद्धले पद्मलाई श्रीपेच पहिराएर सिंहदरबार छोडेको घटना आँखैअघि हेर्न पाउनेमध्येका एक थिए । विसं २०७२ साल वैशाखमा पाटनस्थित आफ्नै निवासमा जोशीले लेखकलाई त्यो दिनको घटना बारे बताए —पहेलो रेसमको फित्ता धोती र कुर्ता लगाएका महाराज बग्गीमा रिडीतर्फ लागे । पद्मलाई राजपाट सुम्पिने बेला महाराज जुद्धले भनेका थिए — ‘ल कुलको इज्जत राखेर काम गर्नु । जोशीले सम्झिए महाराजले आफ्नो श्रीपेच पद्मको शिरमा लगाइदिए । अनि सिंहदरबारबाट बिदा हुने तयारीमा लागे । नयाँ महाराज पद्मले काकाको चरणमा ढोग गरे । अनि गेरु वस्त्र लगाएका महाराज जुद्ध हात हल्लाउँदै सिंहदरबारबाट बाहिरिए ।’
मनमा अलिकति चोट पर्नासाथ रोइहाल्ने स्वभावका पद्म शमशेर महाराज जुद्ध बाहिरिएपछि भक्कानो छाडेर रुन थाले । सस्कृतिविद जोशीले सम्झिए श्रीपेच धारण गरेलगत्तै भाषण गर्ने क्रममा महाराज पद्मले भनेका थिए राजा भनेको दुनियाँको नोकर हो । मैले आफूलाई तिमीहरुको नोकर सम्झेको छु । बस महाराजको बोली रोकियो । उनी फेरि डाँको छोडर रुन थाले ।