site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
मलाई विश्वास छ, मेरो प्रस्तावक शेरबहादुर देउवा र समर्थक रामचन्द्र पौडेल रहनुहुनेछ 
Sarbottam CementSarbottam Cement

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले १४ औँ महाधिवेशनमा सभापति पदको तयारी गरेपछि यसले कांग्रेसभित्र एक किसिमले तरङ्ग सिर्जना गरेको छ । लामो समय शेरबहादुर देउवाको  समूहमा रहेका र देउवालाई नै निरन्तर सहयोग गर्दै आइरहेका नेता निधिको उमेदवारी चर्चालाई कतिपयले राजनीतिक ‘स्टन्ट’का रुपमा चित्रण गरे पनि उनले त्यसलाई ठाडै खारेज गरेका छन् ।

उनले आफ्नो उमेदवारी संविधान कार्यान्वयन र आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई बलियोरुपमा अघि बढाउनका लागि भएको तर्क गर्छन् । संविधान कार्यान्वयनमा बढी जोड दिएका निधिले कसैका विरुद्धमा पनि आफ्नो उमेदवारी नभएको र सहमतिमा नेतृत्व चयन हुन सकेमा आफू तयार रहेको पनि बाह्रखरीसँगको कुराकानीमा बताए ।

प्रस्तुत छ, कांग्रेस सभापतिको लागि तयारी गरेपछिको राजनीतिक तरङ्ग, पार्टीभित्रको समीकरण, आगामी महाधिवेशनलगायतका विषयमा बाह्रखरीका बलराम पाण्डे केशव सावदसँग निधिले गरेको कुराकानीको अंशः

Prabhu Bank
Agni Group
NIC Asia

तपाईँले कांग्रेस सभापतिमा उमेदवारीको तयारी गरेपछि पार्टीभित्र तरङ्ग सिर्जना भएको छ । यसलाई तपाईँले कसरी लिनुभएको छ र आगामी नेतृत्वको तयारी कसरी गरिहनुभएको छ ?

यो तरङ्गको विश्लेषण, प्रभाव, यसको चरित्रको बारेको परिभाषा त तपाईं पत्रकारहरुले गर्ने हो, लेखकहरुले गर्ने हो, राजनीतिकशास्त्री, बुद्धिजीवी साथीहरुले गर्ने हो । यो तरङ्गको अर्थ के हुन्छ, तरङ्ग कस्तो किसिमको छ, तरङ्गहरुको बारेमा अध्ययन गर्ने, रुचि राख्ने वैद्धिक जमात हुन्छ, बरु तपाईंहरुले नै बुझेर मलाई भनिदिँदा राम्रो हुन्छ । 

Global Ime bank

तर, मैले यो तरङ्गलाई राम्रो अर्थमा सकारात्मक अर्थमा लिएको छु । तरङ्ग दुई प्रकारको हुन्छ, एक नकारात्मक, अर्को सकारात्मक । मैले यो तरङ्गलाई सकारात्मकरुपमा लिएको छु । यसले मैले गरिरहेको प्रयासलाई हौसला दिएको छ, उर्जा दिएको छ । 

मैले साउनको २९ गते पार्टी सभापतिको निवासमा गएर अहिले कम्युनिस्ट सरकारबाट भइरहेका गतिविधि र क्रियाकलापहरुबाट देशको स्थिति देखेर नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवाद मान्नेहरु सबै जनताहरु चिन्तित रहेको अवस्था एकातिर रहेको विषयमा जानकारी गराएँ । 

अर्कातिर नेपाली कांग्रेसको १४ औं महाधिवेशन आउँदै छ । महाधिवेशनलगत्तै लगभग एक वर्षपछि देशमा राष्ट्रिय चुनाव हुन्छ । नयाँ संविधानअनुसार हुने दोस्रो चुनावमा नेपाली कांग्रेस विजयी भएन भने अहिलेकै सरकारमा रहेका कम्युनिस्ट पार्टीहरु नै सरकारमा आए भने हामीले ल्याएको संविधान, प्रणाली, लोकतन्त्रमाथि नै ठूलो खतरा छ भन्ने कुरा महसुस सबैले गरेका छन् । मेरो पनि विश्लेषण यही हो । त्यस कारणले नेपाली कांग्रेसले १४ औं महाधिवेशनलाई आगामी राष्ट्रिय निर्वाचनसँग जोडेर त्यसैअनुसार तयारीको रुपमा आयोजित गर्नुपर्छ भनेँ ।  

उहाँले पनि हो, सही हो भन्नुभयो । त्यसका लागि दुईटा कुरा चिन्ता पनि छ, ध्यानाकर्षण पनि छ भनेर भनेँ । एउटा कुरा के भने कांग्रेस वैचारिक रुपमा प्रतिवद्ध हुनुपर्‍यो, प्रष्ट हुनुपर्‍यो, क्लिएर हुनुपर्‍यो । वैचारिक रुपमा प्रष्ट हुनुपर्‍यो भन्नुको अर्थ केसँग जोडिएको छ भने संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली ।

जुन प्रणाली ल्याइएको छ त्यो नेपाली कांग्रेसकै नेतृत्वमा भएको हो । हामी त्यसमा गर्व गर्दछौं । त्यसैगरी नेपाली कांग्रेसकै नेतृत्वमा संविधान पनि जारी गरेका छौं । हो, त्यसप्रति अहिलेको सरकार प्रतिवद्ध छैन, राजनीतिक दलको रुपमा हेर्ने हो भने नेपाली कांग्रेसबाट नै सबैले आशा गरेका छन् । यो रुपमा नेपाली कांग्रेसको प्रतिवद्धता एकतावद्ध भएर देखिनुपर्‍यो १४ औं महाधिवेशनमार्फत् । 

त्यसैले अहिलेको संविधान, अहिलेको संघीय प्रणाली, लोकतान्त्रिक प्रणाली, गणतन्त्रात्मक प्रणाली, समावेशी प्रणाली जुन हामीले ल्याएका छौं, त्यसप्रति नेपाली कांग्रेस क्लियर पनि छ र कमिटेड पनि छ । 

अर्को महत्वपूर्ण विषय नेपाली कांग्रेस १४ औं महाधिवेशनमा जाँदै गर्दा, नेताहरु गुटउपगुटमा धेरै लागे । कांग्रेस आक्रान्त भयो, रोगग्रस्त भयो । त्यसैले नेपाली कांग्रेसले यो राष्ट्रिय जिम्मेवारीलाई बहन गर्न सक्छ कि सक्दैन भन्ने किसिमको जनतामा अझै पनि चिन्ता छ । यो चिन्ताको निवारणका लागि हामीले आगामी महाधिवेशनबाट सर्वसम्मतिमा नेतृत्व चयन गर्न सक्यौँ भने राम्रो हुन्छ । त्यसले जनता, मतदाता र पार्टीका सबै तहका सदस्यहरुमा एक प्रकारको ऊर्जा दिन्छ ।

उहाँले यो कुरा ठीक हो भन्नुभयो । 

त्यही सन्दर्भमा उहाँलाई भनेँ– मिडियाले सोधेको थियो, मैले अन्तर्वार्ता दिएको थिएँ, तपाईं सभापतिमा लड्दै हुनुहुन्छ भनेर सोध्दै गर्दा मैले शेरबहादुरजीसँग सल्लाह गरेरमात्रै भन्छु भनेको छु । त्यही विषयमा तपाईंसँग कुरा गर्न आएको हुँ भनेँ ।  त्यहीबेला मैले म १४ औँ महाधिवेशनमा सभापतिमा लड्न चाहन्छु । त्यसमा तपाईंको समर्थन चाहन्छु । तपाईंकै मार्गदर्शनअनुसार सभापति बनिसकेपछि पनि पार्टी सञ्चालन गर्छु पनि भनेँ । 

उहाँले १५ औं महाधिवेशनमा सभापतिमा लड्नुस् भन्नुभयो । मैले १५ औं महाधिवेशन मेरो लागि ‘सुट’ गर्दैन भनेर विभिन्न कुराहरु बताएँ । 

एउटा उमेरको कारण बताएँ–१५ औं महाधिवेशनमा ७० वर्ष पुग्छु । दोस्रो अहिलेदेखि नै नेपाली कांग्रेसमा ३–४ पुस्ताको जाम छ, अहिलेनै तछाडमछाड भइरहेको छ । जाम खोल्नका लागि पनि नयाँ पुस्तालाई मार्गप्रशस्त गर्नुपर्दछ । नेपाली कांग्रेसको निर्वाचन प्रणाली जसरी विस्तारितरुपले आएको छ, सबै पदहरु निर्वाचित भएर आउनेछन् । सभापतिले मनोनित गर्ने व्यवस्था छैन । त्यसकारण मैले त्यो बेलासम्म पर्खनु मेरो लागि अनुकूल हुँदैन, अहिले नै मेरो लागि सुट गर्छ, म लड्छु भनेँ । 

सभापतिलाई मैले मेरो उमेदवारीबारे भनेको कुरा पहिलोपल्ट मिडियामा बाहिर आजमात्रै भन्दैछु । आफ्नो मुखले बाहिर भनेको छैन । तर साथीहरुसँग कुराकानी भयो, साथीहरुसँग कुराकानी भएको विषय समाचारमा छापियो । समाचारकै भरमा कतिले लेख पनि लेख्नुभयो । ती लेखकहरु कुनै पनि मसँग सम्बन्धित होइनन् । 
त्यसपछि देशभरीबाट मलाई फोन आयो । मैले शेरबहादुर देउवालाई भनिसकेपछि  पार्टीका साथीहरु, पदाधिकारी साथीहरु, केन्द्रीय समितिका साथीहरुसँग, त्यतिमात्रै होइन मैले प्रकाशमान सिँह, सशांक कोइरालासँग पनि कुरा गरेको थिएँ ।

त्यस्तै युवा नेता गगन थापा, चन्द्र भण्डारी, गुरु घिमिरे, प्रदीप पौडेललगायतसँग कतिलाई भेटेर कतिलाई फोनबाट आफ्नो उमेदवारीका बारेमा बताएको थिएँ ।

यसले देशभर तपाईंले अघि भनेजस्तै तरङ्ग ल्यायो । सबैले मेरो बारेमा ठीकै हो भन्नुभएको छ । 

नेपाली कांग्रेसमा विभिन्न कोणबाट निरन्तरताको सन्दर्भबाट, राजनीतिक रुपमा जुन समस्या छ ती समस्याहरुलाई पहिचान गर्न सक्ने, सम्बोधन गर्न सक्ने दृष्टिकोण राखेको–सोच राखेको क्षमता छ कि छैन त्यो पछिको कुरा होला तर त्यो दिशामा उद्धत भएको रुपमा साथीहरुले मलाई लिनुभएको छ । 

अहिले आएको जुन तरङ्ग छ त्यसलाई मैले सकारात्मक रुपमा लिएको छु । मेरो सभापति पदको उमेदवारीको चर्चाले जुन तरङ्ग आयो त्यसबाट मैले मलाई हिमाल, पहाड, तराईं मधेस सबै क्षेत्रमा पार्टीका साथीहरुले मेरो उमेदवारीलाई स्वीकार गरेको रुपमा बुझेको छु ।  उमेदवारीलाई स्वीकार गर्नुनै सबैभन्दा पहिलो महत्वपूर्ण कुरा हुन्छ । मेरो उमेदवारीलाई नागरिक समाज, वुद्धिजीवी, कर्मचारी, सुरक्षाकर्मी, कूटनीतिज्ञहरुले पनि सकारात्मक रुपमा लिनुभएको छ । 

तपाईँले भनेजस्तै आगामी महाधिवेशनबाट सभापति सहमतिमा चयन गर्न सकिने सम्भावना छ र ?

सम्भावनालाई इन्कार गर्न पनि सकिँदैन । सम्भावना छ भनेर धेरै उत्साही पनि हुनुहुँदैन । तर प्रयास त गर्नुपर्‍यो नि ! जस्तो उदाहरणका लागि उमेदवारकै कुरा गर्दा अहिलेसम्म १३ औं महाधिवेशनलाई आधार मान्ने हो भने १३ औंमा तीनजना उमेदवार हुनुहुन्थ्यो– शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला ।

अहिले १४ औं महाधिवेशनमा मलाई समेत जोडिदिनुहुन्छ भने चारजना नयाँ आकांक्षी छौं । मेरोलगायत तीनजना अरु साथीहरु हुनुहुन्छ । तीनजना पहिलेको, चारजना हामी नयाँ । 

सर्वसम्मति हुनका लागि पनि आकांक्षीमध्ये एक जनालाई सबैले स्वीकार्न गर्नपर्‍यो । अहिले देखिएका सातजनामध्ये ६ जनाले कुनै एक जनालाई स्वीकार गर्नुपर्‍यो । १२ जना देखिनुहुन्छ भने एक जनालाई ११ जनाले स्वीकार गर्नुपर्‍यो । 

त्यसलाई विशुद्ध रुपमा गणितीय र पारिभाषिक हिसाबले हेर्ने हो भने त्यसलाई सहमति भन्न सकिन्छ । म सहमतिमा नेतृत्व चयनका लागि तयार छु । अहिलेसम्म देखिएको सातजना मध्ये कुनै एकजनाको नाममा सहमति हुन सक्छ भने त्यसका लागि मैले छोड्नुपर्छ भने म छोड्न तयार छु । 

तपाईंको उमेदवारीको चर्चालाई कतिपयले ‘बार्गेनिङ’, कतिपयले ‘पोलिटिकल स्टन्ट’ पनि भनिरहेको सुनिन्छ, यसका बारेमा के छ यहाँको भनाइ ? 

सबैभन्दा पहिले मैले यसलाई खारेज गर्छु किनभने मेरो राजनीतिक जीवनमा कहिले पनि बार्गेनिङ र पोलिटिकल स्टन्ट गरेको छैन । म १२–१३ वर्षदेखिनै विद्यार्थी राजनीतिमा प्रवेश गरेको हुँ । त्यो बेलादेखि अहिलेसम्मको कुरा गर्ने हो भने बार्गेनिङ पनि छैन, स्टन्ट पनि छैन । मैले गर्ने राजनीतिक शैलीमा राजनीतिक पद्धतिमा बार्गेनिङ पर्दैन । 

जुन बेलामा म राजनीति सुरु गरेको बेलामा मान्छे जेल जान्थ्यो, मान्छे मारिन्थ्यो । त्यो बेला मैले मेरो जीवनकालमा नेपालमा लोकतन्त्र आउँछ भन्ने कुराको कल्पना पनि गरेको थिइन ।    

जसरी जीवनकालमा लोकतन्त्र आउँछ कि आउँदैन भन्ने सोचेकोसम्म थिइन भने त्यो मान्छेले पदको बारेमा सोचेको होला भनेर अनुमान नै गर्न सकिँदैन । पदको बारेमा बार्गेनिङ कुनै चिज प्राप्त गर्नका लागि हुन्छ । पद प्राप्त गर्नका लागि मात्रै मैले राजनीतिक क्षेत्रमा प्रवेश गरेको भए मेरो जीवनकालमा लोकतन्त्र आउँदै आउँदैन के राजनीति गर्नुभन्थेँ हुँला नि ! 

मेरो राजनीतिक जीवनले बार्गेनिङ, स्टन्टलाई विश्वासनै गरेको छैन । आसन्न महाधिवेशनमा सभापति पदको उमेदवारी न कुनै बार्गेनिङका लागि हो, न कुनै स्टन्ट नै । 

नेपाली कांग्रेसमा आजका दिनसम्म तीनवटा समूह छन् । त्यसमध्ये एउटा समूहको तपाईं पनि बलियो पिलरका रुपमा चिनिनुहुन्छ । तपाईं समूहको नेता देउवा आफैंले पनि आकांक्षा राखिरहनुभएको छ । के तपाईं उहाँका विरुद्धनै उमेदवारी दिन तयार हो ? 

पहिले त यो सबै फिर्ता लिनुस् तपाईं । म लोकतन्त्रमा विश्वास राख्छु । लोकतन्त्रमा संसारभर अहिलेसम्म उपलब्ध उपकरण छ, त्यो निर्वाचन प्रणाली हो । निर्वाचन प्रणालीमा म भाग लिन्छु भनेको त्यो कसैको विरुद्धमा होइन ।  मैले कसैको विरुद्धमा उमेदवारी दिने कुरा पनि आउँदैन । कसैलाई विस्थापित गर्नका लागि पनि होइन । न कसैलाई विश्राम गराउनका लागि हो । 

मेरो उमेदवारी आफ्नै योजना अन्तर्गत हो । आफ्नै भावना अन्तर्गत, आफ्नै विश्वास अन्तर्गत हो । म नेपाली कांग्रेसलाई भोलिको राष्ट्रिय निर्वाचनमा विजयी गराउन चाहन्छु । नेपाली कांग्रेसलाई किन विजयी गराउन चाहन्छु भने– अहिले जुन हामीले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली ल्याएका छौं, जसरी राज्यको पूर्नसंरचना गरेका छौं, नयाँ संविधान हामीले जारी गरेका छौं, नेपालको इतिहासमा सार्वभौम जनताले आफ्नो संविधान आफैँ बनाएको यो पहिलो पटक हो । जसमा हामी गर्व गर्दछौं । 

यो सबै परिवर्तन नेपाली कांग्रेसकै नेतृत्वमा भएको छ । र, अर्को कारणले पनि गर्व गर्दछौं । अरु देशमा पनि संविधानसभाले संविधान बनाएको छ, तर अरु देशको संविधानसभा निर्वाचित संविधानसभा थिएन । हाम्रो देशको संविधानसभा सार्वभौम जनताले मत दिएर गठन गरेको संविधानसभा थियो । 

त्यसबाट बनेको संविधान आइसकेपछि अहिलेको सरकार जसरी आयो, जुन पार्टी सरकारमा छ त्यसका नेताहरुले संघीयतामा विश्वास गर्दैनन् । गणतन्त्रमा विश्वास गर्दैनन् । उनीहरु जनवादी केन्द्रीयतामा विश्वास गर्दछन् । उनीहरु जनताको जनवाद भन्दछन् ।  

जनवादी केन्द्रीयता भन्नु र जनताको जनवाद भन्नु भनेको लोकतान्त्रिक विचार नै होइन । यो हाकाहाकी नांगै रुपमा बुझ्न सकिने कुरा हो । यो लुकाएर राखिएको, अरुले बुझ्नै सक्दैन खाली पढे–लेखकाहरुले मात्रै बुझ्दछन् भन्ने कुरा पनि होइन । 

चीनको शासन प्रणाली अनुकरणीय हो भन्ने सरकार छ अहिलेको । अहिलेको सरकारको राजदूतले विदेशमा गएर जे भन्छ त्यसलाई सरकारको नीति मान्नु पर्दछ । चीन हाम्रो मित्र देश हो । मित्र देशको मित्रताप्रति हाम्रो सम्मान छ । चीनमा लोकतान्त्रिक प्रणाली छैन । चीनमा बुहदलीय प्रणाली छैन । चीनमा संघीय प्रणाली छैन । चीनमा समावेशी प्रणाली पनि छैन । 

त्यो देशको अनुकरण गर्ने कामै छैन । त्यो देशको अनुशरण गर्न खोज्नु भनेको नै हाम्रो संविधानलाई अस्वीकार गर्न खोज्नु हो । हाम्रो प्रणालीलाई अस्वीकार गर्न खोज्नु हो । तर सरकारले हाकाहाकी उसको शासन प्रणाली अनुकरणीय भनिरहेको छ । 

हामी राजनीतिक दलका नेताहरुको काम के हो त ?  हामीले ल्याएको प्रणाली ठीक हो कि होइन भनेर हामी आफैंले हेर्नुपर्‍यो । हामीले ल्याएको प्रणाली प्रति हामीले गर्व गर्दछौं, ठीक हो भन्ने ठान्दछौं भने हाम्रो प्रणालीमाथि भइरहेको खतरा के हो भनेर पहिचान गर्नु पर्‍यो, त्यसका लागि प्रतिरक्षात्मक रुपमा हामी उभिनु पर्‍यो । 
त्यसकारण आगामी राष्ट्रिय निर्वाचनमा नेपाली कांग्रेस पार्टी विजयी होस् भनेर यो कुरा जनतामा गएर भन्नुपर्ने हुन्छ । र, नेपाली कांग्रेसले युनाइटेड भएर भन्नुपर्‍यो । नेपाली कांग्रेस वैचारिक रुपमा क्लियर भएर भन्नुपर्‍यो । 

नेपाली कांग्रेसले हामीले चाहेअनुसार संविधान आएन हामीले त अर्कै खोजेका थियौं, अर्काको पछि लागेका थियौं । माओवादीको पछि लागेर हाम्रो यो अजेन्डा गएको हो भनेर नेपाली कांग्रेसले भन्यो भने त त्यो नेपाली कांग्रेसका पछि जनता किन आउँछ ? 

मेरो उमेदवारीको स्पष्ट एजेन्डा भनेकै यही हो । म यसमा दह्रो गरि उभिन चाहन्छु ।

यसकारण मेरो उमेदवारी कसैको विरुद्धमा होइन । मलाई यो जरुरी छ भन्ने लाग्यो । अहिलेको संविधान, अहिलेको प्रणाली, अहिलेको लोकतन्त्रको पक्षमा एक पटक फेरि उभिन जरुरी छ । राजनीतिक क्षेत्रको काम सकिसकेको छैन भनेर मैले पटक पटक भन्दै आएको छु । 

लामो समयदेखि सभापति देउवाको खेमामा रहेर उहाँलाई सघाउँदै आउनुभएको छ । १३ औं महाधिवेशनमा देउवालाई नै सघाउनुभयो, १४ औं मा पहिलो पटक उहाँलाई नै आफू सभापतिमा लड्न चाहेको कुरा सुनाउनुभयो । त्यति धेरै सघाएको नेताले तपाईँलाई सहयोग गर्नुहुन्छ ? तपाईंले आकांक्षा राख्दाराख्दै उहाँ पनि सभापतिकै उमेदवार बन्नुहुन्छ ? के लाग्छ यहाँलाई ? 

म पूर्ण विश्वस्त छु शेरबहादुर देउवाले मलाई पूरा समर्थन गर्नुहुन्छ । मैले उहाँलाई उमेदवारीका लागि आग्रह गरिसकेपछि मेरो प्रस्तावलाई गम्भीरतापूर्वक लिनुभएको छ । उहाँ अहिले सोच्दै हुनुहुन्छ, विचार गर्दै हुनुहुन्छ । मसँग उहाँको राम्रै सम्बन्ध छ । त्यसकारण उहाँले मलाई सहयोगनै गर्नुहोला । 

साउन २९ गतेपछि उमेदवारीका विषयमा तपाईंको सभापति देउवासँग छलफल भएको छ ? 

छैन । अरु सबै विषयमा कुराकानी–छलफल–परामर्श भइरहेको छ । तर उमेदवारीका विषयमा हामीबीच दोस्रोपटक कुराकानी भएको छैन । उहाँ सभापति म उपसभापति । 

पार्टीको जिम्मेवारी जसरी हामीले निर्वाह गर्दै आएका थियौं, त्यो सम्बन्ध पूर्ववत् नै छ । हामी निरन्तर सम्पर्कमा छौं । हिजो (बिहीबार) पनि टेलिफोनमा कुराकानी भएको थियो । म पनि फोन गर्छु, उहाँले पनि गर्नुहुन्छ । र उमेदवारीका विषयमा कुरा हुँदैन । 

तपाईंलाई लाग्छ उहाँले तपाईंका लागि छोडिदिनुहुन्छ । केही निश्चित शर्तहरु हुन सक्छन् त्यसबेला देउवाका ? 

मलाई लाग्छ, उहाँले मलाई समर्थन गर्नुहुन्छ । ‘छोडिदिने’ कुरा नगरौं । मलाई अझ के लाग्छ भने उहाँ त मेरो प्रस्तावकनै भइदिनुहोला । म त के चाहन्छु भने शेरबहादुर देउवा प्रस्तावक र रामचन्द्र पौडेल समर्थक भएर मलाई सहयोग गर्नुहोला भन्ने मेरो चाहना हो । 

सम्भावना देख्नुहुन्छ ? 

एकदम देख्छु । 

कसरी सम्भावना ? 

यो विल्कुनै सम्भव छ । उहाँहरुसँग मेरो राम्रो सम्बन्ध छ । र, मेरो राजनीतिक सोचबुझ, राजनीतिक निरन्तताका बारेमा उहाँहरु जानकार हुनुहुन्छ । उहाँहरु ममाथि भरोसा राख्नुहुन्छ । विमलेन्द्र निधिको हातमा कांग्रेस सुरक्षित रहन्छ भन्ने कुरामा पनि उहाँहरु दुबै विश्वास गर्नुहुन्छ । 

तपाईंले आगामी महाधिवेशनमा आफूले बनाउने टिमका बारेमा सोच्नुभएको छ ? योजना बनाउनुभएको छ ? 

केही पनि गरेको छैन । कुनै मास्टर प्लान बनाएको छैन । यो मास्टर प्लानको विषय पनि होइन । जब उमेदवारीको विषयमा औपचारिक निर्णय हुन्छ अनि हेरिने कुरा हो । नेपाली कांग्रेसको महाधिवेशन आगामी फागुनमा हुने कि नहुने भन्ने कुराको कुनै टुंगो छैन ।  कोरोनाले गर्दा प्राविधिक र प्रारम्भिक कामहरुले अहिले निरन्तरता पाएका छैनन् । क्रियाशील सदस्यताको नवीकरण र नयाँ क्रियाशील सदस्यता वितरण ६ हजार ७ सय ४३  वडामा हुनुपर्दछ । त्यो कामहरु अहिले कोरोनाका कारण प्रभावित बनेको छ । 

६ हजार ७ सय ४३  वडामा क्रियाशील सदस्यता नवीकरण र वितरणको काम भइसकेपछि विभिन्न तहमार्फत् माथि हुँदै केन्द्रीय कार्यालयमा आइपुग्छ । त्यसपछि एउटा समिति बन्छ क्रियाशील सदस्यता छानबिन समिति । त्यसले प्राप्त सदस्यताको सूचिलाई भेरिफाई गर्छ । त्यो समितिले निर्णय गरेका सदस्यताहरुको सूचि केन्द्रीय कार्यालयलाई दिन्छ । केन्द्रीय कार्यसमितिले त्यसलाई अनुमोदन गरेर सूचिलाई केन्द्रीय निर्वाचन समितिलाई बुझाउँदछ । 

त्यहाँ पुगेपछि क्रियाशील सदस्यताको हैसियत मतदाताको हैसियत बन्दछ ।  मतदाता भैसकेपछि जिल्ला हुँदै वडा तहमा पठाइन्छ । त्यसपछि वडा, पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, निर्वाचन क्षेत्र, जिल्ला हुँदै प्रदेशको महाधिवेशन सम्पन्न भएपछि मात्रै केन्द्रको महाधिवेशन हुन्छ । यो चरणहरु बाँकी छ । 
त्यसकारण १४ औं महाधिवेशनमा सभापति पदका लागि उमेदवारीको तयारी गर्दै गर्दा अहिलेनै उपसभापति, महामन्त्री, सहमहामन्त्री बनाएर अगाडि बढ्ने बेला भइसकेको छैन । 

१३ औं महाधिवेशनमा नेतृत्वको होडमा नभएका तर १४ औं महाधिवशेनमा नेतृत्वको तयारीमा जुट्नुभएका तपाईं चारजना नेताहरुका बीचमा एलाइन्स हुन सक्ने सम्भावना कत्तिको छ ? केही तयारी गरिरहनुभएको छ ? 

राम्रो कुराका लागि सबैसँग एलाइन्स हुन सक्छ । मेरो पहिलो प्रयास त सहमतिकै हो । पहिले सबैमा सहमति होस्, सबैमा सहमति हुन सकेन भने अधिकतम (अधिकतर) सहमति होस । 

बाहिर तपाईं र सभापति देउवाको सम्बन्ध बिग्रियो भन्ने चिन्ता र चासो देखिन्छ । तपाईं दुईका बीचमा नागरिकता र नयाँ नक्साका विषयमा मतभेद भयो भन्ने सुनिन्छ । के हो सत्य कुरा ?

केही भन्नुपर्ने छैन । उहाँको र मेरो समबन्ध बिग्रेको छैन । उहाँ र मेरो सम्बन्ध कुनै पनि मुद्दाका कारणले बिग्रेको छैन । सम्बन्ध ठीक छ र सम्बन्ध बिग्रेरमात्रै उमेदवारी दिइन्छ भन्ने कुरा पनि हुँदैन ।  राम्रै सम्बन्ध भएर नै मैले उमेदवारी दिन खोजेको हो । म त्यसैको प्रमाणका रुपमा आफूलाई उभ्याउन चाहन्छु कि सम्बन्ध राम्रै भएर पनि उमदवारी हुन सक्छ ।  

तपाईंले नेतृत्व गरेको भविश्यको कांग्रेसको परिकल्पना कसरी गरिाख्नुभएको छ ? तपाईंले जिते कांग्रेस एक नम्बरको पार्टी बन्छ ?

पार्टी एक नम्बर, दुई नम्बरमा नजाउँ । मेरो कुरा के छ भने आगामी राष्ट्रिय निर्वाचनमा नेपाली कांग्रेस जित्नुपर्छ । आगामी निर्वाचनमा नेपाली कांग्रेस जित्नुपर्छ भन्नुको अर्थ यो होइन कि लोकतान्त्रिक प्रणालीअनुसार लोकतन्त्र भएको मुलुकमा हरेक राजनीतिक दलले त चुनाव जित्न चाहन्छ नै सरकार बनाउनका लागि । हो, त्यस अर्थमा मात्रै जित्नुपर्छ भनेको होइन मैले । 

मैले भन्न खोजेको के हो भने आगामी राष्ट्रिय निर्वाचनमा नेपाली कांग्रेसलाई जिताउनु यस कारणमात्रै जरुरी छ कि सरकार बनाउनु छ । यस कारणले जरुरी छ कि यो संविधान र प्रणालीको रक्षा गर्नु छ । यसलाई पूर्णता प्रदान गर्नुछ । यसका बाँकी कामहरु पूरा गर्नुछ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०७७  १०:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC