एजेन्सी । जर्मन बुन्डेसलिगा क्लब बायर्न म्युनिखले यूईएफए च्याम्पियन्स लिग फुटबलमा सुखद सुरुवात गरेको छ । बुधबार राति भएको खेलमा स्पेनिस ला लिगा क्लब एट्लेटिको मड्रिडलाई ४–० गोलले पराजित गर्दै बायर्नले लिगमा सुखद सुरुवात गरेको हो ।
घरेलु मैदानमा बायर्नको जितका लागि किंग्स्ले कोम्यानले दुई तथा लेओन गोरेट्ज्का र कोरेन्टिन टोलिसोले एक एक गोल गरे । बायर्नले दुई गोल पहिलो हाफमा गर्दा थप दुई गोल दोस्रो हाफमा गरेको थियो ।
खेलको २८ औं मिनटमा किंग्स्ले कोम्यानले गोल गर्दै घरेलु टोली बायर्नलाई खेलम अग्रता दिलाएका थिए । उनले किमिचको पासमा गोल गर्दै बायर्नलाई १–० को अग्रता दिलाए । त्यस्तै ४१ औं मिनेटमा गोरेट्ज्काले गोल गरे । उनले कोम्यानको पासमा गोल गर्दै पहिलो हाफमा बायर्नलाई २–० को अग्रता दिलाए ।
६६ औं मिनेटमा मिडफिल्डर कोरेन्टिनले गोल गर्दै ३–० को अग्रता दिलाए । त्यस्तै ७२ औं मिनेटमा कोम्यानले व्यक्तिगत दोस्रो गोल गरे । उनले थोमस मुलरको पासमा गोल गर्दै बायर्नलाई ४–० को फराकिलो जित दिलाएका हुन् ।
जितसँगै च्याम्पियन्स लिगमा सुखद सुरुवात गरेको बायर्नले समूह एमा तीन अंक जोडेको छ । एट्लेटिकोले पराजित हुँदै लिगमा खराब सुरुवात गरेको छ ।
यसै समूहको अर्को खेलमा आरबी साल्जबर्ग र लोकोमोटिभ मोस्कोले बराबरी खेलेका छन् । दुबै टोलीले २–२ को बराबरी खेल्दै समूहमा एक एक अंक बाढ्ेका हुन् ।