कोभिड —१९को फणा विश्वव्यापी भइसकेको छ । विशेषगरी ज्येष्ठ नागरिकहरुका लागि यो संक्रमण निकै घातक देखिएको छ । यसर्थ, हाल विश्वस्तरमै ज्येष्ठ नागरिकप्रति विशेष चासो र चिन्ता प्रकट भैरहेको छ । संयुक्त राष्ट्रसंघका महासचिबले पनि ज्येष्ठ नागरिकप्रति समुचित सम्मान गर्न र समान व्यवहार गर्न आह्वान गरेका छन् ।
यो वर्ष संयुक्त राष्ट्रसंघले “महामारीमा : बुढ्यौली र उमेरको कारण ज्येष्ठ नागरिकलाई गरिने हाम्रो सम्बोधनमा परिवर्तन ल्याउँछ” ? भन्ने भावको नारा तय गरेको छ । यिनै सन्दर्भमा राष्ट्रिय ज्येष्ठ नागरिक महासंघले नेपालका ज्येष्ठ नागरिकका विषयमा सातै प्रदेशका मुख्यमन्त्रीको उपस्थितिमा प्रदेशस्तरीय कार्यक्रम गरेको छ । साथै, राष्ट्रियस्तरमा प्रधानमन्त्रीकै सहभागितामा अन्तरक्रिया गरी ज्येष्ठ नागरिकका विषय उजागर भएको छ । (यी सबै कार्यक्रममा यसै पंक्तिकारले कार्यपत्र प्रस्तुत गरेको थियो । प्रस्तुत विषय समसामयिक महत्त्वको देखिएकाले यो आलेख तयार गरेको छु । )
सन् १९९१ अक्टोवर १ देखि संयुक्त राष्ट्रसंघले ‘इन्टरनेसनल डे अफ ओल्डर पर्सन्स (अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस) को आरम्भ गरेको हो । नेपालले सन् १९९६ देखि यो दिवस मनाउन थालेको हो । विश्वमा ६० वर्षमाथिको जनसंख्या १३ प्रतिशत छ भने नेपालमा २०६८ को जनगणनामा ज्येष्ठ नागरिकको जनसंख्या ८.१३ प्रतिशत थियो । विश्वमा ज्येष्ठ नागरिकको जनसंख्या वार्षिक ३.५ प्रतिशतले बढिरहेको छ । यो जनसंख्या सन् २०५० सम्ममा करिब २१ प्रतिशत हुने अनुमान छ । त्यतिबेला ज्येष्ठ नागरिकको संख्या १० बर्ष मुनिका कुल बालबालिकाको भन्दा बढी हुनेछ ।
हाल कोभिड—१९को प्रकोप विश्वव्यापी भएको सन्दर्भमा संयुक्त राज्य अमेरिकाले कोभिड —१९ को सहायतास्वरुप प्रतिव्यक्ति १२ सय अमेरिकीे डलर उपलब्ध गराएको छ । यसैगरी, जापानले १ लाख येन, अस्ट्रेलियाले ७५० डलर, कोलम्बियाले २४० डलर, भारतले भारु १ हजार, अर्जेटिनाले ४७ अमेरिकी डलर, सिंगापुरले ६८.५ डलर, ट्यूनिसियाले ६८ डलर, टर्कीले २३० डलर, यूक्रेनले ३५ डलर र मोनटेंगो ५० युरो प्रतिव्यक्ति उपलब्ध गराएका छन् ।
यस सन्दर्भमा मासिक भत्ता र पेन्सन पहिले नै भुक्तानी दिनेमा कोस्टारिका, मेक्सिको, पेरु, दक्षिण अफ्रिका छन् भने मासिक भत्ता बढाउनेमा ब्राजिल र उज्वेकिस्तान रहेका छन् । यस अवस्थामा भत्ता दिने कार्यलाई खुकुलो तुल्याउनेमा बेलायत र इटाली पर्छन् भने भविष्यका लागि भत्ता वृद्धि गर्नेमा कोलम्बिया र इन्डोनेसिया रहेका छन् । साथै, अतिरिक्त सुविधाको घोषणा गर्नेमा अर्जेटिना, अर्मेनिया र टर्की छन् भने बालबच्चालाई सुबिधा बढाउनेमा पोल्यान्ड र दक्षिण कोरिया छन् ।
यस अतिरिक्त घरविहीनलाई सुविधा, धाराबत्तीको शुल्क छुट र ज्येष्ठ नागरिकलाई ऋणमाफी गर्नेहरुमा स्पेन, एलसाल्भाडोर र बोलिभिया छन् भने स्वरोजगारलाई सघाउनेमा आयरल्यान्ड, पोर्चुगल, न्यूजिल्यान्ड रहेका छन् । यस क्रममा बेरोजगारलाई सघाउनेमा स्विट्जरल्यान्ड, कार्यसमय कटौती गर्नेमा न्युजिल्यान्ड, घोषित सुविधा पाउने सरल व्यवस्था लागू गर्नेमा स्वीडेन, २ महिनालाई पुग्ने खाद्य सामग्री उपलब्ध गराउनेमा अर्मेनिया, ज्येष्ठ नागरिकलाई औषधि र खाद्यान्न उपलव्ध गराउनेमा रुस र ज्येष्ठ नागरिकको बीमा गरिदिनेमा ट्रिनिडी एन्ड टोबागो उदाहरणीय मुलुक ठहरिएका छन् ।
यस सन्दर्भमा राष्ट्रिय ज्येष्ठ नागरिक महासंघले सरकारसँग तीन कुरा माग गरेको छ । पहिलो, नियमित मासिक भत्ता पाइरहेकालाई एकमहिनाको भत्ता बोनस देऊ । दोस्रो, ६० देखि ७० वर्ष समूहका ज्येष्ठ नागरिकले मासिक भत्ता पाएका छैनन्, तिनलाई एकमुष्ठ रु ५ हजार देऊ । तेस्रो, ११५ वटा वृद्धाश्रममा रहेका करिब २ हजार ज्येष्ठ नागरिकलाई एकमुष्ठ रु १५ हजार देऊ !
कोभिड —१९ को संक्रमणका कारण ज्येष्ठ नागरिकहरु घरमै बस्न बाध्य छन् । यसर्थ, उनीहरुलाई सर्जिकल मास्क, स्यानिटाइजर, पंजा, , साबुन, रुम स्प्रेजस्ता सामग्री उपलब्ध गराउनुपर्छ । साथै, नियमित सेवन गर्ने औषधि, क्याल्सियम, मल्टिभिटामिन, रुघाखोकी र ज्वरोबाट बच्न भिक्स, साइनेक्स, राइनेक्स, सिटामोल, खोकीको औषधि वितरण गर्नुपर्छ । यस अतिरिक्त, अदुवा, बेसार पानी उमाल्ने बिद्युतीय कित्ली, थर्मस, पौष्टिक आहारलगायतको अत्यावश्यक सामग्री उपलब्ध गराउनुपर्छ ।
हाल नेपालमा ७० वर्ष माथिका ज्येष्ठ नागरिकले मासिक ३ हजार भत्ता पाइरहेका छन् । इटालीमा कुल गार्हस्थ्य उत्पादनको १६ प्रतिशत, फ्रान्समा १४ प्रतिशत तथा भारतमा ४ प्रतिशत बजेट सामाजिक सुरक्षामा छुट्याइन्छ । नेपालमा कुल गार्हस्थ्य उत्पादनको करिब २ प्रतिशतमात्रै बजेट सामाजिक सुरक्षामा विनियोजन गरिएकाले अति न्यून भत्ता बुभ्mन नेपालका ज्येष्ठ नागरिक बाध्य छन् ।
वर्तमान सरकारले ज्येष्ठ नागरिकको भत्ता ५ हजार पु¥याउने प्रतिबद्धता व्यक्त गरेको छ । यसर्थ, ७० देखि ७९ वर्षका लागि मासिक रु ५ हजार भत्ता दिने र सो उमेर समूहमाथिका लागि बढी रकम दिनु उत्तम हुनेछ । यसअनुसार ८० देखि ८९ बर्षका लाई मासिक रु १० हजार दिन सकिन्छ । यस समूहमा करिब १ लाख ८१ हजार ३१४ जना रहेका छन् । यसैगरी, ९० देखि ९९ वर्ष उमेरका लागि मसिक रु २५ हजार दिने हो भने यस उमेर समूहमा करिब २६ हजार ७२९ जना छन् । यस अतिरिक्त १०० वर्ष र सो माथिका लाई मासिक रु ५० हजार दिने हो भने पनि धेरै खर्च हुँदैन । यस उमेर समूहमा केबल ३ हजार ५६६ जना रहेको जनगणनाबाट देखिन्छ । यसबाट राष्ट्रिय ढुकुटीमा ठूलो व्ययभार पर्नेछैन ।
विद्यालयको पाठ्य सामग्री ज्येष्ठ नागरिकलाई सम्मान गर्न सिकाउने हुनुपर्छ । ज्येष्ठ नागरिकका परिवारलाई वृद्धावस्था व्यवस्थापन र स्याहार सुसारको तालीम दिनुपर्छ । छोराछोरीको मासिक कमाइको आवश्यकतानुसार आमाबाबुले १० देखि २५ प्रतिशत पाउने कानुन निर्माण गर्नुपर्छ । ज्येष्ठ नागरिकको सम्पत्तिमा उनीहरुलाई आफूखुसी गर्न दिनुपर्छ । ज्येष्ठ नागरिकसम्बन्धीे स्रोत केन्द्रको स्थापना र प्रोफाइल तयार गरी उनीहरुको क्षमता राष्ट्र निर्माणमा उपयोग गर्नुपर्छ ।
सबै ठूला अस्पातलमा ज्येष्ठ नागरिक चिकित्सा कक्षा (जेरियार्टिक वार्ड ) खडा गर्नुपर्छ । ज्येष्ठ नागरिकको सबै उपचारमा सरकारी र सामुदायिक अस्पतालमा निःशुल्क र निजी अस्पतालमा कम्तीमा ५० प्रतिशत छुटमा सेवा पाउने व्यबस्था गर्नुपर्छ । साथै, ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवाको प्रबन्ध गर्नुपर्छ । यस अतिरिक्त, ज्येष्ठ नागरिकको हालको रु १ लाखको बीमालाई रु १० लाख तुल्याउनुपर्छ ।
आर्थिकरुपमा विपन्न र बेवारिस ज्येष्ठ नागरिकलाई वृद्धाश्रममा राख्नुपर्छ । ज्येष्ठ नागरिकको भेटघाट, अनुभवको आदानप्रदान, मनोरञ्जनलगायतका लागि ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र स्थापना गर्नुपर्छ । कुनै ज्येष्ठ नागरिकले व्यवसाय वा स्वरोजगार गर्ने भए रु ५ लाखसम्मको सरल ब्याजदारको ऋण दिने गरी ज्येष्ठ नागरिक च्यालेन्ज फन्ड खडा गर्नुपर्छ ।
नेपालको संविधानको ज्येष्ठ नागरिकसम्बन्धी मौलिक हकको व्यवस्था, ज्येष्ठ नागरिकसम्बन्धी ऐन र नियमावलीको प्रावधानलाई यथावत् कार्यान्वयनमा ल्याउनुपर्छ । ज्येष्ठ नागरिकलाई कानुनले सार्वजनिक यातायातमा दिएको छुट सुविधालाई कार्यान्वयनमा ल्याउन अनुगमनलाई दह्रो गर्नुपर्छ । सबै प्रकारका भौतिक संरचनाहरु ज्येष्ठ नागरिक मैत्री तुल्याउनुपर्छ ।
नेपाली उखानमा ‘आगो ताप्नु मुढाको, कुरा सुन्नु बूढाको (बुढाबुढीको)’ भने अनुसार ज्येष्ठ नागरिकका ज्ञान र सीप नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्छ । ‘मात्रृ देवो भवः पितृ देवो भवः को भावनाअनुसार हरेक व्यक्ति, परिवार, समाज र सरकारले ज्येष्ठ नागरिकलाई उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्छ ।
अन्त्यमा, हामी सबैले हेक्का राख्नुपर्छ — हामी सबै एकदिन ज्येष्ठ नागरिकमा रुपान्तरित हुन्छौँ । यो प्रकृतिको नियम हो । यसर्थ, आज हामीले ज्येष्ठ नागरिकको सुखी र खुसी जीवनको लागि केही योगदान गर्नु भनेको भोलिका लागि आप्mनो हितमा लगानी गर्नु सरह हो ।