site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
गहना धितो राखेर ‘कजरी’
Ghorahi CementGhorahi Cement

सोच्दै छु कहाँबाट सुरु गरुँ ! त्यसो त मैले नेपाली भाषामा किशोरावस्थादेखि नै लेख्न सुरु गरिसकेको थिएँ । गाउन र नाटकमा अभिनय गर्न त झन् त्योभन्दा अघिदेखि नै सुरु भइसकेको थियो । मलाई सम्झना छ, कक्षा तीनमा पढ्दा मैले गीत गाएको थिएँ । मेरो पहिलो नेपाली कविता ‘आमा’ शीर्षकमा वीरगन्जबाट प्रकाशित हुने हाडा दाइको पत्रिकामा प्रकाशित भएको थियो, यस्तै २०३४–३५ सालतिर । पत्रिकाको नाउँ यतिबेला सम्झना भएन । 

तर त्योभन्दा पहिल्यै मेरो कथा ‘पत्थरको हृदय’ प्रकाशित भइसकेको थियो । मेरो एउटा साथी थियो, कमल नेपाल । कमलकी विमाताले उसलाई धेरै दुःख दिने गर्थिन्, ऊ रोइ–रोई सुनाइरहन्थ्यो । उसैको कथाव्यथालाई समाएर मैले त्यो कथा लेखेको थिएँ । 

त्यो समयमा वीरगन्जमा भोजपुरी भाषाको पत्रिका त निस्किन्थ्यो, साहित्यिक गोष्ठी पनि हुन्थ्यो, तर त्यसबारे मलाई धेरै थाहा थिएन । किनभने भोजपुरी भाषाका साहित्यिक गोष्ठीहरू बन्द कोठामा हुने गर्थे । पत्रिका निकाल्ने पं. दीपनारायण मिश्र र विजयप्रकाश बीनसँग मेरो सम्पर्क थिएन । 

Agni Group

म कक्षा आठमा पढ्दै थिएँ । मेरो नेपाली कविता र कथा हेरेर सुझाव दिने मेरो पहिलो गुरु बलराम सर हुनुहुन्थ्यो । उहाँ हाम्रो नेपालीको शिक्षक हुनुहुन्थ्यो । रिसाए भने बेस्सरी पेट निमोठिदिनुहुन्थ्यो ! उहाँसँग निकै डर लागे पनि मैले आफ्ना कविताहरू उहाँलाई देखाउने गर्थेँ । यसरी म जानी–नजानी नेपाली भाषा साहित्यको जगत्मा प्रवेश गरिसकेको थिएँ । 

मलाई सम्झना छ, कक्षा ६ मा मैले गीत प्रतियोगितामा ‘मै छोरी सुन्दरी, कसरी भरुँ पानी’ गाउँदा पूरा कक्षा नै गललल हाँसेको थियो ! मेरो कक्षाकी एक केटी साथीले पछि भनेकी थिइन्– “तैँले केटीले गाउने गीत किन गा’को ? हेरिनस्, सबैले तेरो कस्तो मजाक उडाए ?” कुरो के थियो भने मेरो मजाक उड्नुमा मभन्दा उसलाई बढी पीर परेको थियो । मसँग धेरै मिल्ने साथी थिई ऊ, सायद त्यसैले होला ।

Global Ime bank

विसं २०४३–०४४ सालको कुरो होला, वीरगन्जबाट विजयप्रकाश बीनको सम्पादन र प्रकाशकत्वमा प्रकाशित हुने साप्ताहिक पत्रिका ‘सनेस’ मा मेरो एउटा भोजपुरी कविता छापियो । शीर्षक थियो– ‘लाल गौरैया’ । त्यो कविताको अभिलेख मसँग छैन, तर त्यसका केही पंक्ति अहिले पनि सम्झनामा छ–
    लाल गौरैया हेने सुन,
    हेने सुन, तनीं हेने सुन ।
    दुनियाँ चुने हीरा मोती,
    तूँ त खाली खुदी चुन ।।

यही कविताबाट मेरो भोजपुरी साहित्य सिर्जनामा विधिवत् प्रवेश भएको हो । म कविता लेख्थेँ, कथा लेख्थेंँ, उपन्यास लेख्थेँ, गीत गाउँथेँ, चित्र बनाउँथेँ, जे–जे गर्न सक्थेँ, त्यो–त्यो गर्थेँ । तर मेरो पढाइ भने राम्रो थिएन । हिसाब, अङ्ग्रेजी, विज्ञानमा कहिल्यै राम्रो अङ्क ल्याउन सकिनँ । प्रमोद सर (प्रमोद अधिकारी, उहाँको निधन भइसकेको छ) सधैँ गाली गर्नुहुन्थ्यो । बुबाले मेरो हिसाब र अङ्ग्रेजी राम्रो होस् भनेर अङ्ग्रेजीको लागि बीके सर र हिसाबका लागि घोष सरकहाँ ट्युसन लगाइदिनुभयो । 

अलिक हिसाब मिलेको दिन घोष सर भन्नुहुन्थ्यो– “गोपाल, तिमीले एसएलसीमा धेरै नम्बर त होइन, पास नम्बरचाहिँ ल्याउन सक्छौ ।” तर जुन दिन मेरो हिसाब बिग्रको हुन्थ्यो, उहाँ कराउँदै भन्नुहुन्थ्यो– “तँ मोरो गोरु, हिसाबमा कहिल्यै पास हुन्नस् ।” अहिले म ती दुई गुरुहरूप्रति नतमस्तक छु, किनभने मैले उहाँहरूकै कारणले गर्दा एसएलसी आइरन गेट पार गर्न सकेँ । 

यो २०३५ सालभन्दा पहिलेकै कुरा हो । मैले २०३५ मा एसएलसी दिएको थिएँ... र, पास... पास २०३६ मा भएको थिएँ नि !

म सुरुदेखि नै नेपाली, भोजपुरी र हिन्दीमा लेख्थेँ । सन् १९८१ को कुरो हो, म भारतको रक्सौलमा अवस्थित खेमचन्द ताराचन्द कलेजमा आइए पढ्दै थिएँ, रात्रि कक्षामा । वीरगन्जमा, त्यो बेला नाइट क्याम्पस थिएन । मेरो बिहे भइसकेको मात्र होइन कि म एक छोरीको बुबा पनि बनिसकेको थिएँ । 

त्यो बेला, मोतीहारी (बिहारको पूर्वी चम्पारणको सदरमुकाम) मा जिल्लास्तरीय काव्य प्रतियोगिता भइरहेको थियो, एलएनडी कलेजमा । यो काव्य प्रतियोगिता जनवादी लेखक सङ्घद्वारा भारतेन्दू हरिश्चन्द जन्मजयन्तीको अवसरमा आयोजना भएको थियो । मेरा साहित्यिक गुरु तथा कलेजमा हिन्दी पढाउने शिक्षक डा. हरीन्द्र हिमकर सरले मलाई त्यो काव्य प्रतियोगितामा भोजपुरी कविताका साथ भाग लिन आदेश नै दिनु भा’को थियो । र, म आफ्नो भोजपुरी कविता ‘अब कहल ना जाता’ का साथ प्रतियोगितामा सामेल भएको थिएँ ।
 
मैले उक्त काव्य प्रतियोगितामा दोस्रो स्थान प्राप्त गरेको थिएँ र पुरस्कार स्वरूप भोजपुरी भाषामा लेखिएका केही कविता–सङ्ग्रहहरू पाएको थिएँ । त्यस कार्यक्रमका हर्ताकर्ता हुनुुहुन्थ्यो रजनीकान्त राकेश । पछि मात्र थाहा भयो, उहाँ भारतीय भोजपुरी साहित्यजगत्का एक लब्धप्रतिष्ठित कवि हुनुहुँदो रहेछ । 

यतिबेला मलाई मैले सुनाएको उक्त कविताको एकाध पंक्ति मात्रै सम्झना छ–

    का रहे का भइल जमाना, अब कहल न जाता ।
    देख देख के दिन दशा, आँख व्यग्र हो जाता ।
    बेटा–बेटी भइल ना आपन, नाही केहू दाता, 
    का रहे का भइल जमाना, अब कहल न जाता ।

मलाई लाग्छ, ममा गजल लेखनको बीज यसै बेलादेखि छरिएको थियो । म नेपाली, भोजपुरी र हिन्दीमा लेखिरहेको थिएँ । यो कुरो मेरो बुबालाई राम्ररी थाहा थियो । म गोपालप्रसाद सर्राफबाट ‘गोपाल अश्क’ बन्दै थिएँ । यो मेरो भोजपुरी साहित्यिक लेखनको प्रशवकाल थियो । 

बुबा आफैँ पनि कवि हुनुहुन्थ्यो । गीत लेख्नु हुन्थ्यो, गाउनुहुन्थ्यो । आर्यसमाजसँग आबद्ध हुनुहुन्थ्यो । मैले उहाँलाई कैयौँ व्यक्तिहरूसँग शास्त्रार्थ गरेको देखेको थिएँ । उहाँलाई कर्मकाण्डी भएर हिँडेको देखेको थिएँ । साँच्ची भन्ने हो भने मेरो साहित्य सिर्जनाको प्रेरणा बुबा नै हुनुहुन्थ्यो । 

आमा त जहिले पनि चिन्तित रहनुहुन्थ्यो, यसले के गरेर खान्छ, कसरी बाँच्छ भनेर ? आमाको चिन्ता जायज पनि थियो । म आमाबुबाको आठौँ सन्तान थिएँ । मेरा सात दाजु र दिदीहरूको निधन म जन्मिनुअघि नै भइसकेको थियो । मपछि मेरी एउटी बहिनी छिन् । 
मेरो बुबा निकै आँटिलो र साहसिक हुनुहुन्थ्यो । उहाँ जहिले पनि एउटै कुरा भन्नुहुन्थ्यो– “कुनै पनि काम गर, दक्षता प्राप्त गर । डाँकु नै बन्नु छ भने पनि खतरनाक डाँकु बन ।” 

उहाँले एकपटक मलाई सम्झाउँदै भन्नुभएको सम्झना छ– “देख, बबुआ ! ना त तूँ नेपाली के देवकोटा बन सकताड़, ना त हिन्दी के निराला । बाकिर अगर आपन मातृभाषा भोजपुरीमें लिखबक त हो सकता कि तूँ भोजपुरी के देवकोटो हो जा, आ निरलो । ओही से हमर बात मान आ तूँ भोजपुरी में लिखक् ।” 

त्यसपछि म भोजपुरी साहित्य सिर्जनामा गम्भीरतापूर्वक लागेँ तर मैले नेपालीमा लेख्न छाड्न सकिनँ, हिन्दीमा पनि लेखिरहेँ । कारण, मलाई के लाग्थ्यो भने भोजपुरी भाषामा मौलिक सिर्जना गर्न जति आवश्यक छ, त्योभन्दा बढी भोजपुरी भाषा, साहित्य, कला र संस्कृतिबारे नेपाली र हिन्दीमा लेखेर तिनको प्रचार गर्नु झनै आवश्यक छ । त्यसैको परिणाम स्वरूप मैले तीनवटै भाषामा लेख्न थालेँ । 

मेरो पहिलो कृति भोजपुरी भाषामै लेखियो र प्रकाशित भयो– ‘कजरी’ (खण्डकाव्य) । यसको प्रकाशनका क्रममा मैले मेरी पत्नीको गहना बैंकमा धितो राखेको थिएँ । यो बाध्यता थियो । कुनै उपाय नै थिएन, बुबासँग पैसो माग्न हिम्मत भएन । अरू कोही दिनेवाला पनि थिएनन् । तर किताब प्रकाशित भएपछि बुबाले त्यसको बिक्री र प्रचारमा निकै सघाउनुभयो । त्यही किताब बेचेरपछि श्रीमतीजीको गहना फुकुवा गर्न पाएँ । 

यसपछि, मेरो साहित्यिक पाइला अघि बढ्दै गयो...। कहिल्यै रोकिएन । कहिल्यै झुकेन । बरु त्यसपछि मेरो जागिरे जीवन पनि प्रारम्भ भयो । मैले सन् १९८५ देखि जागिरे जीवन सुरु गरेँ । वीरगन्जमा रहेको भारतीय निर्जीवन बिमा कम्पनी –नेसनल इन्स्योरेन्स कम्पनी– मा असिस्टेन्ट कम टाइपिस्टबाट मेरो जागिर सुरु भएको थियो । र, विसं २०७२ (सन् १०१५) मा युनाइटेड इन्स्योरेन्स कम्पनीको दाबी विभागको वरिष्ठ प्रबन्धक पदबाट सेवानिवृत्त भएँ । यद्यपि, मलाई के प्रशन्नता छ भने म साहित्यकार हुँ, साहित्यकारका रूपमा बाँचिरहेको छु र साहित्यकारकै रूपमा मर्नेछु । 

सन् १९८२ पछिका दिनहरूमा म भोजपुरी साहित्यको सिर्जना तथा त्यसको विकासमा सक्रिय भएँ । त्यसका निम्ति म भारतमा आयोजना हुने भोजपुरीका प्रमुख साहित्यिक सम्मेलनहरूमा भाग लिन थालेँ । त्यहाँका हिन्दी तथा भोजपुरी साहित्यकारहरूको संगति पाउन थालेँ । सुरुसुरुमा भारतमा हुने भोजपुरी साहित्य सम्मेलनहरूमा जाँदा बडो हीनताबोध हुन्थ्यो । किनभने त्यहाँका साहित्यकारहरूले सोधेको जवाफ म दिन सक्दिनथेँ । उनीहरूले सोध्ने सवाल प्रायः यस्ता हुने गर्थे– “तिम्रो नेपालमा भोजपुरीमा महाकाव्य छ ? खण्डकाव्य छ ? उपन्यास छ ? कहानी–सङ्ग्रह छ ? नाटक–सङग्रह छ ? तिम्रो नेपालमा भोजपुरीमा कुनै पत्रपत्रिका प्रकाशित हुन्छ कि हुँदैन ?” आदि इत्यादि । 

मसँग प्रायः मेरो साथी आशनारायण अशोक हुने गर्थ्यो । पछि त अरू पनि साथी भए जसमा दिनेश गुप्ता र डा. विश्वम्भरकुमार शर्मा आदि महत्त्वपूर्ण हुन् । त्यसैबेला हामीले (मैले र आशनारायण अशोक) वीरगन्जबाट एउटा भोजपुरी भाषामा साहित्यिक पत्रिकाको प्रकाशन गर्ने निधो गर्यौँ । र प्रकाशित गर्यौँ ‘गमक’ (त्रैमासिक) । गमकको प्रकाशन विसं २०५१ बाट प्रारम्भ गरेका थियौँ । त्यस पत्रिकाको पहिलो अङ्कको विमोचन आदरणीय आख्यानपुरुष र वीरगन्जको सपुत डा. ध्रुवचन्द्र गौतम (म उहाँलाई भैया भन्छु) ले गर्नुभएको थियो । 

त्यसपछि नेपाली भोजपुरी साहित्यजगत्मा विधागत अभावको पूर्ति गर्नेतिर म लागेँ । भोजपुरीमा विविध विधागत् कृतिहरूको सिर्जना गर्न थालेँ । त्यसै क्रममा मैले ‘कवि के जन्मकूँडली’ (गीति खण्डकाव्य), नइहर के चुनरी (कहानी–सङ्ग्रह), ‘फुलवा’ (उपन्यास), ‘धँधोर’ (महाकाव्य), ‘एक बित्ता के दूरी’ (एकाङ्की–सङ्ग्रह), उ भोर ना भइल (गीत–सङ्ग्रह), अभी बाकी बा ( गजल–सङ्ग्रह), शंखनाद (महाकाव्य), भोजपुरी व्याकरण जस्ता कृति प्रकाशन गराउन सफल भएँ । यसरी कम मात्रामै भए पनि नेपालीय भोजपुरी साहित्यमा विभिन्न विधामा केही कृति देखापर्न थाले । आज त भोजपुरी साहित्यको बलियो स्थिति छ । नेपालीय भोजपुरी साहित्यका प्रत्येक विधाका कृतिहरू उपलब्ध छन् । कविता, गीत, गजल, कथा, उपन्यास, एकाङ्की, निबन्ध, रिपोर्ताज, यात्रा, हाइकु, मुक्तक, लघुकथा आदि विभिन्न विधाका कृतिहरूले नेपालीय भोजपुरी साहित्य भण्डार समृद्ध छ ।

मलाई सन्तोष यस कारणले पनि छ कि आज मैले नेपाली, भोजपुरी, हिन्दी, अङ्ग्रेजी र मैथिली भाषामा निरन्तर साहित्य सिर्जना गर्ने मौका पाएको छु । मैले मौलिक सिर्जनाका साथै अनुवाद, अनुसन्धान र सम्पादनको कार्य गर्ने पनि मौका पाएको छु । मेरा अहिलेसम्म ४६ वटा कृति प्रकाशित छन् जसमा नेपाली, भोजपुरी र हिन्दीका मौलिक कृतिका साथै सम्पादन र शोध अनुसन्धानका कृतिहरू पनि छन् । यो नै मेरो अहिलेसम्मको जीवनको कमाइ हो । 

परन्तु, मलाई अरू पनि धेरै साहित्यिक काम गर्नु छ । अहिले पनि नेपालीय भोजपुरी साहित्यजगत्मा केही महत्त्वपूर्ण काम हुन बाँकी नै छन् । जस्तो कि भोजपुरी समालोचना, सम्पादन र अनुसन्धानात्मकजस्ता प्राज्ञिक कार्यहरू हुनु आवश्यक देखिएको छ । 

मैले केही योजना बनाएको पनि छु् जसमध्ये मेरो ‘भोजपुरी आधुनिक समालोचना’ नामक कृति प्रकाशनको तयारी गरिरहेको छु । यसमा नेपाली भाषामा लेखिएका भोजपुरी साहित्यका विविध विधा र कृतिबारे लेखिएका र प्रकाशित अप्रकाशित समालोचनात्मक लेखहरू समाविष्ट छन् । यसबाट नेपालीय भोजपुरी साहित्यको अवस्थाबारे जान्न बुझ्न सजिलो हुन्छ, भन्ने मलाई विश्वास छ । 

(वीरगन्ज, रानीघाट–१०) 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक १, २०७७  १०:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC