दिगो विकास लक्ष्य प्राप्तिका सूत्रहरु

डा. योगेन्द्रराज रिजाल

विश्वभर कोरोना संक्रमित र मृत्युको संख्या निरन्तर बढिरहेको छ । वल्र्डाेमिटरका अनुसार अझैपनि विश्व कोभिड महामारीको प्रारम्भिक चरणमा छ । विश्वभर एकैपटक लाखौंको रोजगारी खोसिँदा गरिब र भोकाहरुको संख्या दिनदिनै बढेको छ । गरिबहरु (खासगरी सहरी गरिब) को जीवन र जीविका सखाप हुँदै छ । संयुक्त राष्ट्रसंघका अनुसार विश्व अर्थतन्त्रले सन् १९३० को महाआर्थिक मन्दीपछि सबभन्दा विकराल अवस्थाको सामना अहिले गरिरहेको छ । यस महामारीले महाशक्ति राष्ट्रहरुमा समेत जनस्वास्थ्य प्रणालीमा गम्भीर कमजोरी भएको पुष्टि गर्नुका साथै देशहरुबीच र देशभित्रै पनि क्षेत्रीय एवम वर्गीय असमानताको खाडल फराकिलो बनाउँदै गएको छ । यस विषम परिस्थितिको व्यवस्थापन गर्न सरकार र विकास साझेदारहरु असफल हुने हो भने दिगो विकास लक्ष्यहरुमात्रै प्रभावित हुने नभई महामारीले झन् उग्ररुप लिन सक्ने विषयले विश्व समुदायलाई चिन्तित बनाएको छ । 

समय सीमाले बाँधिएका दिगो विकास लक्ष्यहरु मानव, ब्रह्माण्ड, शान्ति, समृद्धि, र साझेदारी (पिपल, प्लानेट, पिस, प्रोस्पेरिटी र पार्टनरसिप) समेतसँग सम्बन्धित छन् । विकासका हरेक आयामको गहिराइमा पुगी संरचनागत परिवर्तनपछिमात्र लक्ष्य प्राप्ति सम्भव हुने मान्यता दिगो विकास लक्ष्यको घोषणापत्रको रहेको छ । तर, अहिले कोभिड—१९ को महामारीका कारण अधिकांश लक्ष्यमा नकारात्मक प्रभाव परिसकेको छ । सन् २०२० को दिगो विकास प्रतिवेदनमा १. गरिबीको अन्त्य, २. शून्य भोकमरी, ३. आरोग्यता तथा कल्याण, ४. मर्यादित काम तथा आर्थिक वृद्धि, र ५. न्यून असमानता समेत पाँचवटा लक्ष्यमा उच्च तहको नकारात्मक असर ।

त्यस्तैगरी, १. गुणस्तरीय शिक्षा, २. लैङ्गिक समानता, ३. सफा पानी तथा सरसफाइ, ४. खर्चले धान्न सक्ने स्वच्छ ऊर्जा, ५. उद्योग, नवीन खोज र पूर्वाधार, ६. दिगो सहर र समुदायहरु, ७. शान्ति, न्याय र सशक्त संस्थाहरु र ८. लक्ष्य प्राप्तिका लागी साझेदारीसमेत आठ वटा लक्ष्यमा मध्यम स्तरको नकारात्मक असर र बाँकी चार वटा लक्ष्यहरु १. जिम्मेवारपूर्ण उपभोग तथा उत्पादन, २. जलवायुसम्बन्धी कारबाही, ३. जलमुनिको जीवन र ४. जमिनमाथिको जीवनमा महमारीको प्रभाव स्पष्ट भइनसकेको उल्लेख गरिएको छ । 

यसैबीच दिगो विकास लक्ष्यहरु प्राप्त गर्न तल उल्लेखित रुपान्तरणका ६ सूत्रहरु उपयोगी हुने बताइएको छ । त्यस्तैगरी, कोभिड — १९ को महामारीद्वारा सृजित नकारात्मक प्रभावलाई कम गर्नसमेत यी सूत्रहरु उपयोगी हुने विश्वास गरिएको छ ।

१. शिक्षा, लैङ्गिकता एवं असमानता

शिक्षाले मानवीय पुँजीको विकासको माध्यमबाट आर्थिक विकासमा टेवा पु¥याई गरिबी न्यूनीकरण, मर्यादित रोजगारी र लैङ्गिक विभेदको खाडल पुर्न सघाउ पुर्‍याउँछ । यसका लागि सर्वप्रथम राज्यको शैक्षिक प्रणालीमा आमूल रुपान्तरण जरुरी हुन्छ । पूर्ववाल्यावस्थाको विकासमा पुर्‍याइने योगदानले बालबालिकाको संवेगात्मक विकासको माध्यमबाट प्रौढावस्थासम्म पनि जीवनलाई मार्गदर्शन गर्छ । तर अधिकांश मुलुक (सम्पन्न अर्थतन्त्रसमेतले) यसमा आवश्यकताअनुसारको लगानी गरेका वा गर्न सकेका छैनन् । प्रथमतः यसले पाठ्यक्रममा समयानुकूल परिमार्जन, शिक्षक तालिम र सिकाइको निरन्तर मूल्यांकन आवश्यक ठान्छ । दोस्रो, विद्यमान असमानता र लैङ्गिक विभेदको न्यूनीकरणका लागि मुलुकहरुले सामाजिक सुरक्षाको क्षेत्र फराकिलो बनाउनुपर्ने, मानव तस्करी र दासत्वको अवशेषहरुलाई अन्त्य गरी श्रमलाई सम्मान गर्ने वातावरण बनाउन जरुरी छ । 

२. स्वास्थ्य, सरसफाइ र जनसंख्या

रुपान्तरणको यो सूत्रले विश्वभर सार्वजनिक स्वास्थ्य सेवाको सहज उपलब्धता अपेक्षा गर्छ । यसका लागि स्वास्थ्यक्षेत्रमा उच्च लगानीको आवश्यकता पर्छ । फलस्वरुप रोगको समयमा पहिचान र नियन्त्रण गरी नागरिकलाई ढुक्क रहने अवस्था सृजना गरोस् । सुधारिएको स्वास्थ्य सेवाले नवजात शिशु र आमाको सुस्वास्थ्यमा विशेष सहयोग गर्ने छ । बालबालिकाको स्वास्थ्य र प्रजनन स्वास्थ्यको क्षेत्रमा लगानी वृद्धिका साथै बालिका शिक्षा र लैङ्गिक समानतामा भएको सुधारले बाल विवाह घटाउनुका साथै जन्मदर कम गराउनसमेत सघाउ पुग्छ । सुधारिएको पोषण पद्धति, अल्कोहल र सुर्तीजन्य वस्तुको उपयोगमा कमि, सुरक्षित यौन सम्पर्क, खुला दिसापिशाव गरी जमिन र जललाई प्रदुशित गराउने, म्याद गुज्रेका र जनस्वास्थ्यका हिसावले वर्जित गरिएका खाद्यवस्तुको उपयोग आदि स्वास्थ्य क्षेत्रभन्दा बाहिरका व्यक्तिगत तथा सामाजिक आनीबानीमा परिवर्तनको माध्यमबाट पनि जनस्वास्थ्यमा सुधार ल्याउन सकिन्छ ।

३. स्वच्छ ऊर्जा र दिगो उद्योग

यसअन्तर्गत कोइला, डिजेल, पेट्रोल, दाउरा, पेट्रोलियम ग्याँस लगायतका बढी कार्वनडाइअक्साइड उत्पादन गर्ने ऊर्जाका स्रोतलाई सफा ऊर्जाले विस्थापन गर्दै जाने र औधोगिक फोहरबाट जमिन र जल प्रदूषित हुनबाट रोक्ने उपाय पर्छन् । यो रुपान्तरणका लागि एकको उपलब्धि अर्काको निम्ति बाधक नहुने सुनिश्चित गर्न ऊर्जा, वातावरण, यातायात, उद्योग तथा वाणिज्य मन्त्रालयहरुबीचको सहकार्यमा एकीकृत प्रयास आवश्यक पर्छ । स्वच्छ ऊर्जाको उपभोग सम्पन्नताको सूचक भएको हुनाले यसको प्राप्तिका लागि सर्वप्रथम स्वच्छ ऊर्जाको उत्पादन र वितरण प्रणालीमा सुधार ल्याउनु आवश्यक हुन्छ । त्यसपछि त्यसको उपभोगको तहमा वृद्धि गर्नुपर्छ ।

जैविक स्रोतबाट उत्पादन हुने ऊर्जा स्वच्छ हुन्छ तर त्यसको उत्पादन र उपभोगमा वृद्धि हुँदा जैविक विविधतामा नकारात्मक असर पर्न सक्नेमा भने सजग हुनु जरुरी छ । त्यस्तैगरी, उद्योगबाट उत्सर्जन हुने मिथेन, नाइट्रसअक्साइड र सल्फरडाइअक्साइडलगायतका अजैविक फोहरको उचित व्यवस्थापनको पनि सुनिश्चितता जरुरी छ । 

४. प्राकृतिक स्रोतको दिगो उपयोग

जमिनको उपयोग र खाद्यान्न उत्पादन प्रणाली वैज्ञानिक हुन नसक्दा उत्पादन वृद्धिका नाममा रासायनिक मल र विषादीको बढ्दो प्रयोगले खेतीयोग्य जमिनको प्रांगारिक पदार्थमा ह्रास हुँदैगएको छ । परिणामस्वरुप भोकमरी, कुपोषण, मोटोपनजस्ता समस्या सामान्य भएका छन । यस समस्याको निराकरण गरी नागरिकको स्वास्थ्य र जीविकोपार्जनमा प्रत्यक्ष टेवा दिन कृषिमा अन्तरवाली प्रणाली, कृषि वन र रासायनिक मल विषादीहरुको समुचित प्रयोगमार्फत उत्थानयोग्य कृषि प्रणालीलाई प्रवद्र्धन गर्न जरुरी छ । यसका साथै खाद्य असुरक्षामा परेका नागरिकको सुरक्षाका लागि वैकल्पिक सामाजिक सुरक्षाको विधि अपनाइ खाद्यवस्तु नष्ट हुने अवस्था र जनस्वास्थ्यका दृष्टिले हानिकारक ठहरिएका पत्रुखानाहरुको प्रयोगलाई निरुत्साहित गर्न जरुरी हुन्छ । 

रुपान्तरणको यस सूत्रलाई राम्रोसँग कार्यान्वयन गर्न सकिएन भने दिगो विकास लक्ष्यहरु प्राप्तिमा गम्भीर चुनौती आउन सक्छन भन्नेमा सजग हुनु जरुरी छ । किनभने कृषि उत्पादन वृद्धि गर्ने प्रयोजनमा रासायनिक मल र विषादीको प्रयोगले जैविक विविधतामा ह्रास आउनुका साथै पानीको अत्यधिक प्रयोगले भविष्यमा जल अभाव हुन सक्छ । त्यस्तै, मानिसहरुको आम्दानी बढ्दै जानु भनेको उपभोग क्षमता बढ्नु पनि हो । उपभोग क्षमता बढेसँगै कृषियोग्य जमिनलगायत प्राकृतिक स्रोतमा थप दबाब पर्छ । अतः रुपान्तरणको यो उपायले सम्बन्धित विषयगत निकायबीचको सहकार्य र समन्वयको उच्च अपेक्षा गरेको हुन्छ जुन हाम्रोजस्तो मुलुकमा बिरलै भेटिन्छ ।

५. दिगो सहर र समुदायहरु

बालीप्रणालीमात्रै नभई सहर र समुदायहरु पनि जलवायु परिवर्तनको असरबाट प्रभावित हुन्छन् । फलस्वरुप, सहरहरु आर्थिक हिसावले उत्पादक, सामाजिक आधारमा समावेशी र वातावरणीय दृष्टिले दिगो बन्न असफल हुँदैगएका छन् । हाम्रा सहरहरु अव्यवस्थित छन् । अझैपनि एक तिहाइभन्दा बढी नागरिकहरु पिउने पानी, यातायात, ढल, सरसफाइआदिको भयावह अवस्था भएका बस्तीमा बसोवास गरिरहेका छन् । पहिलो, सहरी  वा ग्रामीण बस्ती र समुदायलाई बसोवास योग्य बनाउन पिउने पानी, ढल तथा फोहर व्यवस्थापनको उचित प्रबन्ध हुनुपर्छ । दोस्रो, यातायातका संरचना र तेस्रोमा बढ्दो जनसंख्यालाई थेग्न सक्ने गरी बस्ती योग्य जमिनको उपलब्धताका साथै खुल्ला हरियाली क्षेत्रसमेत रहने गरी थप बस्ती विकास योजनाको कार्यान्वयन भएर नयाँ बस्तीहरु व्यवस्थित बनाइनुपर्छ ।

६. डिजिटल प्रविधिको प्रयोग

डिजिटल प्रविधिले अहिले सबै क्षेत्रमा प्रभाव पारेको छ । कहिलेकाहीँ डिजिटल प्रविधिको प्रयोगलाई चौथो औधोगिक क्रान्ति पनि भन्ने गरेको सुनिन्छ । डिजिटल प्रविधिको प्रयोगले खाद्य वस्तुमा (उमेर अनुसार पोषणको मात्रा), यातायातका साधन लगायत मेसिनरीमा (स्वचालित साधन), उत्पादनमा (रोबोटिक्स), व्यापारमा (ई कमर्स), वित्तमा (विद्युतीय भुक्तानी), सञ्चारमा (सामाजिक सञ्जाल), स्वास्थ्यमा (टेलिमेडिसिन), शिक्षामा (अनलाइन सिकाइ), सार्वजनिक प्रशासनमा (विद्युतीय शासन र विद्युतीय मतदान) आदि सामान्यजस्तै हुँदैआएका छन् । डिजिटल प्रविधिले उत्पादकत्वमा वृद्धि, उत्पादन लागतमा कमी, प्रदुषणमा कमी, सर्वसाधारणको पहुँचमा सहजता, विश्व बजारको माग अनुकूल, तथ्यांक र तथ्यहरुको सही उपयोग हुनुका साथै महामारीको समयमा समेत सार्वजनिक सेवा प्रवाह सहज बनाएको छ । 

डिजिटल प्रविधि प्रयोगका जोखिम पनि त्यत्तिकै छन् । प्रविधिको प्रयोगबाट रोजगारीमा कटौती हुँदा निम्न वर्गका कर्मचारी कामदारमा पारिश्रमिकको रुपमा जाने रकम पुँजीपति वर्गमा गएर असमानतामा वृद्धि हुनुका साथै डिजिटल सूचना चोरीको पनि जोखिम छ । तथापि अहिलेको प्रतिस्पर्धात्मक युगमा डिजिटल प्रविधि अपरिहार्य बन्दै गएकोले यसका कमजोर पक्षलाई व्यवस्थापन गर्दै प्रविधिमैत्री भएर जानुमा नै सबैको हित देखिन्छ ।

( दिगो विकास, संघीयता, अनुगमन तथा मूल्यांकन विज्ञ)
 

प्रतिकृया दिनुहोस
ad