site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

– टीएन रेग्मी

नौ कक्षाको परीक्षामा तेस्रो भएपछि जुनुको परिवारमा खुशीयाली छायो । परिवारले उसका दुइटा इच्छा पूरा गरिदिने भयो । त्यससँगै बुबाले अर्को यौटा शर्त राख्नुभयो– आगामी वर्षको एसएलसीमा कम्तीमा सेकेन्ड डिभिजन ल्याउनुपर्ने ।

मध्यमवर्गीय किसान परिवारकी जेठी छोरी जुनुले खासै ठूलो माग राखिन । पूरा नहुने माग राख्नु हुन्न भन्ने कुरामा ऊ सचेत थिई ।

Agni Group

माग नम्बर एक ः बर्खे बिदामा एक हप्ता बस्ने गरी मामाघर जाने ।

दुई ः नेपाली–अंग्रेजी शब्दार्थ भएको ठूलो डिक्सनरी किनिदिनुपर्ने ।

Global Ime bank

उसका दुवै माग पूरा हुने भए । दोस्रो तत्कालै, पहिलो बिदा सुरु भएपछि तर घरको रोपाइँ सकेर । 

१० कक्षाको बर्खे बिदामा जुनु मामाघर गई । आफूले चाहेको समयमा धेरै दिन मामाघर बस्ने मौका पाएर फुरुङ्ग पर्नु स्वाभाविक नै थियो । बुबाले आफ्नो कुरा मानेकोमा उसलाई झन् अचम्म लाग्यो । अरू बेला बुबाको निर्णय र जिद्दीसामु आमाछोरीको केही चल्दैनथ्यो । घरव्यवहारका सामान्य विषयमा समेत बुबाको अमिल्दो व्यवहारका कारण कयौँपटक आमाछोरी सँगै बसेर रुन्थे । बुबाले आफ्नो कुरा मान्नुको कारण रिजल्टमात्रै थियो या अरू केही ? उसले कहिल्यै बुझ्न सकिन ।

१० कक्षा सुरु हुँदैदेखि एसएलसीको चर्चा सुरु भयो । घर–परिवार, इष्टमित्र, साथीभाइ सबैले ‘एसएलसी हाउगुजी हो, राम्ररी पढ््नू’ भन्ने सल्लाह दिन्थे । यसमा आश्चर्य भने लागेको थियो । आखिर अघिल्ला परीक्षा र यसमा के फरक छ र ? सबैजना एसएलसीदेखि किन डराउँछन् ? बुझ्झक्कीहरूले समेत एसएलसीलाई हाउगुजी बनाइदिने किन होला ? जुनुका यस्ता प्रश्नहरूको उत्तर सजिलो थिएन । १० कक्षाको पढाइ सकियो । एसएलसी परीक्षा आयो । उसलाई कत्ति डर लागेन । परीक्षा पनि सकियो । 

एसएलसी अरू परीक्षाभन्दा फरक हुँदो रहेनछ । मान्छेहरूले यसलाई किन यत्ति ठूलो बनाएका ? अन्तिम दिनको परीक्षा सकिएपछि उसले हेडसरलाई सोधी । हेडसरको जवाफ थियो, “एसएलसीको रिजल्टले भविष्यमा ठूलो महत्त्व राख्छ । एसएलसी इज आइरन गेट ।”

“सर, त्यसो भए अरू परीक्षाचाहिँ प्लास्टिक गेट ?” जुनुले जिस्किएर सोधी । हेडसरले हाँस्दै सफलताको शुभकामना दिए ।

एसएलसी सकिएपछि ऊ मामाघर गई । जुनु मामाघरमा रहँदा मनसुन उत्कर्षमा थियो । खेतबारीको कामले सबैजना बेफुर्सदी देखिन्थे । लगातारको झरीबीच हुने रोपाइँ, घाँसपातदेखि वस्तुभाउ चराउनेसम्मका काममा उसले सघाउँथी । गैरीखेतको रोपाइँ र गोठालो जाने काममा उसको बढ्ता रुचि थियो ।

गोठालो जाने काममा ऊ रमाउनुको कारण सुनिता थिई । जुनुभन्दा दुई–तीन वर्ष जेठी सुनिता यो वर्ष कक्षा ११ मा पढ्दै थिई । पढाइ र घरव्यवहारका विषयमा सुनिताले सिकिसकेका कुराहरू उसका लागि नौला थिए । सुनिताको अनुभवले मार्गदर्शन गर्ने विषयबाहेकमा उनीहरू साथी थिए ।

घरको काम होस् या परको, जिउ जोगाएर काम गर्ने बानी थिएन । मेलापात, अर्मपर्म, छिमेकमा मर्दापर्दा गर्नुपर्ने सरसहयोग आदिमा सबैतिर उसको कामको तारिफ हुन्थ्यो । यही गुणका कारण जुनु सबैकी प्यारी थिई ।

गैरीखेतको रोपाइँमा पञ्चेबाजा बजाएर रमाइलो गर्ने चलन थियो । यो उसलाई औधी मनपथ्र्यो । हरेक वर्ष गैरीखेतको रोपाइँमा उसको खास रुचि हुन्थ्यो । यसपालि पनि जुनु मामाघरमै रहँदा रोपाइँ भयो । रोपाइँको तयारीमा घरधन्दा, ब्याडेलाई सघाउने काम इत्यादिमा उसको अर्थपूर्ण सहयोग रह्यो । माइजूले सेलरोटी पकाउन सिकाइदिइन् । यसपालि पनि उसले जीवनभर काम लाग्ने यौटा सीप सिक्ने मौका पाई ।

रोपाइँको दिन जुनुको मुख्य काम ब्याडबाट बीउ ओसार्नु थियो । बाँकी समयमा रोपहार र बाउसेहरूलाई पानी, खाजाको बन्दोबस्ती गर्न सघाई । एकैछिन हिलोमा पसेर रोपहारसँगै मिसिई । बीउ रोपिरहँदा सिमसिम पानी प¥यो । उता पञ्चेबाजा बजिरहेकै थियो । यसैबीच माइजू नजिकै आएर भनिन्, “सिकारू मान्छे अरूको बीचमा बस्नुपर्छ । गराको छेउँ र कुनाको मेलो पाका रोपहारले मिलाउँछन् । अनि अर्को कुरा, रोपाइँमा दायाँ र बायाँ बराबरी हुने गरी मेलो अघि बढाउनुपर्छ । नत्र साथीलाई गाह्रो हुन्छ ।”

माइजूको कुरा सुनेपछि जुनुले उभिएर हेरी । मेलो त्रिभुजाकार हुँदै गएको रहेछ । उसले माइजू आफ्नो नजिकै आउनुको कारण चाल पाई । यसप्रकार गैरीखेतको रोपाइँ सकियो । 

रोपाइँसँगै घर फर्किने दिन नजिकिँदै थियो । भोलिपल्ट ऊ गोठालो गई । सुनिता पनि ऊसँगै थिई । अघिल्लो दिन फुक्न नपाएका गाईगोरु एकाएक लाँकुरी चौतारोतिर हानिए । उनीहरूले चिसापानीतिर लैजान निकै कोसिस गरे तर सकेनन् । सुनिताको सिँदुरे गोरु बुर्कुसी मारेर कुलेलम ठोक्यो । अरू त्यसैको पछिपछि दौडिए । चिसापानी पँधेरोको ढलानमाथि दिनभर गट्टा खेल्ने उनीहरूको योजनाले हावा खायो । बदलामा चौतारोको छपनीमा बाघचाल खेलेर समय कटाउने योजना बन्यो ।

गाईवस्तु पाखातिर चर्न थाले । उनीहरू एकछिन सुस्ताएपछि बाघचाल कम्पिटिसन सुरु भयो ।

एक्कासि सिँदुरे गोरु नाकका पोरा फुलाउँदै मूलबाटोमा झ¥यो । भित्तामा सिँगौरी खेल्यो अनि स्वाँस्वाँ–फ्वाँफ्वाँ गर्दै पुच्छर ठड्याएर घर जाने बाटोतिर लाग्यो । गोरु जुध्न लागेको संकेत पाउनेबित्तिकै सुनिता आत्तिई, “लौ अब के पो हुने हो । कसरी रोक्ने होला यसलाई ?”

“म छेक्छु सिँदुरेलाई,” जुनुले आत्मविश्वास देखाई । लाँकुरीको फेंदमा राखेको लौरो टिपेर दौडिई । बाटोमाथिको झाडी छिचोल्दै उसले गोरुलाई फर्काइछाडी । जुनुले छेक्दासम्म गोरु शान्त भइसकेको थियो । उताबाट दुई–चारवटा बाख्रा र गाईगोरु लिएर राजन आउँदै थियो । जुध्न तम्सिएको सिँदुरे गोरु आफ्नो सङ्गी चिनेर पछि हटेको रहेछ । राजनको यौटा गोरुसँग सिँदुरेको परेली थियो । एकैछिनमा सबै गाईगोरु मिलेर चर्न थाले । राजन पनि दौंतरीहरूसँगै बाघचालको मेलोमा मिसियो ।

राजनले यसपालि दोस्रोपटक एसएलसी दिएको थियो । पोहोर साल ऊ अंग्रेजी विषयमा फेल भयो । पूरक परीक्षा दिँदा पनि पास नभएपछि ऊ केही निराश र भाग्यवादी भएको थियो । परिश्रम र प्रतिफलको कुरा आउनासाथ भन्थ्यो, “जिन्दगीमा जे हुन्छ, सबै उपरवालाको योजनामा हुन्छ ।”

जुनुको मामाघरभन्दा आठ–दश कान्लामाथि राजनको घर थियो । जुनु मामाघर आउँदा कहिलेकाहीँ देखभेट हुन्थ्यो तर बोलचाल कहिल्यै भएन । खासमा राजनको परिवार मावलीले बकस दिएको जग्गामा बसाइँ सरेर आएको थियो । जुनु र राजनका मावली खलक समेत तेह्रदिने दाजुभाइ थिएनन् । राजन जुनुको लागि नौलो भए पनि सुनिताका लागि चिरपरिचित थियो । 

उनीहरू बाघचाल खेल्दै गर्दा जुनुको खुट्टामा कीराले टोक्यो । उसले खुट्टामा हात पु¥याई । सामुन्नेमा बसेकी सुनिता कराई, “आबुइ ! जुका । कत्ति ठूलो ।”

बेंसीमै जन्मेहुर्केकी जुनु मावली जाँदा भयंकर आतंक मच्चाउने चिज जुका थियो । जुकाको मामिलामा सुनिताको पनि केही चल्नेवाला थिएन । ऊ अघि नै छेउँ लागिसकेकी थिई ।

जुनु गहभरि आँसु लिएर कराउँदै उफ्रिँदै मूलबाटोमा झरी । आफूले खासै नचिनेकी केटीको खुट्टाको जुका झिकिदिने कि नाइँ ? राजन दोधारमा प¥यो । अन्ततः सोच्यो, कोही अञ्जान नै किन नहोस्– समस्यामा परेको व्यक्तिलाई सहयोग गर्नु मानवको धर्म हो । उपरवालाले पनि यो कुराको मूल्यांकन गर्छन् रे ! ऊ फिस्स हाँस्यो । अनि जुनुलाई बोलायो, “आऊ म फालिदिन्छु ।”

जुका फालिनसक्दै जुनुको मुहारमा चमक आयो । राजनले जुकालाई बेस्सरी तान्यो र छेउँको तीतेपातीको बोट मिचेर त्यसमा डुबाइदियो ।

“आज कसैकसैको उद्धार गर्दा आफू हत्यारा पो भइयो,” ऊ आँखा झिम्क्याउँदै जुनुसँग जिस्कियो, “अब वैद्य पनि त हुनुपर्ने होला ।”

जुकाले बनाएको घाउ हेर्दै निन्याउरो मुख लगाएकी जुनुलाई भन्यो, “यता आऊ । औषधि लगाइदिन्छु ।”

जुनु राजनको नजिकै उभिई । साँच्चै नै उसले वैद्यको काम ग¥यो । वनमाराको पात मिचेर घाउमा लगाइदियो । 

“यी केटीहरू जुकासँग डराउँछन् । जुकाले भने यिनीहरूलाई नै मन पराउँछ,” ऊ छिल्लियो, “सुन केटी हो, काटेको, कीराले टोकेको घाउमा वनमारा र गाजेझार लगाइदियो भने रगत बग्दैन । अरूले झैं घाउमा गोबर र माटो नहाल्नू नि, त्यसले संक्रमण गराउँछ । बुझ्यौ केटी हो ?” उसले बूढापाकाले झैं अर्ती लगायो ।

जुनु आफूसमानकी भए पनि सुनिता राजनभन्दा जेठी थिई तर उसले उमेर र साइनोको केही मतलब गर्दैनथ्यो । विवाहित र अविवाहित सबै छोरीमान्छेलाई केटी भनेर सम्बोधन गथ्र्यो ।

एक प्रसंगमा उसले भनेको थियो, “हिजो हाम्रो घरबाट दुईजना केटीहरू तिम्रो मेलामा गएका थिए नि ।”

‘‘हिजोको मेलामा हुने रोपहारहरू कोही पनि अविवाहित थिएनन् । को–को दुईजना केटी ?” जुनुले सोधी ।

“आमा र ठूलो ममी ।”

‘‘आमालाई पनि केटी भन्छन् ? ए तिमी केटीको छोरा पो हौ ?” यसपालि जुनु जिस्किई । राजन केही बोलेन । यसैगरी दिन बित्यो । उनीहरू गाईगोरु लिएर घर फर्किए । 

मानिसलाई हरेक परिस्थितिमा आफ्नै समस्या संसारको सबैभन्दा ठूलो समस्याजस्तो लाग्दो रहेछ । राजनको सहयोगी व्यवहारले जुनुको मन पग्लियो । राति निदाउनुअघि दिनभरिका हरेक घटना सम्झिई । सिँदुरे गोरुको सिँगौरी, बाघचाल, जुकाको आतंक, राजनको सहयोग इत्यादि ।

केटीको छोरोले आज उद्धारकर्ता र वैद्यको काम ग¥यो । शायद उपरवालाले उसको जीवनका लागि यस्तै योजना बनाएका थिए । ऊ एक्लै हाँसी । 

राजन उसलाई कताकता मन पर्न थाल्यो । कल्पना गरी, यसैगरी आफ्ना बाधाहरूलाई हटाइदिने मान्छे जीवनमा भेटियोस् ।

० ० ०

रोपाइँ सकिएको तीन दिनपछि जुनु घर फर्की । उसले राजनको घरबाट यौटा फूलको बिरुवा ल्याई । बर्खामासमा पनि सुनौलो रङ्गमा फुल्ने फूल आफ्नो घरमा लैजाने उसको रहर राजनले पूरा गरिदिएको थियो ।

राजनले दिएको त्यो बिरुवा जुनुले बडो जतनसाथ घरमा ल्याई तर त्यसको नाम सोधिन । मालती, लाहुरे फूल, बाह्रमासे, गोदावरी, सयपत्री, मखमली आदि उसले जानेजति नामभित्र त्यो फूल पर्दैनथ्यो । 

फूल सार्ने बेला माहिली बहिनीले भनी, “यसको नाम एसएलसी फूल राखिदिऊँ दिदी ।” जुनुलाई बहिनीको तर्क ठिकै लाग्यो । उनीहरूले त्यो बिरुवालाई ‘एसएलसी फूल’ नाम दिएर बडो जतनसाथ सारे ।

० ० ०

सानैदेखि जुनुको पढाइ त्यति नराम्रो थिएन । सात वर्ष लागेपछि मात्रै उसको पढाइ सुरु भयो । तर, उसले कुनै कक्षा दोहो¥याउनु परेन । एसएलसी दिँदा ऊ १७ वर्षमा टेकेकी थिई ।

जुनु मामाघरबाट फर्केकै दिन साँझपख ज्ञानु सर उसको घरमा आए । बासँग एकछिन खासखुस गरेर फर्किए ।

भोलिपल्ट पनि उसैगरी आए । बासँग कुरा गरिसकेपछि ज्ञानु सरले बिहेको कुरा सुनाए । स्कुल पढ्दासम्म ज्ञानु सरले ‘बिहेवारी बीस पारि’ भनेर सिकाउँथे । यसपालि उनैले सिकाए, “आखिर एकपटक गर्नैपर्ने काम हो, किन ढिला गर्नु ! छोरी भएपछि अर्काको घरमा जानु नै पर्छ ।” जुनुको उमेर १८ पुगेको बताउने सल्लाह बा र ज्ञानु सरले गरे ।

स्कुलमा सामाजिक र जनसंख्या शिक्षा पढाउने ज्ञानु सरको यो दोस्रो अवतार थियो । जुनुलाई सरको कुरा पटक्कै मन परेन । उसले सोधी, “सर तपाईंले स्कुलमा पढाउने र घरमा गर्ने कुरामा किन यति धेरै फरक ?”

सरले निन्याउरो मुख लाएर उत्तर दिए, “स्कुलमा कोर्सका कुरा हुन्छन् । पाठ्यक्रममा जे–जे लेखेको छ त्यही पढाउनुपर्छ तर घरमा व्यवहार प्रमुख हुन्छ । पाठ्यक्रममा लेखेका कुराले घर–व्यवहार चल्दैन ।”

सरहरूमध्ये सबैभन्दा ज्ञानी र धेरै पढेलेखेका ज्ञानु सरको कुराले ऊ हैरान भई । अनपढको के कुरा, ज्ञानी मान्छेहरूले नै आफूले सिकेका कुरा व्यवहारमा लागू गर्दैनन् । हाम्रा बा र ज्ञानु सरले गर्ने कुरामा केही फरक नभएपछि ज्ञानु सर ज्ञानी कि अज्ञानी ? उसलाई खुबै नमज्जा लाग्यो ।

९ कक्षाको रिजल्ट आएपछिको एकपटक बाहेक कहिल्यै पनि बाले जुनुको कुरालाई महत्त्व दिएनन् । त्यसमाथि ज्ञानु सरसमेत अज्ञानी बनेर बाको कुरा सदर गरिदिए ।

जुनुले बिहे नगर्ने जिद्दी गरे पनि त्यसको सुनुवाइ भएन । ज्ञानु सरको भाञ्जासँग मंसिर महिनामा बिहे गर्ने पक्का भयो ।

० ० ०

जुनुले ‘एसएलसी फूल’लाई मलपानीको कमी हुन दिइन । यति हुँदाहुँदै पनि पातहरूमा रंग चढेन । फूल सरेको लक्षण देखिएन । बर्खामासमै पनि पातहरू क्रमशः ओइलाउँदै गए । पन्ध्रौं दिनमा त्यो बिरुवा ओइलायो । राजनको घरमा फुलेको सुनौलो फूल जुनुको घरमा सरेन ।

मुर्झाएको फूलनेर उभिएर जीवनका यावत् विषयमा तर्कना गरिरहँदा जुनुले अचानक ज्ञानुसरको महावाणी सम्झिई, “पाठ्यक्रममा लेखेका कुराले घर–व्यवहार चल्दैन ।”

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार १०, २०७४  १०:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC