site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अनशनकारीको विश्वसूचीमा नेपाल

निर्मम बाघको अघि सुधो गाईले ज्यानको सुरक्षा चाहियो भन्दै अनशन बस्यो भने के हुन्छ ? उत्तर सजिलै आउँछ : नन्दप्रसाद अधिकारी !

बेलायतमा ‘सफ्रागेट हङ्गर स्ट्राइक मेडल’ निकै सम्मानित छ ।  महिलाको मताधिकारका लागि सुरु भएको आन्दोलनमा इमेलाइन प्याङ्कहस्र्ट र उनका ३ जना छोरीहरु ‘डिड्स, नट वर्ड’ अर्थात् ‘बोली होइन, काम’ भन्दै आन्दोलित थिए । सन्  १९१२ मा सुरु गरेको अनशनबीचमा तोडियो । फेरि सन् १९१३ सम्म १२ महिनामा १२ पटक यो क्रम दोहोरियो । सरकारले जबरजस्ती कब्जामा लिएर खुवाउने काम पनि गर्यो । तर अन्ततः उनको निधन भयो र सफ्रागेट अभियानको पर्यायको रुपमा उनको नाम लिइन्छ । नन्दप्रसाद अधिकारीपछि फेरि त्यस्तै नेपालका सफाग्रेट नबनुन् डा. गोविन्द केसी !

महिलाहरु मताधिकारका योग्य मानिदैनथे । तर, यो आन्दोलन मत हालेर बस्नेमात्र होइन मत पाउन अर्थात् उम्मेदवार हुन पाउनुपर्ने र सक्रिय हुन पाउनु पर्ने मागमा केन्द्रित थियो । प्रथम विश्वयुद्धमा भाग लिएका महिलाको बलमा चलेको यो शान्तिपूर्ण आन्दोलनले ठूलो परिवर्तन ल्याइदियो । नेपालमा भने पछिल्ला वर्षहरुमा शान्तिका मोलतोलका प्रकारहरू परीक्षण गरिँदै, असफल पारिँदै र छोडिँदै छन् । त्यो कडी नन्दप्रसाद अधिकारीको अनशनका क्रममा मृत्यु भएदेखि डा. गोविन्द केसीको चालु अनशनसम्मै जोडिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

आयरल्यान्डमा सन् १९७६ अर्धसैनिक बन्दीहरुको आन्दोलन चल्यो । सन् १९७२ देखि युद्धबन्दीका उन्मुक्तिमा अंकुश लाग्न थाले । बेलफास्ट नजिक न्यु मेज जेलमा एच ब्लक भनी विशेष व्यवस्था गरिएको थियो । त्यहाँ ब्ल्यांकेट प्रोटेस्ट नामले चिनिने आन्दोलनमा बन्दीहरुले कैदीका कपडा नलगाउने समेतका अडानले १९८० मा भोक हडतालको रुप लियो ।

उनीहरुले राज्यले गरेको सम्बोधनमा आफ्नो माग पूरा भएको बुझेछन् त्यसैले आन्दोलन स्थगित गरे । तर, १९८१ मा फेरि सुरु भयो । यसको नेतृत्व अधिकारवादी बबी स्यान्डसले गरेका थिए । उनले २७ वर्षको उमेरमा जेलमा ६६ दिनको भोक हडतालपछि  ५ मे १९८१ मृत्यु वरण गरे । उनका मुख्य मागहरु सातामा एउटा पार्सल बाहिर पठाउन र भित्र ल्याउन पाउनु पर्ने, बन्दी पोसाक नलगाउन पाउनुपर्ने, बन्दीहरु बीचमा नै भेटघाट गर्न पाउनु पर्ने लगायत थिए । मार्गरेट थ्याचरको सरकारले उनको कुनै माग पनि सम्बोधन गरेन । अक्टोबरसम्म उनीसँगै झन्डै एक एक दिनको फरकमा अरु नौ जनाको पनि अनशनकै कारण निधन भयो ।   

Global Ime bank

भोक हडताल वा अनशन अरुलाई दोषी महसुस गराउन अहिंसात्मक ढंगले माग पूरा गराउने राजनीतिक अधिकार र संसारभर मान्यताप्राप्त सौदाबाजी विधि पनि हो । यसको उद्देश्य नीतिगत परिवर्तनका लागि हुन्छ प्रक्रियागत सुधारका लागि होइन । ठोस नखाई तरल पदार्थमात्र पनि खाइन्छ । भोक हडतालमा कथम् कदाचित केही भइहाल्यो भने त्यसको जिम्मा राज्यको हुन्छ सिद्धान्ततः । 

कहिलेकाहीँ अनशन बलपूर्वक खुवाइएर पनि तोडाइन्छ  । त्यस्तो ‘फोर्स फिडिङ्ग’ को चलन प्राग्क्रिस्चियन आयरल्यान्ड सुरु भएको हो । कसैले कुनै गलत काम गरेको भए उसलाई सुधार गर्न अनुरोध गर्दा पनि नमानेमा साँझको खाना खाने बेला उसको घरको ढोकामा बसेर सुधार नहुञ्जेल खाना नखाने अनि घरमा आएको व्यक्ति खाना खाने बेलामा उसलाई भोकै राखेर आफूले खानु सभ्य संस्कार नभएको कारण दबाब दिन यो विधि सजिलो हुन्थ्यो । त्यसरी माग गर्नेका कुरा नसुनी काम गरेमा वा ऊ भोकै त्यहाँ मरेमा त्यस्ता माग पूरा नगर्ने व्यक्तिलाई सामाजिक बहिष्कार गरिन्थ्यो ।

भारतमा पनि जसको सुधारका लागि भोक हडताल गरिने हो उसैको ढोका अघि अनशन बस्ने चलन थियो । नेपाली अनशनको इतिहास पनि इसा पूर्व ४०० देखि  ७५० सम्म जोडिएको छ । वाल्मिकी रामायणमा पनि यसको सन्दर्भ उठेको पाइन्छ । अयोध्या काण्डको सर्ग १०३ मा भरतले रामलाई फिर्ता भएर राज्य चलाउन आग्रह गर्छन् तर उनलाई गरिएको कुनै पनि आग्रह काम लाग्न सकेन । त्यसपछि उनले आफ्नो भनाइ नमानेमा खाना नै नखाने भनिदिए । भयो पनि त्यस्तै तर भरतले त्यसबेला कुशको घाँस भने खाएको कथा छ । रामले ब्राह्मणको संस्कार नै यो हो भनेर सम्झाएका थिए ।  

चिकित्सा विज्ञानका अनुसार ३ दिनसम्म शरीरमा भएको र भोकहडताल सुरु गर्नुपूर्वको ग्लुकोजको शक्तिमा शरीर चल्छ । त्यसपछि भने कलेजोले शरीरमै भएको बोसोको प्रयोग गर्न थाल्छ । त्यस्तो प्रक्रियालाई चिकित्सा भाषामा ‘केटोसिस’ भनिन्छ । त्यो क्रम ३ सातासम्म जारी रहन्छ तर त्यसपछि भने शरीर ‘स्टारभेसन मोड’ भनिने अवस्थातिर लाग्छ । यो विन्दुमा शरीरले आफ्नै मांसपेशी र अरु महत्त्वपूर्ण अंगहरुको आफैँ शोषण गर्न थाल्छ । त्यसले गर्दा बोन म्यारो नष्ट हुन थाल्छ र फलतः मान्छे मर्छ । त्यसैले विश्वमा ५२ देखि ९४ दिनबीचको भोक हडतालमा अनशनकारीहरु धेरै मरेको उदाहरण देखिएका छन् ।

क्युबाका रिपब्लिकन अल्टरनेटिभ मुभमेन्टका नेता ओल्र्यान्डो जपाता तामायोको सरकार विरुद्धको अनशनमा ८५ दिनपछि निधन भएको थियो । उनी ४२ वर्षका थिए । उनी ६ डिसेम्बर २००२ मा पक्राउ परेका थिए । त्यसबेला ३ महिना जेल राखियो फेरि दोस्रो पटक २० मार्च २००३ मा पक्राउ परेका उनलाई कामागुसीको किलो सेभेन भन्ने जेलमा राखियो ।

त्यसपटक भने उनले नागरिक समाजको परिचालनका लागि भोक हडताल सुरु गरे । त्यसपछि नागरिक समाजको सक्रियता बढ्यो र उनीमाथि सामाजिक अशान्ति भड्काएको अर्को आरोप लगाइयो । उनलाई एमनेस्टी इन्टरनेसनलले आस्थाको बन्दी घोषित गरेको थिया । ‘मन्थ्ली रिभ्यु’ले भने उनले शान्तिमा खलल पुर्याएको लेखेको थियो । उनले डिसेम्बर २ मा अनशन सुरु गरे । उनले फिडेल क्यास्ट्रोले प्रयोग गर्ने स्तरको टिभी सेट, खाना र कपडा जेलभित्र पनि माग गरेका थिए । किड्नी फेल भएपछि उनलाई अनशन तोड्न दिइएको डाक्टरको सुझाव उनले मानेनन् । उनी लगभग अचेत बने पनि उनको इच्छाविरुद्ध भेनम दिइएको थियो । 

क्युबामा सन्  १९७२ मा युवा कवि तथा विद्यार्थी नेता पेड्रो लुइस बोटेलको अनशनकै क्रममा मृत्यु भए यता यो दोस्रो अनशनकारीको मृत्यु भएको थियो । १६ मार्च २०१० मा उनले राजनीतिक बन्दीहरु छोड्न सरकारका लागि लेखेको पत्र एउटा इन्टरनेट ब्लगमा राखेपछि एक साता पनि नपुग्दै ३० हजार जनाको ऐक्यबद्धता प्राप्त भएको थियो । त्यसमा सबैजसो कम्युनिस्ट र गैरकम्युनिस्ट वरिष्ठ व्यक्तिहरु थिए । त्यतिबेला उनको उपचार गर्ने डा. मारिया इस्टर हर्नान्डेज भन्नेलाई समेत त्यहाँको सरकारी टेलिभिजनले नै चेतावनीसमेत दिएको थियो । उनकी आमा रेइना लुइजा तामायोले मियामीको समाचारपत्र ‘नुएभो हेराल्ड’लाई दिएको एउटा अन्तर्वार्तामा क्युबाको सुन्दर भविष्यको सोचमा आक्रमण भयो मेरो छोरोले आफ्ना लागि कुनै पद मागेको थिएन भनेकी छिन् । 

शर्मिला चानु अर्थात् ‘आइरन लेडी अफ मणिपुर’ संसारमा सबैभन्दा बढी समय अनशन बस्ने अनशनकारी हुन् । उनी २ नोभेम्बर २००२ देखि १० वर्षसम्म झोल चीजमात्र खाएर मणिपुर भारतमा जातिगत विभेदविरोधी व्यवस्थाको पक्षमा विचारकी अभियन्ताको रुपमा चिनिएकी छिन् । उनलाई ‘द वल्डर्स लङ्गेस्ट हंगर स्ट्राइकर’ भनेर चिनिन्छ । अन्ना हजारे १२ दिन भारतको रामलीला मैदानमा अनशन बसेका थिए । गंगातिरमा भारत सरकारका गतिविधिविरुद्ध स्वामी निगमानन्द फेब्रुअरी १९ सन् २०११ मा अनशन सुरु गरेकोमा ११५ दिनपछि १३ जुनमा उनको निधन भएको थियो । उनको माग गंगा नदी अतिक्रमण सरकारले नै गरेको र त्यो रोक्नु पर्छ भन्ने थियो । नेपालमा हालसम्म अनशनबाट मृत्यु हुनेमा नन्दप्रसाद अधिकारी नै पहिलो भएको मेरो जानकारी छ । यसअघि सबैभन्दा लामो अनशन डा. गोविन्द केसीको देखिएको छ ।

सन्  १९८७ मा १५ सेप्टेम्बर बिहान साँडे ९ बजे नल्लुर मुरुगान मन्दिरमा लेफ्टिनेन्ट कर्नेल भनेर थिलिपन भनेर चिनिने तमिल समुदायका श्रीलंकाली नागरिक रासाइया पार्थिपन अनशन सुरु गरे । सानैमा आमा बितेकी शिक्षक बाबुका छोरा उनी जाफ्ना हिन्दु कलेजका मेधावी विद्यार्थी थिए । उनको मागहरु आतंकवादीको नाममा राजनीतिक विषय र व्यक्तिलाई सफाया बन्द गरिनु पर्ने, आदिवासी जनजातिको निर्मूलीकरण बन्द गरिनु पर्ने आदि थिए । उनले २६ सेप्टेम्बर १९८७ मा अनशनकै अवस्थामा संसार त्यागे । 

महात्मा गान्धीलाई सन्  १९२२, १९३०, १९३३, १९४२मा पटक पटक अंग्रेजहरुले अस्पताल लानुपरेको थियो अनशनमै मर्न नदिनलाई  । त्यसबेला भगत सिंह र जतिन दासको अनशन ११६ दिन पुगेको थियो ।  सन् १९२९ अक्टोबर ५ मा त्यो तोडिएको थियो । तर उनका अनुयायी पोट्टी श्रीरामलु जसलाई अमराजीवी पनि भनेर चिनिन्छ उनी दलित समुदायको हक, अहिंसात्मक शासन व्यवस्था र स्वतन्त्र स्वाधीन देशको माग गर्दै बसेको अनशनको ५८ औं दिनमा बितेका थिए ।

यो धर्म संकट पारिदिने नीति आइरिसहरुले १९१७ मा सुरु गरेर १९२० मा एंग्लो आइरिस युद्धमा बढी प्रयोग गरे । त्यतिबेला अनशनकारीलाई जबरजस्ती खुवाउने ‘फोर्स फिडिङ’को प्रयोग पनि प्रशस्तै भयो । सोही समय बन्दी बनाइएका महान् योद्धाहरु लर्ड मायोर, थोमस ऐसेले पनि अनशनमै जीवन त्यागेका थिए । ‘गिनिज बुक अफ वल्र्ड रिकर्डस्’मा पनि आइरिस गृह युद्धमा फोर्स फिडिङ नगराई ९४ दिनको अनशनपछि मृत्यु भएकाहरुको सूची नै राखिएको छ । सन्  १९२० को ११ अगस्त देखि नोभेम्बर १२ सम्म अनशन बसेर प्राण त्याग गर्नेमा जोन र पिटर क्राउले, थोमस दोनोभान, मिखाइल ब्रक, मिखाइल ओ रेली, जोन पावर, क्रिस्टोफ उप्सन, जोसेफ केन्नी र सीन हेन्नेसी उल्लेखित छन् । भेनेजुएलामा ३० अगस्त २०१० मा एक जना किसान फ्य्रांकलिन ब्रिटोको अनशनमै मृत्यु भएपछि निक्कै हल्लीखल्ली भएको थियो । उनले किसानलाई सहुलियतसम्बन्धी आवाज उठाएका थिए ।

‘वल्र्ड मेडिकल एसोसिएन’को सन् १९७५को टोक्योमा सम्पन्न भोक हडतालसम्बन्धी माल्टा घोषणापत्रको धारा ६ ले उचित कारणसहित औषधि लिन आफैँले इन्कार गरेको अवस्था चिकित्सकले जबरजस्ती खुवाउन नमिल्ने तर आफैँले इन्कारसमेत गर्नसक्ने अवस्था नभएमा सम्बद्ध पक्षको अनुमतिमा  चिकित्सकले आवश्यक औषधी दिन सक्ने प्रावधान छ । 

अघाएर अटसमटस भएकाहरुका लागि अनशन ज्यानलाई सन्तुलित बनाउन डाइटिङ बस्नुजस्तो मात्र लाग्दो हो डा. गोविन्द केसीका सबालमा पनि । तर, अवस्था दिनपर दिन त्यस्तो हुँदैछैन । यतिबेला डा. केसीको अवस्था गम्भीर बताइएको छ । यसै पनि नन्दप्रसाद अधिकारीको अनशनका क्रममा भएको निधनले विश्व सामु नेपालको नाकैमा कालो पोतिएको छ । ढुंगामुढा नगर्नेको कुरा सुनिन्न भन्ने पुष्टि भएको छ । अब डा. केसीको समेत नन्दप्रसादको जस्तै हालत नहोस् । तर, अनैतिक र गैरजिम्मेवारहरु शासनमा भएपछि भर हुन्न । नन्दप्रसाद अधिकारीकी पत्नी गंगामाया अधिकारीको समेत हालसम्म कुरा नसुनेको घटनाले पनि विश्वसामु नेपालका राजनीतिजीवीहरुको नैतिकता नै धुजाधुजा बनाएको छ । डा. केसीको नैतिक अडानले भने अपराधको आडमा टेको लगाएको शासनलाई ढलाउन सक्छ । चाँडै डा. केसीका सम्पूर्ण जायज मागहरुको सम्बोधन गरियोस् !

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २३, २०७७  ११:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC