site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
युद्धको सिपाहीजस्तो भइयो
Ghorahi CementGhorahi Cement

नेपाली लोकदोहोरीको फाँटमा वसन्त थापा परिचित नाम हो । गायन, संगीत र गीति रचना तीनै विधामा उनले आफूलाई उभ्याएका छन् । यी तीनमध्ये पनि संगीतमा उनको दिमाग बढी चल्छ । ०५९ सालबाट सांगीतिक क्षेत्रमा सक्रिय वसन्तले हालसम्म हजारभन्दा धेरै गीतमा संगीत भरिसकेका छन् । करिब सय गीतमा स्वर भरेका छन् । लोकप्रिय गीत सालको पातको टपरी... उनैले संगीत गरेको गीत हो । चलचित्र छ माया छपक्कैको जुनको जुनेली... पनि उनकै संगीत तथा स्वर रहेको गीत हो । उनै वसन्त थापासँग लोकगीतसंगीत, यसमा भइरहेको लगानी र त्यसको प्रतिफल, लोकगीतको गुणस्तर र यसमा हुँदै आएका टिप्पणीलगायत विषयमा बाह्रखरीका नरेश फुयाँलले गरेको कुराकानी :
 
० ० ०
कोरोनाको प्रभाव कस्तो परिरहेका छ, तपाईंको सांगीतिक करिअरमा ?
पहिला त हामी पूरै रोकियौं । कारण सरकारको निर्देशन पनि त्यही थियो । र हामी स्वयं पनि सचेत हुनुपर्ने थियो । नयाँ महामारी भएकाले कस्तो रोग हो भनेर जानकारी थिएन । त्यसैले विश्वभर त्रास फैलिँदा हामी पनि त्रसित भयौं । 

तर, पछिल्लो समय कोरोनाबाट कसरी सुरक्षित हुने भन्ने पनि जानकारी हुँदै गयो । संक्रमण उच्च तर मृत्युदर कम रहेको भन्ने पनि भयो । यी सबै कुराहरू हेर्दा मलाई म युद्धको सिपाही हुँ जस्तो लाग्छ । जहाँ जतिसुकै बेला पनि संक्रमण हुनसक्छ । जीवन आज छ भोलि छैन । कुनै निश्चित छैन । 

तर पनि काम त गर्नैपर्छ । सरकारले पनि सधैं बन्द गरेर हुँदैन । भोकले मर्नुभन्दा खाएर मर्नु उत्तम होला सायद । त्यसैले काममा फर्किन पाए खुसी मिल्थ्यो भन्ने आम नागरिकलाई छ । मलाई पनि त्यही नै हो । केही काम गर्न मैले पनि सुरु गरेको छु । 

Agni Group

कोरोना संक्रमणको जोखिमका कारण सबै पेसा व्यवसाय ठप्प भएका बेला पनि सांगीतिक क्षेत्र अर्थात् तपाईंहरू त करिब सक्रिय नै रहनुभयो । कारण ?
पहिलो कुरा मान्छे भोकै बस्न सक्दैन । खानका लागि केही न केही गर्नैपर्छ । हरेक व्यक्तिको पारिवारिक आर्थिक दायित्व हुन्छ । कोही पनि व्यक्ति आर्थिक दायित्वबाट भाग्‍न सक्दैन । यसका लागि पनि हरेक दिन मान्छेले काम गर्नैपर्छ । आफू र आफ्नो परिवारको जीवनरक्षाका लागि पैसा चाहिन्छ । यसका लागि काम गर्नैपर्छ ।

कति नागरिक एक छाक खान नपाउने पनि हुनुहुन्छ, उहाँहरूलाई निकै कठिन छ । उहाँहरूले दैनिक काम गर्नैपर्छ । अब विस्तारै सबै पुरानै लयमा फर्किँदै छन् । यो बाध्यता पनि हो ।
इन्टरनेटको युग भएकाले प्राविधिक हिसावले हामीलाई अलि सजिलो पनि छ । हाम्रो दिमागमा सिर्जना छ भने त्यो डिजिटल प्लेटफर्ममा बेच्न सकिन्छ । इन्टरनेटको माध्यमबाट दर्शक स्रोताकोमा पुग्नसक्ने र त्यहीँबाट दर्शक स्रोताले हाम्रो सिर्जना उपभोग गर्न सक्ने भएकाले सहज पनि छ । 

Global Ime bank

अहिले सांगीतिक क्षेत्रका लागि युट्युब मात्रै हो रेभिन्यु आउने स्रोत । युट्युबमा भिडियो हेरेकै भरमा लगानी उठ्छ ?
लगानी उठ्नका लागि धेरैले हेरिदिनुपर्छ । धेरैले हेर्नका लागि सिर्जना राम्रो हुनुपर्छ । लगानी कति गर्ने, सर्जकले काम कसरी गरिरहेको छ भन्ने कुरामा पनि भरपर्छ ।

व्यक्तिगत कुरा गर्दा हिजो लगानी गर्ने अवस्थामा मैले त्यो काम गरेँ । आज अवस्था कठिन हुँदा कम गरेको छु । किनभने अभाव भन्ने कुरा जुनसुकै बेला पनि हुनसक्छ भन्ने कुरा यो कोरोनाको महामारीले प्रमाणित गरिसकेको छ । 

अधिकांशको लगानी उठ्दैन भने केका लागि कसले लगानी गरिरहेको छ ?
मान्छेलाई खान मात्रै पुगेर पनि हुँदैन । लकडाउनमा बस्दा मात्रै पनि उठ्नु खाना खानु, सुत्नु र उठ्नु मात्रै पनि जीवन थिएन । यसबाहेक पनि थुप्रै क्रियाकलाप हुन्छ जीवनमा । मैले तपाईंलाई तपाईंको जीवनमा संगीतको कति आवश्यकता छ भनेर सोधें भने जवाफ के दिनुहुन्छ ? तपाईं तनाव मुक्त हुन, स्वस्थ रहन संगीतको अति आवश्यकता छ भन्ने कुरा मैले तपाईंलाई भनिरहनु पर्दैन होला सायद । संगीत सुन्न सक्दिनँ भन्न सक्नुहुन्छ ? पक्कै पनि सक्नुहुन्न होला । 

अरु कुनै पनि काम नभएकाले अर्थात हामी फुर्सद भएकाले पनि यसमा जोड दिएको हुनसक्छ । कसैले टिकटक बनाएर पनि कला भएका मान्छेहरू बाहिर आएका छन् । 

जीवनका अरु आवश्यकता परिपूर्ति भइसकेपछि मनोरञ्जन लिने हो भन्ने तर्क पनि छ नि ?
मनोरञ्जनबाट हामी कति टाढा छौं भन्ने कुरा बिहान उठेदेखि बेलुकासम्म हामी मोबाइलमा केही न केही गीतसंगीत सुनिरहेका हुन्छौं अथवा कुनै भिडियो हेरिरहेका हुन्छौं । अर्थात अर्को कुनै न कुनै मनोरञ्जनको माध्यममा हुन्छौं भन्ने कुरालाई कसैले नकार्न सक्दैन । यो कन्टेन्ट क्रिएट कसले गरिदिएको छ । सर्जकले गरिदिएको छ । त्यो नभए तपाईं र तपाईंको बच्चाले के हेर्छ । सबै मान्छे एकै प्रकृति र एकै सोचको हुँदैन । 

मलाई पनि कहिलेकाहिँ लाग्छ, मलाईजस्तै अरुलाई पनि कति धेरै गीत सुन्नुपरेको । कति धेरै मनोरञ्जन चाहिएको । तर मान्छेले आफू खुसी हुन, तनावमुक्त हुन र फ्रेस हुनलाई पनि गीतसंगीत सुनिरहेको जस्तो लाग्छ । यसका लागि नयाँनयाँ सिर्जना हामीले गर्नैपर्‍यो । 

युट्युब केन्द्रित अर्थात् गीतहरू भिडियोमा केन्द्रित हुँदा गीतको गुणस्तरमा कमी आएको छ कि छैन ?
पक्कै पनि हामीले गुणस्तरीय काम गर्न सकेका छैनौं । कारण नेपाल सानो छ । यसमा पनि सांगीतिक क्षेत्र झन् सानो छ । त्यसमा पनि सरकारले यसलाई प्राथमिकतामा राखेको छैन । हरेक कलाकार कलाकारिता गरेर बाँच्‍न सक्ने अवस्थामा पुगेका छैनन् ।

अहिलेको नयाँ युगमा डिजिटल प्लेटफर्मबाट केही मात्रामा लगानी आउने हो । यसमा पनि कडा प्रतिस्पर्धा छ । यसमै कलाकारहरूले धेरै लगानी गरिरहेका छन् । लगानीको थोरै अंश मात्रै उठिरहेको छ । तर पनि यहीँ लगानी किन भइरहेको छ ? तपाईंको प्रश्न जायज हो । तर, यहाँ धेरैजसोले गरे हुने रहेछ किन नगर्ने भन्ने कमजोर सिर्जना र लहलहैका भरमा लगानी गर्ने चलन बढेको छ । हरेक क्षेत्रमा सबै राम्रो हुँदैन । प्रतिस्पर्धामा आउँदा एकाध चल्ने हुन् । सयमा ५/१० वटा गीत चल्ने हो बाँकी घाटामै जाने हो । 

चाइनिज बजारमा जानुस् दिनको कारोबार कति हुन्छ । तर हीराको मूल्य कहिले घटेको देख्नुभएको छ । सुनको भन्दा कारोबार अरुको बढी होला तर सुनको महत्त्व कहिल्यै घटेको छैन । कमजोर वस्तुको कारोबार धेरै हुन्छ । यसको अर्थ राम्रा चिजहरू आफ्नै लयमा हुन्छन् ।

पछिल्लो समय युट्युब भ्युज र ट्रेन्डिङलाई आधार मानेर गीत हिट भयो भन्ने पनि छन् । यसमा तपाईं सहमत कि असमत ?
पछिल्लो समय बुस्ट गर्ने चलन छ । यो विज्ञापन हो । विज्ञापन कमजोर वस्तुका लागि पनि हुन्छ । हुवावे फोनका बोर्ड जताततै लागेका देखिन्छ । तर एप्पल कम्पनीको बोर्ड त देखिँदैन । ब्रान्डले पनि काम गर्छ । गुडविल भनेकै त्यही हो । कसैले आफ्नो युट्युब च्यानल नै फोहोर गरिरहेको हुन्छ । राम्रो कन्टेन्ट पनि हुन्छ नराम्रो पनि हुन्छ ।

मुख्य कुरा कन्टेन्ट के दिने र कस्तो दिने भन्ने हो । सबै चाउचाउका एउटै स्वाद खोजेर हुँदैन । हरेक ठाउँमा सर्जकहरू फरकफरक हुन्छन् । उसले गाउने गीत, उसको सिर्जना र उसले गर्ने फिल फरक फरक हुन्छ । 

बिक्रीका आधारमा राम्रो छ भन्न पनि सकियो । तर, आफूले उपभोग गरिसकेपछि राम्रो छ कि छैन त्यो महसुस गर्ने कुरा हो । आफूले किनेर ल्याएको चिज कहिलकाहीँ नराम्रो पनि हुनसक्छ । 

गीत सुन्नका लागि भन्दा पनि हेर्नका लागि सिर्जना गर्न थालियो । नाच्न र नचाउने गीत यही गतिमा बढ्दै जाने हो भने भोलिको गीतको गुणस्तरलाई लिएर अहिले केही अनुमान लगाउन सकिन्छ ?
म संगीतको विज्ञ होइन । सिक्दै गरेको सानो विद्यार्थी हो । धेरै कुरा मलाई थाहा छैन । तर, समय र परिस्थितिले विभिन्न प्रकारका धुनहरू माग्छ । विभिन्न जानराहरू क्रिएट गर्छ । लोकगीतका स्रोताहरू दैनिक मरिरहनुभएको छ । नयाँ पुस्ता जन्मिरहेको छ । जसले लोकगीत सुनेकै छैन । भोलि जनताले कस्तो संगीत माग्छ अनुमान लगाउन सकिन्छ । संस्कृति पुस्तान्तरण हुँदै जाँदा विकास हुँदै जाने हो । आज हामी एकखालको गीत गाइरहेका छौं । २० वर्षपछि त्यही परिवेशको मौलिकपन आउँछ । नारायाण गोपाल, बमबहादुर कार्की, धर्मराज थापा, लोकबहादुर क्षेत्रीको पालामा इन्स्टुमेन्ट थिएन । जे थियो त्यसैमा फिलमा डुबेर गाउनुभयो । त्योबेला त्यही राम्रो माने नागरिकले किन कि समय त्यस्तै थियो । वरिपरि जे छ त्यसैलाई हेरेर सिर्जना गर्ने न हो । जे चल्छ त्यहीभित्र सर्जक खेल्ने हो ।
 
लोकगीतमा स्थानीयताको स्वाद र परिवेश झल्किनुपर्नेमा पछिल्लो समय लोकगीतका नाममा अरु नै बिक्री भइरहेको छ भन्ने गुनासो छ नि ? 
अहिले त मान्छे ज्यान जोगाउन नै संघर्ष गरिरहेको छ । त्रसित वातावरणमा काम गरिरहेको छ । ठूलो मेला-महोत्वमा कसैले गीत गाइरहेको छ तर एक्कासि पानी पर्‍यो भने सबै ओत लाग्न आ-आफ्नो घरतिर लाग्छन् । अहिलेको वातावरण त्यही हो । 

कोरोनाको त्रास सुरुहुनुभन्दा अगाडिकै कुरा गरिरहेको छु म । लोकगीतका नाममा अरु नै गीत बेचियो भन्ने गुनासो लोकगीत-संगीतका सर्जकहरूबाटै आइरहेको छ नि ?
लोकगीत भनेको कस्तो हुन्छ ? ठ्याक्कै यस्तो हुन्छ भनेर कुनै वैज्ञानिक मापदण्ड दिन सक्नुहुन्छ ? यो नोटेसन भएको यो-यो मात्रै लोकगीत हो भनेर कुनै वेस बताउन सक्नुहुन्छ ? सक्नुहुन्न । लोकगीत पनि सरगमबाट आउने हो । आधुनिक गीत पनि सरगमबाटै आउने हो । हरेक गीत सरगमबाट आउने हो भने त्यसमा विभिधता र बर्गिकरण किन ? लोगीतको इतिहास, अभ्यास र खोज अनुसन्धान गरेर प्रश्न गर्दा अलि मजा आउँछ जस्तो लाग्छ । 

मेरो अनुभूतिमा लोकगीत भनेको धेरै गहिराइको विषयवस्तु हो । बरु हामीले गरेका गीत गणितमै छन् । हाम्रा कति अग्रजहरूले गणितन्दा बाहिर आफ्नै गणितमा गाएका गीतहरू पनि छन् । त्यसलाई हामीले के भनौं । हामी धेरै अज्ञानी छौं । त्यसैले मैले म धेरै जान्दिन भनेको हुँ । 

पाश्र्व गायन पनि सुरु गर्नुभएको छ । समय र विषयवस्तुको सीमिततामा बसेर चलचित्रका गीत तयार गर्न र स्वतन्त्र रुपमा अन्य गीत लेख्दा केही संकुचनको महसुस हुँदोरहेछ ?
चलचित्रको गीतमा स्वतन्त्र भइँदैन । कसैले आँखामा पट्टी बाँधेर हेर भनेजस्तो । हात र खुट्टा बाँधेर नाच भनेजस्तो । माक्स लगाएर गाऊ भनेजस्तो हो । सर्जक भनेको सधैं स्वतन्त्र हुन चहान्छ । विषयवस्तु पायो भने त्यहाँभित्र पनि स्वतन्त्र हुन मिल्छ । चलचित्रको गीतमा अलि संकुचन हुन्छ । आफूले प्रयोग गर्न खोजेका कुराहरू सधैं प्रयोग गर्न पाइँदैन । निर्देशकले भनेअनुसार गर्नुपर्ने हुन्छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २१, २०७७  १५:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC