site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
यी शासक र ती शासक 

नेपाली जनताले अधिकारका लागि फेरि संघर्ष गर्नु नपरोस् भनेर २०६२–०६३ को जनआन्दोलन सुरु भयो । राजाले जननिर्वाचित सरकारलाई बर्खास्त गरेर मुलुकको कार्यकारी अधिकार हातमा लिएका थिए । त्यसैले निरंकुश राजतन्त्रको अन्त्य र पूर्ण प्रजातन्त्रको बहालीका लागि आन्दोलनको भूमिका बनेको थियो । राजाले जनताको माग सुनुवाइ गरेनन् । आन्दोलन चर्कियो । राजतन्त्र बिदा गरी गणतन्त्र स्थापना गरियो । 

हिजो गणतन्त्रका लागि संघर्ष गर्नेहरु आज सत्तामा छन् । तर, शासकको भने भूमिकामात्र फेरिएको छ । राजतन्त्रको अन्यायविरुद्ध लड्नेहरु आफैँ नयाँ राजाका रुपमा उदाएका छन् । 

यसबीच एक जना मित्रले फोनमा भने — हैन, पहिला देशमा एउटै राजा थिए, गणतन्त्र आएपछि त झन् म देशमा जताततै राजै राजा देख्दैछु । यिनीहरुको यत्न प्रयत्न युवराजहरुलाई स्थापित गराउनमै केन्द्रित छ । विश्वविद्यालयहरुको नेतृत्वमा सत्ताधारीको भजन गाउनेहरु पुर्‍याइएका छन् । जनताको पक्षमा आवाज उठाउने डा. गोविन्द केसीमाथि अमानवीय व्यवहार गरिँदैछ । 

Agni Group

सिंहदरबारदेखि पालिका तहसम्म जनताको आवश्यकता र चाहनाबमोजिम काम भएको छैन । गाउँगाउँमा सिंहदरबार पुगेको छ । तर, सुशासन हैन भ्रष्टाचार, अनियमितता र विकृति तल्लो तहसम्म संस्कृति बनिसकेको छ । ती मित्रले भने यसै विषयमा लेख्नु पर्‍यो । 

राजतन्त्र गएर जनताका लागि के परिवर्तन भयो र ? उनीहरुका दुःख पीडा त ज्युँका त्युँ छन् । राजतन्त्र अन्त्य भएको बाह्र वर्ष के भएको थियो खोलो त अर्कै रूपमा सही उतै फर्कियो । सत्तारुढ दलभित्रको शक्ति संघर्ष उत्कर्षमा छ । बहुमतको सरकार नेताहरुका व्यक्तिगत स्वार्थको बन्धक छ । राणा र राजाले अत्याचार गरे । तिनका तन्त्र गए । जनताको पक्षमा काम गर्न नसक्नेहरु इतिहासमा कसरी हराउँछन् भन्ने अध्येताका लागि नेपाल उर्वर भूमि हुनसक्छ । 

Global Ime bank

मित्रले भने — आजको नयाँ पुस्तालाई राणा कस्तो थियो र किन भयो भन्ने जानकारी गराउन जरुरी छ । त्यसैले यस बारेमा लेख्ने कि ? उनको सुझावका कारण राणाकालको अत्याचार प्रसंगमा लेख्न मन लाग्यो ।  

नेपाली दरबारमा भित्रको सत्ता संघर्षका कारण कैयाैं भारदार काटिए । राणा शासनका जन्मदाता जंगबहादुर कुँवर भन्दा अघिका कुनै प्रधानमन्त्री कालगतिले मर्न पाएनन् । काटिए वा सेरिए । पाण्डे, थापा र बस्न्यातलगायत भारदारहरुबीचको काटमार र दरबारभित्रका भारदारबीचको द्वन्द्व र दरबारभित्रको खिचातानी उत्कर्षमा थियो । त्यही मौकाको लाभ उठाउँदै १९०३ सालको कोतपर्वमा उच्च तहका प्रायः सबै भाइभरदार काटिए । अनि नेपाली राजनीतिमा जंगबहादुर कुँवर राणाका रूपमा उदाए । प्रधानमन्त्री भएको तीन वर्ष पुग्दानपुग्दै विसं १९०६ मा तत्कालीन ‘राजा सुरेन्द्रको हातबाट ‘पञ्जापत्र’ लगाई उनले कास्की र लमजुङको श्री ३ महाराजाको पदवी हात पारे । राजाको अधिकार राणामा सर्‍यो । राजाहरु खोपीमा सीमित भए । मृत्युदण्ड वा माफी दिने, सरकारी कर्मचारी नियुक्त वा बर्खास्त गर्ने, कानुन बनाउने संशोधन गर्ने, खारेज गर्ने अधिकार प्रधानमन्त्रीको भयो । व्यवस्थापिका, कार्यपालिका र न्यायापालिकाको सम्पूर्ण अधिकार एक सय चार वर्षसम्म प्रधानमन्त्रीमा निहित रहन पुग्यो । राणाका भाइ, छोराहरु क्रमशः श्री ३ महाराज र प्रधानमन्त्री हुने रोलक्रम सुरु भयो । राज्यसत्ता परिवारबाट नफुस्कियोस् भन्नका लागि जंगवहादुरले आफैँँले राजपरिवारसँग राणाहरुको बिहेवारी चलाए । 

प्रधानमन्त्रीको इच्छाबेगर मुलुकमा पातसमेत हल्लिन छोड्यो । राणाविरुद्व लाग्नेले मृत्युदण्ड वा आजन्म कैद भोग्न तयार हुनु पर्थ्यो वा मुलुक छाड्नु पर्थ्यो । ‘कालको ओखती छैन, हुकुमको जबाफ छैन’ र ‘जसको हातमा तरबार उसैको हातमा दरबार’ जस्ता उखान चलेका थिए । मुलुकमा दुई वर्गमा विभाजित थियो — एउटा शासक, अर्को शासित रैती । देशको सम्पूर्ण आम्दानी प्रधानमन्त्रीको निजी सम्पत्ति सरह मानिन्थ्यो । वर्षमा जति राजस्व उठ्थ्यो सबै प्रधानमन्त्रीको तजबिजमा खर्च हुन्थ्यो । खर्च भएर बचेको रकम उनैको निजी ढुकुटीमा जान्थ्यो  र विदेशको बैंकमा पुग्थ्यो । 

राणा प्रधानमन्त्री जुद्धशमशेरले १३ वर्ष २ महिना केही दिन शासन गरे । गद्दी छोड्ने दिन भारदारहरुलाई सम्बोधन गर्दै गौरवसाथ उनले भनेका थिए यति सानो मेरो कार्यकालमा १ करोड रुपैयाँ विकास कार्यमा खर्च भएको छ ।

प्रधानमन्त्रीबाहेकका उच्च पदमा राणा परिवारकै सदस्य नियुक्त हुन्थ्ये । निजामती र सैनिकतर्फका तल्लो तहमा मात्र जनताका छोराछोरीले जागिर पाउँथे । त्यो पनि राणाका दरबार चाहरेर चाकरी गरी रिझाउन सक्नेले मात्र । राणाका सन्तान जन्मजात जर्नेल हुन्थे । जनता भने सेनामा कर्णेलसम्म पुग्नसक्थे । त्यसभन्दा माथि पुग्ने त उनीहरुको पुर्पुरामै लेखिएको हुँदैनथ्यो । 

राणालाई जे गर्न पनि छुट थियो । गणेशमान सिंहले मेरा कथाका पानाहरु नामक पुस्तकमा भनेका छन् ‘न आमाको इज्जत छ, न दिदीबहिनीहरुको इज्जतको सुरक्षा छ । राणाहरुलाई राम्रो लागे जसका छोरीबेटी पनि उठाएर लैजान्थे । नेवारहरुले राणाहरुको त कुरै छोडौँ, क्षेत्रीकी छोरी लग्यो भने पनि चारपाटे मुडेर देश घुमाइन्थ्यो । अर्कोतर्फ ‘राणाले जसकी श्रीमती लगे पनि जारी खत तिर्न नपर्ने, क्षेत्रीहरुले जारी खतमात्र तिरे पुग्ने तर नेवारले भने जारले मागेको बिगो र सजायसमेत भोग्नु पर्थ्यो ।’ यस सन्दर्भमा कांग्रेसका गान्धीवादी नेता रामहरी जोशीले एउटा रोचक प्रसंग लेखकलाई सुनाएका थिए । उनी कलकत्तामा पढ्दा राणाकी छोरीसँग विवाह गरेको आरोपमा काठमाडौंका भेटनारायण श्रेष्ठको सर्वस्व हरण गरियो  । अनि भेटनारायण प्रेमिकाका साथ काठमाडौंबाट रातारात भागेर कलकत्ता पुगे । त्यहाँ कस्तुरीको व्यापार गरी बसेका दाजु सत्यनारायण बहादुर श्रेष्ठसँग बस्न थाले । राणा शासन अन्त्य भएपछि मात्र उनी स्वदेश फर्किन पाए । ‘राणाकी छोरीसँग प्रेम गर्नु उनको अपराध थियो ।’

राणाको अत्याचारसम्बन्धी अर्को प्रसंग गणेशमान सिंहले उल्लेख गरेका छन् । आफू सेन्ट्रल जेलमा बन्दी हँुदा राम्रो सहयोग गर्ने गोपी च्यामे नामका कैदीका प्रसंगमा सिंहले भनेका छन्  — ‘गोपी च्यामे होइन, बाहुन थियो । च्यामेनीसँग प्रेममा परेकाले जाति च्युत गरेर च्यामे बनाइएको थियो । त्यही अपराधमा उसलाई छ वर्ष कैद ठोकिएको थियो । माथिल्लो जातिको लोग्ने मान्छेले ‘पानी नचल्ने’ जातकी महिलालाई ल्यायो भने उसको जात पनि स्वास्नीकै सरह मानिन्थ्यो । त्यो विजातिको संसर्ग गर्नेले दोहोरो सजाय भोग्नु पर्थ्यो जाति च्युत र कैद ।’

राणाकालको अत्याचार बारे प्रशासक भीमबहादुर पाँडेले ‘त्यस बखतको नेपाल’ पुस्तकमा लेखेका छन् — ‘वि.सं. १९९५÷९६ तिरको कुरा हो । कवि चक्रपाणी चालिसेका छोरा लक्ष्मीनन्दन चालिसे त्रिचन्द्र क्याम्पसमा पढ्दै थिए । उनको जाँचमा सोधिएको एउटा प्रश्न यस्तो थियो ‘तिमी कसलाई बहादुर मानिस ठान्छौ ।’ त्यसको जवाफमा लक्ष्मीनन्दनले लेखका थिए ‘श्री ३ जंगबहादुर महाराजलाई म नेपालका एकमात्र बहादुर मानिस ठान्छु । निबन्धको अर्को अंशमा उनले लेखेका थिए ‘तर उनैका सन्तान आज नपुंसक जस्ता भएका छन् ।’ संयोगले उनको कपी बालकृष्ण शमशेर जवराले जाँचे । आफू र राणा परिवारलाई नपुंसक भनेकोमा बालकृष्ण शमशेरको चित्त त दुखेन तर बौद्विक बहसका क्रममा लक्ष्मीनन्दनले लेखेको निबन्धको प्रसंग उनले केही ठा“उमा उठाए । एक कान दुई कान मैदान हुँदै त्यो कुरा प्रधानमन्त्रीको दरबारसम्म पुगिहाल्यो । 

प्रधानमन्त्री जुद्वशमशेरले लक्ष्मीनन्दनलाई बाह्र वर्ष कैद गर्न आदेश दिए । पछि उनको मनमा के आएछ लौ त्यसलाई छ वर्षमात्र कैद गर्नु भन्ने हुकुम दिए । लक्ष्मीनन्दनलाई तुरुन्तै पक्राउ गरी नेल ठोकी भद्रगोल जेलमा थुनियो । झ्यालखानाभित्रको चरम नरकीय यातना उनले सहन सकेनन् । कडा रोगले गाँज्यो । चार वर्षपछि उनी छुटे । केही समयपछि प्राण त्याग गरे । छोराको निबन्ध प्रकरणमा लक्ष्मीनन्दनका पिता ‘कवि चक्रपाणी चालिसेको पनि जागिर गयो ।

लक्ष्मीनन्दनको मृत्यु त्यही प्रकृतिको थियो जसरी त्यसअघि ‘मकैको खती’ नामक पुस्तक लेखेको अभियोगमा सुब्बा कृष्णलाल अधिकारीलाई जेलमै सडाएर मारिएको थियो । अधिकारीले एक हजारप्रति पुस्तक छपाएका थिए । राणाहरुले नौ सय उनान्सयप्रति जफत गरे । जति खोजी गर्दा पनि एक थान पुस्तक फेला पार्न सकेनन् । महाराजको गाथगादी ताकेको अभियोगमा उनलाई छ वर्ष कैद सजाय सुनाइयो र एकप्रति पुस्तक लुकाएको अभियोगमा थप ३ वर्ष थप गरी नौ वर्ष जेल सजाय सुनाइयो । 

राणाहरुको अत्याचारले सीमा नाघेको थियो । ‘मोटर वा बग्गीमा शासकको सवारी हुदा अगाडिपछाडि रिसल्लाहरु हातमा झन्डा समातेर घोडा दौडाउँदै सवारी भयो, बाटो छोड भन्दै कराउँदै हिँड्थे । ( त्यतिबेला रैतीले सडकको एक छेउमा उभिनुपर्ने, छाता ओढेको भए बन्द गर्नुपर्ने, जातअनुसार सलाम वा स्वस्ति गर्नुपर्थ्यो । त्यसो नगर्नेले आठपहरियाको कोर्रा खप्न तयार हुनु पर्थ्यो । 

शासकको चाहनाविपरीत जानेले या त मारिनु पर्थ्यो वा देश छोड्न तयार रहनुपर्थ्यो । अर्थात्, कि त दरबारको चाहना बुझ्न सक्नुपर्‍यो नभए ज्यान अर्पण गर्न तयार हुनुपर्थ्यो । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १८, २०७७  १३:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC