site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
भाइरलको चक्करले बिगार्‍यो 
Sarbottam CementSarbottam Cement

सुगम पोखरेल नेपाली पप संगीतमा रुचाइएको नाम हो । गीत–संगीतमार्फत आफ्नो परिचय फराकिलो बनाएका उनका सिर्जनाले देश / विदेश चहारी सकेका छन् । सातवटा गीति एल्बम सार्वजनिक गरेका उनले हालसम्म करिब २०० गीतमा स्वर भरिसकेका छन् । २५ वर्षदेखि सांगीतिक क्षेत्रमा सक्रिय सुगमका फेरि त्यो दिन..., कति दिन बिते..., मायाको बाटो..., सम्हालिन्छ कहिले मन..., तिमी मभन्दा..., मेरो एउटा साथी छ..., स्कुल पाठशाला..., लगायत दर्जनौं गीतले स्रोताको मन जितेका छन् । उनै गायक सुगम पोखरेलसँग कोरोनाको कहरमा सिर्जनाको क्षेत्रमा परेको प्रभाव र आर्थिक अवस्था, बेलाबेलामा फेरिने गीतको जानरा र दर्शकको स्वाद, बजारको माग र सर्जकको रोजाइ, गीतको गुणस्तर र कलाको व्यापारसँगै नेपाली गीत–संगीतको विगत, वर्तमान र भविष्यका विषयमा केन्द्रित रहेर बाह्रखरीका नरेश फुयाँलले गरेको कुराकानी :
० ० ०

विषयवस्तुमा प्रवेश गर्नुअघि एउटा जिज्ञासा राखिहालौं– उधारोमा गरेको स्टेज पफर्मको पारिश्रमिक उठाइसक्नुभयो कि फेसबुकमा फेरि तस्बिर र नाम सार्वजनिक गर्न बाँकी नै छ ?
केही अंश उठ्यो, केही उठ्न बाँकी छ । केहीको त समय पनि गुज्रिसकेको छ । दिन्छु भनेर फोन त गर्नु भएको छ । तर, कोरोनाका कारण सकिएन भन्नेहरू पनि हुनुहुन्छ । अफ्ठ्यारो हुनु नपर्ने हो किन भने गएको वर्षको कारोबार हो । ७५ प्रतिशत उठ्यो । त्यसले काम गर्यो यो समयमा । 

आफ्नो प्रतिभा र मिहिनेतको कमाइ उठाएर खान पनि गाह्रो छ नि ? 
हाम्रोमा प्रोफेसनल हुन्छु भनेर पूरै प्रोफेसनल पनि हुन नसकिँदो रहेछ । कहिलेकाहीँ सम्बन्धले पनि काम गर्दो रहेछ । साथीभाइ, इस्टमित्र, चिनेजानेको भनेर कसिकसाउ नगर्दा कहिलेकाहीँ समस्या आउँदोरहेछ । सहृयदी हुन खोज्यो तर त्यसैलाई चिनेजानेकाले नै मिस युज गरिदिनुहुन्छ । नचिनेकाले भन्दा पनि चिनेको र विश्वास गरेकाहरूले नै विश्वासघात गरिदिइरहनु भएको छ । घाटा लागेरभन्दा पनि नियतै खराब भएपछि यस्ता कुरा सिर्जना हुँदोरहेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

यसमा मेरै कमजोरी पनि छ । सम्झौतापत्रमा हस्ताक्षर गरेर काम गर्दा राम्रो हो आफन्त र चिनेजानेको भए पनि । तर, पछि कानुनी उपचार खोज्न आँट्यो भने हारगुहार गर्न थाल्छन् । संगीतको मान्छे अलि भावनात्मक पनि भइँदोरहेछ । आग्रह गरेपछि गाह्रोसाह्रो नै त पर्यो होला भनेर लोयल हुँदा त्यसको फाइदा पनि उठाउँदा रहेछन् । 

विषयवस्तुतर्फ लागौं– थाहा छैन यो वर्षको दसैं कस्तो हुने हो । तर सिर्जनाका लागि त पक्कै बाधक नबन्ला, दसैं गीत आउँदै छ यो वर्ष ?
यो वर्ष मेरो बुबा बित्नु भएकाले दसैं र पर्व गीत नगरौं भन्ने लागेको छ । तीनवटा दसैं गीत पुरानै छन् । त्यसमा पनि एउटा त धेरैले मन पराइदिनु पनि भएको छ । एउटालाई कतिले दसैंको एन्थम सङ नै भन्दिनुहुन्छ । हरेक वर्ष गाउँदा के गाउने भन्ने पनि हुन्छ । 

Global Ime bank

वर्षमा दिनमा लै लै... विदेशमा बस्ने नेपालीका लागि लक्षित छ । यसमा दुःख बिर्सिएर चाडमा रमाइलो गरौं भन्ने भाव थियो । पछिल्लो वर्ष छोरीसँग गाएको गीत थियो । त्यो बच्चाबच्चीप्रति लक्षित थियो । यसमा दसैंको मजा केटाकेटी उमेरमा हुन्छ भन्ने छ । यो वर्ष तिहारको गीत गाउने तयारी थियो । कम्पोजिसन पनि तयार थियो । तर बुबा बित्नु भएकाले अर्को वर्ष गर्ने सोचमा पुगेको छु अहिले । 

अघिल्लो गीत नै पछिल्ला गीतहरूका लागि चुनौती भयो ? 
जति सफलता पायो त्यति सोचेर बनाइएको गीत थिएन त्यो । विदेशमा जाँदा भावनात्मक बनेर लेखेको थिएँ । जहाँ बसेर दसैं–तिहार मनाए पनि आफ्नो गाउँठाउँ र घरमा आएर मनाएजस्तो रमाइलो हुँदैन भन्ने भावमा यो गीत कम्पोज गरेको हुँ । स्थायी र केही अन्तरा आफैंले बनाएँ पछि रवि श्रेष्ठलाई पठाएँ । उहाँले कम्प्लिट गरेर पठाएपछि गाइएको गीत थियो त्यो । धेरै अपेक्षा गरेर गाएको गीत नै होइन । गीतको भिडियो रिलिज गरेको तीन–चार वर्षसम्म त्यति धेरै भ्युज पनि थिएन । चौथो वर्षपछि यसको भ्युज आक्रामक रूपमा बढेको हो । कतिले यसलाई दसैंको एन्थम गीत भन्नुहुन्छ । खुसी लाग्छ । तर वास्तवमा यसमा मैले मेरो मनको पीडा पोखेको हो यसमा । त्यसपछि जति गरे पनि त्योजस्तो चाहिँ भएन भन्नुहुन्छ । अब त्यस्तो गीत म आफैं बनाउन सक्दिनँ । 

कोरोना संक्रमणको त्रासले सर्जक र सिर्जनामा कस्तो असर गरिरहेको छ ?
सुरुमा दिमागले अलि काम गरेन । कारण यो वर्ष धेरै स्टेज कार्यक्रमहरू थिए विदेशमा । सुरुमा त यति लामो नहोला भन्ने थियो । तर विश्वको अवस्था हेर्दा लामै समय जान्छ भन्ने लागेको थियो । सुरुमा तनाव भए पनि धेरै वर्ष रेस्ट गर्न पाइएको थिएन । यसलाई आराम गर्ने समयका रूपमा लिन्छु भनेर सकारात्मक सोच राखेँ । 

एक महिनापछि ६ महिना, वर्ष दिनसम्म कोरोनाले असर गर्छ भन्ने भएपछि केही तनाव भएको थियो । कारण जीविको पार्जन कसरी हुन्छ भन्ने थियो । तर, संसार जहाँको त्यहीँ अडिरहेको छ । मेरो मात्रै होइन संसार कै यस्तै हो भने मैले मात्रै तनाव लिएर हुँदैन । प्रकृतिले नै सिर्जना गरेको कुरामा अनावश्यक तनाव लिनु हुँदैन भन्ने लाग्यो । त्यसपछि म्युजिक कम्पोज गर्ने, सिनेमा हेर्ने, किताब पढ्नेतर्फ लागेँ । 

यही समय मैले अड्किएका पुराना गीतहरूलाई बाहिर ल्याएँ । यु–ट्युबलाई सक्रिय बनाउनुपर्छ भनेर घरको छतमै खिचेर भए पनि भिडियोहरू बनाउन थालेँ । जसरी हुन्छ आफूलाई व्यस्त बनाउनेतर्फ लागेँ । समग्रमा असर गरेको छ । तर काम गर्न चाहनेलाई असर गरेको छैन । कन्सर्ट भएको छैन । तर घरमा बसेर राम्रो काम गर्न खोज्नेहरूलाई केही प्रभाव पारेको छैन । 

सामान्य समयमा व्यस्त गायक–गायिका लामो समय घरमै बस्दा सिर्जनालाई झन् निखार्ने मौकाका रूपमा यसलाई प्रयोग गर्न सकिन्छ कि ?
हो । मैले धेरैलाई यही कुरा भनेँ पनि । नकारात्मक नसोच । राम्रो सिनेमा हेर । राम्रो किताब पढ । राम्रो गीत–संगीत सिर्जना गर भन्ने आग्रह गरेँ । मैले पनि त्यहीं नै गरेँ । कतिले घर फर्किएर खेतीबाली लगाउनुभयो । झकिझकाउ जिन्दगी जिउनेहरूलाई समस्या भयो होला तर सामान्य रूपमा गुजारा गर्नेहरूलाई त्यति गाह्रो छैन सिर्जनाको फाँटमा । तर कमाइका हिसाबले भने पक्कै समस्या छ । 

पछिल्लो समय चलचित्र चकलेटी नायक–नायिकाबाट चरित्र अभिनेतामा फड्को मारिरहेको छ । तर गीत–संगीतचाहिँ चटपटे नै बिक्री भइरहेको हो ? 
हाम्रोमा कुनै पनि कुरा चलेपछि त्यसैलाई फलो गर्ने चलन हाबी छ । आम मान्छेको ध्यान रोमान्टिक जानरामा गयो । रिक्स लिन मान्छे डराइरहेको छ । कारण लगानी फिर्ता आओस् भन्ने सबैलाई हुन्छ । युवा पुस्ताको क्रेज क्यास गर्नलाई पनि होला सायद । नयाँ जसले गर्न खोजिरहनु भएको छ, त्यसले आमदर्शक स्रोतालाई तान्न नसकिरहेको जस्तो पनि लाग्छ । बजारलाई फलो गर्ने प्रवृत्ति छ । पछिल्लो समय चलचित्रको प्रमोसनका लागि गीत प्रयोग भइरहेको छ ।

राजनराज शिवाकोटीको मेला, रोटेपिङ समेटिएको लोक बेसमा आधारित गीत, अर्को कालीप्रसाद बास्कोटाको आइटम तथा ट्याक्क सम्झिहाल्ने र अर्को अर्जुन पोखरेलका रोमान्टिक गीत चलिरहेको छ । 

केही समय पहिला मैले कम्पोज गर्दा एउटा रोमान्टिक डोयट्, एउटा आइटम सङ र अर्को सुफी प्रकारको गीत राखेपछि चलचित्रलाई गीत पुग्थ्यो । समयअनुसार स्वाद फेरिरहेको छ । सजिलोसँग आमदर्शक तथा स्रोतामा कसरी पुग्न सकिन्छ भन्नेतर्फ सोच्दा तपाईंले भनेजस्ता गीत बजारमा धेरै आएका हुन् भन्ने मेरो बुझाइ छ । 
 
राम्राभन्दा झल्याकझिलिक गीतको चर्चा बजारमा धेरै छ । माग पनि यस्तै गीतको हुँदा गीत–संगीतको गुणस्तरमा कस्तो प्रभाव पर्ला ? 
मेरो विचारमा हरेक गीत र जानराको समय हुँदोरहेछ । मैले गाउन सुरु गर्दा रिमिक्स गीतको बाढी आएको थियो । केही समयपछि त्यो हराएर गयो । एक समय आधुनिक गीतको क्रेज थियो । एक समय लोकदोहोरीको क्रेज थियो । एक समय पप गीतको बजार थियो । त्यसैले यसलाई म समयको माग भन्छु । स्रोता तथा दर्शकले यसैलाई रुचाइरहनुभएको छ । तर यसले बजारमा आएका राम्रा गीत ओझेलमा परेका छन् । प्रोमोसन हुन पाएको छैन । लक्षित वर्गसम्म पुगेको छैन । तर, खोलाको बहाब उल्टो गतिमा फर्काउन सकिँदैन । मेरो बुझाइमा एउटा फेज हो यो । केही वर्षमा यो पनि सकिन्छ । बाढी आउँदा खोला छेउको रूख जसको जरा बलियो छ उसले त्यो बाढी थेग्यो भने अर्को वर्षसम्म त्यो मजाले बाँच्छ । 

लहर हो । ०४६ सालपछिको संगीत हेर्ने हो भने नेपालको राजनीतिक तथा सामाजिक अवस्था कस्तो छ भन्ने थाहा हुन्छ । बरु अहिले पछिल्लो अवस्था चित्रण गर्ने गीत छैनन् । किन भने लुट्न सके लुट कान्छा... गीतलाई सरकारले कन्ट्रोल गर्न खोजेपछि त्यो खालको गीत आएको छैन । तर, पनि यो समयको फ्रस्टेसन अहिलेका हिपहप र र्यापले चित्रण गरेका छन् ।

बजारका लागि नचाउने एकखाले र आत्मसन्तुष्टिका लागि अर्कै गीत गाउनुपर्ने अवस्था हो ?
अहिले मात्रै होइन पहिलादेखि नै यही थियो । एल्बम गर्दा नै म भन्थेँ केही गीत मासका लागि हुन्छन्, केही गीत क्लासका लागि हुन्छन् । म मेरा कति गीतका म्युजिक भिडियो बनाउँदिनँ किन भने ती गीत सुन्नका लागि हुन् हेर्न होइन । म गीत सुन्नुपर्छ भन्ने पक्षको व्यक्ति हुँ । तर समय र परिवेश परिवर्तन हुँदा हामी पनि परिवर्तन हुनुपर्छ । त्यसैले केही गीत स्टेजका लागि पनि गाउनैपर्छ । नाच्ने गीत पनि चाहिन्छ । भर्सटाइलचाहिँ हुनैपर्छ । केही गीत मास र क्लास दुवैका लागि हुन्छन् । जस्तै मेरो गीत मेरो एउटा साथी छ... यो गीत बीचमा बसेर तयार पारिएको गीत हो । सम्हालिन्छ मेरो मन... सुन्ने गीत हो । भलै स्टेजमा पनि यी गीत रुचाइएका छन् । 

समय परिवर्तनशील छ । म्युजिकल शो कम हुन थाले । कारण मान्छेहरू बार र लाइभ म्युजिकमा आफैं रक्सी खाएर गाउँदै झुम्ने भइसके । अंग्रेजी संगीत सुन्दा त झन् विरक्त लाग्छ । गीत कता गइरहेको छ भन्ने लाग्छ । हाम्रोभन्दा पनि ध्वस्त छ उनीहरूको गीत । भारतमै एक महिना सुपर हिट गीत अर्को महिना स्रोता तथा दर्शकले बिर्सिसक्छन् । मलाई नै सुरुमा सुन्दा बेबीको बेस पसन्द हे ... यो कस्तो गीत हो भनेजस्तो लागेको थियो । तर, काठमाडौंबाट बिराटनगर पुग्दा मेरो मुखमा झुन्डिसकेको थियो । गाडीमा त्यही गीत, ट्याक्सीमा त्यही गीत, पान पसलमा त्यही गीत दुई दिनमा मलाई नै कण्ठ भइसकेको थियो । 

स्टेज कार्यक्रम हुँदैनथे भने गायक–गायिकाको आर्थिक अवस्था कस्तो हुन्थ्यो ?
इन्टरनेटको विकास भएर सीडी, क्यासेटको बिक्री कम भएपछि स्टेजले नै धानिरहेको छ । क्यासेट, सीडीको समयमा एउटा एल्बम बिक्री गर्दा चार–पाँच लाख रुपैयाँ आउँथ्यो । डेढ–दुई वर्षमा अर्को एल्बम निकाल्नुपथ्र्यो । अहिले सिंगल ट्र्याकको समय आयो । स्टेजमा भर पर्नुपर्ने भयो । स्टेज पनि नहुने हो भने अर्को कुनै विकल्प छैन । बिगोज हुन्छ । एकातिर बन्द भएर अर्कोतिर सुरु भएजस्तो लाग्छ । मेला महोत्सवले धेरै कुरा थेगिरहेको छ । 

डिजिटल युग र क्यासेटको युगमा लगानीका हिसाबले कुन सस्तो ? आम्दानीका हिसाबले कुन फाइदा ?
क्यासेट सीडीको समय आठवटा गीत रेकर्ड गर्नुपथ्र्यो । रेकर्डिङ मेजर हुन्थ्यो । म्युजिक भिडियो बनाउन एक–डेढ लाख रुपैयाँ लाग्थ्यो । त्यसबाट कलाकार म्युजिक कम्पनीलाई निकै फाइदा पनि हुन्थ्यो । गीत टेप वा वाकमेनमा सुनिन्थ्यो । अहिले बाथरुममा पनि सुन्न सकिने भयो । प्रविधिको विकास र त्यसको प्रयोगले फाइदा पनि भएको छ । तर जहाँ जेमा लगानी गरिएको हो र त्यसबाट रिटन्स आउनुपर्ने हो त्यसबाट चाहिँ लगानी फिर्ता ल्याउन हम्मेहम्मे छ । पाँच लाख रुपैयाँमा भिडियो बनायो भने यु–ट्युब र डिजिटल प्लेटफर्मबाट त्यो लगानी फिर्ता ल्याउन कठिन छ । तर, स्टेजबाट भने त्यसलाई कभर गर्न सकिन्छ । पहिला क्यासेटमा गरेको लगानी त्यहीँबाट आउँथ्यो । अहिले अन्तबाटै कभर गर्नुपर्छ । गीत महँगो पनि भएको छ । अहिले म्युजिक भिडियोलाई मेजर ठान्न थालिएको छ । 

कसैलाई अनुहार देखाउनुछ । कसैलाई नाम चाहिएको छ । पैसा छ तर नाम छैन भने यो क्षेत्र नाम कमाउन सजिलो भएको छ । त्यसैले संसारभर रहेकाहरू यो क्षेत्रमा आइरहनुभएको छ । तर, नबुझी आउनुभयो । प्रविधिका कारण पैसा हुनेहरू गायक–गायिका हुनुभयो । तर, यो अवस्था सधैं नरहला । स्टेजमा गएपछि थाहा भइहाल्छ । अहिलेको अडियन्सलाई झुक्याउन सकिँदैन । स्टुडियो रेकर्डिङ र लाइभ फरक हुन्छ । जन्मिँदै कसैले सिकेर आएको हुँदैन तर न्यूनतम ज्ञानचाहिँ हुनुपर्छ ।
 
कपिराइटको कानुन पूर्ण रूपमा लागु नहुँदा स्रष्टाहरू ठगिएको गुनासो आइरहेको छ । यसको प्रभावकारी कार्यान्वयन भए स्रष्टाहरू लाभान्वित हुने थिए ?
व्यक्तिगत रूपमा मलाई त यो समस्या परेको छैन । तर समष्टिमा हो । सम्झौता गर्दा हामीले ख्याल गर्नुपर्ने थियो । क्यासेटको जमानामा भोलि यु–ट्युब आउला भन्ने परिकल्पना कसैले गरेको थिएन । कसरी एल्बम बजारमा ल्याउने भन्नेमात्रै सोच हुँदा सम्झौतामा के छ नहेरी आँखा चिम्लिएर हस्ताक्षर गरेकाले आज समस्या भएको हो । जुन समय नाम भए पुग्थ्यो त्यो बेला बाँकी केहीको ख्याल भएन । तर पछि नामसँगै अरू कुराहरू पनि चाहियो । प्रविधिले फड्को मार्यो । आम्दानीका नयाँ स्रोत आए । अनि कलाकारहरूले ठगिएको महसुस गरे । कम्पनीको लगानी भएकाले नयाँ प्लेटफर्ममा जानु पनि ठीकै हो । त्यसैले व्यक्तिगत कन्ट्रयाक के छ भन्ने कुरा मुख्य हो । कानुनले प्रमाण खोज्छ । तर म साथीहरूलाई भन्छु सौहार्दपूर्ण वातावरणमा कम्पनीसँग बसेर ५०–५० प्रतिशतमा सहमति गर । यसमा कम्पनीले पनि अड्डी कस्नु भएन । मैलेचाहिँ म्युजिक डककमसँग आठ वर्षपछि सबै स्वामित्व गायकमै फर्किने भनेर सम्झौता पेपर बनाएकाले सजिलो भयो । 

कपिराइटको कानुन कडाइका साथ लागु भइदिएको भए सायद यस्तो समस्या आउँदैन थियो होला । तर, होलाजस्तो पनि लाग्दैन । त्यसैले म कुनै संघ–संस्थामा पनि छैन । सुरुमा प्रस्तोता समाजमा संस्थापक सदस्य थिएँ । तर, आफैंलाई परेका बेला काम नलाग्ने संस्थाको के काम भनेर नवीकरण गरिनँ । संगीत तथा रोयल्टी संकलन समाज छ । त्यसले करोडौं उठाए पनि बाँडेको खोइ ? बाहिरबाट सहयोग पनि आयो । साथीहरू भनिरहेका हुन्छन्– कसले होटेलमा कति खायो, मासु र रक्सीमा कति खर्च भयो । न थिति छ न पारदर्शी । त्यही भएर यस्ता संस्थाहरूमा त्यति धेरै विश्वास छैन मलाई । कपिराइटको कानुन कडाइसाथ सरकारले लागु गरे थिति बस्थ्यो होला । अरू कुराकै थिति नभएको देशमा गीत–संगीतमा कसको चासो । 

यु–ट्युबको प्रयोग बढेसँगै गीत सुन्नेभन्दा हेर्ने भयो । गीत हेर्ने भएसँगै गायक–गायिकाभन्दा मोडलको चर्चा बढी भयो । अथवा गीत मोडल डोमिनेटेड भयो । के भन्नुहुन्छ यसमा ?
व्यक्तिले कसरी गीत गरेको छ भन्ने हो । मेरो म्युजिक भिडियो हेर्दा त्यस्तो लाग्दैन । हिरो–हिरोइन भए पनि म त्यसमा समानान्तर रूपमा छु । तर, तपाईंको प्रश्न सही हो । पछिल्लो समय भइरहेको त्यही नै हो । हाम्रा कलाकारहरू नै कमजोर हुन चहानुभयो । पोस्टरमा सुरुमा अ फिल्म बाई... ठूलो अक्षरमा लेखिएको हुन्छ । पोस्टरमा हिरो–हिरोइनको तस्बिर सबैभन्दा माथि ठूलो हुन्छ । तल गायक–गायिकाको तस्बिर सानो हुन्छ । क्रेडिटलाइनमा मोडल को–हो उसको नाम सुरुमा ठूलो अक्षरले अनि पछाडि गायक–गायिकाको नाम सानो अक्षरमा लेखिएको हुन्छ । अहिलेको यो परिपाटीको कुरा गरेको हुँ मैले । अभिनय गर्ने कलाकारप्रति मेरो सधैं रेस्पेक्ट छ । तर यसले गीत भनेको माध्यम मात्रै हो, यिनीहरू केही पनि होइनन् भनेजस्तो देखियो । यसले गीत सुन्नेभन्दा पनि हेर्ने जस्तो भयो । 

प्रमोदले केही दिनअघि सार्वजनिक गरेको गीत छाती चिरेर...मा ऊ आफैंले त्यसमा मजाले काम गरेको छ । मलाई राम्रो लाग्यो । आफ्नो सिर्जनामा आफैं छायामा पर्नुभएन भन्ने मेरो धारणा हो । 

अहिले भइरहेको के–हो भने मुख्य लगानीकर्ता अरू नै कोही छ । उहाँहरूले पारिश्रमिक दिएर गीत गाउन लगाउनु हुन्छ । चलेको नायक–नायिकालाई लिएर भिडियो बनाउनु हुन्छ । वा आफैं अभिनय गर्नुहुन्छ । उहाँहरूको उद्देश्य पैसा कमाउने मात्रै हो । अहिले आएका धेरै गीतको समस्या नै यही हो । मैले अहिले रियालिटी शोबाट आएका धेरै भाइबहिनीलाई भन्छु– अबको पाँच वर्षपछि तपाईंले आज गाएको गीत तपाईंको हुँदैन । किन भने त्यो गीतमा तपाईंको अधिकार छैन । गीतमा जसको अधिकार छ उसले आज तपाईंले गाएको गीत भोलि अर्कैलाई गाउन लगाइदिन सक्छ । अहिले लाइमलाइटमा भएका बेला पैसा भएका बेला केही खर्च गरेर आफ्नै गीत बनाउनुस् । तर, यो सुझाव मान्नु हुन्न भने अहिलेको नयाँ प्रतिभालाई आफ्नो प्रतिभामा विश्वास छैन भन्नुपर्ने हुन्छ । बन्दुक पड्काउनलाई अरूको काँध चाहिएको अनुभूत गरेको छु मैले । आफ्नो नाम भएर पनि काम गर्न सकिरहनु भएको छैन ।

ओराली लागेको हरिणको चाल भो... जुगजुगसम्म रामकृष्ण दाइको गीत हो । मबिना कसैकसैलाई... प्रमोदको गीत हो । क्या दामी भो.... शिव परियारको गीत हो । यस्तै आफ्नै स्वामित्वमा गीत गर्नुस् भन्ने मेरो सुझाव हो । सुझाव ग्रहण गर्नु–नगर्नु उहाँहरूको अधिकारको कुरा हो । 

नारायण गोपाल, बच्चु कैलाश, फत्तेमान, अमर गुरुङको समय नेपाली गीत–संगीतको स्वर्णयुगको कालखण्डका गीत र अहिलेका गीत–संगीतको तुलना कसरी गर्नुहुन्छ ?
त्यो समय गीत–संगीत साधना र सोख थियो । व्यावसायिक थिएन । त्यो समय गीत गाएर जीविको पार्जन गर्न सकिन्छ भन्ने नै थिएन । हाम्रो पालामा आइपुग्दा बल्ल यो क्षेत्रमा लागे पनि केही कमाउन सकिन्छ भन्ने हुन थालेको थियो । तर, यसबाटै जीविकोपार्जन गर्न सकिन्छ र ? भन्ने शंका कायम थियो । त्यही भएर धेरै गायक–गायिका विदेश पलायन पनि हुनुभयो । अहिले गीत पूरै व्यावसायिक भयो । कला, साधना र सोखभन्दा पर गएर कमाउने भन्नेतर्फ मात्रै सोच हुँदा बिग्रिएको हो । राम्रो काम गर्दा नोटिस नहुने डर भयो । त्यसैले गायक–गायिका लगानीमा रिक्स लिन चाहँदैनन् । 

अहिले यस्तो समय आयो तपाईं धावक हुनुहुन्छ । तपाईंलाई मिल्का सिंह थाहा छ तर वैकुण्ठ मानन्धर थाहा छैन । गीत गाउनुहुन्छ तर अग्रज गायक–गायिका तथा संगीतकारहरू नै थाहा छैन । रेस्पेक्ट छैन । पूरै कमर्सियल हुँदा भाइरल र पपुलर कसरी हुने भन्ने चक्कर मात्रै छ । साधनाबेगेर आएको संगीत किन बलियो हुन्थ्यो र ?

हिजोभन्दा आज संगीतको गुणस्तर खस्किएको छ । आजभन्दा भोलि झनझन् खस्किँदै जाने हो ? 
यसलाई पनि फरक–फरक चस्माले हेर्नुपर्छजस्तो लाग्छ । म सानो छँदा दुइटा फूल देउरालीमा साथै राख्यौं जस्तो लाग्छ... बुझ्दिन थिएँ । कस्तो शब्द होला भन्ने लाग्थ्यो । तर एउटा कालखण्डमा आएपछि बुझेँ काव्यिक चेतसहित लेखिएको गीत रहेछ । मलाई त्यो बेला माया मेरी माया...ले नै छोयो कारण मेरो कलिलो दिमागले त्यही बुझ्यो । बदलिँदो परिवेश, फास्टफुडको जमाना, मोबाइल, संगत, पाश्चात्य प्रभावले रोजाइ पनि परिवर्तन हुँदै गयो । साहित्यभन्दा पनि आज दैनिक क्रियाकलाप र साथी सर्कलमा चल्ने भाषा गीतमा रुचाइरहेको अवस्था छ । हामीलै एउटा गीत मन पराइरहेका छौं, अहिलेको पुस्ताले भिटेनको गीत मन पराइरहेको छ । कारण उसले समकालीन पुस्ताको यथार्थ समय र समस्या उनीहरूकै बोलीचालीको शब्द र लयमा उपलब्ध गराएको छ । मेरो विचारमा गर्न खोज्नेलाई पनि पब्लिकको च्वाइस अर्कै भएकाले गर्ने सर्जकले धक मानिरहेको छ । यो पनि एउटा फेज हो । केही समयपछि अर्कै टेस्ट आउला । हामीले राम्रो कि नराम्रो भनेर गफ गरिरहेकै गीत स्टेजका दर्शकले मन पराइरहेको अवस्था छ । त्यसैले यसलाई कसरी हेर्ने भन्ने कुराले पनि अर्थ राख्छ होला । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज १७, २०७७  ०९:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC