site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेपाली कांग्रेसका सत्ताइस भाइ

नेपाली कांग्रेसका सत्ताइस जना केन्द्रीय सदस्यले पार्टी कार्यालयमा विरोधपत्र (ज्ञापनपत्र) दर्ता गराएका छन् । उनीहरुको विरोधपत्रको मूल उद्देश्य सभापति शेरबहादुर देउवाले लिएको भनिएका ‘अवैध’ निर्णयप्रति लक्षित देखिन्छ । अल्पमतलाई उपेक्षा गरेर बहुमतको बलमा सभापतिले एकपछि अर्को यस्ता निर्णय गर्नु महाधिवेशन सार्ने वा नगर्ने तयारी स्वरुप भएको उनीहरुको निष्कर्ष छ । 

त्यो समूहले निकै करायो । ती नेताले अनुनय विनय पनि गरे । औपचारिक, अनौपचारिक लिखित निवेदन पनि यसअघि यही समूहका नेताबाट सभापतिलाई दिइएको हो । सार्वजनिकरुपमा पनि कुरा राखे, केन्द्रीय समितिमा पनि यिनले आफ्ना मान्यता बताए । एक भएर महाधिवेशनको तयारी र सरकारी मनपरी विरुद्ध पार्टीलाई क्रियाशील बनाउन प्रस्ताव गरे । पार्टी कार्यालयमा विरोधपत्र दर्ताअघि त्यो समूहको सार्वजनिक प्रयत्न यस्तै थिए । 

यो समूहका विभिन्न नेताले विरोधपत्र दर्ता गर्नुअघि तयारी भइरहेको जानकारी पनि सार्वजनिक गरे । सभापति देउवाले दर्ताअघि नै त्यस्तो केही नगर्नु, आऊ बसेर छलफल गरौँ, मिलौँ, मिलाऔँ भन्ने सामान्य दायित्व पूरा गरेको पनि सुनिएन । समाधान गर्न मिलेको समयलाई सभापतिबाट पूरै उपेक्षा गरेको सन्देश गयो । आफूलाई नमान्ने कांग्रेसलाई सभापतिले पेल्दिने शैली सार्वजनिक गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

हस्ताक्षरको हल्ला चलाएर यो समूहले केही लिने र दिने ‘संयोग’को अर्थ दियो । पहिलो, नेता कृष्णप्रसाद सिटौलालाई समेत फकाउन समय लियो । अर्को, समय रहँदै सभापतिबाट उदार वा इमानदार प्रयत्न भए हस्ताक्षर थाती राख्ने समय दियो । संयोग नै भए पनि सत्ताइस समूहको दुवै मनसुवा खेर गयो । केन्द्रीय सदस्य सिटौला समूह हस्ताक्षरमा समावेश भएन, सभापतिले टेरपुच्छर लगाएनन् । 

यसैमा अर्को संयोग छ, सिटौलाको निर्णय । सभापतिलाई सबै विधि,मान्यता र अनुरोध तिरस्कार गर्ने बलमा सिटौला संयोगको पनि हात छ कि ? आशंका किन पनि बलियोे हुन्छ भने १३ औं महाधिवेशनमा सिटौला समूहले सभापति बनाउन दिएको सहयोग देउवाले पनि बिर्सने कुरा भएन । सभापति देउवाको कार्यशैलीप्रति असन्तुष्टि सार्वजनिक गर्दैगर्दा पनि ‘अवैध’ गठित विभागमा आफ्ना समर्थकको मनोनयनलाई समर्थन गर्नुले थप संशय बढाएकै छ ।      

Global Ime bank

सिटौला नेपाली राजनीतिको माझिएका परिपक्व नेता हुन् । पार्टी सभापति र सरकारको प्रधानमन्त्रीबाहेक दुवैतर्फका अरु उपल्ला अवसर उपभोग गरिसकेका व्यक्तित्व हुन् । सभापति देउवाले १४ औं महाधिवेशन (आगामी फागुन ७ गतेबाट सुरु हुने निर्णय गरिएको) सार्ने, टार्ने लक्षणप्रति उनको व्यक्त चिन्ता सुनिएकै छ । वाह्य संक्रमणमाथि आन्तरिक संक्रमण थपेर सभापति देउवाले हार्रहुर्रमा पुनः सभापति बन्ने तयारी गरेको चिन्ता सिटौला र सत्ताइस समूह दुवैले व्यक्त गरेकै छन् । 

‘कथित’ संस्थापन, सभापति समूहको ‘हार्रहुर्र’संकेत बुझेरै होला नेता सिटौलाले केही दिन पर सारेर पनि महाधिवेशन गर्नुपर्ने मध्यमार्गी प्रस्ताव सार्वजनिक गरेका छन् । यसबाट केन्द्रीय सदस्य सिटौलाले सभापति र सत्ताइस समूहबीच मध्यस्थता गर्ने भूमिका बाँकी राखेका हुन् कि भनेरे पनि अनुमान गर्न सकिन्छ । उनले गरेकै जस्तो प्रस्तावमा यसअघि लचिलो देखिएको सत्ताइस समूह विरोधपत्रमा महाधिवेशन निर्धारित मितिमै हुनुपर्ने मागमा देखिएको छ । 

बहुमत संस्थापनले कुनै सुनुवाइ नगरी निरन्तर दिएको प्रताडना अनुभूत गरेको सत्ताइस समूहले अन्ततः बाध्यताको परिणाम बुझिने गरी हस्ताक्षर बुझाएको  देखिन्छ । केही अघिसम्म भागबन्डामा मिल्दै आएको यो इतर समूह महाधिवेशनको निर्णयपछि एकीकृत तयारीमा लाग्नुपर्ने मान्यतामा पुगेको देखिन्छ । महाधिवेशनको तयारीको बेला अन्य ‘अवैध’ निर्णय नगर्न यस समूहले आग्रह गर्दै आएको हो । सार्वजनिक रुपमा महामन्त्री डा. शशांक कोइरालाले पनि यस्तो आग्रह दोहोर्याएकै हुन् । 

जति उपेक्षा गरे पनि हस्ताक्षरको प्रयत्न तुहाउन सभापतिले यसै महिनाको १९ गते केन्द्रीय समितिको बैठक बोलाएका छन् । असन्तुष्टिमाथि ढाकछोप, ‘अवैध’ विभागहरु गठनलाई बहुमतबाट स्वीकृत दिने र महाधिवेशन सार्ने  उद्देश्यले बैठक डाकिएको संस्थापन इतर दुवै समूहको ठम्याइ छ । यसैको परिणाम हस्ताक्षर दर्ता गरिनु बैठकअघिको पूर्वसर्त हुनुपर्छ । तर, विधानविपरीतको निर्णयलाई बहुमतले वैध बनाउन सक्छ र ? 

सत्ताइस सदस्यको संख्या कांग्रेस केन्द्रीय समितिको पुग नपुग एक तिहाइमात्र हो । उडाउन चाहनेलाई सानो संख्या भन्न मिल्छ । मुलुकको प्रजातान्त्रिक आन्दोलन र कांग्रेसको भविष्यप्रति सचेतहरुलाई फाटेको धाँजाले कांग्रेसभित्रको गम्भीर संकट र नेतृत्वको असफलता बुझाउने छ । बुझाइ आआफ्नै व्याख्या वा सजिलोअनुसार व्यक्त गरिएलान्, सबाल चाहिं संकटको सन्देशलाई निरपेक्ष कसरी बुझ्ने भन्ने हो । सभापतिले पहिलेदेखि बुझिदिएको भए यो संकट सन्देश आउने नै थिएन । 

बेला घर्किएको छैन । अझै मेलमिलापको थुप्रै अवसर र उपाय छन् ती चुक्नु हँुदैन । यसका लागि सभापति देउवाकै दायित्व बढी वा निर्णायक छ र हिजो पनि थियो । केन्द्रीय समितिको निर्धारित बैठक आशंका गरिएभन्दा भिन्न मेलमिलाप र सौहाद्र्र परिणाममा बदल्न पनि सकिन्छ । विधि, बहुमत र साथीहरुको भावनाको सम्मान मिलन बिन्दु बन्नुपर्छ । सबैको अस्तित्व, अस्मिता र औचित्यको सम्मानकै लागि त लोकतन्त्र हो । नेपाली कांग्रेसले मनपरी गर्न पाइने तानाशाहीको लागि लोकतन्त्रको आदर्श बोकेको त हैन नि ! 

सार्वजनिक रुपमा पौडेल (वरिष्ठ नेता रामचन्द्र पौडेल) समूह पहिचान दिइएको तर्फबाट हस्ताक्षर दर्ता भएको छ । क्रम मिलाउन नसकी लेख्दा जसमा महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, प्रकाशमान सिंह, अर्जुन नरसिंह केसी, डा.रामशरण महत, डा.शेखर कोइराला, डा. मिनेन्द्र रिजाल,सुजाता कोइराला र महेश आचार्यलगायत नेताहरु सम्बद्ध छन् । नेपाली पत्रकारिताले शब्दार्थ हल्का नबनाई भन्दा यी नाम ‘प्रभावशाली’ नेताको हो सुन्दा ‘सिंगै कांग्रेस’ जस्तो लाग्ने ।

नेता सिटौला समूह हस्ताक्षर अभियानमा समावेश भएन, अलग्गै बस्यो । व्यक्त चिन्ता वा धारणाले यो समूह पनि पार्टीलाई संकटबाट मुक्त गर्ने वा कांग्रेसलाई सबैको बनाएर बचाउने उद्देश्यमा छ भन्ने देखिएको छ । यस मानेमा इतर भनिने दुवै समूह एउटै उद्देश्यमा छन् । तेह्रौं महाधिवेशनपछि आपसी कटुतामा रहेका भनिने सिटौला र पौडेलबीच यस मामलामा भएका वार्ताबीच कुनै भित्री सहमति भएको होस् । प्रजातान्त्रिक संस्कारअनुसार दुवै पक्षले संकट टार्न क्षमाशील भएकै हुनुपर्छ । 

लोकतान्त्रिक नेपाल र नेपालीको सुन्दर भविष्य कल्पना गर्ने गगन थापा र प्रदीप पौडेल जस्ता ‘उदीयमान’नेता सिटौला समूहमा छन् । यिनीहरुको सपना र राजनीतिको सम्बल पनि  सग्लो नेपाली कांग्रेस नै हो । जानकारीमा आएअनुसार हस्ताक्षरमा सहभागी हुन यिनको प्रयत्न सफल भएन तर मुद्दामा भने समानता कायम देखिएको छ । नेता थापा र पौडेलको प्रयत्न पद प्राप्तिभन्दा कांग्रेसको भविष्य निर्माणमा छ । सिटौलाको भूमिका मध्यस्थता नै हो, लेनदेनको सौदाबाजीले पार्टी संकटप्रति आँखा चिम्लन अब सम्भव छैन कि ?

सत्ताइसको गाम्भीर्यले सातो जगाएको छ । आफँैले गराएको चुनावमा धराशायी पराजय बेहोरेको कांग्रेस कम्युनिस्टको प्रचण्ड बहुमत सामु झन्डै तीन वर्ष लत्रिएर बसेको थियो । सत्ताइस हस्ताक्षर दर्ताको भोलिपल्ट कांग्रेस ‘गुट’ले सरकारी बेथितिविरुद्ध आन्दोलनको घोषणा गरेको छ । हस्ताक्षरकारी सहभागी नभएको बैठकको घोषित आन्दोलन कम्युनिस्ट मनपरी लक्षितभन्दा आफ्नै पार्टीभित्रको विवाद मिलाउन नसकेको कारण भन्ने स्पष्टै छ । 

धाँजा फाटेको कांग्रेसको आन्दोलनलाई मिचाहा कम्युनिस्ट सरकारले टेर्नेछैन भन्ने त आन्दोलन आयोजकलाई पनि राम्रै थाहा हुनुपर्छ । नेतृत्वको सिफारिसमा सुविधाको केही पदमा ‘कांग्रेसी’ आपूर्ति गरे पुग्ने सरकारी ठम्याइ पनि कांग्रेस नेताले बुझेका छन् । लाज मान्नैपर्दैन, आन्दोलन घोषणा आन्तरिक हस्ताक्षरको मागलाई ‘डाइभर्ड’गर्ने उद्देश्य प्रेरित छ भन्न । 

सभापति पक्षले हस्ताक्षरलाई आशंका प्रेरित भन्ने टिप्पणी गरेको छ । सर्वांग भइसकेको कुरा कतै आशंकामात्रै हुन्छ ? आशंकामात्रै हो भने त्यो निवारण गरेर समेटिएर हिडियो भने ठीकै छ । अन्यथा, हस्ताक्षरलाई हल्का बनाउन आशंका भनिएमा यसले अर्को दुर्घटना निम्तिन बेर छैन । अर्को, महाधिवेशन तयारीको प्रश्नबारे सभापति पक्षले कोरोना महामारीमा साथीहरुलाई जोखिममा पार्नु भएन नि भनेको सुनियो । 

त्यसो भए आन्दोलनमा कसलाई जोखिममा पार्न खोजिएको हो ? सुरक्षा उपाय अपनाएर आन्दोलन गर्ने हास्यास्पद तर्क पनि छ । आन्दोलन सम्भव थियो भने के यस्तै उपाय अपनाएर महाधिवेशन तयारी सम्भव भएन ? यस्तो दोहोरो मापदण्ड कसको हो ? कोरोनाको ? स्पष्टै भयो कथित आन्दोलन महाधिवेशन टार्ने र विवाद सार्ने उपाय हो । डर चाहिँ आन्दोलनमा सहभागी नभएको आरोपमा पार्टीभित्र अरु गोविन्दराज जोशी र पुष्कर ओझा बनाइने हुन् कि भन्ने हो !        

नेपाली कांग्रेसको इतिहासमा कहिले ३६ से, ३८ से आदि गुट बने । ती गुटहरुको प्रभाव, दुष्प्रभाव के रह्यो ? फर्किएर कांग्रेसजनले हेर्दा हुन्छ । यतिबेला वरिष्ठ नेता पौडेल नेतृत्वको भनिने २७ संख्या पार्टी बचाउने नारा लिएर उद्वेलित छ जसमा निर्वाचित महामन्त्री र कोषाध्यक्षसमेत जोडिएका छन् । बुद्धि नपुर्याए कांग्रेसको मूलधार छुट्टिन र बन्नसक्छ । भलै संघर्ष लामै होस्, संघर्ष सबैको लम्मिने चाहिं पक्का हुन्छ । भनिन्छ नि, भित्तैसम्म घचेटेपछि प्रतिआक्रमणको विकल्प रहँदैन । सत्ताइस भाइको आक्रमणको अर्थ कतै यस्तै नबनोस् ।     

             
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १५, २०७७  ११:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC