site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेपालमा दुई दिन सार्वजनिक बिदा कति उपयुक्त ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । एकपटक असफल भइसकेको दुई दिन सार्वजनिक बिदाको अवधारणालाई पुनः ब्युँताउन खोजिएको छ । विशेषगरी आन्तरिक पर्यटन प्रवर्द्धन गर्न दुईदिने सार्वजनिक बिदा दिने अवधारणालाई संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयले अगाडि सारेको हो । तर, पूर्वप्रशासक एवं अर्थविद्हरूले भने कमजोर पूर्वाधारका कारण दुई दिन सार्वजनिक बिदा अहिले नै उपयुक्त नभएको बताएका छन् ।

विशेषगरी सार्वजनिक यातायात राम्रो नभएसम्म दुई दिन सार्वजनिक बिदा उपयुक्त नहुने उनीहरूको भनाइ छ । विगतको अनुभवले पनि त्यही देखाएकाले आन्तरिक पर्यटनलाई मात्रै हेरेर निर्णय गर्नु असान्दर्भिक हुने जिकिर पूर्वप्रशासक एवं अर्थविद्हरूको छ ।

अर्थविद् डा. शंकर शर्मा तत्काल एकैपटक दुई दिन सार्वजनिक बिदा दिनु उपयुक्त नहुने बताउँछन् । पुरानो अनुभवले पनि सार्वजनिक यातायात राम्रो नभएकाले अहिले नै पूर्वाधारबिना दुई दिन बिदा उपयुक्त नभएको उनले बताए । दुई दिन बिदा फेरि गर्ने भए चरणबद्ध रूपमा गरिनुपर्ने उनको भनाइ छ । “अहिले नै दुई दिन बिदा उपयुक्त छैन । तर, दुई दिन सार्वजनिक बिदा गर्ने हो भने पनि चरणबद्ध रूपमा गरिनुपर्छ । सुरुमा कर्पोरेट क्षेत्रबाट सुरु गरौं,” उनले भने । कर्पोरेट क्षेत्र वा सिंहदरबार वा अन्य कुनै पनि क्षेत्रबाट चरणबद्ध रूपमा सुरु गर्न सकिने उनले बताए । त्यसपछि सफल हुँदै गए विस्तार गर्न सकिने उनको भनाइ छ । 

Prabhu Bank
Agni Group
NIC Asia

आन्तरिक पर्यटन प्रवर्द्धनका लागि भनिए पनि सार्वजनिक यातायात राम्रो नभएकाले अहिले उपयुक्त नभएको शर्माले बताए । “दुई दिन बिदा दिएर नेपालमा कहाँ घुम्‍न ? बाटोका कारण एक दिन त जानै लाग्छ । अर्को दिन फर्कन लाग्छ । अनि कहाँ घुम्‍ने ? सार्वजनिक यातायात सेवा कमजोर भएकाले जति हामीले अपेक्षा गरेका छौं त्यति नतिजा दुई दिन बिदाले दिँदैन,” उनले भने । दुई दिन बिदाले सरकारलाई थप व्ययभार भने पर्दैन । सरकारी गाडीहरूको प्रयोगलाई कडाइका साथ पालना गराउने हो भने खर्च घट्ने अर्थविद् बताउँछन् । 

पूर्वअर्थ-सचिवद्वय रामेश्‍वर खनाल र शान्तराज सुवेदी पनि दुई दिन बिदाको अवधारणा पहिले पनि फेल खाएकाले अहिलेकै अवस्थामा उपयुक्त नभएको बताउँछन् । एक ठाउँबाट अर्को ठाउँमा पुग्‍न कनेक्टिभिटी राम्रो भएपछि मात्रै दुई दिन सार्वजनिक बिदा सुरु गर्न उपयुक्त हुने खनाल बताउँछन् । “आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने सरकारी कर्मचारीले नै हो तर उनीहरू सरकारी कामकै सिलसिलामा घुम्छन् । दुई दिन सार्वजनिक बिदा दिएर घुम्दैनन्,” उनले भने, “नेपालको सन्दर्भमा दुई दिन बिदा गराउँदा नागरिकलाई दुःख हुन्छ । अहिलेको अवस्थामा ठीक छैन ।” 

Global Ime bank

उनले आन्तरिक पर्यटन प्रवर्द्धनका नाममा दुई दिन बिदा दिन खोजिनु नै उपयुक्त नभएको बताए । आन्तरिक पर्यटन प्रवर्द्धन गर्न अन्य कुरामा केन्द्रित हुनुपर्नेमा पर्यटन मन्त्रालय दुई दिन बिदाको पछि लाग्‍न नै उपयुक्त नभएको उनको भनाइ छ । नेपालमा घुम्‍ने सरकारी कर्मचारी सरकारी कामकै सिलसिलामा घुम्‍ने गरेको उनी बताउँछन् । “दुई दिन सार्वजनिक बिदा दिएर पनि उनीहरू घुम्दैनन् । बिदा लिएर घुम्‍ने जाने मान्छे बैंकक जान्छन् । गोरखाको पालुङ्टारमा गएर बस्छन् ? बस्दैनन् ।”

पहिला पनि लागु गरेर पनि दुई दिन बिदा हटाइएको थियो । “गाउँ-गाउँबाट सेवा लिन राजधानी वा सदरमुकाम आउने सर्वसाधारणलाई सास्ती हुन्छ । यो अवधारणा अहिलेको सन्दर्भमा काम छैन । सबैभन्दा पहिला कनेक्टिभिटी राम्रो हुनुपर्छ । पुँजी उत्पादकत्व धेरै कम छ । त्यो बढेपछि मात्रै दुई दिन बिदाको अवधारणा राम्रो हुन्छ,” उनले भने । आन्तरिक पर्यटन प्रवर्द्धनका लागि भनिए पनि यसले पर्यटक नबढाउने उनले बताए । “हाम्रो पर्यटकीय गन्तव्यमा बढी विदेशी नै जाने हो । त्यसैले दुई दिन बिदा दिए पनि आन्तरिक पर्यटन प्रवर्द्धन हुँदैन ।”

त्यस्तै पूर्वअर्थ-सचिव सुवेदी दुई दिन बिदा दिन धेरै सोच्‍नुपर्ने बताउँछन् । दुई दिन बिदाको उद्देश्य के हो ? त्यो प्रस्ट हुनुपर्ने उनको भनाइ छ । पर्यटन मन्त्रालयले आन्तरिक पर्यटक प्रवर्द्धनका लागि भनेर यो अवधारणा ल्याउनु भनेको एकदमै सानो पाटोबाट मात्रै हेरेको उनको टिप्पणी छ । “उसको पाटोले मात्रै दुई दिन बिदाको औचित्य पुष्टि गर्न सकिँदैन्,” उनले भने । 

आन्तरिक पर्यटन प्रवर्द्धन गर्न कर्मचारीले घुम्न निस्कनुपर्छ । तर अधिकांश कर्मचारी काठमाडौं, जिल्ला सदरमुकाम, प्रदेश राजधानी, गाउँपालिकाको मुकाममा छन् । “दुई दिन बिदा दिएर पनि एक रात बिताउनेभन्दा बढी हँुदैन । एउटै ठाउँमा कतिपटक जालान् ? प्रत्येक साता, प्रत्येक महिना घुम्ने भन्ने कुरा पनि हुँदैन । घुम्न, डुल्नका लागि लामो बिदा चाहिन्छ । खर्च पनि चाहिन्छ । कर्मचारीको तलब क्षमता कति छ, त्यो पनि हेर्नुपर्छ,” उनले भने । 

०५६–५७ सालतिर ६ वटा उद्देश्यले दुई दिन बिदा दिइए पनि पछि उक्त निर्णय असफल भएको उनले बताए । प्रशासनिक खर्च कम गर्न, इन्धनमा भएको खर्च कम गर्न, वातावरण प्रदूषण कम गराउन, सेवाग्राहीलाई सेवा दिन कर्मचारीको उत्साह बढ्छ र उत्पादकत्व बढ्छ भन्ने उद्देश्यले दुई दिन बिदा गरिएको उनले बताए । “हाम्राजस्ता मुलुकले पनि दुई दिन बिदा दिने गरेकाले अन्तर्राष्ट्रियअनुसार गरौं भनेर दुई दिन बिदा ल्याइएको थियो । तर, दुई दिन बिदा लामो अवधिसम्म टिकेन । त्यो बेला किन हटाइयो थाहा छैन,” उनले भने । 

अहिले उत्पादकत्व बढाउनुपर्नेछ । कामको उत्पादकत्व बढाउनुपर्नेछ । सेवा प्रवाहलाई प्रभावकारी बनाउनु छ । अर्थतन्त्रलाई चलायमान बनाउनुपर्नेछ । उद्योग व्यवसाय चलाउनुपर्नेछ । यी सबै ध्यानमा राखेर विगतमा पनि अभ्यास गरियो । त्यसैले यी सबै विषयमा एकपटक राम्रोसँग अध्ययन गरेर मात्रै निर्णय गर्नुपर्ने उनको भनाइ छ । 

तर, अर्का पूर्वअर्थ–सचिव कृष्णहरि बास्कोटा भने दुई दिन बिदा उपयुक्त हुने बताउँछन् । “दुई दिन बिदाको सकारात्मक र नकारात्मक पक्षलाई हेर्दा यसको पक्षमा ५१ प्रतिशत दिन्छु, अर्थात् हुनुपर्छ भन्ने मान्यता मेरो पनि छ,” उनले भने । तर दुई दिन बिदा देशैभर एकैपटक लागु गराउनुपर्ने उनको भनाइ छ । यसअघि दुई दिन बिदा गराउँदै देशैभर एकैपटक लागु नगरिँदा सफल नभएको उनको भनाइ छ । “यो लागु गर्दा देशैभर एकैपटक गर्नुपर्छ । पहिले केन्द्रमा लागु गरिएको थियो । जिल्लामा लागु गरिएको थिएन । कहीं खुल्ने कहीं नखुल्ने गर्दा त्यो बेला सफल भएको थिएन, अब त्यस्तो गर्नु हुँदैन,” उनले भने । 

एकदिन बढी बिदा हुँदा वातावरण संरक्षणमा पनि सहयोग पुर्याउने, न्यायाधीशलगायत व्यक्तिलाई पनि इजलास बसे पनि लेख्‍न नभ्याउने भएकाले उनीहरूलाई पनि सहज हुने र उत्पादकत्वमा पनि वृद्धि आउने उनको भनाइ छ । 

तर, ३६५ दिनै अड्डा चलाउनुपर्ने बेलामा बिदामाथि बिदा थप्दा काम गर्ने समय ज्यादै कम हुन्छ भनेर अर्थ लगायो भने त्यो सत्यताको नजिक हुन्छ उनले भने । 

दुई दिन बिदा गरे पनि जनताको दैनिकी जीवनसँग सम्बन्धित अड्डाहरू चौबीसै घण्टा खोल्नुपर्ने, कहिले पनि बन्द गर्न नहुने उनको भनाइ छ । “मालपोत, न्याय दिने कार्यालय, यातायात, वैदेशिक रोजगार कार्यालय सधैं खुला हुनुपर्छ । यस्ता कार्यालय पूरै होइन तत्काल काम पूरा गर्न सकिने सेवा दिनका लागि मात्रै खुला गर्नुपर्छ,” उनले भने । 

दुई दिन बिदा दिँदैमा सरकारलाई आर्थिक भार पनि नपर्ने उत्पादकत्व पनि बढ्ने उनको भनाइ छ । “दुई दिन बिदा दिँदैमा बजेट खर्च हुँदैन कि भन्‍ने पनि हुँदैन । अहिले पनि खर्च गर्ने सचिवले दुई महिनामै खर्च गरेका छन् । नगर्नेले १२ महिनामा पनि खर्च गरेका छैनन्,” उनले भने ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १५, २०७७  १०:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC