site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
माध्यमिक अध्ययनका लागि १३ वर्षे बालिकाको  संघर्षको कथा
Sarbottam CementSarbottam Cement

नेपाली कथानक चलचित्र ‘ऐना झ्यालको पुतली’ दक्षिण कोरियाको बुसान इन्टरनेसनल फिल्म फेस्टिभलको मुख्य प्रतिस्पर्धामा छनोट भएको छ । सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’ बुसानको सबैभन्दा ठूलो पुरस्कार राशि रहेको ‘न्यु करेन्ट सेक्सन’मा छनोट भएको हो । यो सेक्सनमा नेपालसँगै विभिन्न देशका १० फिल्म छानिएका छन् । ‘न्यु करेन्ट सेक्सन’मा  विजेता बन्‍ने दुई फिल्मले ३० हजार अमेरिकी डलर (३५ लाख रुपैयाँ)  प्राप्त गर्नेछन् । ‘ऐना झ्यालको पुतली’ बुसानको मुख्य प्रतिस्पर्धामा छनोट हुने पहिलो नेपाली चलचित्र हो । ‘गुडबाई काठमाडौं’, ‘आमा खाण्डो’, ‘सुन्तली’, ‘कालो पोथी’ लगायत केही चलचित्र बुसानका लागि छनोट भएका थिए । बुसान कान्स, बर्लिन, टोरन्टो, सन्डान्सपछि प्रतिष्ठित मानिने फिल्म फेस्टिभल हो ।

‘ऐना झ्यालको पुतली’ सुजितको पहिलो निर्देशन हो । ‘जेरी’, ‘अध्याय’, ‘होस्टल’ लगायत चलचित्रमा चिफ एडी गरेका उनले ‘सावित्री’ सर्ट मुभी पनि बनाएका थिए । उनै सुजितसँग बाह्रखरीका नरेश फुयाँलले ‘ऐना झ्यालको पुतली’ सँगै नेपाली चलचित्रका विषयमा केन्द्रित रहेर गरेको कुराकानीको छोटो अंश :

० ० ० 

Prabhu Bank
Agni Group
NIC Asia

बुसान फिल्म फेस्टिभलमा आवेदन दिँदा चलचित्र ‘ऐना झ्यालको पुतली’ले यो सफलता पाउला भन्‍ने अपेक्षा थियो ?
कामको रिकगनाइज हुँदा खुसी लागेको छ । आवेदन दिँदा अपेक्षा थियो । तर जुन बेला हामी चलचित्र बनाइरहेका थियौं त्यो समय फेस्टिभलमा प्रयास गर्ने र पछि मात्रै नेपालमा हल रिलिज गर्ने भन्‍ने सोच थिएन । हामी साथीभाइ मिलेर बनाएको चलचित्र हो । फेस्टिभललाई लक्षित गरेर बनाइएको चलचित्र होइन । 

पूर्ण व्यावसायिक चलचित्र हो त्यसो भए ?
चलचित्र बनिसकेपछि सबै व्यावसायिक नै हुन्छन् । तर मूलधारमा जसरी धेरै चलचित्र बनिरहेका छन् त्यस्तो चलचित्रचाहिँ यो होइन । 

Global Ime bank

कुनै लक्षितवर्गका लागि सोचेर बनाइएको चलचित्र हो ? 
यो उमेर, यो वर्ग वा क्षेत्रका लागि भन्‍ने छैन । आम नेपाली दर्शकका लागि बनाइएको चलचित्र हो । नेपाली परिवेशको चाइल्डहुड नोस्टाल्जियाको कथा हो । सबैको मन छुन्छ भन्‍ने अपेक्षा गरेर निर्माण गरिएको चलचित्र हो । 

चलचित्रको स्टोरी लाइन ? 
विकट पहाडी गाउँको कथा हो । ०५२ सालमा एउटा विकट गाउँ जहाँ सहरीकरणको हावाले छोइसकेको हुँदैन । मोटरबाटो नपुगेको गाउँमा बस्‍ने १३ वर्षीया बालिकाको मावि पढ्नका लागि सदरमुकाम जान गरेको संघर्षको कथा हो । सोसल फेमेली ड्रामाको कथा हो । 

परिकल्पना कम वास्तविकता बढी हो ?
व्यक्तिगत अनुभवका कुरा पनि केही छन् । चलचित्रका लागि घटनाक्रम त पछि बुनिने पक्ष भयो । आफ्नो वास्तविक जीवनबाट प्रभावित कथाभन्दा सायद न्याय हुन्छ होला । 

नेपालमा केही समययता कि फेस्टिभललक्षित कि पूर्ण व्यावसायिक चलचित्र बनिरहेका छन् । बीचमा बसेर काम गर्न कतिको जोखिम छ ?
पक्कै पनि हो । तर, एउटा स्क्रिप्ट लेखियो । आफ्नै समाजको कथा समेटिएको कथा राम्रो छ । स्क्रिप्टलाई इमानदारीपूर्वक खिचेर देखाउन सकियो भने पक्कै पनि राम्रो चलचित्र बन्छ होला भन्‍ने लाग्यो । आफ्नै समाजको कथा पक्कै पनि दर्शकले मन पराउनुहुन्छ होला भन्‍ने लाग्यो । धेरै ठूलो अपेक्षा नराखी दर्शकको मन छुन सकिन्छ होला भन्‍ने कुराले उत्प्रेरित गरेको हो ।

यो खालका चलचित्रको बजार कस्तो छ ?
त्यति धेरै राम्रो छ भनिँदैन । तर बजारमा जे बिक्री भइरहेको छ त्यही मात्रै बेचिरहने कि हाम्रो कथाको वास्तविक कथा बजारले बुझ्दैन भनेर कहिल्यै नबनाउने त ? भन्ने मुख्य प्रश्न हो । 
नेपालमा लभ स्टोरी चल्छ । प्ल्स टु जेनेरेसनलाई लक्षित गरेर चलचित्र बनाउँदा मात्रै चल्छ भनेर कहिलेसम्म बस्‍ने ? कुनै इस्युमा बसेर बनाए चलचित्र चल्छ । हाइप क्रिएट गर्न सक्यो भने चलचित्र चल्छ भन्‍नेभन्दा पनि माथि उठेर हाम्रो कथा त भन्‍नुपर्‍यो । कसै न कसैले नभन्‍ने हो भने  हाम्रा चलचित्रमा हाम्रा कथा नआउने भए । पछिल्ला केही वर्षयता हाम्रा कथामा चलचित्र बन्दै आएका छन् । तिनलाई दर्शकले साथ पनि दिनुभएकै छ । त्यस्तै चलचित्रको लहरसँग मिल्न खोज्‍ने एउटा इमानदार प्रयास हो, यो चलचित्र । 

इमानदार भएर हामी हाम्रा चलचित्रमा कथा भनिरहेका छैनौं ?
छ । तर, तुलनात्मक रुपमा कम छ । यसका पछाडि धेरै पक्ष छन् । अरुको कुरा नगरौं म मेरै कुरा गर्छु । म मैले काम गर्ने प्राविधिकहरुसँग काम गर्न जाँदा यो नेपालमा पनि रिलिज गर्ने हो भन्‍ने प्रश्‍न आउँथ्यो । यसको अर्थ हामीले चलचित्रलाई हेर्ने दृष्टिकोण कस्तो छ भन्‍ने हो । केलाई चलचित्र भन्‍ने, केलाई डकुमेन्ट्री भन्‍ने ? हामी यसमा धेरै प्रस्ट छैनौं । भिजुअलको ज्ञान कम छ । चलचित्रलाई हामी साँघुरो परिभाषाभित्र राखेर मूल्यांकन गर्छौं । यी र यस्ता कारण धेरै छन् । 

नेपालमा चलचित्रलाई लिएर बहस तथा छलफलहरुको आवश्यकता छ भन्‍न खोज्‍नुभएको हो ?
सिनेमाको बहसले सिनेमाको लिट्रेसी बढाउँछ । सिनेमाको बृहत्तर अर्थ र महत्त्व बुझाउँछ । नेपालमा नेपालीबाहेक कि बलिउड र हलिउडको स्टुडियो फिल्म हेरिन्छ । वर्ल्ड सिनेमासँग साक्षात्कार हुनेको संख्या हाम्रोमा निकै कम छ । युरोप, इरान र इराकतिर पनि सिनेमा बन्छ भन्‍ने कमैलाई मात्रै थाहा छ । 

यो साक्षात्कार गराउन नसक्नुका पछाडि कमजोरी मेकर कि सरकारी निकायको हो ?
आरोप लगाएजस्तो हुन्छ । तर, जुन समाजमा फिल्मको लिट्रेसीको प्रतिशत कम छ भने त्यसको पहिलो जिम्मेवार त्यहाँका मेकर नै हुन् । चाहे त्यो नेपाल होस् वा अन्य कुनै भूमि । व्यापारिक हिसाबले भन्‍ने हो भने आफ्ना ग्राहकलाई आफ्नो उत्पादनबारे जानकारी दिने जिम्मा त उत्पादकको नै हो । त्यसपछि सरकार हो । किन भने नेपालमा चलचित्र क्षेत्र सरकारको प्राथमिकतामा कहिल्यै परेन । 

तपाईं पनि अन्य मेकरहरु जस्तै हाम्रो सानो बजारका कारण खुलेर लगानी गर्न सक्ने अवस्था छैन भन्‍ने पक्षमा हो ?
लगानी उठ्दैन भनेर कसैले भन्छ भने त्यो केही मात्रामा काल्पनिक कुरा होजस्तो लाग्छ । कुनै चलचित्रको लगानी उठ्छ केहीको उठ्दैन । ‘लुट’ले नयाँ बाटो कोर्‍यो । यसले नेपाली चलचित्र यस्तो पनि हुँदोरहेछ भन्‍ने ट्रेन्ड सेट गर्‍यो । त्यसैले कुनले उठाउँछ र कुनले उठाउँदैन भनेर सामान्यीकरण गर्नु ठीक हुँदैन ।

जब दर्शकले पर्दामा चलचित्र हेर्दा आफ्नो प्रतिबिम्ब त्यो चलचित्रमा देख्छ । त्यो चलचित्र सफल हुन्छ भन्ने मेरो बुझाइ छ । 
 
समग्रमा नेपालमा कस्ता चलचित्र बनिरहेका छन् ? 
बलिउड फर्मुलामा निर्माण हुने चलचित्रको संख्या धेरै छ । तर, पछिल्ला वर्षहरुमा हाम्रै कथाहरु पनि चलचित्रमा भन्‍न थालिएको छ । सर्ट मुभी होस् अथवा फिचर फिल्म नेपाली कथा बोकेका चलचित्रहरुको उपस्थिति बढ्दै गएको देखिन्छ । आशा गर्ने ठाउँहरु धेरै छन् ।
 
हामीले भनेजस्तो चलचित्र नबनेकै हुन् कि हामी धेरै महत्त्वाकांक्षी भयौं ?
बन्दै नबनेका होइनन् । फाट्टफुट्ट बनेका छन् । तर समग्रमा कुरा गर्दा राम्रा चलचित्र नबनेकै हुन् । वर्षमा एउटा दुइटा चलचित्र बनेर त्यसले दर्शकलाई चलचित्रप्रतिको परम्परागत बुझाइमा परिवर्तन ल्याउन पर्याप्त हुँदैन । 

तपाईंले भनेजस्ता चलचित्र पर्याप्त संख्यामा नबन्‍नुको कारण मेकरुहरुमा नै सिनेमा लिट्रेसी कम भएर पो हो कि ? 
मेकरहरु क्लियर नभएर पनि हो । र, बजार निर्देशित भएर पनि हो । ‘दक्षिणा’, ‘चिनो’, ‘साइनो’, ‘वासुदेव’ जस्ता राम्रा चलचित्र बन्‍ने समय पनि थियो नेपालमा । तर बीचमा द्वन्द्वसँगै चलचित्र मात्रै होइन गीत र साहित्य पनि खस्किँदै गयो । 

यसबीचमा अन्त काम गर्न नसकेर चलचित्रमा आउने क्रम बढ्यो । यसपछि सिनेमा हेर्ने शिक्षित वर्गले चलचित्र हेर्नै छाड्यो । नेपालमा चलचित्र बुझेर मात्रै यो क्षेत्रमा आउनुपर्छ भन्‍ने विचार निर्माण भएको धेरै भएकै छैन । चलचित्रलाई गम्भीर रुपमा लिएर बनाउन थालेका कारण कम बनिरहेको हो कि जस्तो मलाई लाग्छ । सुरुमा चलचित्रको ज्ञान लिने ठाउँ पनि थिएन । अहिले चलचित्र पढ्ने कलेजहरु पनि छन् । 

निर्माताहरु बढी बिजनेस ओरिएन्डेड हुनु र चलचित्र बुझेका मेकरहरु फेस्टिभल ओरिएन्टेड हुनु पनि अर्को मुख्य समस्या हो ? 
प्रोड्युसर भन्‍ने पोस्टलाई नेपालमा फाइनान्सरहरुले ओगटेका छन् । फाइनान्सर भनेको बिजनेस म्यान हो उसले तत्काल लगानीको रिटर्न्स खोज्छ । निर्देशक क्रिएटिभ मान्छे हो, उसले आफ्नो विचार र सिर्जना दिन खोज्छ । बीचमा क्रिएटिभ काम गर्ने प्रोड्युसर नहुँदा उसको काम पनि निर्देशकले नै गर्नु परिरहेको छ । कतिपय अवस्थामा फाइनान्सरको प्रेसरमा स्क्रिप्टलाई नै कमर्सियल बनाउनु परिरहेको हुन्छ । स्क्रिप्ट राइटर र निर्देशक सुरुमै सेल्समेन हुन्छ भने कसरी उसले राम्रो चलचित्र बनाउन सक्छ ? चलचित्रको जग नै बलियो हो । प्रोड्युसरको काम चलचित्र बेच्ने हो । जो हाम्रोमा छैन । फाइनान्सरबाट सुरुमै दबाब आउँछ । यस्तो अवस्थामा नेपाली चलचित्र निर्माण भइरहेको छ । 

हामी चलचित्रको बजार खोज्‍न कतिको निपूर्ण छौं ?
‘नुमाफुङ’ बनेको दुई दशक हुन लाग्यो । त्यसको निर्देशक नवीन सुब्बा अहिले पनि भन्‍नुहुन्छ म ‘नुमाफुङ’को पैसाले बाँचिरहेको छु । नवीन दाइलाई विश्वास गर्ने हो भने राम्रो चलचित्र बनाउन सक्यो भने त्यसले लामो कालखण्डसम्म प्रतिफल दिँदोरहेछ । स्टोरी टेलिङ सीमित वर्ग र क्षेत्रका लागि मात्रै हुँदैन । राम्रो चलचित्रको दर्शक विश्वभर छ । राम्रो चलचित्रमा विश्वमा कतै न कतै कसै न कसैको आँखा पर्छ । 

बजार खोज्‍न सरकारको भूमिका हुन्छ ? 
कति देशले आफ्नो चलचित्र कुनै फेस्टिभलमा जाँदै छ भने ठूलो बजेट स्पोन्सर गरिरहेका हुन्छन् । तर के हाम्रो सरकारको ध्यान त्यता पुगेको छ ? नेपालभित्रै पनि चलचित्र क्षेत्रमा सरकारले कति भूमिका खेलेको छ । प्राइभेट मेकेरहरुको इफोर्टले मात्रै गाह्रो हुन्छ । सरकारको सकारात्मक सहयोग र उपस्थिति बढी प्रभावकारी हुन्छ । व्यक्ति र सरकारको पहल फरक कुरा हो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १४, २०७७  १३:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC