site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सिँचाइका एक दर्जन अनुत्तरित प्रश्न     

कोभिड— १९ ले विश्वलाई दिएको एउटा पाठ अत्यावश्यक वस्तुमा आत्मनिर्भर हुनपर्छ भन्ने पनि हो । यसर्थ, कृषि प्रधान देश नेपाल कम्तीमा कृषि उत्पादनमा आत्मनिर्भर हुनैपर्छ । यस्का लागि सिँचाइको भूमिका महत्त्वपूर्ण हुन्छ । यसैलाई आत्मसात् गरी चालु आर्थिक वर्षमा सिँचाइका लागि रु २७ अर्ब ९६ करोड रुपियाँ बजेट विनियोजन  गरिएको छ । तर, अपेक्षित उपलब्धिका लागि केही विषयमा स्पष्टता जरुरी छ । यसर्थ, यस आलेखमा सिँचाइ क्षेत्रका एक दर्जन अनुत्तरित प्रश्नहरु सार्वजनिक बहसका लागि उठाएको छु । 

१. कृषियोग्य भूमि कति ?

नेपाल कृषि प्रधान देश हो तर, हाल कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान घटेर २७ प्रतिशतमा सीमित हुन पुगेको छ । अर्कातिर, कृषि क्षेत्रमा ६०.४ प्रतिशत जनसंख्या संलग्न रहेको तथ्यांकले देखाउँछ । 

Prabhu Bank
Agni Group
NIC Asia

अर्को तथ्यांकले कृषि जमिन अत्यन्त टुक्रिएको देखाउँछ । जसअनुसार, औसतमा, कृषि भूमि प्रतिपरिवार ०.६ हेक्टरमात्र रहेको छ । यसमा पनि ०.५ हेक्टरभन्दा कम आकारको कृषि जमिनमा कार्य गर्ने ५१.१  प्रतिशत परिवार छन् ।

नेपालमा कृषि योग्य जमिनको क्षेत्रफल कति छ भन्ने सम्बन्धमा फरक फरक तथ्यांक देखिन्छ । राष्ट्रिय योजना आयोगले नेपालमा कुल २६ लाख ४१ हजार हेक्टर कृषियोग्य जमिन रहेको जनाएको छ । सिँचाइ उपभोक्ता महासंघका पदाधिकारी भने यो तथ्यांक मान्न तयार छैनन् । उनका अनुसार मुलुकमा करिब ३२ लाख हेक्टर जमिन कृषियोग्य भूमिका रुपमा रहेको छ । यथार्थमा यस्तो भूमिको क्षेत्रफल करिब ३५ लाख हेक्टर रहेको मानिन्छ । 

Global Ime bank

यसैगरी, सिँचित भूमि कति भन्ने विषयमा पनि अन्योल छ । चाल आर्थिक वर्षको बजेट वक्तव्यको अनुसूची ११ मा हाल १४ लाख ८० हजार ३५६ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको उल्लेख छ । सिँचाइ विभागका अनुसार भने यस्तो सिँचाइ सेवा पुगेको भूमि करिब १७ लाख हेक्टरको नजिकमा छ । 

२. अर्थ मन्त्रालय प्रगतिशील, योजना आयोग पश्चगामी ?

आर्थिक वर्ष २०७५।७६ को बजेट वक्तव्यको बुँदा नं. १३६ मा पाँच वर्षभित्र सबै सिँचाइयोग्य भूमिमा सिँचाइ सुविधा पुर्‍याउने प्रतिबद्धता व्यक्त भएको थियो । यसैगरी, आव २०७२।७३ को बजेट वक्तव्यको बुँदा नं. ११० मा आगामी पाँच वर्षभित्र देशका सबै कृषियोग्य भूमिमा सिँचाइ सुविधा पुर्‍याउने बताइएको थियो । 

हालै, राष्ट्रिय योजना आयोगले जारी गरेको पन्ध्रौं पञ्चवर्षीय योजनामा नेपालमा कृषियोग्य जमिन २६ लाख ४१ हजार हेक्टरमध्ये २२ लाख ६५ हजार हेक्टर सिँचाइयोग्य भूमि रहेको र पन्ध्रौं पञ्चवर्षीय योजना अवधिमा थप ३ लाख हेक्टर जमिनमा मात्रै सिँचाइ सुविधा बिस्तार हुने प्रक्षेपण छ । 

यसले सिँचाइसँग सम्बन्धित कार्यालयहरूबाटै फरक फरक निकायलाई फरक फरक कृषियोग्य भूमि र सिँचाइयोग्य भूमि भन्ने शब्द राखेर अलमल्याउने सूचना दिइएको आशंका उब्जिएको छ । 

३. सिँचाइमा नेताको नाम खोई ?

नेपालमा आधुनिक सिँचाइ प्रणालीको आरम्भ सप्तरीको चन्द्रनहरबाट भएको हो । सो नहर विसं १९७९ मा आरम्भ गरी १९८५ मा सम्पन्न भएको थियो । तत् पश्चात विसं २००० मा सर्लाहीमा जुद्धनहर निर्माण भयो । यी दुई सिँचाइ योजना राणा शासनमा निर्माण भए ।

विसं २००९ सालमा नहर विभाग स्थापना भै यस कार्यले संस्थागतरुप धारण ग¥यो । तत्पश्चात निर्माण भएका नहरलाई नेताको नामबाट नामाकरण गरिएन । हाल कैयौं सडक, कार्यक्रम, अस्पताललगायतको नामाकरण नेताको नामबाट गरिएको छ । यसर्थ, मुलुकका विख्यात व्यक्तिको नाममा सिँचाइ योजनाको नामाकरण गर्नु बेस हुनेछ । 

४. सिँचाइ ऊर्जाको लागि हो ?

हाल नेपालमा २२ वटा मन्त्रालय छन् । त्यसमध्ये दुईवटा मन्त्रालयमा कृषि मन्त्रालय र ऊर्जा मन्त्रालय पनि हुन् । नेपालमा सिँचाइ कृषिको लागि होइन ऊर्जाको लागि हो भन्ने बुझिने गरी सिँचाइ विभागलाई ऊर्जा मन्त्रालय मातहत राखिएको छ । 

कृषि र सिँचाइका विज्ञहरुका अनुसार कृषिका विभिन्न ‘इनपुट’मध्ये सिँचाइ पनि एउटा हो । विभिन्न अध्ययनका अनुसार सिँचाइले मात्रै पनि कृषि उब्जनी औसतमा ३० प्रतिशतले वृद्धि हुन्छ । यसबाटै प्रष्ट हुन्छ, सिँचाइ कृषिको लागि हो । अतः  सिँचाइ विभागलाई कृषि मन्त्रालयअन्तर्गत सारी दिएमा फाइदा बाहेक बेफाइदा केही हुँदैन ।

यस्को अर्को अचुक उपाय हाल संघ सरकारमा २२ वटा मन्त्रालय छन् । यिनलाई १६ वटा मन्त्रालयमा सीमित गर्न दबाब बढिरहेकोछ । यसै अवस्थामा ऊर्जा र कृषिलाई गाभेर एउटै मन्त्रालय बनाई दिएमा कृषि विभाग र सिँचाइ विभाग एउटै मन्त्री र सचिवको मातहत परिचालन हुनेछन् । 

५. पुरानै कानुनको निरन्तरता किन ?

हाल कायम रहेको सिँचाइ नियमावली, २०५६ सालमा जारी भएको हो । यसरी २० वर्ष पहिलेकै कानुन सिँचाइ क्षेत्रमा प्रभावकारी छ । यसैगरी, नेपालमा सिँचाइ नीति, २०७० कार्यान्वयनमा छ । यसलाई समय सापेक्ष परिमार्जन गर्न सिँचाइ गुरु योजना, २०१९ को मस्यौंदा तयार गरिएकोमा सन् २०२० को मध्यतिर आइपुग्दासमेत अन्तिमरुप दिन सकिएको छैन । 

हाल संसद्मा जलस्रोत (व्यवस्थापन तथा नियमन) विधेयक, २०७७ संसद्मा विचाराधीन छ । यस विधेयकमा सिँचाइ क्षेत्रको नयाँ व्यवस्थापन प्रस्तावित गरिएको छ र कैयौं प्रावधानमा सरोकारवालाहरुको असहमति रहेको छ । नेपालमा प्रत्येक वर्ष चैत्र २५ गते सिँचाइ दिवस मनाउने गरिएको छ । यो धैरै कमलाई थाहां भएको दिवस हो ।

६. सिँचाइ कति प्रकारका ?

हाल जमिनमुनिको पानी (ग्राउण्ड वाटर), लिप्mट र सतहको पानी (सरफेस वाटर) गरी ३ किसिमका पानीको प्रयोगबाट सिँचाइ भइरहेको छ । यसअनुरुप मुलुकमा भूमिगत सिँचाइ, र स्यालो ट्यूबेल र डीप ट्यूबेल सिँचाइ, थोपा सिँचाइ, प्लाष्टिक पोखरी सिँचाइ, सानो कुलो सिँचाइ, विद्युत् र सोलारद्वारा वाटर पम्पले पानी तान्ने लिफ्ट सिंचाइ ताल तलैया संरक्षण तथा वर्षादको पानी संकलन गरी पोखरी सिँचाइलगायतका विभिन्न प्रविधि र उपाय प्रयोगमा छ । 

जल विद्युत्मा तीन प्रकारले पानीको प्रयोग गरिन्छ । पहिलो, नदीको बहावमा (रन अफ दि रिभर)मा आधारित परियोजना, अर्थात् सोझै खोलाको पानी पठाएर विद्युत् शक्ति उत्पादन गर्ने । दोस्रो, पिगिंग रन अफ दि रिभर, अर्थात् खोलामै केही पानी जमाउने गरी बांध बांधेर विद्युत शक्ति आबश्यक परेको बखत विद्युत् उत्पादन गर्ने परियोजना । तेस्रो, स्टोरेज प्रोजेक्ट, अर्थात् बर्षादको पानी जमाएर राख्ने र हिउँदमा जलविद्युत् उत्पादन गर्ने । 

सिँचाइमा भने रन अफ दि रिभर प्रविधि अवलम्बन गरिएको छ । वर्षामा खोलामा पानी हुन्छ र सोहीबखत आकाशबाट परेको पानीले खेत पनि सिञ्चित भइरहेको हुन्छ । हिउँदमा खोला सुकेर कमिला हिँड्छ । सो बखत सिँचाइको कुलोमा बालुवामात्रै हुन्छ । अनि, खेतमा पानी नभएर धाजा फाट्छ । यसर्थ अब, सिँचाइ पनि ‘स्टोरेज प्रोजेक्ट’मा रुपान्तरित हुनुपर्छ । 

७. सिँचाइले नगरेको काम के ?

सिँचाइको काम सिँचाइ गर्नेमात्रै होइन । कुनै स्थानमा पानीको स्रोत नै नभएमा सुख्खा स्थानमा हुने खेतीको पहिचान गर्नु पनि सिँचाइकै काम हो । 

हालै कर्णाली बबई डाइभर्सनको माध्यमद्वारा जलविद्युत्, सिँचाइ र कर्णालीको बाढी नियन्त्रणलगायतको व्यबस्थापन गर्नसक्ने योजना अघि बढेको छ । यो सिँचाइले पहिलै गर्नुपर्ने काम थियो ।

सिँचाइको योजनामा ठाउँ ठाउँमा पुल र कल्भर्ट बन्छ ।  यसलाई सडक सञ्जालले उपयोग गर्नुपर्छ । कोसी ब्यारेजको पुल, बबईको पुल पूर्वपश्चिम राजमार्गमा उपयोगमा आएको छ । यसर्थ सिँचाइले सडकसँग पनि समन्वय गर्नुपर्छ ।

८. तीन तहका सरकार किन तीनतिर ?

नेपालको संविधानको अनुसूची ५ मा संघ सरकारलाई ठूला सिँचाइ, अनुसूची ६ मा प्रदेश सरकारलाई प्रदेश स्तरको सिँचाइ र अनुसूची ८ मा स्थानीय तहलाई स्थानीय स्तरको सिँचाइको अधिकार दिइएको छ । तर, कानुनी व्यवस्था, उच्च पदाधिकारीको व्याख्या र सिँचाइका वर्तमान वर्गीकरणले निकै अन्योल उत्पन्न गरेको छ । 
सिँचाइ प्रणालीका आधारमा प्रदेश र स्थानीय तहको राजनीतिक बाँडफांट नगरिएकाले पनि यो द्विविधा उत्पन्न भएको हो । भविष्यमा, प्रदेशहरूबीच पानीको बाँडफाँटमा द्वन्द्व हुन सक्छ । यो समस्या स्थानीय तहबीच पनि उत्पन्न हुन सक्ने देखिन्छ । यसर्थ, समयमै बुद्धि पु¥याउनु पर्छ ।

यसर्थ, ठूला सिँचाइ केन्द्र सरकारले, मझौंला सिँचाइ प्रदेश सरकारले, साना सिँचाइ स्थानीय सरकारले र लघु कुलो किसान समूहले निर्माण र संचालन गर्ने गरी सुपष्टता ल्याउन जरुरी छ । यसरी, तीन तहका सरकारबीच उचित तालमेल हुनुपर्छ ।

यस अतिरिक्त संघीय सरकारको कुल बजेटको कम्तीमा ५ प्रतिशत, प्रदेश सरकारको १० प्रतिशत र स्थानीय तहको १५ प्रतिशत बजेट कृषि क्षेत्रमा विनियोजिन गर्नुपर्छ ।  यस्तो विनियोजित बजेटको आधा रकम सिँचाइको पूर्वाधार निर्माणमा छुटिृइनु पर्छ ।

९. सिँचाइ परियोजनाको खोई बहूप्रयोग ?

सिँचाइ परियोजना हिमाल, पहाड र तराई गरी सबै भूगोलमा विस्तारित छ । सिँचाइका मुहान र नहरको डिल पदयात्राका लागि पर्यटकीय क्षेत्र हुन सक्छन् । ठाउँ ठाउँमा वनभोज स्थल निर्माण गर्न सकिन्छ । 

नहरको किनारामा हरियाली बनाएर सौन्दर्य बिस्तार गर्न सकिन्छ । नहरको दायाँबायाँ ग्रामीण सडक बन्छ । नहरमा माछा पालन हुन्छ । ठाउँ ठाउँमा पानीलाई डाइभर्सन गरी मनोरञ्जन स्थाल र पौडी पोखरी निर्माण गर्न सकिन्छ ।

१०. नहरको सफाइ र दिगो विकास खोइ ?

सिँचाइ परियोजनाको ठूलो समस्या भनेकै नहरको सफाइको अभाव हो । समयमै सामान्य मर्मत गरेमा हुनेमा लामो समयसम्म मर्मतको चासो नदेखाउँदा पूरै सिँचाइ प्रणाली नै अवरुद्ध हुनेगरेको छ । 

साबिकमा नहरको मर्मतमा किसानहरु चाडपर्व जसरी भेला हुने, खाजा खाने गरेकोमा हालका दिनमा नहर सफाइमा ठेकेदार आउने, नहरभित्र स्काभेटर, लोडर र डोजर चल्ने भएपछि किसान र नहरबीचको आत्मीयता टुटेको छ । 

यसर्थ, नहर सफाइमा उपभोक्ता समूहहरुलाई नै परिचालन पर्ने विधिमा जानुपर्छ । सिँचाइ हाम्रा पुर्खाले गरिआएकै काम हो । परम्परागत कुलो व्यवस्थापनमा सरकार प्रवेश गरेपछि बाधा पुगेको छ । यसर्थ, पानीपोत, नहर सफाइ, दिगो विकासलगायतका काम एकीकृतढंगले सम्पादन गर्न सिँचाइ प्राधिकरण गठन गरेर एकद्वार नीति अवलम्बन गर्नुपर्छ ।

११. डाईभर्सन र गौरवका आयोजनाको गौरव कति ?

सरकारले पछिल्लो समयमा सुनकोशी मरिन डाइभर्सनलाई राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत गरेको छ । 

पहिल्यै, सिक्टा, रानीजमरा कुलरिया र बबई सिँचाइ आयोजनालाई राष्ट्रिय गौरवका आयोजना भनी घोषणा गरिएको छ । साथै, कर्णाली बबई डाइभर्सन पनि यही श्रेणीमा रहेकोछ । 

रानीजमरा कुलरिया थारु समुदायले संचालन गरेको परांपरागत सिँचाइको आधुनिक स्वरुप हो । बबई सिँचाइ सञ्चालनमा आएको धैरै भयो । यसलाई चरणबद्धरुपमा कमाण्ड क्षेत्र विस्तार गरिएको हो । सिक्टाको पानी अब खेतमा पुग्दैछ ।  हालसम्म, नेपालमा डाइर्भसनहरुबाट लाभ हासिल भइसकेको छैन । हामीले कालीगण्डकी तिनाउ, सुनकोशी कमला र राप्ती कपिलवस्तु डाइभर्सनको पनि अध्ययन गरिरहेका छौँ । डाइभर्सनले सिँचाइमा ठूलो परिवर्तन ल्याउनेछ अपेक्षा गर्न सकिन्छ ।

यथार्थमा हामीसँग अन्तर्राष्ट्रियस्तरको सिँचाइ सुविधा दिनसक्ने जनशक्ति छ । इजरायल, जापान र अस्ट्रेलियाबाट पनि सिक्न सकिन्छ । डाइभर्सनले पनि परिवर्तन ल्याउनेछ ।

१२. सिँचित भूमि घडेरीमा विक्री ?

साबिकको अब्बल, दोयम, सीम र चाहारको वर्गीकरणबाट हामीले कृषि भूमि, वन भूमि, आवासीय भूमि, औद्योगिक भूमिजस्ता उपयोगको आधारमा जमिनको वर्गीकरण गरिसकेका छाैँ । तर, आज उप्रान्त सिँचित भूमिलाई घडेरी हुनबाट रोक्न सकेका छैनौ । कृषिले जमिनलाई सुपर जोन, जोन, व्लक र पकेट क्षेत्रमा विभक्त गरेको छ । यी जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पुर्‍याइने प्रतिबद्धता व्यक्त गरिएको छ । 

एकातिर सिँचाइ अर्कोतिर कृषि नीति हुनुभएन । यी एक अर्काबीच नङ्ग मासुको सम्बन्ध भएका विषय हुँदा यिनलाई नेता, विज्ञ र जागिरदारको स्वार्थले फुटाई नराखौँ, जुट्न दिऊँ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १३, २०७७  १३:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC