सम्मतिको विरोधाभास

सुन्दर पन्थी

 सम्मतिको विरोधाभास

शुक्रवार १ः३० बजे कार्यालय सकिएपछि सपरिवार वीरगन्जस्थित ससुरालीतिर लागियो । बाहिर तातो हावा र चर्को घाम । घरभित्र पंखाको हावाले पसिना ओभाइरहेको थियो । पारिवारिक वातावरणमा अपराह्नको समय बित्दै थियो । लुडो चलिरहेको थियो । सदाबहार गीतहरुको मधुर आवाज आइरहेको थियो । आनन्दपूर्वक तराईका खानेकुराको स्वाद लिँदै गर्दा ससुरा बाले कुरा झिक्नु भयो ‘ज्वाइँ साहिब हम विचार करतानी साम के खाना चित्लाङ मे खायल जाई’ । श्रीमतबिाट तुरुन्तै सहमति आयो — ‘बुबाले राम्रो कुरो झिक्नु भो, जाऊँ सबैजना आज उतै खाना खाने । रमाइलो गर्ने ।’ 

मलाई भने यो कुरा मन परिरहेको थिएन । यस्तो बाफिलो वातावरण, त्यसमाथि बाटोको हालत । सबै बाटो कतै बनाउँदै छन् कतै भत्केको छ । धुलै धुलो, उबडखबाड खाल्टाखुल्टी । त्यसमाथि लामो यात्रा । सबैको मन भएको देखिएकाले मैले मन मारेरै भने — ‘ठीकै छ । आज बाहिरै खाऊँ न त । तर, आमालाई सोध न बेलुकाको केही विशेष भए यता छुट्ला नि !’ सासु आमाले भन्नुभयो — ‘वास्तवमा मलाई पनि माथितिर जाने मन छ । चितलाङ्ग न गा’ पनि वर्षौं भो । उहाँले कहीँ घुमाउन लैजाने होइन ।’

यात्रा सहज थिएन । गाडी चलाउनै गाह्रो । जताततै खाल्टाखुल्टी, गर्मी धुवाँ धुलोउस्तै । साथै लामो यात्रा । बल्लतल्ल चितलाङ पुगियो । थकैले चुर । यात्राजस्तै खराब रहेछ होटलको खानेकुरा । जसोतसो खाना खाइयो । कसैले केहि भनेनन् । चुपचाप वीरगन्ज फर्किइयोे उस्तै कष्टकर यात्रा ।

घर आउँदा ढिलो भइसकेको थियो । सबै थाकेका । तैपनि एक जनाले भन्न भ्याइहाले — ‘गज्जबको रमाइलो यात्रा ! हैन त ?” नमीठो व्यंग्यजस्तो लाग्यो उनको भनाइ । सासु आमालाई बाटामा गाडी लागेर बिसन्चो भएको थियो । उहाँलाई पहिले नै गाडीमा बान्ता हुन्छ भन्ने थाहा थियो । आरामले घर बस्न सक्नुहुन्थो तर अरुको उत्साहले उहाँ पनि तम्सनु भयो । मलाई अति नै भयो भन्ने लागेर भने ‘मलाई त हामीले जे गर्यौँ, त्यो पटकै चित्त बुझेन । म त ससुरा बुबाले प्रस्ताव गर्नुभयो, किन चित्त दुखाऊँ भनेरमात्र लिएर गएको ।’ पत्नीले पनि भनिन् —  ‘म पनि तपार्इँहरुको खुसीको लागि गएकी नत्र यस्तो गर्मीमा बाहिर जान त मलाई पनि मन थिएन ।’ बाहिर जाऊँ भनेर प्रस्ताव गर्ने ससुरा बाले पनि भन्नुभयो — ‘जुवाइँ राजालाई बोर भयो होला साताभर घर अफिसमात्रै गर्दा, यसो शुक्रवार घुमघाम गर्न रमाइलो होला भनेर पो त । ’ 

हामी सबै अन्योलमा पर्यौँ । हामीले सँगै यस्तो यात्रा गर्ने सामूहिक निर्णय गरेका रहेछौँ जुन वास्तवमा हामी कसैको भित्री चाहना रहेनछ । सबैले एक अर्काको चित्त नदुखाउनमात्र विचार नबझाएर सहमत भएका थियौं । परिवारको सबैभन्दा मान्य व्यक्ति (ससुरा बा)बाट जुन प्रस्ताव भएको थियो त्यसका फाइदा अप्ठेराका बारेमा छलफल गर्नतिर लागेनौ । परिवारकै पाका व्यक्तिको वचन राखियो । अर्को एक जनाले स्वीकार गरेपछि त्यही प्रस्ताव थप बलियो भयो भने तेस्रोले फरक विचार ल्याउने कुरै आएन । यसरी हाम्रो निर्णय भयो । खासमा कसैले पनि चाहना नगरेको निर्णयमा सर्वसम्मति पो भयो । हामी सबै दिउसो घरै बसेर जुन आराम गर्न सक्थ्यौँ समय रहदै त्यस सहज विकल्पलाई छोडेर र दुःख पायौँ । 

जीवनमा यस्ता कैयौँ परिस्थितिमा हामी यस्तै व्यवहार गर्छौँ र गलत निर्णयको सिकार बन्छाैँ । समूहका अरू सदस्यहरुको इच्छाविरुद्ध होला कि भन्ने भावनाले फरक विचार प्रस्तुत गर्न हिचकिचाएर नचाहँदा नचाहँदै अनुपयुक्त सामूहिक निर्णयको सिकार बन्छाैँ। 

सामान्यतः व्यक्तिले सामाजिक भावनाको कारण अनि साथीको अपेक्षाअनुरुपको व्यवहार देखाउन, निर्णय प्रक्रिया सहज र सजिलो पारिदिन, समूहका सदस्यहरुको मन राख्न एवं् मैत्री र विश्वासको सम्बन्ध नबिगार्न सहमतिको भावना प्रदर्शन गर्न आवश्यक ठान्छ । त्यस्तै संस्थागत परिवेशमा समूहको सदस्यले कसैलाई पनि ऊ बढ््ता बाठो हुन खोज्ने स्वभावको नलागोस् वा स्थापित मान्यतामा चुनौती नहोओस् भनेर सजग हुँदा आपm्नो भावना लुकाउने संभावना हुन्छ । यस्ता गलत सोच र प्रवृत्ति नै वास्तवमा गलत निर्णयको कारण बन्ने गर्छन् । यसरी आफू जानीजानी मूर्ख भएर पनि समूहमा मिल्न समर्थन गर्ने मानवीय व्यवहार र प्रवृत्तिलाई व्यवस्थापनको भाषामा अविलेन विरोधाभाष भन्ने गरिएको छ ।

के हो त अविलेन विरोधाभाष 

यस व्यवहारलाई  ‘समूह सोच’ पनि भनिन्छ । यो उद्योग, संगठन र सामाजिक संरचनाहरुको परिवेशमा अध्ययन र विश्लेषण गरिन्छ । यसले समूहहरुको मनोविज्ञान र सामाजिक व्यवहार एवं समूहभित्रका सदस्यहरुबीचको सम्बन्धको गतिशीलतालाई जनाउँछ । पेसागत संगठनमा समूह सोचले प्रभावकारी भूमिका खेल्छ । त्यसमा नकारात्मक नतिजाको डरले व्यक्तिहरु आफूभन्दा माथिल्ले पदका वा वरिष्ठ सदस्यलाई प्रश्न गर्न हिचकिचाउँछन् र छलफल एवं निर्णय गर्ने समूह समान विचारलाई सुदृढ पार्ने एउटा ‘इको चेम्बर’मा रुपान्तरण हुनपुग्छ ।

यसैले आवश्यक सूचना तथा धाराणविना निर्णय प्रक्रियालाई प्रभावकारी बनाउन असम्भव छ । कुनै विषयमा फरक दृष्टिकोण प्राप्त गर्नु र छलफलमा योगदान दिने विचारको प्रभावकारिताको जाँच गर्ने कार्य गर्नु नै अत्यन्त महत्त्वपूर्ण हुन्छ । शास्त्रमा पनि भनिएको छ — वादे वादे जायते तत्वबोधः । यसर्थ एउटा नेतृत्वकर्ताले आफैँतिर फर्केर सोेध्नुपर्छ — आफ्ना विचारहरु ठीक छन् कि छैनन् ? अनि आफ्ना समूहका सदस्यहरु यस्तै अविलेन विरोधाभासको सिकार पो भैरहेका छन् कि ? अविलेन विरोधाभासले संथागत सम्मति व्यवस्थापनको असफलतालाई दर्शाउँछ । वास्तवमा आधुनिक संगठनहरुमा नेतृत्वको सबैभन्दा जटिल समस्यामध्ये एउटा द्वन्द्व व्यवस्थापन नभएर सम्मति व्यवस्थापन हो ।  

प्रतिकृया दिनुहोस
ad