काठमाडौं । सार्वजनिक गर्न जवाफदेहीता निगरानी समितिले कैदीबन्दी रामलखन जैसवालको मृत्यु शंकास्पद भन्दै निष्पक्ष छानबिनको माग गरेको छ ।
केन्द्रीय कारागार सुन्धारा काठमाडौंमा बन्दी जीवन बिताइरहेका सिरहाको सिद्धार्थ नगरपालिका ५ निवासी जैसवालको असोज ३ गते कोरोनाबाट मृत्यु भइ वीर अस्पतालमा राखिएको बताइएको थियो ।
तर, जैसवालको परिवारले रोगबाट मृत्यु नभइ हत्या गरिएको दावी गरेकोप्रति समितिले आफनो गम्भीर ध्यानाकर्षण भएका जनाएको छ ।
बिहीबार विज्ञप्ति जारी गर्दै समितिले भनेको छ, “केन्द्रीय कारागार विभाग तथा वीर अस्पतालका प्रशासनले जैसवालको मृत्यु हत्याबाट नभइ कोभिडका कारणले भएको भनेर पत्रकार सम्मेलन मार्फत दाबी गरेपनि प्राप्त भिडिओबाट शंका गर्ने धेरै आधार भएको हुनाले उक्त घट्नालाई गम्भीरताका साथ छानबिन गरी तत्काल सत्यतथ्य सार्वजनिक गर्न नेपाल सरकारसमक्ष निगरानी समिति आग्रह गर्दछ ।”
समितिका संयोजक चरण प्रसाईले जारी गरेको विज्ञप्तिमा कारागारमा संवेदनशील तथा जोखिम अवस्थामा रहेका कैदीबन्दीलाई कोभिडको कारणले परिवारलगायत कसैसँग भेट गर्न बन्देज लगाइएको अवस्थामा शंकास्पद घटनाहरु हुन सक्ने र कोभिड संक्रमणको नाममा हत्यासमेत हुने त्रास उब्जिएको उल्लेख छ ।
केन्द्रीय कारागारलगायत मुलुकका विभिन्न कारागारमा रहेका कैदीबन्दीको सुरक्षाको व्यवस्था गर्न, कारागारमा कोभिडको संक्रमणको जोखिम कम गर्न कैदीबन्दीहरुको चाप कम गर्न सर्वोच्च अदालतले दिएको आदेशको पालना गर्न, कैदीबन्दीहरुलाई कोभिडको संक्रमणबाट बचाउने अन्य आवश्यक उपायहरु गम्भीरताका साथ अवलम्बन गर्न समितिले ध्यानाकार्षण पनि गराएको छ ।
फाइल तस्बिर ।