सडकमा सवारी साधन चलेको छैन भन्दैमा पेटी छोडेर बीच सडकबाट हिँड्न थाल्यौँ भने कुनै पनि बेला दुर्घटनामा पर्न सकिन्छ । यसैगरी जंगलमा एक्लै हुँदैमा निर्वस्त्र हिड्न पनि हँुदैन । प्राचीन समयदेखि समाजमा मानिदै आएका धर्म, संस्कार, संस्कृति, चालचलन, रीतिरिवाज सबै मानिसको जीवनलाई सहज बनाउन निर्माण गरिएका उपाय हुन् । अर्कोतिर मानवलाई दानवमा परिणत हुन नदिई मानवतासहितको जीवनको अस्तित्व कायम गर्न र अनुशासित बनाउन विवेकीहरुका अनुभवमा आधारित नियम तथा मान्यता हुन् ।
समाजमा यति भए आपराधिक गतिविधि रोक्न सकिन्छ भन्ने ध्येयले नै संस्कारहरु चलनमा ल्याइएका हुन् । देश, समाज, जातजाति भाषा धर्मअनुसारै संस्कार, संस्कृति, चालचलन, रीतिरिवाजमा पनि भिन्नता पाइन्छ ।
विज्ञान तथा प्रविधिको यस युगमा विकाससँगै विनाशका शृंखला पनि सुरुभएका छन् । आधुनिक प्रविधिले मानव गतिविधि बढेर स्थिति नियन्त्रणबाट टाढा हुनसक्ने देखेर राष्ट्रहरुले यससम्बन्धी कानुन निर्माण प्रारम्भ गरे हुनन् । तिनै कानुनकोे अभ्यासका क्रममा प्राप्त अनुभव देश देशका बीच आदानप्रदान भई सबै देशले आआफ्नै परिवेश सापेक्ष कानुन निर्माण गरी कानुनी राज्यका रुपमा अस्तित्व कायम गरे होलान् । बिस्तारै हाम्रो देशले पनि विभिन्न देशका सान्दर्भिक कानुनलाई आत्मसात गरी साझा कानुनको अवधारणामा केही थपघट गर्दै आफ्नो छुट्टै संविधान र त्यसको कार्यान्वयनको लागि आवश्यक कानुनसहितको राज्यको रुपमा विश्वमा परिचय बनाउँदै गएको देखिन्छ ।
देशमा नियम कानुन भए पनि मानिस अनुशासनको परिधिमा आफैँ कसिन सक्दोरहेनछ । स्वतन्त्र नागरिक हुनुको अर्थ अराजक बन्नु होइन भन्ने चेतनाको अभावमा मानिसले स्वच्छन्द भएर वितण्डा मच्चाएको उदाहरण नेपालका साथै अन्य देशहरुमा पनि पाइन्छन् । कर्तव्य र दायित्व बिर्सेर अनुशासनको सीमा पार गर्दै मनलागी गर्दा विविध नकारात्मक घटना हुन्छन् र त्यसको दुष्परिणाम सिंगो समाजले बेहोर्नुपर्ने हुन्छ । । कानुनले मात्र मानिसलाई अनुशासनमा बाँध्न सक्दैन । न त कुनै निर्धारित सजायको डरले नै ।
कुनै पनि अपराध गर्नु वा गराउनुपूर्व कसैले पनि विश्लेषण गर्दैन । भनिन्छ नि — ‘रिसाएको वेला कसैले वेद पढ्दैन’ । यी सबको मुख्य कारण व्यक्तिकोे आचरण तथा व्यवहार वा भनौ हामीले सिकेका संस्कार, संस्कृति र सभ्यता नै हो । हामीसँग भएको असल आचरण जो हामीले आफ्ना घर परिवार, साथीसंगाती, छरछिमेकलगायत समाजबाट सिकिआएका हुन्छौँ । अपराध र आपराधिक मानसिकतामा अवरोध गरी दुर्घटना हुनबाट जोगाउने त्यहीमात्र एक उचित र भरपर्दो अश्त्र हो ।
हामीले आफूलगायत आफ्ना घरपरिवार, छरछिमेक, साथीसंगातीलाई भोलि कानुन बनाउन उचित हुने खालका संस्कारमा अभ्यस्त बनाउने प्रयत्नको थालनी गर्न अत्यावश्यक छ । मानिसको जीवनमा परीक्षा विद्यालय र विश्वविद्यालयमा मात्र हुन्छ भन्ने प्रचलित मान्यतामा परिवर्तन गराई हामी जीवनको प्रत्येक क्षणमा जाँचिइरहेका हुन्छौँ भन्ने बुझ्न सक्नुपर्छ । हामीले गलत कार्य गर्नुहुन्न भन्ने चेतना स्वःस्फूर्तरुपमा निस्कने वातावरणको सिर्जना गर्नसकेमा भ्रष्टाचार, मानव बेचबिखन, लागू पदार्थ दुव्र्यसन, घुसखोरी, ठगी, जालसाजीआदि मात्र नभई बलात्कार, हत्याजस्ता जधन्य अपराधलाई पनि कम गर्न सकिन्छ । (अधिवक्ता)