site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
गुरुबा
Sarbottam CementSarbottam Cement

शिवराज योगी


बाटोमा उभिनु सायद उसको नियमितता हो ! हुन सक्छ, हतारमा घरबाट निस्कने उसको यात्राको उद्देश्य यहीँसम्म आएर टुङ्गिन्छ ! योभन्दा अगाडि त ऊ हिँडिदिन्छ, हिँड्नका लागि । 

सधैं झैं परितोष आज पनि चाबहिलको सेतो गुम्बाअगाडि उभिएको थियो । उसको अनुहारमा आज उत्साह थिएन, उद्वेगपन थियो । उत्सुकता थिएन, उल्झन थियो । सुर, ताल कतै नमिलेको सिकारूले बजाएको सङ्गीत झैं लाग्थ्यो, उसको अनुहार । 

Prabhu Bank
Agni Group
NIC Asia

सधैं झैं उसका आँखा आज पनि ममाथि परे । सायद शरदको बिहानीमा सिरिरि चलेको बतासले छोए झैं भयो, उसको मन । अर्कै आनन्द फैलियो क्यार, उसको हृदयमा । मन शीतल भएर आए झैं देखियो । ओइलाएको उसको अनुहार एकाएक हराभरा भयो । 

शालीन र मायालु मुस्कानले मलाई स्वागत गर्यो । दुई ओठको बायाँ किनारबाट कुकुरे बङ्गारा देखाउँदै भन्यो, “आरामै निकिता ।” 

Global Ime bank

यो उसको अभिवादनको नियमित शैली थियो । हरेक दिन देखाउने हार्दिकता थियो । अरूथोक जेसुकै होस्, उसको अनुहारको यो हार्दिकता भने मलाई खुबै मन पर्छ । उसको सौहार्दपूर्ण आत्मीयताले खै कता हो कता, मलाई भित्रैसम्म बेर्छ, छुन्छ कताकता न्यानो हुने गरी । 

०००

परितोषले चाबहिलबाट आइरहेको नीलो माइक्रोलाई हात दियो । उसले पहिला मलाई बस्न आग्रह गर्यो । निहुरिएर म भित्र छिर्दै थिएँ । पिठ्यूँको ब्याग ढोकाको माथिल्तिर अल्झियो । परितोषले ब्याग झिकिदियो । ऊ आएर मेरै छेउको सानो ठाउँमा कोचिएर बस्यो । उसको बसाइ असहज थियो । कतै छोइएला कि जस्तै गरेर ऊ खुम्चिएको थियो । पिडौंलाहरू एकआपसमा स्पर्श होलान् कि भन्ने भयमा ऊ थियो । उसको सतर्कता बुझ्न मलाई गाह्रो भएन । 

मेरो ब्यागमाथि आफ्नो ब्याग राख्यो । काखमा ब्याग च्यापेर बस्यो । 

“ब्याग म समात्छु नि ।”

“होइन, ठीकै छ,” उसले भन्यो । 

सधैंजसो चाबहिलदेखि त्रिचन्द्र पुग्दा नयाँनयाँ अध्यायमा गफिने परितोष आज मौन थियो । एकोहोरो टाढा कतै हेथ्र्यो, बेलाबेला पुलुक्क मेरो अनुहार नियाल्थ्यो । 

“किन, आज सन्चो छैन कि...?”

मेरो शब्द नखस्दै ऊ झस्किए झैं बोल्यो, “त्यस्तो होइन, ठीकै छु ।”

अरूसँग धेरै नजिस्किने स्वभावको परितोष मसँग भने खुलेरै बोल्थ्यो । युवावयका कुरा गथ्र्यो । जीवनका आयामहरूबारे खुल्थ्यो । सहरमा रङ्गीन दृश्यहरू बयान गथ्र्यो । बाँधिएर हिँडेका जोडीहरूको वृत्तान्त सुनाउँदा सुनाउँदै कहिलेकाहीँ प्रेमिल बनिदिन्थ्यो । सहीगलतको वासलात मिलाउन खोज्थ्यो । राजनीतिक व्यवस्थाप्रति आक्रोश पोख्थ्यो । आज उसले यी कुनै चरित्र देखाएन ।

माइक्रो पुतलीसडक नाघेर कमलादीतर्फ मोडियो । पहिलो मोडमै उसले रोक्ने सङ्केत ग¥यो । माइक्रो रोकियो । 

“किन यति वरै रोकेको, त्रिचन्द्र त परै छ नि ?”    

ऊ मभन्दा अघिल्तिर भएकाले झरिसकेको थियो । जवाफ दिएन । म पनि झरें ।

“चार पाइला परसम्म सँगै हिँडौं न !” बडो गम्भीर लयमा उसले भन्यो । मलाई आश्चर्य लाग्यो । सँगै अनौठो उत्सुकता पनि । 

“परितोषले किन यस्तो भन्यो ?” 

पाइला चल्दै थिएँ । म गम्दै गएँ । अहँ ! ठम्याउन सकिनँ । अनुमानै गर्न सकिनँ । 

“किन चार पाइला भनेको ?” उसैलाई सोधें । 

“दुई तिम्रा, दुई मेरा, चार भएनन् त,” उसले ठट्यौली पारामा उत्तर दियो । 

“बी सिरियस परितोष ! तिमी किन आज अनौठो अनौठो लागिरहेछौ ? अरू दिन जस्तो ह्याप्पी पनि देखिँदैनौ, बोल्न नि बोलेनौ । कहिल्यै त्यसो नभन्ने मान्छे, आज त्यसो भन्यौ, चार पाइलाको कुरा गर्यौ ?”

गणेश मन्दिरको बाँयापट्टि मोडिने कुनामा थियौं । ऊ टक्क रोकियो । छेवैका चिया पसलहरू हामीलाई पर्खिबसे झैं लाग्यो । उसले त्यता हेर्दै हेरेन, मेरो अनुहारमा एकोहोरो हेरिरह्यो । 

उसको हेराइले ममा अनौठो तरङ्ग ल्यायो । परितोष र मेरो कलेज यात्राको दुई वर्ष पुग्नै लाग्यो । यो यात्रामा उसले कति हजार पटक मलाई हेर्यो होला, सयौं पटक छोइयो होला, सँगै त कति हिँडियो, हिँडियो ! अहँ त्यस्तो तरङ्ग ल्याउने गरी हेरेको कहिल्यै याद छैन, छोएको कहिल्यै सम्झना छैन । मलाई भावशून्य हुने गरी नियालेको स्मरण छैन ।

क्षणभरको एकोहोरो हेराइपछि उसले प्रस्ताव राख्यो, “आज कलेज नजाऊँ है, मान्छ्यौ ?”
 
बाटो हिँड्दाहिँड्दै भेटिएको यात्री थिएन ऊ । “हुन्न” कसरी भन्नु ? ऊ त करिब दुई वर्षदेखिको सारथी थियो– कलेज यात्राको । र परितोष गलत मनसाय भएको केटा पनि होइन, जो स्वार्थका लागि गिर्न सकोस् । अहँ ! ऊ अन्यथा केही गर्दैन, यो मानेमा म स्पष्ट थिएँ । परितोषले राम्रो नगर्ला । तर मलाई हानि हुने गरी नराम्रो त चिताउन पनि चिताउँदैन । म ढुक्क थिएँ । 

कलेजका सुरूसुरूका दिन सम्झिएँ । विवेकले मलाई जिस्क्याएर “हाई, कोकाकोला !” भन्दा परितोषले क्या मीठो प्रतिवाद गरेको थियो, “विवेक ! आफूलाई किन गिराउँछौं यार ! सक्छौ भने जितेर आफ्नो बनाऊ ।” 

दुई वर्षअघि विवेकलाई दिएको जवाफ आज मेरो मनमा क्लिक भएको थियो । म ढुक्क थिएँ, परितोषले केही गरेछ भने पनि जितेर गर्ला । तर अमानवीय केही गर्नेछैन । 

“कलेजै नगएर जाने कहाँ त, के भन्न खोजेको ? अनि आजको पढाइ...?” मेरो जिज्ञासा सकिन नपाउँदै उसले भन्यो, “किताब त सधैं पढ्नु नै छ, जीवनभर किताबको होस् या जीवनको ज्ञान लिनु त छँदै छ नि, आज जिन्दगीका लागि समय देऊ न, निकिता !”

म मूक भएँ । ऊ भावुक देखियो । सवाल गरिनँ । विश्वास, भरोसा र कतै न कतै मनमा सुषुप्त भएर परितोषसँग जोडिएको एक खालको अपनत्व थियो । मैले यत्ति भनें, “कहाँ लैजान्छौ मलाई ?”

“लगेर मिल्ने भए बादलपारिको देशमा लैजान्थें नि !” यति भनेर ऊ अगाडि बढ्यो । 

म उसको दाहिनेपट्टि थिएँ । उसले मेरो देब्रे हातको कान्छी औंला सुस्तरी समात्यो । कसिलो समात्दा पनि दुख्ला कि झैं गरी, खुकुलो । 

“तिमी हिँड न, जाने ठाउँ म भन्छु ।”

ऊ लमकलमक गणेश मन्दिरको देब्रेतिर मोडियो, सँगै म पनि हिँडे । मन्दिर घुमेर सडकमा पुगेपछि उसले मलाई बीचको गल्ली डोर्यायो । किङ्स–वे पुर्यायो । महेन्द्रको सालिकनिर जेब्राक्रस गर्यौं । हिमालयन जाभामा जाने इसारा गर्यो । 

बाहिरैबाट माथिल्लो तलामा जाने फलामे भर्याङ थियो । परितोष भर्याङको पहिलो खुड्किलोनिर पुगेर रोकियो । दायाँ हत्केला छड्के उत्तानो पार्दै मलाई अघि लाग्न इसारा ग¥यो । सिसाको ढोका उघार्दै हामी हिमालयन जाभाभित्र पस्यौं । कुनापट्टिको सोफामा गएर बस्यौं । बस्न नपाउँदै वेटर आएर दुई ग्लास पानीसहित मेन्यु तेस्र्यायो । 

“म त क्यापुचिनो, निकिता चिमी चैं ?”

मैले लाट्टे भनें । 

कफीको कपसँगै ल्याइएका दुई प्याकेटमध्ये एक प्याकेट सुगर परितोषले कपमा खन्यायो । चम्चाले घोलिरह्यो । उसको घोलाई एकोहोरो थियो । लाग्दै थियो, ऊ चिनी होइन, आफ्नो मनको उकुसमुकस कफीमा फिटिरहेछ । 

मैले दुई ओटै प्याकेट चिनी कफीमा ओइर्याएँ । दुईचार फन्को सानो चम्चा घुमाएँ । 

“लिऊँ न, चिसो भो,” मेरो बोली सुनेर परितोष झल्याँस्स ब्यूँझे झैं गर्यो । लाग्यो, आज ऊ कुनै नौलो तनावमा छ । कि त ऊ समस्यामा छ, या त मनमा गुत्थ परेको गाँठोले उसलाई अल्झाइरहेछ । 

सुरूप्प ! एक सुर्की कफी पियो । टेबलमा राखिएको न्याप्किन टिप्यो । परितोषले पातला जुँगाको रेखी लपक्क पुछ्यो । जुँगा र ओठमा केही टाँसिएको थिएन । तर उसको पुछाइ यस्तो थियो कि, मानौं त्यहाँ चास्नी नै टाँसिएको छ । या कतै माकुराको जालो आएर लपेटिएको छ, भर्खर रेखी बसेको जुँगामा !

कफी भरिएको कप उठाएर ओठको स्पर्शमा मात्रै के पुर्याउन आँटेकी थिएँ, परितोषले एकोहोरो हेर्दै भन्यो, “आज एउटा कुरा भन्न मन भयो, तिमी रिसाउन त रिसाउँदिनौ नि ?”

बीचैमा वेटर आएर अनुनय शैलीमा भन्यो, “अरू केही पर्छ कि ?”

परितोषको कुराको सिलसिला भङ्ग भयो । उसले एक ठाउँमा अम्लेट टोस्ट मगायो । 

“एउटा मात्रै ?” 

मेरो वाक्य पूरा नहुँदै उसले भन्यो, “बाँडेर खाउँला नि, माया पनि बढ्छ भन्छन् ।” 

परितोषले निर्दोष हात लम्कायो । मेरो बायाँ हत्केला समात्यो । निकै मायालु स्पर्श गर्यो । उसको न्यानो स्पर्शले खै कता हो कता, म भित्रैसम्म तरङ्गित भएँ । कहिल्यै महसुस नगरेको अनौठोपन अनुभूत भयो । जतनसँग समातेको मेरो हात सुमसुम्याउँदै भन्यो, “जीवनमा यात्रा धेरैसँग गरिन्छ । तर सबै लायक हुँदैनन्, मैले जीवनभर यात्रा गर्न तिमीलाई लायक ठानें, मन पराएँ । तिमीमा मैले यो जुनीको सहयात्रीको प्रारुप पाएँ । आज त्यही कुरा भन्न यहाँ बोलाएको ।”

उसको मुखाकृति, स्वरको कम्पन र लयको मिठास अनौठो थियो । यति भयङ्कर अवस्था मैले जीवनमा पहिलो पटक नियाल्न र अनुभव गर्न पाएकी थिएँ । यति अनुनयी अनुहार आफ्ना अघिल्तिर कहिल्यै कसैको देखेकी थिइनँ । यति नादान आलापका अगाडि सायद ढुङ्गा पनि कठोर बन्दैन होला, म त मान्छे थिएँ, त्यो पनि कोमल मन भएकी नारी, त्यसमाथि उसैसँग दुई वर्षदेखि यात्रारत कक्षाकी दौंतरी । 

उठेर चड्कन हान्ने कुरा फिल्मीबाहेक केही हुनेवाला थिएन । यो त जीवनको सत्य थियो । फिल्मी बनाएर मलाई न दर्शकको ताली पाउनु थियो, न त कसैका नजरमा साहसी केटीको परिचय बनाउनु । 

थियो त केवल आफ्ना अघि अनुनय गरिरहेको एक योग्य केटाको मन नदुखाउनु थियो । उसको आत्मामा ठेस नलाग्ने उपाय खोज्नु थियो । र कहीँकतै खिल बनेर दुख्न सक्ने आफ्नै हृदयमाथि पनि न्याय गर्नु थियो । 

०००

हिजोसम्म पढाइमा अप्ठ्यारो पर्दा परितोषले गाइड गरिदिन्थ्यो । बाटो हिँड्दा कतै गाह्रो भए उसैले सहज बनाइदिन्थ्यो । कलेज छुटेको दिन नोट दिएर उसैले पढाइको लय बिग्रन दिँदैनथ्यो । कसैले बाटो ढुकेर सताउँदा ऊ नै अवरोध हटाइदिन्थ्यो । एक दिन पुतलीसडकमा हिँड्दाहिँड्दै चप्पल चुँडिँदा परितोषले मलाई चिया पसलमा राखेर स्टारमलनिर चप्पलको तुना सिलाएर ल्याइदिएको थियो । आहा ! कति मीठो थियो, उसको यो सदाशय । 

हे भगवान् ! आज त्यही परितोषको अनुनय मेरा लागि जटिल बन्यो । समस्याका रुपमा खडा भइदियो । जीवनमा सधैं सहज लाग्ने त्यही मानिसलाई समयले कुनै पलमा ल्याएर कति अप्ठ्यारो बनाइदिँदो रहेछ ! हुन्छ भन्न पनि नसक्ने, हुँदैन भन्न पनि आँट नआउने ! यस्तो मोडमा उभिएँ म । खाली खुट्टामा खिल नगडोस् भनेर चुँडिएको चप्पल सिलाइदिने परितोषले नै आज दोधारमा पारेको थियो । के गरौं, के नगरौंको असमञ्जसमा उभ्याएको थियो । समय पनि कति बेइमान ! जीवनका आयामहरू किन यसरी पेचिलो बनेर आइदिन्छन् ?

टुलुटुलु ऊ मेरो आँखामा नियालिरहेको थियो । मेरा आँखाहरू स्थिर र स्तब्ध थिए । सायद एकछिनका लागि मेरो समय रोकिएको थियो । उसले मेरो हात थोरै माथि उठायो । आफू सोफाबाट थोरै उचालियो । मेरो हातमा चुम्बन गरिदियो । र भन्यो, “हुन्छ मात्रै भन, यो न्यानो स्पर्श सधैं दिनेछु ।”

आम दुनियाँभन्दा म कसरी फरक हुन सक्थें र ! मैले परितोषको स्पर्शमा अगाध प्रेम महसुस गरें । अनुहार रातो भयो । मसिनो पसिना छुटे । मैले पनि उसलाई उसैगरी चुमिदिएँ । र भनें, “मलाई केही समय देऊ, परितोष ।”

उसले बस् दिनभरको समय दियो ।

वेटरले बिल ल्यायो । हामी हिमालय जाभाबाट छुट्टियौं । उसले उसैगरी मलाई चाबहिलसम्म भौतिक साथ दियो । पटक्कै बोलेन । म पनि मौन रहें । चाबहिलको सेतो गुम्बा आइपुग्यो, ऊ धमिलो अनुहार लिएर नीलो माइक्रोबाट झ¥यो । मैले “बाई” भनें । ऊ फिस्स हासे झैं मात्र गर्यो । 

केएल टावरअगाडि माइक्रो रोकिएको पत्तै पाइनँ । माइक्रो हायातअगाडि पुग्दा पो होसमा आए झैं भएँ । परितोषको प्रस्ताव यति जटिल थियो कि जीवनभर दिएका किताबी परीक्षाभन्दा निकै गहन प्रश्न बन्यो । म त्यसैमा गुम भएँ । माइक्रो रोक्न लगाएँ । झरेर हिँड्दै फिर्ता आएँ । त्यस क्रममा धेरै म्यासेज मोबाइलमा टाइप गरें । अहँ, पठाउन आँट आएन । त्यसै डिलिट गरें ।

आजको दिन यहीँनिर टक्क रोकियोस् ! परितोषको मन खिन्न नहुने जवाफ खोज्न पर्याप्त समय पाऊँ, कामना पनि गरें । अहँ समय किन रोकिन्थ्यो । समय त झन् रफ्तारमा बितिरह्यो । यति रफ्तारमा समय बित्दो रहेछ कि मैले त्यस दिन थाहा पाएँ । दर्जनौं म्यासेज मोबाइलमा टाइप गरें, मेटें, टाइप गरें, मेटें । पठाउन सकिनँ । मध्यराति भयो । 

०००

आँखाभरि बचपन आएर नाच्न थाल्यो । मैले कैलालीको त्यो सेहेरी गाउँ सम्झिएँ । दसहरा मेलामा बेहडाबाबा जाँदा अभिषेक पनि सँगै गएको स्मरण आयो । हामी दुवै जना त्यसताका पाँच कक्षामा थियौं ।

बेहडाबाडा छेउको महादेव ताल देखाउँदै उसले भनेको शब्द याद आयो, “हामी नजन्मँदै हाम्रा बाबुआमाले जोडिदिएको यो नाता ऊ त्यो तलाउ जत्रै ठूलो बनाउनुपर्छ है ।” 

त्यसबेला न अभिषेक प्रेमको गहिरो भाषा बोल्न सक्थ्यो, न म । तर तलाउ जत्रो माया बनाउने कुरा मैले बिर्सेकी थिइनँ । फेरि गाउँसमाजमा आमाबुबाले गरेको निर्णय पनि त थियो त्यो ।

परितोषले दिएको समयले मलाई घोचिरहँदा म कसैकी मङ्गेतर भएको कुराले झल्याँस्स बनायो । हाम्रो समुदायमा अझै पनि कहीँकतै गर्भमै मगनी गर्ने चलन बाँकी छ । २२/२४ वर्षअघि प्रायः गाउँमा यो चलन बाक्लै थियो ।

पढ्न काठमाडौं पठाउँदा बाबाले भनेको बचन त्यही बेला याद आयो । “जिम्दारहरू मात्रै पढ्नका लागि छोरीलाई सहरमा पठाउँछन्, यो गाउँको कुनै गरिबले अहिलेसम्म छोरीलाई पढ्न काठमाडौं पठाएको छैन, बाउ र गाउँको इज्जत धानेर पढ्नू है ।”

आखिर परितोष र मेरो गहिरो प्रेम पनि त होइन । मैले मोबाइलको म्यासेज बक्स खोलें । म्यासेज टाइप गरें, “परितोष, तिमी राजधानीमै जन्मियौ, राजधानीमै हुर्कियौ, म गाउँकी चेली, अझ हाम्रो समुदायको संस्कार फरक छ, मेरो समुदायको कल्चरबारे तिमी बुझ्ने कोसिस गर्नू, म गर्भमै कसैकी मङ्गेतर भइसकेकी छु । यो जुनीमा असल साथी बनूँ, जीवनसाथी अर्को जुनीमा ल ! एक्स्ट्रिम्ली सरी !”

एकोहोरो भए पनि परितोषले मलाई गहिरो प्रेम गर्न थालिसकेको थियो । जुन उसले हिमालय जाभाको कफी गफमा पुष्टि गरेको थियो । म्यासेज त गरें । तर बिचरा परितोषको मनमा खै कस्तो पहिरो गयो होला ? अनेक चिन्तामा डुब्दै रहँदा बिहानको चार बजिसकेको थियो । हातमुख धोएँ । कलेजका लागि तयारी गरें । सधैं झैं कलेजका लागि निस्किएँ ।
 
परितोष आज चाबहिलको सेतो गुम्बाअगाडि पर्खिरहेको थिएन । सायद मेरो म्यासेजले दिक्दार भएर होला ! ऊ आएन । कलेज पनि थिएन । दिन बित्यो, अर्को दिन पनि परितोष थिएन– बाटोमा पर्खिबसेको । समय बित्यो, मध्यराति परितोषको म्यासेज आयो, “ठीकै छ निकिता, तिम्रो बाध्यकारी अवस्थामा म अर्को बाध्यता बन्न चाहँदिनँ । तिम्रो सुन्दर जीवनको कामना !”

म्यासेज त आयो । तर परितोष त्यस दिनयता कहिल्यै कलेज आएन । मोबाइलमा खोजें, त्यो लागेन । त्योभन्दा धेरै सोधीखोजी गर्न उचित ठानिनँ । किनकि म आफैंले उसको हुन नसक्ने भनेकी थिएँ । फेरि किन आफैं खोजेर उसको मन दुखाउनु भन्ने लाग्यो । 

दिन बित्यो, हप्ता र महिना बिते । सेमेस्टर सकियो । एक्जाम दिएँ । रिजल्ट आयो । नर्सिङ पढें । केही समय आइइएलटिएस ज्वाइन गर्ने योजना बुनें । घरबाट बाबाले बोलाउनुभयो । मैले पढ्ने योजना सुनाएँ । उहाँले भन्नुभयो, “अब सधैंभर तिमी काठमाडौंमै बस्ने गरी पठाउने योजना बनाएका छौं । एक पटकलाई त घर आऊ ।”

नाइँ भन्न सकिनँ । गएँ । घर पुग्दा भोजको भव्य तयारी भइसकेको थियो । सामान्य खानलाउन पुग्ने परिवार भए पनि मेरो हुनेवाला श्रीमान् कोरिया बसेको लामो समय भइसकेको थियो । उनैको करबलमा विवाहको भव्य तयारी गरिएको थाहा भयो । र हुनेवाला श्रीमान्ले काठमाडौंको भैंसेपाटीमा भव्य बङ्गला किनेको खबर पनि घरमै पुगेपछि थाहा पाएँ । विवाह, धनसम्पत्तिभन्दा पनि काठमाडौंमा बस्न पाइने कुराले मलाई अझ बढी उत्साहित बनायो ।
०००
विवाहपछि म भैंसेपाटीस्थित आफ्नै निवासमा बस्न थालें । भौतिक आवश्यकताको कुनै कमी थिएन । विवाहपछि पनि अन्तिम पटकका लागि भनेर अभिषेक कोरिया जानुभयो । हाम्रो जागिरको स्वभाव उस्तैउस्तै थियो । कोरियामा अभिषेक मध्यरातिसम्म अनलाइन भेटिने । यता मेरो नर्सिङ पेसा पनि उस्तै । म बिरामीको सेवाबाहेकको समय अभिषेकसँग अनलाइनमै हुन्थें । त्यस्तो खासै न्यास्रो हुँदैनथ्यो । खान, लाउन मात्रै होइन, इच्छा लागेको र मन परेका वस्तुहरूको अभाव कहिल्यै भएन । आम जिन्दगीभन्दा केही उत्कृष्ट जिन्दगी चलिरह्यो । 

विवाहलगत्तै छुट्टिनुपर्दा दुई वर्षका धेरै रात सबैथोक भएर पनि अत्यास र पट्यारलाग्दा बिते । अब अभिषेक पनि नजाने गरी आए । श्रीमान्–श्रीमती सँगै भयौं । अभिषेक बिदेसिँदा स्लिम म दुई वर्षको भेटमा मोटी भइसकेकी थिएँ । सँगै काम गर्ने डाक्टरहरूले पनि मेरो मोटोपन नोटिस गरेका थिए, “धेरै मोटाउँदा समस्या हुन्छ” भन्थे । दुई वर्षपछि अभिषेकले देख्नेबित्तिकै भनेका थिए, “वाउ मेरी मोटु ।” 

आहा ! कति आत्मीय लाग्यो । त्यस बेला “मोटु” शब्द ।

०००

हाम्रो प्रगाढ सम्बन्ध अब बल्ल झाङ्गिने दिन सुरू भए । मैले अस्पतालबाट १५ दिनका लागि बिदा मिलाइसकेकी थिएँ । हामी घुम्न निस्कियौं । कहिले बन्दीपुर, कहिले लुम्बिनी, कहिले पोखरा । अभिषेक विदेशबाट आएपछि बिदा मनाउने क्रम चलिरह्यो । बिदाको १५ दिनको अन्तिम तीन रात हामीले धुलिखेल लज रिसोर्टमा बितायौं । 

युवावय । प्रेमिल जोडी । विवाहलगत्तै छुट्टिएर दुई वर्षमा भएको मिलन ! कम्ती प्रेमिल थिएन । आहा ! सम्झँदा पनि माया लागेर आउँछ । समय बित्दै गयो । मेरो जागिर भए पनि हामीले मन लागेको ठाउँ घुम्न र रहर लागेको गर्न केही बाँकी राखेनौं । 

दिन, महिना, साल बिते । हामी घर, माइत आउजाउ गरिरहन्थ्यौं । यस पटक माइती जाँदा भने आमाले एक्लैमा मलाई झकझक्याउनुभयो । बालकालका सङ्गीहरूले पनि मलाई “खेलेरै जिन्दगी गुजार्ने विचार हो कि के हो ?” भनेर जिस्क्याउन थाले । 

मैले ती सबै कुरा अभिषेकलाई भनें । काठमाडौं फर्किएलगत्तै अभिषेकले घुम्न जाने प्रस्ताव गरे । हामी पोखरा गयौं । त्यहाँको जलमहलमा तीन दिन बितायौं । अभिषेकले एउटा प्रस्ताव राख्यो, “विवाहको साढे तीन वर्ष भयो । घर, ससुरालीमा पनि अनेक प्रश्न गर्न थाले । हामीलाई नपुग्दो पनि केही छैन । बाँकी जिन्दगी सँगै बिताउने हो । त्यसो हो भने सन्तानलाई पनि चाँडै निम्ता किन नदिने ?” 

ती तीनै रात मैले आँखा चिम्लेर अभिषेकको आग्रहलाई स्वीकृति दिएँ । कसिलो साथ दिएँ । उन्मत्त भएर पूरापूर अभिषेकमै मिसिएँ । दिन, हप्ता, महिना बित्यो । धेरै पछिसम्म सम्झनाको बुइ चढेर म पोखरा जलमहलमै छु झैं हुन्थ्यो । केही समयपछि म मिन्स भएँ । मेरो पिरियड रोकिएन । एक पटकमा नभए के भो, आमा बन्ने प्रयास फेरि ग¥यौं । विदेशमा दुःख गरेर आर्जेको आलिशान घरमा अभिषेकलाई सन्तान खेलेको हेर्ने रहर मेरोभन्दा उत्कट थियो । 

अभिषेकले भविष्यमा जन्मने सन्तानका लागि अग्रिम घरमा स्वचालित खेलौना गाडी, ठूलो मान्छेको अँगालोमा नअट्ने टेडीबर्ड, डल र पुतलीहरू किनेर कोठा सिँगारेको थियो । कैयौं बेलुन थुपारेको थियो । 
हामीले भइहाल्छ भनेको कुरा अब सामान्य भएन । महिनौंको प्रयासले पनि म आमा बन्न सकिनँ । सबथोक हुँदाहुँदै, केही नभएको अनुभूति हुन थाल्यो । भव्य र आलिशान जिन्दगी एकाएक रित्तोरित्तो लाग्न थाल्यो । हामीले के गरेनौं, सक्ने, सम्भव, हुने र जानेका सबै विधि पूरा गर्यौं । 

अभिषेक बाटोमा भेटिने वा मन्दिर दर्शन गर्न जाँदा मन्दिर छेउमा बेलुन, बेलुनका घोडाका लागि आफ्ना आमाबुबासँग जिद्दी गरिरहेका बालकालिकालाई मूठै बेलुन, घोडा किनेर उपहार दिन्थ्यो । भन्थ्यो, “मेरा पनि छोराछोरी भए त म बेलुनको फ्याक्ट्री नै बनाइदिन्थें ।” अभिषेकको चाहनासँग धारिलो छुरा कलेजोमा घोपे झैं हुन्थ्यो । भित्रभित्रै आमा बन्न नपाएको रापले भतभती पोल्थ्यो । बाटोमा काखे बालक लिएर हिँडेकी आमालाई मभन्दा अभिषेकले गहिरो गरी नियाल्थ्यो । लोभ, मोह, लालच र आरिस मिश्रित उसको हेराइले म मर्माहत हुन्थें । 

अब त विवाह भएको पनि सात वर्ष हुँदै थियो । अभिषेकले सहरमा राम्रै बिजनेस सुरू गरेको थियो । आम्दानीको कुनै कमी थिएन । विवाहको सुरूवातीमा हामी खुसी मनाउन कहिलेकाहीँ सँगै बसेर पिउँथ्यौं । मेरो मोटोपन, अभिषेकको पिउने बानी, हाम्रो रात्रिकालीन जागिर हाम्रा लागि अनुपम खुसीका अवरोध बने । आमा बन्न नसकेपछि मैले कहिलेकाहीँ पिउने बानी पनि छाडिदिएँ । अभिषेकको मात्रा भने बढ्दै गयो । कहिले मातेर आउने, कहिले डिस्को, बारबाट फोन आउने क्रम सुरू भयो । 

एक दिन दरबारमार्गबाट फोन आयो, “निकिता म्याम बोल्नुभा’को ?”

“हो, म निकिता नै बोल्दै छु ।”

“म रमाइलो क्लबको म्यानेजर, अभिषेक सर यता आउनुभएको थियो, अलि बढी पिउनुभए जस्तो छ, म्याम ! लिन आउन सक्नुहुन्छ ?”

अभिषेकको पीडाको आयतन म महसुस गर्न सक्थें । उसको पिउनुको परिणाम मलाई थाहा थियो । मैले केही नबोली फोन राखें । गाडी निकालेर म सीधै दरबारमार्ग हुइँकिएँ । 

मदिराले बेहोसीमा डुबेको अभिषेक रमाइलो क्लबको सोफामा थियो । क्लबकै दुई जना भाइहरूले उसलाई गाडीसम्म ल्याउन मद्दत गरे । मैले धन्यवाद दिएँ । 

कारको पछाडि लाम्चो सिटमा अभिषेकलाई लम्पसार सुताएर म थापाथली पुल क्रस गर्दै थिएँ । मध्यरातमा बाटोको किनारै किनार कुनै बटुवा लम्किरहेको थियो । गाडीको उज्यालो देख्नेबित्तिकै उसले हात दियो । सायद कुनै अन्जान बटुवा झैं लाग्यो । गाडी रोक्नेबित्तिकै उसले बाहिरबाटै भन्यो, “बाटो पर्छ भने मलाई जावलाखेलसम्म पु¥याउने कष्ट गरिदिनुस् न ।”

आवाज चिनेजाने झैं लाग्यो । मैले कारको अगाडिपट्टिको ढोका खोलें । ऊ झस्किए झैं भयो । एकोहोरो मेरो अनुहारमा हेरिरह्यो, “हो, म निकिता नै हो परितोष, तिम्रै निकिता ।”

“यति राति कहाँबाट, कसरी...?”

मेरो दिमागमा बिजुली चम्किए झैं भयो । सबै कुरा एकै सासमा भनिदिऊँ झैं भयो । सँगै एउटा उपाय सुल्झियो । खै किन हो, त्यो रात मेरा लागि भयङ्कर वरदान बनेर आए झैं लाग्यो । सात वर्षसम्म रित्तो कोख बोकेर हिँड्दा उदास मेरो मनमा परितोष भेटिएको पल एकाएक खै किन शरदको सिरसिरे हावाले छोए झैं भयो । सायद यस्तै हुँदो हो, कलेजका दिनमा, मलाई देख्दा परितोषलाई । 

बिस्तारै गाडी अगाडि बढाएँ । सामान्य कुराकानी भयो । मेरो पारिवारिक अवस्थाबारे परितोषलाई फिल्मको टेलर जति मात्रै जानकारी दिएँ । ऊ अझै एक्लो रहेछ भन्ने मैले जानकारी पाएँ ।
 
जावलाखेलदेखि चिडियाखाना जाने बाटो मोडेर मैले उसलाई बिदाइ गरें । छुट्टिने बेला नम्बर मागें । उसलाई यत्ति भनें, “वर्षौैं हराएको साथी, यदि तिमी मसँग दुःखी छैनौ भने म कुनै दिन तिमीसँग एउटा सहयोग माग्नेछु ।” 

“हस्” भन्दै ऊ मेरो नम्बर पनि नमागी गयो । 

०००

अभिषेक बिहान अबेर उठ्यो । निःसन्तान केन्द्रमा चेकअपका लागि बोलाएको थियो । मेरो डिम्ब र अभिषेकको स्पाम चेक गर्नु थियो । औषधिको प्रभावपछिको यो चेकअप अन्तिम प्रयास थियो । 

रिपोर्ट लिने दिन अभिषेक गएन । उसको रिपोर्टमा शुक्राणुको मात्रा ४० प्रतिशतभन्दा कम देखियो । मेरो ७० प्रतिशत थियो । पुरूषका लागि योभन्दा पीडादायी अर्को क्षण हुनै सक्दैन ! पुरूष भएर पुरूषत्व नहुनु जस्तो दुःख अरू के होला र ? 

“तपाईंको जति श्रीमान्को र श्रीमान्को ठाउँमा तपाईंको यो रिपोर्ट भइदिएको भए सम्भावना धेरै थियो,” रिपोर्ट लिँदा डाक्टरले भनेको सम्झिएँ । 

म त्यहाँबाट रङ्गीन फोटोकपी सेन्टरमा गएँ । उसको रिपोर्ट भएको कपीमा आफ्नो नाम र आफ्नो रिपोर्ट लेखिएको कपीमा उसको नाम लेखाएँ । हुबहु फोटोकपी गर्न लगाएँ । 

बेलुकी अबेर भइसकेको थियो । रिपोर्ट हेरेर हो कि खै किन हो, आज अभिषेक अलिक रोमान्टिक मुडमा थियो । बेडमा ऊ मसँग जिस्किँदा जिस्किँदै मैले उसलाई परम्परावादी कुरा याद दिलाएँ । गुरुबाको कुरा गरें । 
“विज्ञानको दुनियाँमा तिमी हेल्थलाइनकै मान्छे त्यसो भन्छौ भने गरी हेर,” उसले अनुमति दियो । फेरि ऊ उसैगरी चलिरह्यो । मैले उसलाई कसिलो साथ दिएँ । ऊ निकै बेर सलबलायो । शिथिल भएर सुत्यो । 

०००

रातको करिब पौने दुई बजेको थियो । मोबाइल साइलेन्ट मोडमा राखें । परितोषलाई पर्सि भेट्न आग्रह गर्दै म्यासेज पठाएँ । उसको म्यासेज आयो, “पर्सि आइतबार म बिजी हुन्छु, सोमबार भन्छ्यौ भने म दुई–तीन दिन नै खाली छु ।”

मलाई चाहिएको पनि त्यही थियो । 

मैले “हुन्छ, पक्का” लेखेर म्यासेज पठाएँ । 

यही बेला अभिषेक घुर्दै कोल्टो फर्कियो । मैले सिरानीमै मोबाइल घोप्टो राखेर सुतें । 

आइतबार अभिषेकलाई बिजनेसको सिलसिलामा पोखरा जानु थियो । मैले सबै जाँचोपाचो गरें । टिकट नम्बर मेरो मोबाइलमा थियो । सिरानीमा मोबाइल थिएन । चार्जमा रहेछ । अभिषेकले बिहानै उठेर चार्जमा राखिदिएको रहेछ । मोबाइलबाट प्लेनको टिकट कागजमा टिपिदिएँ । ब्याग मिलाइदिएँ । 

घरबाट निस्कनै लाग्दा उसले भन्यो, “भोलि गुरुबाकोमा राम्ररी जानू, आउँदा कुनै कैफियत नराख्नू ।”

कताकता अर्कै लाग्यो । मैले “हस्” भनें । 

०००

परितोषलाई सोमबार बिहान दरबारमार्गको कफी क्याफेमा भेट्ने समय मिलाएकी थिएँ । त्यो त्यही क्याफे थियो, जहाँ परितोषले मसँग प्रेम प्रस्ताव राखेको थियो । भनेकै समयमा परितोष आइपुग्यो । 

उसले आज पनि क्यापुचिनो मगायो । मैले लाट्टे नै अर्डर गरें । कफी सकिँदासम्म मैले जीवनको वृत्तान्त सुनाएँ । परितोष मेरो आग्रह स्विकार्न तयार भयो । मैले सादा अम्प्लेट र फ्रुट जुस मगाएँ । उसले टोस्ट र केही फ्रुट भन्यो । 

हामी कफी क्याफेबाट निस्कियौं । सम्झौता मुताविक हामी “गुरुबा भेट्न” हिँड्यौं । धुलिखेल पुगेपछि परितोषले भन्यो, “यहाँ त त्यस्तो नाम चलेको गुरुबा सुनेको छैन ।”

मैले हाँस्दै भने, “साथमै ल्याएकी छु त, यति पुरानो गुरुबा !”

विवाहको दुई वर्षपछि अभिषेक र मैले जुन लजमा तीन रात बिताएका थियौं । त्यही लज थियो त्यो । लजमा पुगेपछि पुराना याद स्मरण मात्रै भएनन्, रुम नम्बर पनि उही थियो । सम्साँझ भएसँगै मैले परितोषलाई अभिषेकसँगका स्मरण पल्टाएँ । ऊ सुन्दै गयो । रात बाक्लिँदै गयो । चराहरूको आवाज पातलिँदै गयो । छाडेको सातौं वर्षमा आज एक प्याला वाइन मैले पनि लिएकी थिएँ । समय कति बलवान् हुँदो रहेछ । साथले कति फरक पार्दो रहेछ । आज त्यो एक प्याला वाइन हो वा परितोषको स्पर्शले हो, कुनै समय सिङ्गै बोतल पिउँदा नि नचढेको नशा मेरा अङ्गअङ्गमा चढेको थियो । 

बिहान उठ्दा परितोष बेडमा थिएन । रूमभरि नै थिएन । यता हेरें, उता हेरें, कतै थिएन । 

मोबाइल खोलें । फोन गरें, उसको फोन अफ थियो ।

बित्यास र सकसको समय पो लामो हुन्छ । सुन्दर समय बित्न त कति लाग्दो रहेछ र । दिन, हप्ता महिना हुँदै मेरो पेट बढ्दै गयो । मैले परितोषलाई फोन गर्ने हिम्मत गरिनँ । परितोषसँग धुलिखेलमा पहिलो र अन्तिम रात बिताएको तीन महिनापछि एउटा म्यासेज नलेखिरहन सकिनँ, “परितोष, आज म तिमीलाई धन्यवाद भन्नुअघि त्यो सुकुमार रात सम्झिरहेकी छु । त्यो अनुपम क्षणको बिन्दुमा पुगेर अडिएकी छु । जुन बिन्दुमा सायद तिम्रो र मेरो निःश्वास टक्क अडिएको थियो । निर्वस्त्र मेरो शरीरमा तिमी लज्जावती झार झैं लल्याकलुलुक भएका थियौ । मेरा प्रत्येक अङ्गअङ्गलाई सम्पूर्ण ओझ भरिएको स्पर्शले सुमसुम्याएका थियौ । झिसमिसे नहुँदै उठेर तिमीले मलाई नियालेका थियौ, तलदेखि माथिसम्म मेरो धागोसम्म बाँकी नरहेको निर्वस्त्र शरीरलाई । अनि ब्ल्याङ्केट ओढाइदिँदै तिमी बाहिर निस्कियौ । र आजसम्म पनि तिमी खै कता गयौ । जेहोस् सात जुनीसम्म पनि तिम्रो यो ऋण म बोकिरहनेछु ।” 

–तिम्री निकिता

धुलिखेल बसाइको नौ महिनापछि म अस्पताल भर्ना भएँ । तीन दिनको प्रसव पीडापछि मलाई लेबर रुममा लगियो । सिजरिङ गरेर मेरो सन्तानलाई धर्तीमा ल्याइयो । छोरी जन्मिएको खबरले अभिषेक सिमलको भुवा झैं उचालियो । उसले अस्पतालभरि लड्डु बाँड्यो ।

मलाई सामान्य बेडमा सारेपछि अभिषेक कहिले जाउलो, कहिले औषधि, कहिले नानीका लागि सामान लिन बाहिरभित्र गरिहन्थ्यो ।

अस्पतालबाट डिस्चार्जको कागजात बनाउन अभिषेक दौडधुपमा लाग्यो । मोबाइलमा म्यासेजको घण्टी बज्यो । 

अभिषेकको मोबाइल मेरो बेडको सिरानीमै रहेछ ।

“पी म्यान”को नाममा सेभ गरिएको नम्बरबाट म्यासेज आएको थियो– जहाँ लेखिएको थियो– “म लज्जित छु, बिन्ती छ, निकिताका लागि यो सब बिर्सिदिनू ।” 

मेरो नाम जोडिएको म्यासेजले भित्रैदेखि हल्लाइदियो । नम्बर हेरें । परितोषकै थियो । 

मैले मोबाइलको सेन्ट बक्समा गएर हेरें– पी म्यानलाई अभिषेकले लेखेको थियो– “भत्किन लागेको मेरो घरबारमा मायाको एक सानो थोपाले यति सुन्दर फूल फक्राइदियौ । धन्य छ, परितोष, धन्य छ तिम्रो साथलाई, धन्य छ तिम्रो उदारतालाई । थ्याङ्क यू, गुरुबा, यो महान् त्यागका लागि । र आग्रह गर्छु, यो सब सधैंभरिलाई बिर्सिदिनू ! म सधैं सम्झिरहनेछु ।”

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज ३, २०७७  ११:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC