site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement


उमेदवारी दर्ताका क्रममा उर्लेर प्रकट भएको जनसहभागिता हेर्दा चुनाव बहिष्कारको रणनीति राष्ट्रिय जनता पार्टीका नेताका लागि प्रत्युत्पादक सिद्ध हुने देखियो । दोस्रो चरणमा प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका ३३४ वटा स्थानीय तहमा निर्वाचन हुँदैछ । पहिलो चरणमा प्रदेश नम्बर ३, ४ र ६ मा स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ । असार १४ गते मतदान हुनेगरी प्रकाशित निर्वाचन कार्यक्रमअनुसार आइतवार मनोनयन दर्ता भएको छ । यस निर्वाचनबाट एक महानगरपालिका, सात उपहानगरपालिका, १ सय ११ नगरपालिका र २ सय १५ वटा गाउँपालिकामा १५ हजार ३८ जनप्रतिनिधि चुनिनेछन् । नेपालको संविधान, २०७२ ले स्थानीय तहलाई संवैधानिक हैसियत प्रदान गरेको छ । प्रदेश नम्बर २ मा स्थानीय तहको निर्वाचन असोजमा गर्नेगरी स्थगित गरिएको छ । केही अप्रिय घटनाबाहेक सबै ठाउँमा उत्साहपूर्वक उमेदवारी दर्ता हुनुले जनता निर्वाचनका पक्षमा छन् भन्ने पनि स्पष्ट भएको छ । सार्वजनिक स्थानमा बम विस्फोट गराउने कायरतापूर्ण कार्यको त राजपाले पनि निन्दा नै गर्छ होला ।

राष्ट्रिय जनता पार्टीका नेताहरू भने जनताको स्वःफूर्त सहभागिता र उत्साहलाई ‘नाटक‘भन्दै निर्वाचन बिथोल्ने अभियानमा लागेका छन् । कार्यकर्तालाई अनुचित रूपमा उक्साएर मुठभेडको अवस्था उत्पन्न गराउने उनीहरूको रणनीति देखिन्छ । उमेदवारी दर्ताका दिन बन्द आह्वान गरेर राजपाले जनतालाई तर्साउने प्रयास गरेको छ । तैपनि, जनताले बन्दबाट भएको कष्टको बेवास्ता गरी मनोनयन प्रक्रियामा सहभागी भएर राजपाको नीति गलत भएको सन्देश दिइसकेका छन् । कतिपय ठाउँमा त राजपाकै स्थानीय नेताहरू स्वतन्त्र उमेदवारका रूपमा चुनावमा सहभागी भएका छन् । यसबाट पनि चुनाव बहिष्कार गर्दा राजपाको जनाधार खस्कने स्पष्ट देखिन्छ । अर्कातिर, निर्वाचन बहिष्कार र बन्दका कार्यक्रमले राजपाका कार्यकर्तालाई अरू दलका सहकर्मीसँग प्रत्यक्ष मुठभेडको खतरा बढाएको छ । प्रदेश नम्बर २ बाहेक अरू प्रदेशका राजपाका कार्यकर्ताका लागि स्थानीय निर्वाचनमा सहभागी हुने मौका अब ५ वर्षपछि मात्र आउनेछ । त्यतिमात्र हैन प्रदेश नम्बर २ का जनताले राष्ट्रिय जनता पार्टीका नेताको हठले गर्दा स्थानीय तहमा प्रतिनिधि चुन्ने मौका करिब ३ महिनापछि मात्र पाउनेछन् । निर्वाचनमा उत्रेर नेतृत्व विकास गर्नबाट वञ्चित राजपाका कार्यकर्ता पक्कै पनि गलत पार्टी र नेताको पछि लागेकोमा पछुतो गर्दै होलान् । उनीहरूका हकमा हिन्दीको एउटा कहावत ‘अब पछताए होत क्या जब चिडियाँ चुग गई खेत’ चरितार्थ भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

पहिलो चरणबाटै निर्वाचनमा सहभागी भएको भए राजपाले देशभर संगठन गर्ने र उपस्थिति देखाउने मौका पाउने थियो । यसपटक मात्रै पनि सहभागी भएको भए प्रदेश नम्बर १, ५ र ७ जस्ता तराई जिल्लामा उनीहरूले आफ्नो प्रभाव विस्तार गर्न पाउने थिए । संविधान संशोधनका पक्षमा जनमत बनाउन निर्वाचनभन्दा राम्रो अवसर र विधि अर्को हुनै सक्तैन । अझै पनि बेला छ । राजपाका नेताले बहिष्कार अभियानलाई अहिंसात्मक शैलीमा अगाडि बढाए जनतासम्म सन्देश पुग्नसक्छ । कम्तीमा बन्द हड्तालजस्ता अवाञ्छित क्रियापलाप गरेर जनतालाई नसताउने र तोडफोड, आक्रमण र विध्वंश मच्चाएर क्षति नपुर्‍याउने हो भने जनता तिनका कुरा सुन्न तयार हुनसक्छन् । यद्यपि, उमेदवारी दर्ताका क्रममा देखिएको उत्साहबाट भने चुनावविरुद्ध जनताले कसैका कुरा नसुन्ने स्पष्ट भएको छ । यसैले राजपाका नेताहरूले ‘खिसियानी बिल्ली खम्बा नोचे’ भनेझैँ आफ्नो गलत रणनीतिको परिणामको रिस जनतासँग फेर्ने आत्मघाती मूर्खता नगरुन् । निर्वाचन प्रचारप्रसारलगायतका क्रियाकलापमा जनतालाई सहभागी हुन अप्ठेरो पार्ने आन्दोलन जनता जनार्दनलाई हेप्नु हो । जनतालाई हेप्ने दुस्साहस महँगो पर्छ ! लोकतन्त्रप्रति जनताको मोहको सम्मान सरकारले पनि गर्न सक्नुपर्छ । राजपाका नेतालाई मनाउने नाममा अनावश्यक र अनुचित मोलतोल नगरेको भए पहिलो चरणमै देशभर निर्वाचन सम्पन्न भइसक्ने रहेछ । यसैले अब जनताको अधिकार कुण्ठित गरेर राजनीतिक स्वार्थ सिद्ध गर्नेहरूको जालमा सरकार फस्नु हुँदैन । त्यसो गर्नु जनतालाई हेप्नुजस्तै हो ।

 

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ४, २०७४  १८:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC