site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

दण्डहीनताको अन्त्य नहुँदासम्म समाजमा न्यायको किनबेचलाई सामान्य मान्ने प्रवृत्ति रहिरहन्छ । सप्तरीको डाकनेश्वरी नगरपालिका– ७ ललितपुरकी किशोरीलाई आत्महत्या गर्न बाध्य बनाउने यही प्रवृत्ति हो । अगिल्लो दिन सामूहिक बलात्कारमा परेकी किशोरीलाई प्रहरीमा उजुर गर्न नदिई बलपूर्वक ‘मिलापत्र’ गराएपछि उनले मंगलवार आत्महत्या गरेकी हुन् । बलात्कारको उजुरी दिन प्रहरी कार्यालयमा जान लाग्दा उनी र उनको परिवारलाई केही गाउँलेले रोकेका थिए । प्रहरीमा उजुरी गरे उनलाई हटक गर्ने धम्की गाउँले दिएको बताइएको छ । सम्भवतः यही अपमानका कारण बलात्कृत युवतीले आत्महत्या गरेकी हुन् । किशोरीको आत्महत्यापछि प्रहरीले बलात्कारको अपराध लुकाउने मतियारमध्ये केहीलाई पक्राउ गरेको छ । तर, जातका आधारमा बढी नै विभाजित र अपेक्षाकृत अनुदार परम्परावादी समाज भएकाले अझै पनि न्याय हुनेमा ढुक्क हुनसक्ने देखिँदैन । 

नेपालका गाउँहरूमा सबैतिर यस्तो प्रकृतिको घटना नौलो त हैन तर प्रदेश नम्बर २ र कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा अलि बढी नै हुनेगरेको पाइन्छ । यी तीनवटै प्रदेशमा केही समानता पनि छन् । गरिबी यी क्षेत्रमा बढी छ । अरू आर्थिक, सामाजिक सूचकमा पनि यी तीनवटा प्रदेशमा सरदरभन्दा कमजोर छन् । अर्को समानता यी तीनवटै प्रदेशमा अपवादबाहेक राजनीतिलाई मूलतः ठालुहरूले कब्जा गरेका छन् । जातिगत भेदभाव पनि नेपालका अरू भेगमा भन्दा यी तीनैवटा प्रदेशमा बढी व्याप्त छ । यिनै तीनवटा प्रदेशमा अन्यत्रभन्दा राजनीतिका नाममा हिंसात्मक समूहको प्रभाव बढी देखिएको थियो । आश्चर्यजनक संयोग के छ भने यी तीनवटा प्रदेशमै स्थानीय तह र प्रदेश सरकार भ्रष्टाचारमा पनि बढी संलग्न भएको देखिएको छ । 

एक्काइसौं शताब्दीमा पनि मध्ययुगीन बर्बरता सम्झाउने यस्ता घटना भइरहनु राज्यकै लागि चुनौतीपूर्ण कलंक हो । वास्तवमा यस्तो घटना स्थानीय नेतृत्वको नैतिक संकट पनि हो । प्रभावशाली नेता वा स्थानीय पदाधिकारीको संरक्षण नपाउने हो भने बलात्कारजस्तो अपराध मिलापत्रका नाममा लुकाउने आँट सामान्य गाउँलेले गर्ने थिएनन् । रुकुममा नवराज विक र उनका साथीहरूको जघन्य हत्यालाई भवितव्य देखाउन त्यहाँका सांसदले संसद्मा गरेको असफल प्रयास अपराध र राजनीतिको निकट सम्बन्धको उदाहरण हो । अतः सप्तरी प्रहरीलाई अहिले पक्राउ परेका व्यक्तिविरुद्ध मुद्दा नचलाउन राजनीतिक दबाब परे आश्चर्य मान्नु पर्दैन । तर, घटनामा संलग्न बलात्कारका अभियुक्तका साथै अपराध लुकाउन दबाब दिने मतियारहरूमाथि कानुनबमोजिम सजाय दिलाउन सप्तरीका सम्बन्धित सरकारी अधिकारीले दृढता देखाउनुपर्छ । यस घटनामा पनि पितृसत्तात्मक समाजमाथि दोष थोपरेर अपराधका अरू पक्षलाई गौण बनाउने प्रयत्न हुनसक्छ । समाजको पितृसत्तात्मक मानसिकता बलात्कारका लागि पक्कै दोषी छ । तर दण्डहीनताको राजनीतिक संरक्षणका कारण यस्तो अपराध बढेको हो भन्ने बिर्सनु हुँदैन ।            
 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ३१, २०७७  १६:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC