काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बिमा बोर्डको रिक्त सदस्य पदमा दुई जनालाई मनोनीत गरेको छ ।
स्वास्थ्यमन्त्री भानुभक्त ढकालले मन्त्रीस्तरीय निर्णय गर्दै बुधबार (आज) डा. सुरेश तिवारी र चन्द्र थापालाई ४ वर्षका लागि मनोनीत गरेका हुन् । डा. तिवारी विज्ञका तर्फबाट मनोनीत भएका हुन् भने थापा बिमितहरुका तर्फबाट मनोनीत भएको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य बिमा ऐन २०७४ अनुसार मन्त्रालयले सम्बन्धित क्षेत्रमा ५ वर्षको अनुभव प्राप्त गरेका व्यक्तिमध्येबाट कम्तिमा दुई महिलासहित तीनजना र बिमितमध्येबाट एक महिलासहित दुईजना मनोनीत गर्ने प्रावधान छ । आज मनोनीत गरेपछि मन्त्रालयले थप तीन महिला मनोनीत गर्न बाँकी छ ।
बोर्डमा अर्थ मन्त्रालयका सहसचिव, स्वास्थ्य मन्त्रालयको सहसचिव पदेन सदस्य हुने प्रावधान छ । बोर्डको कार्यकारी निर्देशक सदस्यसचिव हुने प्रावधान छ ।