‘सरकारले सबैलाई हेर्‍यो हामीलाई हेरेन’

‘सरकारले सबैलाई हेर्‍यो हामीलाई हेरेन’

काठमाडौं । सरकारले चलचित्र क्षेत्रलाई बेवास्ता गर्दा सिनेमा हलमा लगानी भएको १२ अर्ब रुपैयाँ जोखिममा परेको छ । ६ महिनादेखि देशभरका दुई सयवटा सिनेमा हल बन्द हुँदा हलमा गरिएको १२ अर्ब रुपैयाँ लगानी जोखिममा परेको हो ।

नेपाल चलचित्र संघका अध्यक्ष मधुसूदन प्रधान अन्य सबै क्षेत्रलाई हेर्ने सरकारले चलचित्र क्षेत्रलाई बेवास्ता गरेको बताउँछन् । “सबैलाई हेर्ने सरकारले हामीलाई हेरेन । हामीले कैयौंपटक भन्दा पनि सरकार कानमा तेल हालेर बसेको छ,” संघका अध्यक्ष प्रधान भन्छन्, “हामीले पत्रकारलाई दुखेसो पोख्ने र हाम्रो दुखेसो पत्रकारलाई लेख्नेबारे केही पनि उपलब्धि भएन ।” 

हल सञ्चालनबारे विभिन्‍न मोडालिटी तयार पारेर आफूहरूले चलचित्र विकास बोर्डसमक्ष बुझाएको र उक्त प्रस्ताव बोर्डले मन्त्रालयमा प्रस्तुत गरेको प्रधान बताउँछन् । सार्वजनिक सवारी साधान र वायुसेवा कम्पनीहरूको सेवा सुरु हुँदा सिनेमा हल पनि स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर खोल्ने वातावरण बनाउनुपर्नेमा उनको जोड छ ।

चलचित्र विकास बोर्डले यसका लागि मन्त्रालयमा पहल गर्दै आएको छ । आफूले पटकपटक मन्त्रालयसँग सामाजिक दूरी कायम गर्दै सिनेमा हल सञ्चालनका लागि अनुमति दिन आग्रह गरेको बोर्ड अध्यक्ष दयाराम दाहाल बताउँछन् । “कोरोना संक्रमण व्यवस्थापन केन्द्रमा चिठ्ठी पठाइसकेको छु । सञ्चार मन्त्रालयल पनि सकारात्मक छ,” अध्यक्ष दाहाल भन्छन्, “आज पनि चलचित्र संघ र निर्माता संघका प्रतिनिधि लिएर मन्त्रालय जाँदै छु ।”

उनले सार्वजनिक सवारीसाधनसँगै सिनेमा क्षेत्र पनि खुला गरिनुपर्नेमा जोड दिए । विस्तारै सबै क्षेत्र खुला भइसकेको अवस्थामा अब सिनेमा हललाई पनि सञ्चालनको अनुमति दिइनुपर्ने भन्दै उनी भन्छन्, “सबै क्षेत्र करिब-करिब खुलिसके । सिनेमा हल र जिम सेन्टर मात्रै हो । त्यसैले अब यो पनि खुल्नुपर्छ । भारतमा पनि सिनेमा हल खोल्ने निर्णय भइसकेको अवस्थामा यहाँ पनि यो अनुमति दिइनुपर्छ ।”

कुन क्षेत्र बन्द गर्ने र खुला गर्ने मन्त्रालयले मात्रै निर्णय गरेर हुँदैन । मन्त्रिपरिषदले नै निर्णय गर्नुपर्छ । बोर्डले चलचित्र क्षेत्रलाई पनि होटेल तथा पर्यटनसँगै अति प्रभावित क्षेत्रमा राखेर समान सेवा-सुविधा प्रदान गर्न माग गर्दै आएको छ । तर सुनुवाइ हुन सकेको छैन ।

क्यूएफएक्स चेनका सञ्चालकमध्येका एक भाष्कर ढुङ्गानाका अनुसार सिनेमा हल निर्माणका लागि सिंगल स्क्रिनको एउटा मल्टिप्लेक्स स्थापना गर्न कम्तीमा ५ देखि ७ करोड रुपैयाँ लाग्छ । तीनवटा स्क्रिनको एउटा मल्टिप्लेक्स स्थापना गर्न १५ देखि २० करोड रुपैयाँ लगानी लाग्छ ।

नेपाल चलचित्र संघका अध्यक्ष मधुसूदन प्रधानका अनुसार हाल नेपालमा २०० वटा सिनेमा हल सञ्चालनमा छन् । जसमध्ये ९५ वटा मल्टिप्लेक्स छन् । एउटा मल्टिप्लेक्स निर्माणका लागि ७ करोड रुपैयाँका दरले हाल नेपालमा रहेका ९५ वटा मल्टिप्लेक्समा ६ अर्ब ६५ करोड रुपैयाँ लगानी छ । यो लगानी जमिनबाहेकको भएको अध्यक्ष प्रधान बताउँछन् । सिनेमा हलकै लागि प्रयोग भएको जमिनको मूल्य हिसाब गर्ने हो भने लगानी योभन्दा दोब्बर हुने उनको भनाइ छ ।

सिंगल थिएटर निर्माणका पनि ५ देखि ६ करोड रुपैयाँ लाग्ने नेपाल उनी बताउँछन् । सिंगल थिएटरका लागि जमिन पनि किन्नुपर्ने भएकाले ५ करोडदेखि ६ करोड रुपैयाँ लाग्ने उनी स्पष्ट पार्छन् । 

एउटा सिंगल थिएटरका ५ करोडका दरले १०५ वटामा ५ अर्ब २५ करोडभन्दा धेरै लगानी छ । हाल नेपालमा सिंगल थिएटर र मल्टिप्लेक्समा गरी १२ अर्बभन्दा धेरै लगानी छ । पछिल्ला केही महिनायता काठमाडौं उपत्यकामा मात्रै भक्तपुर, बानेश्वर र बालाजुमा मल्टिप्लेक्स स्थापना भएका थिए । ठूलो लगानीमा खुलेका यी मल्टिप्लेक्स व्यापारको लय नसमाउँदै कोरोनाको चपेटामा परे ।

केही निर्माण भएर भर्खरै सञ्चालनमा आएका थिए भने केही निर्माणकै चरणमा थिए । दरबार मार्गमा मल्टिप्लेक्स बन्दै थियो । रञ्जना र विश्व ज्योतिमा पनि मल्टिप्लेक्स बन्दै थिए । काठमाडौंसहित नेपालभर १० मल्टिप्लेक्स निर्माणको चरणमा रहेको संघका अध्यक्ष प्रधान बताउँछन् ।

चलचित्र निर्माता संघका अनुसार दुई दर्जन चलचित्र निर्माण सम्पन्न गरेर रिलिजको पखाईमा छन् । आधा दर्जन चलचित्र छायांकन गर्दागर्दै रोकिएका छन् । आधा दर्जनभन्दा धेरै चलचित्र छायांकनमा जाने तयारीमा छन् । कोरोनाका कारण चैत ६ गतेबाट सिनेमा घर बन्द छन् । 
 

नरेश फुयाँल

प्रतिकृया दिनुहोस
ad