site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
साहित्यकारहरूसँग बीपीको सम्बन्ध !  
Sarbottam CementSarbottam Cement

विश्वेश्वरप्रसाद (बीपी) कोइरालालाई नेपाली साहित्यबाट अलग गर्ने हो भने नेपाली साहित्य नै अपुरो हुन्छ । कारण उनले जसरी नेपाली साहित्यको श्रीवृद्धिमा कलम चलाए । उनले कलम चलाएको विधामा त्यसअघि कसैको कलमको निब दौडिएको थिएन । यौन मनोविज्ञानमा उनले यसरी कलम चलाए आज पनि यो विधामा उनलाई छायामा पार्ने पात्रको पदार्पण हुन सकेको छैन । राजनीतिको उतारचढाव र छिनाझपटीबीच आफूलाई राजनीतिको चौघेराबाट बाहिर निकालेर बिल्कुल नयाँ विधामा कलम चलाएर अमिट छाप छोड्न सक्नु उनको खुबी हो । विश्वेश्वर जसरी राजनीतिमा कहिल्यै नमर्ने अजर पात्र बने साहित्यमा पनि उनको लेखनी त्यस्तै अजर रह्यो । 

० ० ०

बीपी कोइराला सुरुका वर्षमा भारतबाट प्रकाशन हुने हिन्दी पत्रिकामा आफ्ना कथा तथा साहित्यिक रचनाहरू प्रकाशन गर्थे । भारतका तत्कालीन समयका प्रतिष्ठित पत्रिका ‘विशाल भारत’ र ‘हंश’ मा बीपीका थुप्रै रचना छापिन्थे । साहित्यकार सूर्यविक्रम ज्ञवाली र धरणीधर कोइरालाले उनलाई नेपालीमा लेख्न घचघच्याइरहे । सायद बीपीलाई सूर्यविक्रम र धरणीधरको सुझाव मनासिब लाग्यो । उनले नेपाली पत्रपत्रिकामा आफ्ना रचना प्रकाशन सुरु गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

बीपीका बुवा कृष्णप्रसाद कोइराला ‘जन्मभूमि’ नामक पत्रिका प्रकाशन गर्थे । त्यसमा धरणीधर र सूर्यविक्रम पनि काम गर्थे । सोही पत्रिकामा काम गर्दा बीपीको चिनजान धरणीधर र सूर्यविक्रमसँग थियो । त्यही चिनजानले बीपीलाई नेपाली साहित्यमा ल्याइपुर्यायो । 

बीपीले ‘चन्द्र वदन’ कथा ‘शारदा’ पत्रिकामा १९९२ मा प्रकाशन गरे । यो नै नेपाली पत्रपत्रिकामा बीपीको रचना छापिएको पहिलोपटक भएको लेखक तथा अध्येता पुरुषोत्तम बस्नेत बताउँछन् । त्यो बेला बीपीको उमेर २१ वर्ष थियो । 

Global Ime bank

बीपीको अध्ययनको दायरा त्यति साँघुरो थिएन । जति उनी एउटै राजनीतिक विचारमा सीमित थिए ।

कवितादेखि उपन्याससम्म दर्शनशास्त्रदखि राजनीतिशास्त्र सम्मका पुस्तक पढ्थे । भाषाको छेकबार थिएन । अंग्रेजी भाषाको साहित्य सबैभन्दा धेरै पढ्ने बीपी हिन्दी र नेपाली साहित्यको पनि सकेसम्म र समय भएसम्म अध्ययन गर्थे । त्यसले उनमा भाषामा पकड बलियो बनाएको थियो भने शब्द चयनमा शिखरमा पुर्याएको थियो । 

शब्दचयनमा बीपीको विशिष्टताबारे राजनीतिज्ञ रमेशनाथ पाण्डेलाई राम्रो जानकारी छ । कारण बीपी जेलमा बस्दा उनले लेखेका चिठी रमेशनाथको हात लाग्थे । एकदेखि ६ पेज लामा बीपीका चिठीमा कतै केरमेट भएको हुँदैन थियो । त्यसलाई रमेशनाथ शब्दचयन र भाषाको ज्ञानको उपज भन्छन् । 

“अहिलेको जस्तो त्यो बेला कम्प्युटर हुँदैन थियो । अहिले कम्प्युटरमा कति टाइप गर्दै मेट्दै गरेको थाहा हुँदैन । तर त्यो बेला हस्तलिखित हुने भएकाले व्यक्तिको शब्द चयन र त्यसको विशिष्टताबारे थाहा हुन्छ,” रमेशनाथ भन्छन्, “केरमेट नगरेको बीपीको हस्त लिखित चिठी हेर्दा लेखकको चिन्तन स्तर, नियमितता, सोचाइको स्थायित्व, शब्द भण्डारको सम्पन्नता कस्तो छ भन्ने बताउँछ ।”

बीपी समकालीन साहित्यकारहरूका कृति तथा रचना खोजीखोजी पढ्थे । माधवप्रसाद घिमिरे, सिद्धिचरण श्रेष्ठ, बालकृष्ण सम, लैनसिंह वाङ्देल, भवानी भिक्षु, लक्ष्मीप्रसाद देवकोटाका रचनाहरू पढ्थे । अग्रज तथा समकालीन मात्रै होइन नयाँ पुस्ताको रचना पनि पढ्थे । अर्थात उनमा म अग्रज भन्ने अहम् थिएन । 

प्रजातान्त्रिक वातावरणको इतिहास लामो भइनसेकेको र शैक्षिक स्तर कमजोर भएका कारण नेपाली साहित्यमा पनि त्यसको असर प्रस्टै देखिन्थ्यो । साहित्यकारहरूको संख्या कम थियो भने कृतिहरूको संख्या पनि स्वाभाविक रूपमा कम थिए । केही साहित्यिक पत्रिका थिए । त्यसमध्ये ‘रूपरेखा’ नियमित प्रकाशित भइरहेको थियो । बीपी ‘रूपरेखा’ का नियमित पाठक थिए । त्यसमा छापिएका रचना र त्यसका रचनाकारबारे रमेशनाथसँग बीपी कुरा गर्थे । 

जेल बसे पनि साहित्य र साहित्यिक गतिविधिमा जानकारी राख्थे र त्यसप्रति धारणा बनाउँथे । नेपाली साहित्य र विचार जुनबाटोतर्फ अग्रसर थियो । त्यसबारे उनी चासो राख्थे र आवश्यक परेको ठाउँमा विचार व्यक्त गर्थे । 

देवकोटासँग बनारसमा करिब दुई वर्षसँगै बसेका बीपीको सम्बन्ध सिद्धिचरण श्रेष्ठसँग निकै राम्रो थियो । साहित्यकारसँग बीपी राम्रो सम्बन्ध राख्थे । उनी गृहमन्त्री हुँदा पूर्वाञ्चल भ्रमणका क्रममा बालकृष्ण समलाई सँगै लिएर गएका थिए । यसले साहित्यप्रति र साहित्यकारसँग उनको सम्बन्ध कस्तो थियो भन्ने प्रस्ट पार्छ । 

२००५ सालमा भूमिगत रूपमा आउँदा बीपीलाई काठमाडौंमा लुकाउन गोविन्द मल्ल गोठाले र सिद्धिचरण श्रेष्ठले महत्त्वपूर्ण भूमिका खेलेका पुरुषोत्तम बताउँछन् । 

“एकतन्त्रीय राणा शासनका बेला भूमिगत भएको व्यक्तिलाई लुकाउनु भनेको ठूलो दुस्साहस गर्नु हो,” पुरुषोत्तम भन्छन्, “त्यस्तो समयमा पनि सिद्धिचरण र गोविन्दले बीपीलाई लुकाउनु भनेको ठूलो सहयोग हो । साहित्यकारसँगको सम्बन्धकै कारण बीपीलाई उहाँहरूले लुकाउनु भएको हो ।”

गोविन्दबहादुर मल्ल गोठालेको अध्यक्षतामा नेपाल लेखक संघ गठन भएको थियो । संघ बीपीकै प्रेरणामा गठन भएको थियो । बीपी लेखकहरूसँग भेटघाट गरिरहन्थे । यसबारे शंकर लामिछानेले पनि कलम चलाएका छन् । 

उनले अक्सर जेलमा रहँदा धेरै साहित्यको अध्यनन गरे भने उनका अधिकांश साहित्य सिर्जना पनि जेल बसाइकै क्रममा भएका छन् । जेलमा बस्दा उनले आफ्नो डायरीमा आफूलाई मन परेका कविका कविताका पंक्तिहरू लेखेर राख्ने गरेका पुरुषोत्तम बताउँछन् । 

बीपीले जेलबस्दा डायरी, कथा, उपन्यासकार र केही कविता पनि लेखे । उनले लेखेका कविता पनि छापिएका तत्कालीन साहित्यिक पत्रपत्रिकामा छापिएका छन् । उनको लामो जेल बसाइमा पत्रपत्रिका र पुस्तक पढ्नु र लेख्नु नै बीपीको दैनिकी थियो । जेल बसाइले नै उनलाई अब्बल साहित्यकार बनाएको हो ।

जेलमा रहँदा बीपीलाई पुस्तक र पत्रपत्रिका रमेशनाथ उपलब्ध गराउँथे । तर उनी अरूका जुनखालका आख्यान तथा गैरआख्यान अध्धयन गर्थे । उनको लेखन भने त्योभन्दा फरक तरिकाको थियो । यौन मनोविज्ञान उनको लेखनीमा आयो । जुन नेपालमा करिब–करिब थिएन । 

नेपाली साहित्यको स्तरप्रति बीपी सन्तुष्ट थिएनन् । कारण– साहित्यको गम्भीर पाठक कहिले पनि समकालीन साहित्यमा सन्तुष्ट हुन नसक्ने भन्दै रमेशनाथ भन्छन्, “कुनै पनि गम्भीर पाठक समकालीन साहित्यप्रति सन्तुष्ट हुँदैन । कारण सन्तुष्ट हुनु भनेको प्रगतिको अन्त्य हो । प्रगतिको अन्त्य त कहिले होला र ?”

“एकेडेमी (तत्कालीन राजकीय प्रज्ञा प्रतिष्ठान) बीपी, देवकोटा र सिद्धिचरण श्रेष्ठलगायतको पहलमै स्थापना हुने कुरा भएको थियो । तर पछि राजा महेन्द्रले कुलपति मलाई दिनु भनेपछि ठीकै हुन्छ भनेर दिइएको हो,” पुरुषोत्तम भन्छन्, “महेन्द्रले बीपीलाई पनि प्रतिष्ठानमा बस्न भनेका थिए । तर बीपीले साहित्यमा भन्दा मेरो लगाव राजनीतिमा छ भनेपछि बस्नुभएन ।”

०१६ बीपी प्रधानमन्त्री भए । त्यही समय देवकोटा बिरामी भए । एकेडेमीले तास काण्डमा नसोधी गएको भनेर देवकोटाले पाउने तलब तथा सुविधा रोकिदिएको थियो । बीपीले रोकिएको सुविधा फुकुवा गरिदिए । देवकोटाको उपचारका लागि बीपीले व्यवस्था मिलाइदिए । बिरामी देवकोटालाई भेट्न बीपी पटकपटक अस्पताल पुगे । 

अन्ततः देवकोटाको निधन भयो । बीपीले संसदमा देवकोटाका बारेमा बोलेर त्यस दिनको सदनको सबै कार्यक्रम स्थगित गरे । 

मेलमिलापको नीति लिएर प्रवासबाट फर्किएका बीपीलाई नियन्त्रणमा लिएको सरकारले तारिखमा छोड्दियो । “तारिखमा छुटेपछि पनि उनले थुप्रै साहित्यकारहरूसँग भेटघाट गरे । साहित्यकारसँग भेट्ने, छलफल गर्ने बीपी आफैं साहित्यकार भएकाले गरिरहेको मलाई सम्झना छ,” पुरुषोत्तम नोस्टाल्जिक हुन्छन् । 

बीपी राजनीतिमा नलागेर साहित्यमा मात्रै लागेको भए नेपाली साहित्यको स्तर अझै माथि उठ्ने थियो भन्न रमेशनाथ हिचकिचाउँदैनन् । 

उनको यो विचारमा पत्रकार ध्रुवहरि अधिकारी पनि सहमत छन् । उनलाई बीपी साहित्यमा मात्रै केन्द्रित नभएर राजनीतिमा लाग्दा नेपाली साहित्यले धेरै गुमायो भन्ने लाग्छ । 

अक्सर बीपीलाई नेपाली साहित्यमा पाश्चात्य फ्रायडवाद भित्र्याएको श्रेय दिइन्छ । तर त्यतिमा मात्रै बीपीको आख्यान तथा गैरआख्यानलाई सीमित गर्दा उनीमाथि अन्याय हुने ध्रुवहरिको निष्कर्ष छ । “गहन रूपमा उनको साहित्यलाई अध्ययन गर्दा उनको कृतिमा कतै न कतै कि राष्ट्रियतालाई बल पुर्याउने अभिव्यक्ति पाइन्छ कि प्रजातान्त्रिक परिपाटीलाई बल पुर्याउने खालको अभिव्यक्ति प्रतिविम्बित भएको भेटिन्छ,” उनी भन्छन्, “यी कोणबाट बीपीका कृतिलाई हेरेको देखिँदैन । गहन चिन्तन गर्ने हो भने राष्ट्रियता र प्रजातन्त्र उहाँको साहित्यमा देखिन्छ । राजनीतिज्ञ र तत्कालीन परिवेशका कारण पनि यो स्वाभाविक पनि हो ।” 

पत्रकार भैरव रिसाल बीपीलाई राजनीतिमा ‘राजक’ तर साहित्यमा अराजक व्यक्तित्व भन्न रुचाउँछन् । कारण बीपीको लेखन तत्कालीन साहित्यको परिधि नाघेर यौन मनोविज्ञानमा केन्द्रित भयो । साहित्यि परिधि, अनुशासन र मर्यादामा नअटाएर यौन मनोविज्ञानलाई सूक्ष्म रूपमा खोतल्ने काम गरे ।

“बाल्य तथा युवावयमा राजनीतिका कारण दुःख भोगे पनि बीपीले आफ्नो लेखनमा भावना र निष्ठासँग जोड्नु भएको देखिन्छ,” भैरव भन्छन्, “प्रायः राजनीतिज्ञहरू फुर्सदमा राजनीतिज्ञहरूसँग भेटेर राजनीतिकै गफ गर्छन् तर उहाँ त्यसको अपवाद हुनुहुन्थ्यो । फुर्सद भयो कि साहित्यकारहरूसँग भेट्ने र गफिने गरेको देखिन्छ ।”

साहित्यकारहरूसँगको निरन्तरको सम्पर्क र सम्बन्धकै कारण बीपीले राजनीतिमा सक्रिय रहँदा रहँदै पनि १२ वटा कृति लेख्न सकेको भैरव बताउँछन् ।

कति साहित्यकार त त्यो समय उनीसँगै पार्टीमै सक्रिय थिए । तर पार्टीमा आबद्ध नरहेका गोठालेलगायत साहित्यकारहरूसँग बीपी भेटिरहन्थे । “प्रायः हाम्रो स्वाभाव मीठो स्वाद आफू मात्रै लिने तर अरूलाई नदिने चलन छ । तर उहाँ मीठो स्वाद अरूलाई दिन पनि सक्नुहुन्छ । त्यसैले विश्वेश्वर राजनीति र साहित्यको समिश्रण हो ।” 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २०, २०७७  ११:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC