निर्दलीय पञ्चायती व्यवस्था थियो । पञ्चायतविरोधी दलहरू भूमिगत थिए । प्रतिबन्धित कांग्रेसका नेता बीपी कोइराला पनि भूमिगत थिए । पञ्चहरू बीपीलाई अराष्ट्रिय तत्त्वको नाइके भन्थे । वात्स्यायन (दुर्गा बराल) लाई कास्की कांग्रेसका नेताहरूले भने, ‘बीपीको फोटो पार्टी कार्यालयमा राख्नुपर्यो । एउटा पोट्रेट तपाईंले बनाइदिनुपर्यो ।’
बजारमा वात्स्यायनको कार्यालय थियो । जहाँ उनी कार्टुन तथा पोट्रेटहरू बनाउँथे । तर उनलाई बीपीको पोट्रेट बनाउन मन लागेन । कारण बीपी प्रतिबन्धित पार्टीका नेता थिए । प्रतिबन्धित पार्टीको नेतृत्वको तस्बिर बनाउँदा त्यसमा जिल्ला पञ्चायतको आँखा लाग्ने निश्चित थियो । त्यसैले उनले बीपीको पोट्रेट घरमै बनाए ।
“अराष्ट्रिय तत्त्वको नाइकेको तस्बिर स्टुडियोमा बनाउँदा धेरैले देख्ने र त्यो कुरा पञ्चायतसम्म पुग्ने भएकाले घरमै पोट्रेट बनाएर आफ्नै कोठामा झुन्डाएको थिएँ,” वात्स्यायन ०३४ सालतिर फर्किन्छन्, “अराष्ट्रिय तत्त्वको नाइकेको फोटो घरमा राखेको भनेर प्रशासनिक व्यक्तिहरूले पछिसम्म पनि मलाई फरक दृष्टिकोणले हेरे ।”
विद्यार्थी संघको चुनावका लागि नेविसंघका नेताहरू बीपीको फोटो खोज्थे । प्रतिबन्धित पार्टीका भूमिगत नेताको तस्बिर सहजै पाउन त्यति सजिलो थिएन । त्यसैले नेविसंघका तत्कालीन नेताहरू वात्स्यायनकामा बीपीको फोटो लिन पुग्थे । उनी आफूले बनाएका पोट्रेटहरू दिन्थे । नेविसंघ आफ्नो तिनै आदर्शवादी नेताको फोटो देखाएर विद्यार्थीसँग भोट माग्थे ।
० ० ०
०३६ सालको जनमत संग्रहको पूर्वसन्ध्यामा बीपी पोखरा जाने भए । बहुदलको प्रचारका लागि बीपी पोखरा जाने भएपछि बहुदल पक्षधर उत्साही थिए । वात्स्यायनले पञ्चायतको विरोध र बहुदलको समर्थनमा बनाएका कार्टुन र पोट्रेटहरू बहुदल पक्षधरले सडकछेउ तथा घर र पर्खालका भित्ताहरूमा राखे । बीपी आउने खबरले पोखरा उत्साही भएको देखेर पञ्चायत तनावमा थियो । पञ्चायत पक्षधरले वात्स्यायनका कार्टुन र पोट्रेट च्यातचुत पारेर फ्याँकिदियो ।
प्रशासकले रुचाएनन् । पञ्चहरू कार्टुन नै च्यात्दै हिँड्थे । प्रत्यक्ष त वात्स्यायनलाई धम्की आएन । तर अप्रत्यक्ष रूपमा अरूमार्फत ‘यस्तै हो भने राम्रो हुँदैन’ है भन्दै उनलाई खबर पठाइरहन्थे । तर वात्स्यायन हच्किएनन् । पोखराबाट मात्रै होइन र काठमाडौंबाट प्रकाशन हुने पत्रपत्रिकाहरूमा कार्टुनहरू छापिरहे । जसले पञ्चहरूलाई दबाब दिइरहन्थ्यो । प्रजातान्त्रको पुनःप्राप्तिका लागि बहुदलका पक्षमा आफ्ना तर्फबाट उनले कलम चलाइरहे ।
“प्रशासकहरू धम्क्याइरहन्थे । तर डराइएन । आफ्नो काम कहिल्यै छाडिनँ,” उनी अहिले पनि दृढ सुनिए ।
० ० ०
०३६ सालसम्म आइपुग्दा पोखरा मात्रै होइन काठमाडौंका पत्रपत्रिकामा पनि वात्स्यायनका कार्टुनहरू लोकप्रिय भइसकेका थिए । लोकप्रिय कार्टुनिस्ट भइसकेका थिए । उनको छद्म नाम वात्स्यायन परिचित भइसकेको थियो ।
जनमत संग्रह घोषणा भयो । दलहरू बहुदलको प्रचारमा जुटे । वात्स्यायनले पनि आफ्नो कला देखाए । ठूलाठूला पोस्टरमा कार्टुन बनाएर उनले बजारका भित्तामा टाँसे । जनमत संग्रहको प्रचारका क्रममा बीपी कोइराला पोखरा पुगे । उनीसँगै थिए होमनाथ दाहाल, दमननाथ ढुंगाना, राधेश्याम अधिकारीलगायत थुप्रै नेताहरू । होमनाथ र राधेश्याम दुर्गालाई भेट्न आए । उनीहरूले ‘बजारमा टाँसिएका तपाईंका कार्टुन हेर्यौं, बीपीलाई भेट्न जाऊँ यी कार्टुन लिएर’ भने । बीपी लेकसाइडमा बसेका थिए । वात्स्यायनलाई लिएर होमनाथ र राधेश्यामले भेटे ।
वात्स्यायनले ६ वटा कार्टुन देखाए बीपीलाई, जुन बहुदलको पक्षमा थिए । बीपीलाई मन परेछ । उनले भने, “यी कार्टुन म लैजान्छु र छपाउँछु । यसलाई बहुदलको प्रचार सामग्रीका रूपमा प्रयोग गर्नुपर्छ ।
कार्टुन हेरेर बीपीले उनको काँधमा थप्थपाउँदै प्रशंसाका शब्द बोले, ‘कस्ता राम्रा कार्टुन ! बनारसमा बस्दा पनि मैले तिम्रोबारे सुनेको थिएँ । यी कार्टुनलाई जनमत संग्रहमा बहुदलको प्रचार सामग्रीका लागि पुस्तकाकार गर्नुपर्छ । म यसलाई बनारस वा कलकत्ता लगेर छपाउँछु ।’
दुर्गा नोस्टाल्जिक हुन्छन्, “उहाँलाई त प्रेसका बारेमा सबै थाहा रहेछ । त्यो बेला तयार पारेका कार्टुन छाप्न के गर्नुुपर्छ भनेर सबै भने । हामी त्यो बेला प्रेसमै काम गरेर पनि त्यति धेरै थाहा थिएन । म त अचम्म परें । तर दुर्भाग्य ! त्यो कार्टुन ठूलो पोस्टरमा बनाएका कारण प्राविधिक रूपमा छाप्न भने मिलेन । समय र पैसाका हिसाबले निकै खर्चिलो हुने भएकाले त्यो छाप्न सम्भव भएनछ ।”
वात्स्यायनले पहिलोपटक जमलस्थित सम्पर्क कार्यालयमा भेट्न जाँदा बीपीलाई उपहारस्वरूप एउटा तस्बिर बनाएर लगिदिएका थिए ।
प्रजातन्त्र र समाजवादका लागि भनेर आफूले बीपीलाई तस्बिरमै लेखेर दिएको वात्स्यायन सुनाउँछन् । पछिसम्म बीपीकामा पुग्ने उनका साथीहरू भन्थे, ‘‘तिमीले बीपीलाई तस्बिर उपहार दिएका रहेछौ नि है ?”
सायद वात्स्यायनले बनाएको आफ्नो पोट्रेट बीपीलाई मन परेछ । बीपीले आफ्नो कोठामा झुन्ड्याएका थिए ।
त्यही बेला बीपीसँग खिचेको फोटो अझै पनि वात्स्यायनसँग पुस्तकालयमा सुरक्षित छ ।
त्यसअघि वात्स्यायन पोखराबाट प्रकाशन हुने ‘प्राङ्गण’ पत्रिकाका लागि अन्तर्वार्ता लिन काठमाडौं आउँदा उनले बीपीलाई भेटेका थिए । समय अभावको कारण देखाउँदै बीपीले पछि लिखित अन्तर्वार्ता दिन्छु भने । तर पछि वात्स्यायन र उनका साथीहरूले पनि फलोअप गरेनन् । अन्तर्वार्ता लिने रहर अधुरै रह्यो ।
(तस्बिर : किशोर कायस्थ/फाइन प्रिन्ट)