site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
बीपी कोइरालाको नियति चिन्तन
Sarbottam CementSarbottam Cement

–डा. ज्ञानू पाण्डे


“मानिसकोे दुर्भाग्य के छ भने ऊ कहिल्यै पूर्ण हुन सक्दैन । एउटा किसानको उदाहरण लिनोस् । ऊ विचरा हरसम्भव प्रयास गर्छ– जमिन जोत्छ, मल हाल्छ, सिँचाइ गर्छ । तर अकस्मात् उसको नियन्त्रणबाहिरको कुनै घटना भइदिन्छ र उसको सारा प्रयास खेर जान्छ । मानिसको दुर्भाग्य त्यही हो, भविष्यमा के हुन्छ कसैले जान्न सक्दैन । ...तैपनि काम त आजैदेखि थाल्नु छ...।” 
 –विश्वेश्वरप्रसाद कोइराला 

बहुमुखी व्यक्तित्वका धनी विश्वेश्वरप्रसाद कोइराला मूलतः एक चिन्तक व्यक्तित्व हुन् । एक दार्शनिक व्यक्तित्व हुन् । तर दार्शनिक भन्दैमा कुनै एउटा निश्चित विचार अगाडि सार्दै त्यसैको दार्शनिक व्याख्या गरिरहनु उनको रहर होइन, जीवनलाई हरेकले दर्शनपूर्ण बाँच्नुपर्छ, पलपल क्षणक्षण अर्थपूर्ण बाँच्न प्रयास गर्नुपर्छ भन्नु उनको दर्शनको मुख्य आकर्षण हो । यो कथन कोइरालादर्शन बारेको मेरो कपोलकल्पित अभिव्यक्ति होइन, पटक–पटक जेलनेल र निर्वासनको कष्टप्रद क्षणहरू गुजार्दै, चरम ऐकान्तिकताको भयवय यथार्थसित जुझ्दै, अनेक मानसिक तथा शारीरिक यातना र आघातहरू झेल्दै विभिन्न आरोह–अवरोहहरू छिचोल्दै गुज्रेको उनको ६८ वर्षे आयुभरिको जीवन र त्यस अवधिमा उनले आफूमा प्राप्त गरेको विशिष्ट व्यक्तित्व एवम् त्यसका अनेक आयाममा घाम झैं छर्लंग प्रतिबिम्बित भएको यथार्थको उत्खनन् हो यो । पूर्वीय तथा पाश्चात्य दर्शन, इतिहास, साहित्य कला संस्कृतिका गहन अध्ययेता कोइरालाले ती सबै अध्ययनबाट निःसृत ज्ञानका साथसाथै आफ्नै सामाजिक पारिवारिक परिवेश एवं जीवनभोगाइका निजी अनुभव समेतलाई आधार बनाइ आफ्नो विशिष्ट जीवनदर्शन निर्माण गरेको देखिन्छ । जीवन–जगत्, ज्ञान विज्ञान, प्रकृति, ईश्वर, धर्म, पाप पुण्य, मानवनियति, सफलता असफलता अनि प्राप्ति अप्राप्तिलगायत विषयमा कोइरालाको आफ्नै दृष्टिकोण छ । आफ्नै विशिष्ट दर्शन छ । यो आलेख मूलतः कोइरालाको नियति चिन्तनमा केन्द्रित छ । 

Prabhu Bank
Agni Group
NIC Asia

विश्वेश्वरप्रसादको जीवनदर्शनको एउटा महत्त्वपूर्ण पक्ष हो नियति चिन्तन । कोइरालाले आफ्नो साहित्यिक जीवनका अविष्मरणीय डोबहरू ‘तीन घुम्ती’, ‘नरेन्द्रदाइ’, ‘सुम्निमा’, ‘मोदीआइन’, ‘हिटलर र यहूदी’, ‘बाबु आमा र छोरा’, ‘दोषी चश्मा’, ‘श्वेतभैरवी’ लगायत आख्यानकृतिहरूमा मात्र होइन ‘आफ्नो कथा’, ‘आत्मवृत्तान्त’, ‘जेलजर्नल’, ‘फेरि सुन्दरीजल’का साथसाथै निबन्ध, अन्तर्वार्तालगायत आख्यानेतर गद्य लेखनमा समेत मानव नियतिप्रतिको आफ्नोे चिन्तनलाई प्रकट गर्न छुटाएका छैनन् । आखिर उनमा मावन नियतिप्रति किन यतिविधिको चासो रह्यो ? उनी खासमा कस्ता किसिमका नियति चिन्तक हुन् ? उनको नियति चिन्तनको विशेषता के हो ? कोइरालाको नियति चिन्तनको कुरा उठाउन खोज्दा हाम्रो मनमा यी र यस्ता अरू पनि धेरै प्रश्नहरू स्वभावतः उठ्छन् । 

वास्तवमा कोइरालाको नियति चिन्तनको विशेषता यही नै हो भनेर किटेर भनिहाल्न उति सजिलो छैन । त्यसका लागि कोइरालाकृत उपर्युक्त विवरणका सबै सामग्रीहरूको गहन अध्ययन मनन् गर्नुका साथसाथै उनले अँगालेको जीवनशैली, उनले रोजेको संघर्षको बाटो र त्यसप्रतिको उनको असीम निष्ठा, यी सबै पक्षमा पनि विशेष ध्यानका साथ दृष्टि पु¥याउनु जरुरी हुन्छ । तर यहाँ यो एउटा सानो आलेखमा त्यो सबै काम गर्न सम्भव नहुने भएकाले उनका औपन्यासिक कृतिहरूलाई मात्र मूल आधार बनाइ उनको नियति चिन्तनको विशेषता र आयाम ठम्याउँदै अन्त्यमा उनको संघर्षपूर्ण जीवनीको आलोकमा त्यसको मूल सार पहिचान्न प्रयास गरिन्छ । 

Global Ime bank

उसै पनि, आख्यानेतर विधाका तुलनामा आख्यान विधामा कोइरालाको नियति चिन्तन बढी स्पष्टताका साथ आएको पाइन्छ । सिङ्गो जीवनकै प्रतिबिम्ब मानिने उपन्यास विधा आफैंमा एक बृहत् विधा भएकाले पनि हुनसक्छ त्यसमा कोइरालाले जीवन–जगत्बारेको आफ्नो दार्शनिक दृष्टिलाई मनग्ये वाणी दिएका छन् र त्यस क्रममा मानव नियतिबारेको उनको चिन्तनले पनि यथेष्ट महत्त्वका साथ ठाउँ पाएको देखिन्छ । हामी देख्छौं, कोइरालाका उपन्यासभित्र खास गरी मुख्य पात्रहरू आफू स्वयं दोषी नभए पनि जीवनमा पटकपटक अनेक रङका अनिच्छित् परिस्थितिहरूसित ठोक्किन बाध्य भएका छन् । तिनीहरूको जीवन तिनले कहिल्यै नसोचेको र कहिल्यै नचाहेको मोडहरूमा मोडिन पुगेको तिनले देख्नुपरेको छ, सहनुपरेको छ । 

‘तीन घुम्ती’ की इन्द्रमायाको कथा नियालौं । आफूले स्वेच्छाले पतिवरण गरेको पुरुष पीताम्बरले आफ्नो चरित्रमा शङ्का व्यक्त गर्नु, मातृत्व प्राप्तिको रहर गर्दा पीताम्बरबाट बन्ध्याको संज्ञा पाउनु, पीताम्बर थुनामा परी उसको जीवन एकाएक असहाय र निरुपाय अवस्थामा परिणत हुनपुग्नु, उसले प्राप्त गरेको मातृत्वसुखको मर्मलाई पीताम्बरले बुझ्न नसक्नु वा बुझ्न नखोज्नु यी सब घटनामा इन्द्रमाया स्वयंको के दोष छ ? उसको चाहना थियो– पति र पुत्री दुवैको उपस्थितिसहितको जीवन बाँच्ने । त्यसका लागि उसले मनग्ये प्रयास गरेकी पनि हो । तर त्यो प्रयासमा ऊ पूर्णतः विफल भई । त्यो विफलतामा उसको के दोष ? उसको दोष होइन भने त्योे दोष कसको हो त ? पीताम्बरको ? त्यसमा पीताम्बरलाई पनि कसरी दोषी मान्नु र ? उसको ठाउँबाट हेर्दा ऊ पनि निर्दोष झैं लाग्छ । वास्तवमा पीताम्बर र इन्द्रमाया दुवैको चाहना थिएन– एक–अर्काबाट छुटिएर बसौं भन्ने । तर विडम्बना के भइदियो भने दुवैले नचाहँदा नचाँहदै पनि ती दुवैको जीवनमा एकाएक वियोगको आँसु भाग आइलाग्यो । दुवैको जीवन एकाएक अनिच्छित् परिस्थितिको बन्दी बन्न पुग्यो । ‘तीन घुम्ती’ उपन्यासको यो कथानकमा विनादोष दण्डित हुन बाध्य हुनुपर्ने मान्छेको दुःखी नियति उत्खनित भएको बोध गर्न सक्छौं हामी । 

‘नरेन्द्र दाइ’ उपन्यासभित्र सिर्जित परिस्थितिमा मानव नियतिबारेको कोइरालाको चिन्तनशीलता अझै सघन रूपमा प्रकटिएको छ । यस उपन्यासमा प्रमुख पात्र नरेन्द्र, मुनरिया र गौरी तीनैजनाको जीवन अकल्पनीय ढंगले लगातार अनिच्छित परिस्थितिको सिकार बन्न पुगेको देखिन्छ । आफ्नो अस्तित्व–स्वतन्त्रताप्रति उच्च सचेतता राख्दै जीवनमा बाबुआमालगायत परिवार र समाज सबैविरुद्ध पाइला उठाउन सक्षम बनेको नरेन्द्र आफूखुसी परदेशमा मुनरियाका साथ रमाइलोसित क्षणहरू व्यतीत गरिरहेकै बेला एकाएक क्षयरोगको प्रहारमा पर्छ र त्यसैका कारण ऊ आफ्नो जीवनलाई अनिच्छित मोडमा मोड्न बाध्य हुन्छ । नरेन्द्रको त्यो स्थितिले यता मुनरियाको जीवन पनि सुखबाट एकाएक दुःखतिर घचेटिन पुग्छ । नरेन्द्रको साथ पाउन्जेल अनेक सुखका क्षणहरू भोग्दै र सुखका कल्पनाहरू मनमा साँच्दै पलहरू व्यतीत गरिरहेकी ऊ नरेन्द्र गाउँ फर्किएपछि नितान्ततः एक्लो पर्छे र बाँच्नका लागि अनेक विपत्को सामना गर्न बाध्य हुन्छे । त्यो अवस्था उसको इच्छाको परिणाम अवश्य थिएन; न त त्यो उसको कल्पनाकै कुरा थियोे, तर पनि त्यसबाट उम्कने उसलाई कुनै उपाय भएन । त्यसरी बिनादोष ऊ जीवनमा दण्डित हुन बाध्य भई । 

उपन्यासभित्र गौरीको कथामा मान्छेको दुःखी नियति अझै गहिरोसित खोतलिएको पाइन्छ । गौरीले पति नरेन्द्रको दम्भी स्वभावका कारण उमेर छउन्जेल बित्थामा परित्यक्ताको जीवन भोग्नुपर्यो । नरेन्द्रलाई रिझाउने आफ्नो प्रत्येक प्रयास व्यर्थ साबित भइरहेको र ऊ आफूबाट झन्–झन् टाढा हुँदै गएको पीडा उसले उमेरभरि सहिरहनुपर्यो । जीवनको उत्तरार्धमा उसले जब एकाएक नरेन्द्र आफ्नो सामु टुप्लुकिन आइपुगेको देख्न पाई त्यो बेला नरेन्द्रको शरीर रोगले थिलोथिलो भइसकेको अवस्थामा पुगिसकेको थियो । त्यही अवस्थामा भए पनि नरेन्द्रसितको सान्नीध्यकोे आनन्द अनुभव गर्दै ऊ उसलाई निको तुल्याउन अहोरात्र सेवामा खटिन्छे तर उसको त्यो खटाइको केही चल्दैन । उसकै आँखाअगाडि नरेन्द्र मर्छ, ऊ हेरेको हेर्यै हुन्छे । अवश्य नै, गौरीले जीवनमा झेल्नुपरेका यी यावत् प्रतिकूल परिस्थिति उसको इच्छाको परिणाम थिएन । न त त्यो उसको कल्पनाको विषय नै थियो तर पनि उसले परिस्थितिप्रति उत्तरदायी हुनु सिवाय बाँचुन्जेल त्यसबाट मुक्तिको मार्ग भेटाउन सकिन । 

उपन्यासभित्र कथाको अन्त्यमा नरेन्द्रको मृत्युपश्चात् गौरीको मानसिक सन्तुलन गुम भएको र अन्ततः मृत्यु भएकोे घटना विवरण जे जसरी आएको छ, त्यसमा विनादोष दण्डित हुनुपर्ने मान्छेको दुःखी नियति अझै गहिरोसित उधिनिएको महसुस गर्न सकिन्छ । अन्त्यमा कोसीसँग बिदा मागी देवर सानोबाबुका साथमा माइत वीरगन्ज पुगेकी गौरी नब्बे सालको भुँइचालोमा घरभित्रै पुरिनु, नौ दिनपछि पुरिएको ठाउँबाट बाहिर निकाल्दा उसको शरीर कुहिएर ठस्ठसी गनाउने भइसक्दा पनि ऊ जिउँदै अवस्थामा हुनु र त्यही अवस्थामा ऊ अरू तीन दिनसम्म अझै बाँच्नु भनेको अवश्य नै विडम्बनाको पराकाष्टा हो । आखिर यस्तो किन भयो ? ९ दिनसम्म घरभित्रै पुरिँदा पनि ऊ किन मरिन ? कसरी मरिन ? के मर्नकै लागि हो उसले नौ दिनसम्म घरभित्र पुरिएर त्यो बीभत्स पीडाकोे सामना गर्नुपरेको ? 

बाबु, आमा र छोरा उपन्यासका प्रमुख पात्रहरूको जीवनमा परेको वज्रपातले पनि पाठकमनलाई कम उद्वेलित पार्दैन । यसभित्र बाबु बस्नेत, उमा र शिवप्रसाद तीनैजना मुख्य पात्रको जीवन तिनले कहिल्यै कल्पना नगरेको र साधारणतः कसैले कल्पना गर्नै नसक्ने अनौठो परिस्थितिको सिकार बन्न पुगेको देखिन्छ । कथाअनुसार बनारसमा पढ्न बसेकी उमा आफ्नै कलेजमा पढ्ने केटो शिवप्रसादसित प्रेम गरी स्वेच्छाले उससित विवाह गर्छे । उससितको शारीरिक सम्पर्कबाट गर्भवतीसमेत भइसकेकी हुन्छे । तर यता काठमाडौंमा भने उसको त्यस अवस्थाप्रति बेखबर उसको परिवारबाट उसको विवाह अन्तै गरिदिने निश्चय गरिन्छ र सोहीअनुसार उसको विवाह हुन्छ पनि । बिडम्बना के भइदिन्छ भने उसले अनिच्छामा गर्नुपरेको सो विवाहमा उसको पतिका रूपमा अगाडि आएको पुरुष उसैको प्रेमी–पति शिवप्रसादको बाबु हुन्छ । न बाबु बस्नेत उमाको अवस्था जान्थ्यो न उमालाई नै त्यो व्यक्ति आफ्नो प्रेमीपतिको बाबु होला भन्ने कुनै अनुमान थियो । यता शिवप्रसाद पनि यी सबै वास्तविकताबाट पूरै अनभिज्ञ थियो । अर्थात् त्यस विडम्बनामय घटनाप्रति यी तीनैजना पात्र निर्दोष थिए तर पनि दण्डित हुनबाट ती कसैको जीवन पनि जोगिन पाएन । सुरुमा यो यथार्थप्रति यी तीनै पात्र अनभिज्ञ भए पनि कालान्तरमा जब वास्तविकता खुल्यो, उक्त अनिच्छित् परिस्थितिबाट उम्कन तिनलाई कुनै उपाय भएन, सिवाय त्यो सहनु । 

हिटलर र यहूदी उपन्यासमा पनि साठी लाख यहूदीहरूको हत्याको कथाविवरणमा तथा थियोडोरा, लियोनार्डो, इल्जेलगायत पात्रहरूले विनाअपराध जीवनमा भोग्नुपरेको दुःखद् परिस्थितिको मार्मिक विवरणमा मानव नियतिको दुःखदायी यथार्थ उस्तै गहिराइका साथ उत्खनित भएको पाइन्छ । सुम्निमा र मोदिआइन उपन्यासभित्र पनि पात्रहरूले स्वयंको कुनै दोषविनै जीवनमा अनेक अनिच्छित् परिस्थितिको सामना गर्नुृपरेको र त्यस परिस्थितिलाई स्वीकार्नु सिवाय तिनलाई अन्य कुनै विकल्प नरहेको यथार्थ चित्रण गरिनुले मानव नियतिको यथार्थ दर्शन छुटेको छैन । सुम्निमा उपन्यासमा खास गरी सोमदत्त र पुलोमाको बिग्रिएको दाम्पत्य जीवन ती दुवैका लागि अभिशाप बनेको छ तर पनि त्यो अभिशापमा निस्सासिएर बाँच्नुबाहेक जीवनमा कुनै विकल्प रहेन तिनलाई । यता मोदिआइन उपन्यासमा पनि मानव नियतिको दारुण तस्बिर उस्तै छर्लंगसित उत्रिएको देख्न सकिन्छ । उपन्यासभित्र महाभारतकी नारी आफूले कहिल्यै नचाहेको परिस्थितिको शिकार हुन बाध्य भएकी छ । ऊ आफूले नगरेको अपराधको सजाय भोग्दै जन्मजन्मान्तर पति वियोगको पीडा खप्न बाध्य हुनुपरेको तथ्य कथामा खुलेको छ । 

यी सब त भए उपन्यासभित्र पात्रहरूको जीवनमा घटेको अनिच्छित् घटनाहरू जो हुनुमा स्वयं तिनीहरू कारण देखिन्नन्, त्यसमा अभिव्यञ्जित विनाअपराध दण्डित हुन बाध्य हुनुपर्ने मानव नियतिप्रतिको कोइरालाको चिन्तनशीलताको कुरा । अब हेरौं यी उपन्यासहरूभित्र सिर्जित त्यस्ता घटनाहरूको प्रभाव स्वरूप पात्रहरूका मनमा उठेका भावतरंगहरू, तिनका संवाद मनोवाद र लेखकीय टिप्पणीहरूमा अझै कति स्पष्ट शब्दमा अभिव्यक्तिएका छन् कोइरालाको नियति चिन्तनका रङहरू । 

तीन घुम्तीमा इन्द्रमायाको मानसिक धरातलमा टेक्दै कोइरालाले आरम्भमै नियतिको प्रसंग उठाएका छन् यसरी ः “प्रेमले उसको एकान्त हृदयलाई अपरिहार्य नियतिको शक्ति सम्पन्नताका साथ प्रश्न गरेको थियो – हँ या न ?” (पृ.३)

आफूहरूको जात तथा हैसियत केही पनि नमिल्ने केटो पीताम्बरसँग विवाह गर्ने छोरी इन्द्रमायाको इच्छाप्रति चिन्तिन हुँदै उसलाई सम्झाउन–बुझाउन भनी उसको कोठामा छिरेकी आमा जब इन्द्रमायाको ढिपीअगाडि आफ्नो केही नचल्ने देख्छे त्यसपछि विफल कामनाको ज्योतिहीन दृष्टि छोरीतिर फालेर कोठाबाट बाहिरिन्छे । यस घटनाको लगत्तै इन्द्रमायाको मनमा उठेको भावतरंगलाई उपन्यासकारले यसरी छामेका छन् : “इन्द्रमायाले आमा गएको ढोकातिर धेरै बेरसम्म हेरिरही उसलाई लाग्यो, जुनसुकै कुराले पनि एउटै केन्द्रतिर बाटो देखाइरहेको छ; सबै कुरा केवल एउटै विन्दुतर्फ लक्षित रहेका छन् । यावत् घटनाहरूको, उसको जीवनका तमाम उन्नयनहरूको एउटै लक्ष्य छ, एउटै एउटै परिणति, उसले नसोचेका कुरा जसरी वाक्यका रूपमा अप्रत्याशित ढंगबाट प्रकट हुन्थे ती पनि उसको नियतिका संकेतचिह्न थिए” (पृ.६) । 

ढल्कँदै गएको उमेरको पाकमा उभिएर इन्द्रमायाले जीवनमा आफूले अघि गरेको एक–एक निर्णयहरू केलाउँदै तिनबारे आफ्नो निष्कर्ष निकालेकी छ यसरी : “उसले निर्णय लिएको भनेको नियतिले कोरेको बाटोमा हिँडेको हो” (पृ.२२) । “हुन त मानिसले नै निर्णय गर्छ, तर नियतिले निर्देशन गरेको बाटोमा हिँड्न उसको निर्णय भवितव्यको सेवकका रूपमा प्रकट हुन्छ” (पृ.२३) । 

‘नरेन्द्र दाइ’ मा नरेन्द्र र गौरीबीचको बिग्रिएको दाम्पत्य सम्बन्धको सन्दर्भमा टेक्दै कथावाचक सानोबाबुले भनेको छ : “बाबुसाहेबले गराएको मेल बेलुकीपखको पश्चिमा आकासजस्तो एकछिनका लागि मात्र रंगिचंगी भएर टल्कियो । भोलिपल्ट भताभुंग भयो । भान्दाइको शब्दमा तासको घरजस्तै । नियतिको हातको कौशल पनि कस्तो कि त्यो अवश्यम्भावी दुःखान्त नाटकको कारण निमित्तका रूपमा नरेन्द्रकै आमा हाम्री कप्तान्नी आमा हुनुभयो” (पृ.२२) । “लाग्यो, कोसीको तटमा बालुवाको राशिमाथि नरेन्द्र, गौरी र मुनरियाले एउटा खेलाँचीमा त्रिभुजको आकार अंकित गरे । नियतिको एउटा सानो ‘प्फु’मा बालुवा हल्लियो । त्रिभुज विलीन भयो । ...” (पृ.७८) । 

‘बाबु, आमा र छोरा’ उपन्यासमा स्वेच्छालोप भएको आफ्नो अवस्थालाई नियाल्दै उमाले जीवनको बारेमा निष्कर्ष निकालेकी छ यसरी : “जीवनमा एउटै बाटो छ र– आफू अवतीर्ण हुनुभन्दा पहिले नै कोरिएको जसको बालुवा पथमा जीवनको गति जलजस्तो गुडिन्छ मानिसले जे जस्तो गरे नगरे तापनि, त्यही एउटा निर्धारित पथमा उसले हिँड्नुपर्छ । मानिसको प्रयत्न पनि के त्यही एउटा बाटोमा हिँड्नका लागि गरेको पूर्वचेष्टा होइन, जसमा चेष्टाहीन भएर पनि त्यसैमा त्यो हिँड्ने थियो ? मानव प्रयत्न– उसको उद्योग, पुरुषार्थ– उसको प्रारब्धको नै अनुकूल हुन्छ क्यारे, जस्तो कि उसको पुरुषार्थहीनता पनि हुँदो हो । मैले के गर्नुपथ्र्यो ? त्यो गर्थे र म ? र यदि गरेको भए पनि मेरो अर्को बाटो कोरिन्थ्यो र ?” (पृ.६३) । 

हिटलर र यहूदी उपन्यासमा नारायणन बोल्छ : “प्रत्येक मानिस, प्रत्येक जाति जन्मँदै नियतिको छाप लगाएर जन्मिन्छ” (पृ.७४) । “म नियतिले डोर्याएको बाटोमा हिँड्छु, त्यसैले मलाई शान्ति छ । आफ्नो बाटोमा नियतिलाई डोर्याउन खोज्ने दुस्साहस ममा छैन...” (पृ.५६) । “नियति र मनुष्य ताना र बाना बुन्छन्” (पृ.५६) । उपन्यासमा नियतिको चर्चा गरेर नथाक्ने पात्र नारायणनले ‘त्यसो भए के साठी लाख यहूदीलाई बचाउन सकिँदैनथ्यो ? के हिटलर नभएको भए तिनीहरू त्यत्रोे संहारबाट जोगिने थिएनन् ? (पृ.३२) भन्ने ‘म’ पात्रको प्रश्नको उत्तरमा एक ठाउँमा भनेको छ : “हिटलर त निमित्त मात्र हो । कसले कसलाई मार्छ ? नियतिका सबै माध्यम हुन्, दुवै मर्ने भनौ चाहे मार्ने (पृ.३२) । “नियतिको प्रश्न बुझ्ने ज्ञान त परमेश्वरको मस्तिष्कको वस्तु हो, जसलाई हाम्रा ऋषिमुनिले बुझेर नै भनेका थिए, अन्तिम वाक्य–नियतिलाई प्रश्न नगर । उसको उत्तर ब्रह्माण्डमा क्षण–क्षण घटिरहेका घटनाहरू नै हुन् । बुझ्ने कुरा नगर” (पृ.३२) । 

कोइराला कतै भाग्यवादी नियतिचिन्तक पो हुन् कि, उनका उपन्यासमा आएका उपयुक्त विवरणका अभिव्यक्तिहरू पढ्दै गर्दा जो कोही पाठकको मनमा पनि झट्ट यस्तो विचार आउन नसक्ला भन्न सकिन्न । तर यत्तिकै अभिव्यक्तिका आधारमा उनको नियति चिन्तन भाग्यवादी नियति चिन्तनकै वकालत हो भनेर ठोकुवा गरिहाल्नु उति मिल्दो कुरा हुन्न । हो, मान्छेको जीवनमा नियतिको प्रभुत्व रहन्छ भन्ने तथ्यमा कोइराला विश्वास राख्थे भन्ने कुरामा कुनै सन्देह छैन, तर पनि उनी भाग्यवादी नियति चिन्तक होइनन् । यसबारे प्रस्ट हुनका लागि कोइरालाका उपन्यासमा आएका नियतिसम्बद्ध अरू केही उद्धरणहरू हेरौं : 

तीन घुम्तीमा इन्द्रमायाले बोलेकी छ : “जीवनभोगको चिह्न क्षतविक्षत् हुनु हो । पाप पनि सायद त्यही हो । यही विडम्बना छ मानवजीवनको । आहत नभई, खण्डित नभई जीवनको भोग पाइँदैन र जीवनको अनुभव हो पछिसम्मकोे पापबोध” (पृ.२६) । “मानवजीवनको सुखमा पनि फूलमा कीरा लुकेर बसेजस्तै पापबोध लुकेर बस्तो रहेछ ?” (पृ.४६) । उपन्यासभित्र इन्द्रमायाको उक्त चिन्तनप्रति सही थाप्दै लेखक आफैं पनि बोलेका छन् यसरी : “त्यस्तै जीवनलाई वरण गर्दा मृत्युलाई पनि स्वीकार गर्नुपर्छ ” (पृ.७०) । 

नरेन्द्र दाइ उपन्यासभित्र नरेन्द्र बोल्छ : “मलाई त लाग्छ मानव सुखको साथसाथै पापभावना पनि त्यसको छायाजस्तै टाँसिएको हुन्छ ” (पृ.४०) । गौरीको कथन छ : “जीवनमै मृत्युलाई आलिङ्गन गरेर, आफूमै पूर्ण रूपले सीमित रहेर, घरको एउटा कुना समातेर समय काटिरहेकी छु” (पृ.४४) । “बाबु मैलै गर्दा यस्तो विघ्न परिआयो परिवारमा हगि ? पाप–काम नगरे पनि पाप–भोग किन मानिसले सहनुपर्छ भन न ?” (पृ.४०) । उपन्यासभित्र सानोबाबु जीवनको अबोधगम्यताप्रति तरङ्गित भएको छ यसरी : “जीवन के हो ? यसमा प्राप्ति के छ ? सुख–दुःख किन यस्तो मोहमय ? दुःख किन यस्तो पीडापूर्ण र सुख किन रिमरिम जस्तो, जीवनमा किन भागाभाग, दौडादौड, स्वाँ–स्वाँ र फ्वाँ–फ्वाँ ? केका लागि ? केका लागि ?” (पृ.७६) । 

बाबु, आमा र छोराभित्र विसङ्गत जीवनकी भुक्तभोगी पात्र उमा बोल्छे : “जीवनको कीटनिर्मित बाङ्गोे टेढो पथका यात्री हामी मानव, पथभ्रष्ट भएर बाटैमा जीवनपर्यन्त भौंतारी रहन्छौं, कतै नपुगेर ” (पृ. ५५) ।

उपन्यासभित्र विसंगत जीवनकी अर्को भुक्तभोगी पात्र शिवप्रसाद बोल्छ : “मेरो दोष ? के दोष छ र मेरो यसमा ? त्यसैले त म भन्छु जीवनको बनोट नै कमजोर छ जसमा अडाउन खोज्दा प्रेम पनि बालुवाको उपर निर्मित ताजमहल जस्तो हुन्छ– धस्छ, बांगिन्छ, एक पाखो कि वा पल्टिन्छ, कि वा सिंगोको सिंगै भास्सिएर बालुवामा लोप हुन्छ ” (पृ.१८)। 

हिटलर र यहूदी उपन्यासभित्र एक ठाउँमा जीवनको त्रासदीप्रति म पात्र यसरी अभिव्यक्तिएको छ : “प्रलयकारी तुफान, प्रत्येक मानिस प्रलय–छायामुनि जीवन बिताउँदा रहेछन् । मुटुमा प्रलय लिएर हिँड्दा रहेछन्– प्रत्येक मानव सम्बन्धमा प्रलयको सम्भावना हुँदो रहेछ” (पृ.६३) । उपन्यासभित्र स्वैरकल्पित दृश्यपटमा चित्रित हिटलरको प्रेतात्माले ईश्वरसित भन्छ– “मानवजीवन अवधि स्वल्पकालीन हुन्छ, मृत्युको वशीभूत भएकाले र त्यसैले मेरो शक्ति अस्थायी र मेरो निरंकुशता पनि त्यस्तै अस्थायी” (पृ.१३४) ।

कोइरालाका उपन्यासमा आएका उपयुक्त विवरणका उद्धरणहरूमा सूक्ष्म दृष्टि पुर्‍याउँदा उनको नियति चिन्तनको विशिष्ट आयामको परिचय मिल्छ पाठकलाई । विरोधाभासपूर्ण यथार्थमा बाँच्नुपर्ने मानव नियतिप्रतिको कोइरालाको चिन्तनशीलता यी उद्धरणहरूमा अत्यन्त गहिराइका साथ उद्भाषित भएको महसुस गर्न सकिन्छ । जन्म सँगसँगै मृत्यको श्राप पनि साथैमा च्यापेर आएका हामी मान्छेको जीवन आफैंमा एक विरोधाभासपूर्ण सत्य हो । हरेकका लागि आ–आफ्नो जीवन जति प्रिय छ, त्यत्तिकै पीडादायी पनि छ त्यो । जीवनभरि मान्छे सधैं भौंतारिइरहन्छ तर कहीँ नपुग्नका लागि, किनकि मृत्युको अवश्यम्भाविताले उसको जीवनको गन्तव्य अघि नै तोकिइसकेको छ । मान्छे सधैं सुखको खोजीमा दौडिरहन्छ, यो जान्दाजान्दै पनि कि त्यो सुखको खोजी सँगसँगै उसको जीवनमा दुःख पनि अनिवार्यतः जोल्टिँदै आएको हुन्छ । 

वास्तवमा व्यक्तिलाई आफू यो पृथ्वीमा बाँचिरहेको छु भन्ने बोध हुनु भनेको प्रत्येक पल आफ्नो आयु छोट्टिँदै गइरहेको छ भन्ने तथ्यको मनन हुनु पनि हो । म बाँचिरहेको छु भन्ने ज्ञान हुनु भनेको एकदिन अवश्य नै मेरो मृत्यु हुनेछ भन्ने सत्यको कम्पन पनि हो त्यो । तर आश्चर्य के भने त्यस्तो हुँदाहुँदै पनि बाँचुुन्जेल यो जीवनबाट विमुख हुन खोज्दैन कोही । एक दिन अवश्य मर्नुपर्छ; मरिन्छ भनेर जान्दाजान्दै पनि सधैंभरि बाँचिरहन चाहन्छ मान्छे । आखिर किन ? किन मर्दछ मान्छे ? मर्नु नै छ भने ऊ जन्मेकै किन ? न जन्मनुको कारण जान्दछ मान्छे, न मर्नुकै कारण थाहा छ उसलाई । तर पनि जन्मन नचाहँदा नचाहँदै जन्मनुपर्ने र बाँच्न चाहँदा चाहँदै एकदिन अवश्य उसले मर्नै पर्ने, यो कस्तो त्रासद यथार्थ मानवको जीवनको ? यथार्थमा मान्छे आफ्नै नियतिका कारण दुःखी छ । मान्छेको यस्तो दुःखी नियतिप्रति कोइराला प्रशस्त चिन्तनशील देखिएका छन् । तर त्यसको मतलब उनी निराशावादी नियतिचिन्तक भने अवश्य होइनन् । 

हिटलर र यहूदी उपन्यासमा एक ठाउँमा नारायणन पात्रको मुखबाट कोइरालाले प्रस्ट स्वरमा बोलेका छन् : “नियति छ भन्दैमा तपाईं पटक्कै हुनुहुन्न भनेको त होइन...” (पृ.५६) । मनुष्य जीवनको आस्तिक सीमाप्रति सचेतता राख्दै, यसका विसंगति र विडम्बनाहरूबाट आफूलाई कत्ति पनि गल्न नदिइ हरेकले आफू बाँचुन्जेल जीवनमा सचेत कर्म गर्न कुनै हालतमा चुक्नु हुन्न भन्ने कर्मवादी पाठ सम्प्रेषण गर्नु कोइरालाको नियति चिन्तनको मुख्य विशेषता हो, सार हो; सर्वस्व हो । जीवनको प्रमुख दायित्व हो कर्मलाई रोज्नु, न कि निष्क्रिय बस्नु । कर्ममा जुट्नका लागि आफ्नो मनलाई सधैं चुस्त राख्न नियतिको प्रभुत्वलाई स्विकारिदिनु एउटा सहज उपाय हुने देख्छन् कोइराला । हिटलर र यहुदी उपन्यासमा भनिएको छ– “नियति निर्धारित कुरा गर्दा शान्ति–बोध हुन्छ, थाकिँदैन त्यस्तो काम गर्दा; सन्तोष अनुभव हुन्छ...” (पृ.५६) । 

तीन घुम्ती उपन्यासमा पनि यही आशय तर अलि प्रतीकात्मक ढंगले बोलिएको पाइन्छ : “ती प्रश्नहरूको उत्तर नपाएर पनि इन्द्रमायालाई जीवन रमाइलोसँग बिताउन कुनै गाह्रो परेन । अचेल भने इन्द्रमायालाई लाग्छ– जीवनका प्रश्नहरूको उत्तर नै छैन...” (पृ.४७) । 

कोइरालाको तर्क हो– जीवनमा कुन बेला फेरि के अनिष्ट भइदिने हो भन्दै सधैं भवितव्यप्रति डराएरै बसिरहने हो भने कर्म गर्नुपर्ने आफ्नो मूल कर्तव्यबाट मान्छे विरत् हुनसक्छ । शंका र द्विविधामा बस्दा मान्छेको मन थाक्छ र थाकेको मन बोकेर कर्म गर्न सकिन्न । कर्म गर्न शरीर मात्र होइन, फुर्तिलो मन पनि आवश्यक हुन्छ र मनलाई फुर्तिलो अवस्थामा पाउन शंका र द्विविधाको अवस्थाबाट त्यसलाई मुक्त राख्नुपर्छ, स्वतन्त्र राख्नुपर्छ । त्यसैले जीवनमा यदि कथम्कदाचित् आफ्नो सोचाइविपरीतको परिस्थिति सिर्जना भइदियो भने आखिर त्यस्तो किन भयो ? कसरी भयो ? भन्नेजस्ता कतै जवाफ नै नपाइने प्रश्नमा अल्झेर व्यर्थमा आफ्नो मनलाई अनेक शंका र उपशंकाको बन्दी बनाउनुभन्दा बरू त्यो अवस्था आइपर्नु आफूमाथि नियतिको खेल हो भनेर स्विकारिदिए मनमा शान्ति मिल्छ; मन अनुत्तरित प्रश्नको बन्धनमा पर्नबाट जोगिन्छ जसले मनलाई थकाउँदैन र व्यक्ति आफ्नो अगाडिको जीवनमा कर्म गर्न उत्साहित बन्छ, बनिरहन्छ । 

निचोडमा भन्नुपर्दा, कोइरालाको नियति चिन्तन जीवनवादी सोचको प्रतिबिम्बन हो, जीवनप्रतिको असीम आस्थाको अभिव्यञ्जन हो । प्राप्ति–अप्राप्तिको लेखाजोखा गरिहनुभन्दा पनि प्रयासमा इमानदार हुन कतै नचुकी आफूमा प्रामाणिक अस्तित्व प्राप्त गर्न हरेकमा उत्प्रेरणा जगाउन खोज्नु, जगाउन सक्नु कोइरालाको नियति चिन्तनको विशिष्टता हो । उनले आफ्ना रचनाहरूभित्र असंगति–विसंगति मानवजीवनको अपरिहार्य नियति हो भन्ने तथ्यप्रति पूर्ण सचेतता राख्दै कर्ममा नित्य समर्पित भइरहने, अप्राप्ति र विफलतामा पनि आफ्नो प्रयासप्रति सम्मान भाव राख्न कहिल्यै नचुक्ने, सधैं–सधैं मान्छेकै पक्षमा वकालत गर्ने र जस्तोसुकै विपत्को सम्मुखमा पर्नु परे पनि संघर्ष गर्न कहिल्यै नथाक्ने, एकान्तिकताको चरम ऐंठनमा पनि सधैं–सधैं जीवनै रोज्न तत्परिने विशिष्ट चरित्रका पात्रहरू आविष्कार गर्नुले उनको नियति चिन्तनको त्यो विशेष विशेषता सहजै खुटिन्छ । अझ बीपी स्वयंले भोगेको जीवनको इतिवृत्तान्त जो खुला किताबजस्तै छ हामी सबैका अगाडि, त्यसमा त उनको नियति चिन्तनको उक्त विशिष्ट विशेषता र शक्तिको झनै नजिकबाट दर्शन मिल्दछ हामीलाई । 

कोइरालाले आफ्ना पात्रहरूको जीवनभोगाइमा विनादोष दण्डित हुन बाध्य हुनुपर्ने मनुष्य जीवनको त्रासदीलाई जति मार्मिकताका साथ प्रस्तुत गरेका छन् त्यो कुनै कपोलकल्पित कुरा होइन, उनी स्वयंले जीवनमा भोगेको कटु यथार्थको आवाज हो त्यो भन्ने लाग्छ । आफूले गर्र्दै नगरेको अपराधको दण्ड भोग्नुपर्दाको सास्ती यो मुलुकमा कोइरालाले जति अरू कसले पो बेहोर्यो होला र ? उनले खास गरी आफ्नो राजनीतिक जीवनका क्रममा सबैलाई न्याय पुग्ने सिद्धान्त प्रजातान्त्रिक समाजवादको वकालत गर्दै देशमा सबैको जित भएको अवस्था देख्न निरंकुशतन्त्रविरुद्ध लड्दा पटकपटक अनेक उच्च जोखिम र असह्य कष्ट खेप्न बाध्य हुनुपरेको तथ्य के हामी कोहीबाट छुपेको छ र ? तर महत्त्वपूर्ण कुरा के हो भने परिस्थिति जतिसुकै क्रूर भए पनि उनी कहिल्यै हच्किएनन् । आफूले थालेको संघर्षको यात्रालाई अनवरत् अगाडि बढाइरहे, उनी कतै पनि सुस्ताएनन् । उनको आस्थाको भर र कर्मप्रतिको चरम निष्ठाको शक्तिका अगाडि क्रूर नियतिको प्रतीक बनेर देखापरेको निरङ्कुश सत्ताको केही लागेन । त्यसका अगाडि उनी कहिल्यै झुकेनन्, उनले आफ्नो स्वाभिमानलाई सधैं उँचो राखिरहे । नियतिले उनीविरुद्ध जस्तोसुकै चक्रव्यूह रचे पनि आफैंभित्र आफ्नै चिन्तनले उमारेको दृढताको शक्तिको भर सधैं मिलिरह्यो उनलाई । 


 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २०, २०७७  ०९:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC