site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 बीपीलाई जेलमा किताब म दिन्थें 
Ghorahi CementGhorahi Cement

रमेशनाथ पाण्डे

० ० ०

बीपी कोइराला राजनीतिमा नलाग्नु भएको भए नेपालको साहित्य अझ बढी धनी हुन्थ्यो होला । जब उहाँ राजनीतिमा लाग्नुभयो साहित्यले गुमायो । जब उहाँ २०१७ साल पुस १ गते गिरफ्तार भएर सुन्दरीजल जेलमा बन्दी हुुनुभयो । त्यसपछि उहाँको राजनीति स्थगित भयो र साहित्य स्थापित भयो । जब राजनीति स्थगित भयो साहित्यिक यात्रा प्रारम्भ भयो । उहाँले साहित्यमा जति पनि योगदान दिनुभएको छ, अधिकांश जेलमा बस्दा नै दिनुभएको छ । दोषी चस्मा र अन्य केही कथाबाहेक सबै कृति सुन्दरीजल जेलमा लेखिएका हुन् । त्यो बेला बीपीसँग भेटेर कुरा गर्न जेलमा रहेकाबेला सम्भव भएन । जेलमा बसेको मान्छेसँग भेटेर कुरा गर्न सकिँदैन । 

Agni Group

सुन्दरीजल जेलमा भएका बेला बीपीलाई महिनामा एकदिन मात्रै चिठी लेख्न दिइन्थ्यो । उहाँ र मेरोबीच नियमित रूपमा चिठीहरू आदानप्रदान हुन्थ्यो । बीपीले महिनामा एकपटक चिठी लेख्नुहुन्थ्यो र त्यसमा धेरैजसो मलाई नै लेख्नुहुन्थ्यो । उहाँका हस्तलिखित चिठी र उहाँबारे मेरो संस्मरण समेटिएको कृति चाँडै ‘क्रान्ति र प्रतिक्रान्ति’ मा समावेश हुनेछ । 

जेलमा बस्दा बीपी कोइरालाले प्रशस्त अध्ययन गर्नुभयो । उहाँलाई अध्ययनमा रुचि थियो । चिन्तन गर्नुहुन्थ्यो र लेख्नुहुन्थ्यो । उहाँको अध्ययनमा दर्शन पनि पर्यो । साहित्य पनि पर्यो । इतिहास पनि पर्यो । राजनीति त पर्ने नै भयो । जेलमा बस्दा अन्य विभिन्न विधामा पनि अध्ययन गर्नुभयो । म यो किन भन्न सकिरहेको छु भने जेलमा बस्दा बीपीलाई पढ्ने पुस्तक म नै पठाउँथें । कस्तो खालको पुस्तकमा उहाँलाई रुचि थियो भन्ने कुराको ज्ञान मलाई छ । 

Global Ime bank

लेखाइको सन्दर्भमा कुरा गर्दा उहाँले जति किताब लेख्नुभयो प्रकाशित भइसकेका छन् । ती किताबहरूले नै उहाँको साहित्यिक रुचि र स्तरबारे बताउँछन् । त्यसबारे केही भन्नु आवश्यक छैन । 

उहाँको एउटा विशेषता म अहिले पनि सम्झिन्छु, उहाँले मलाई लेख्नु भएका चिठी १–६ पेजसम्म लामा हुन्थे । ती चिठीमा उहाँ कतै पनि लेखेको कुरा काट्नु हुन्नथियो । आजभोलि कम्प्युटरमा टाइप गरिन्छ । पाठकलाई थाहा हुँदैन कि लेखकले कुन हरफ कतिपटक काटेर नयाँ हरफ लेख्यो, कहाँ कुन शब्द परिवर्तन गरेर नयाँ शब्द हाल्यो । कहाँ शैली र अक्षर परिवर्तन गर्यो भन्ने ज्ञान पाठकलाई हुँदैन । तर हस्तलिखित चिठीमा यी सबै कुराको ज्ञान हुन्छ । त्यसले लेखकको चिन्तन स्तर, चिन्तनको नियमितता र उहाँको सोचाइको स्थायित्व तथा शब्द भण्डारको सम्पन्नताजस्ता कुरा बताउँछ । उहाँको लेखाइमा उहाँको चिठी हेर्दा साहित्य सँगसँगै विभिन्न विधामा उहाँको सोचहरू थाहा हुन्छ । 

त्यो समय नेपालमा थोरै मात्रै साहित्यिक पत्रिका प्रकाशन हुन्थे । त्यसमध्ये ‘रूपरेखा’ नियमित प्रकाशन हुन्थ्यो । जुन पत्रिका उहाँ नियमित पढ्नुहुन्थ्यो । त्यसका लेखक तथा छापिएका सामग्रीका रचनाकारहरूबारे मसँग कुरा गरिरहनु हुन्थ्यो । उहाँ जेलमा बसे पनि साहित्यमा भएका प्रगतिहरूबारे जानकार रहनुभयो । त्यसबारे आफ्नो धारणा बनाउन उहाँलाई सजिलो भयो । नेपाली साहित्यले जुन दिशा र चरित्र ग्रहण गरिरहेको थियो । त्यसबारे उहाँ जानिफकार रहनुभयो । तर उहाँका कृतिहरू पढ्दा बीपी विल्कुल भिन्न रूपले अगाडि बढेको देखिन्छ । 

कुनै पनि गम्भीर पाठक समकालीन साहित्यमा सन्तुष्ट हुन सक्दैन । किनकि सन्तुष्टि हुनु भनेको प्रगतिको अन्त्य हुनु हो । कुनै पनि विषय र क्षेत्रमा प्रगतिको अन्त्य कहिल्यै हुँदैन । 

बीपी जतिबेला सुन्दरीजल जेलमा बन्दी जीवन बिताइरहनु भएको थियो । त्यो समय नेपालमा कति साहित्यकार हुनुहुन्थ्यो भन्ने बुझ्नुपर्छ । भएका साहित्यकारहरूमध्ये पनि निकै कमका मात्रै पुस्तक प्रकाशित हुन्थे । ०१७ देखि ०२१ सालसम्मको कुरा हो यो । त्यो समय फाट्टफुट्ट साहित्यिक पत्रिकामा लेख तथा रचनाहरू छापिन्थे भने पुस्तकहरू पनि एकदम कम प्रकाशन हुन्थे । कथा, कविताहरू फाट्टफुट्ट मात्रै पत्रिकामा प्रकाशन हुन्थे । त्यही नै अध्ययन गर्ने हो । लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, भीमनिधि तिवारी, लेखनाथ पौड्यालको पुस्ताका अधिकांश कृतिहरू त्योभन्दा अगाडि नै प्रकाशन भइसकेका थिए । त्यसैले त्यो यस्तो समय थियो निकै थोरै पुस्तक मात्रै प्रकाशन भए ।

नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले केही पुस्तकहरू प्रकाशन गर्यो । यसमा विजय मल्ल, गोविन्दबहादुर मल्ल गोठाले, बालकृष्ण सम, भवानी भिक्षुलगायत कथा संग्रह प्रकाशन भए । ती पुस्तकहरू बीपीले अध्ययन गर्नुभयो । त्यसबाहेक नेपालमा पढ्ने भनेको अधिकांश विदेशी साहित्य त्यसमा पनि अंग्रेजी भाषाका विभिन्न विधामा लेखिएका साहित्य नै थियो । दर्शन, शास्त्र, साहित्य तथा राजनीतिशास्त्रका पुस्तक पढ्नुभयो । यसका अतिरिक्त बीपीमा चित्रकलामा पनि रुचि थियो । त्यसैले चित्रकलामा पनि उहाँले केही अध्ययन गर्नुभयो ।

० ० ०

आम निर्वाचनपछि बीपी पहिलोपटक जननिर्वाचित प्रधानमन्त्री भए । तर ०१७ पुस १ मा महेन्द्रले सरकार भंग गरेर बीपीलाई जेल हाले । त्यही समय बीपीका आफन्तले रमेशलाई भेटेर भनेका थिए, “बीपीलाई जेलमा पढ्ने पत्रपत्रिका र किताब नभएकाले गाह्रो भएको छ । तपाईंले सहयोग गरिदिनुपर्‍यो ।”

दुईपटक जेल बसेर फर्किएका रमेशलाई पनि थाहा थियो, जेलमा पढ्ने सामग्री भएन भने समय कटाउन कति गाह्रो हुन्छ । त्यसपछि रमेश बीपीलाई किताब पठाउन थाले । 

जम्मा महिनामा दुई दिन किताब पठाउने अनुमति थियो । यदि रमेशनाथले पठाएका पुस्तक बीपीलाई मन परेन भने बीपी पूरै १५ दिन नपढी बस्नुपथ्र्यो । त्यसैले रमेशनाथ बीपीलाई पुस्तक पठाउनुअघि उनलाई रुचिकर पुस्तक कुन–कुन हुन् सक्छन् भनेर आफैं पढ्थे । आफूलाई मन परे बीपीलाई पनि मन पर्छ भन्ने सोचेर पुस्तक पठाउँथे । त्यही किताब पठाउने बहानामा बीपी र रमेशबीच गोप्य रूपमा चिठी आदानप्रदान भएको थियो ।

रमेशनाथ पाण्डेसँग नरेश फुयाँलले गरेको कुराकानीमा आधारित

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २०, २०७७  ०८:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC