मलाई पूर्ण मोक्ष चाहिएको छ
मलाई पूर्ण मोक्ष चाहिएको छ
मलाई परिनिर्वाण चाहिएको छ
ज्ञान, ध्यान, अनि समाधीस्तताको पराकाष्ठा गरिसकेँ
अब मलाई विकराल शून्यभित्रको
प्रखर त्राण चाहिएको छ
ज्ञानी बनेर हेरेँ, तर ज्ञान पाइनँ
ध्यानी बनेर हेरें तर महात्मा बन्न सकिनँ
उत्कट अभिलाषाको द्वन्द्वभित्र आहत हुँदै
जीवनचक्रको मर्म बुझ्ने आँट गरिनँ
आफूलाई हेरें, अरूलाई पनि हेरेँ
दिव्यदृष्टिले देखाएको अतिरञ्जना पनि देखेँ
मानिस मरेको देखेँ, मानिस बाँचेको देखेँ
धेरैलाई त मैले बाँचेर पनि मरेको देखेँ
यो रनभुल्लताको बाक्लो डढेलोभित्र मैले
मेरा मान्यताका विशाल महलहरू
गल्र्यामगुर्लुम भएको देखेँ
आज मैले पहिले कहिल्यै नदेखेको दृश्य देखेँ
मरेको मानिसले आफ्नो लाश आफैंले बोकेर हिँडेको देखेँ
नदीको किनारमा अर्थी बिसाई
आफैंले बनाएको चितामा
आफैंले आफूलाई दागबत्ती दिएको देखेँ
जलेर भष्म हुनासाथ उसको आत्मा
आकाशतिर नलागेर
त्यही भष्ममैं
विलीन भएको देखेँ ।
० ० ०
झंझावात र कोरोना
झंझावातको उपद्रो हुने यस सहरमा
जीवनचक्र पनि लट्टुजस्तै घुमिरहेछ
सरसर गरी धड्याम धुडुम आवाजका साथ
अन्धकारको राक्षस झुमिरहेछ
गाउँका गाउँ अनि सहरका सहर
यस झंझावातबाट निर्घात चुटिएर
झिक्राहरूको समुद्र बनेका छन्
त्यस समुद्रका उर्लंदा छालहरूमाथि
मानिसका लाशहरू बगेका छन्
बगेका लाशहरूमाथि अपूर्ण आशा अनि आकांक्षाका
कात्रोहरू ओढाइएका छन्
जिन्दगीभरको आर्जन अनि उपलब्धि
तिनै झिक्राहरूको चितामा सजिएका छन्
जिन्दगीको रंगमञ्चको अर्को ‘स्टेज’मा
अर्कै संहारको साम्राज्य छ
दिन दुईगुना रात चौगुना गर्दै
नरसंहारको हुन्डरी चर्कंदो छ
सायद अर्कै ग्रहबाट अवतरित एउटा एलिएन जीव
आज मनुष्यको रक्तपिपासु बनेको छ
आज जस्तो मानिस इतिहासमा सायद
कहिल्यै भयभीत भएको छैन
कैयन् महामारी आए, उपद्रो गरे अनि लुसुक्क गए
योजस्तो अजर अमर अर्को देखेको हैन
कोरोना कहरको के कुरा गर्नु
मानिसको जीवनशैली नै बदलिएको छ
आजसम्म देखे–जानेका सबै सामाजिक क्रियाकलाप
छ फिटको दूरीमा साँघुरिएको छ
एकातिर रूखले र घरले थिचिएर
ज्वारभाटा र बाढीले बढारिएर
अर्कोतिर कोरोनाका किटाणुले
फोक्सो र कलेजो लुछिएर
मानिस आफ्नो वर्चस्व धुँइपत्तालले खोजिरहेछ
आज मित्र मित्रबाट टाढा भागिरहेछन्
आज परिवार सबैतिरबाट आफ्नै घरमा अलग्गिएका छन्
आज सहरका फराकिला बाटाहरूमा मानिस र गाडी होइन
कोरोनाका लस्कर हिँडिरहेका छन्
कोरोना भन वा झंझावात भन
आतङ्क दुवैले मच्चाएका छन्
आफूलाई सर्वशक्तिमान ठान्ने मानिसका ह्याकुलाहरू
विवशता र निरीहताको जालोमा जकडिएका छन् ।
(कलेज पार्क, मेरिल्यान्ड)