मानिसले जीवनमा के जान्नुपर्छ, के पर्दैन भन्ने कुनै सीमा छैन । आज म हरेक मानिसको जीवनमा आवश्यक पर्ने शिष्टाचारका बारेमा कलम चलाउँदैछु ।
स्वागत र बिदाइ
संभव भएसम्म हरेक भेटमा आउने पाहुनालाई उचित ढंगले स्वागत र बिदा गर्नुपर्छ । समय लिएर कुनै मानिस भेट्न आएको छ भने सो समयमा तपाईँ पाहुनाकै प्रतीक्षामा रहेको हाउभाउ (बडी ल्याङ्वेज) ले बताउनुपर्छ । सरकारी कर्मचारीले विदेशी पाहुना आउने बखत भिड जम्मा पारेर छलफल गरिरहेको, खाजा खाइरहेको वा शौचालय गएको हुनु हुँदैन । त्यसो भयो भने कूटनीतिक अर्थ पाहुनाको उपेक्षा गरेको लाग्नसक्छ ।
समय नलिई आएका पाहुनासँग एक्कासि भेट हुँदा उचित सत्कार गर्न नसकिएला, तर यस्को क्षतिपूर्ति बिदाइमा उठेर अभिवादनसहित बिदा गरेर गर्नसकिन्छ । पाहुनाको हैसियतअनुसार ढोकासम्म पुर्याउने, लिफ्टसम्म पुर्याउने वा मोटरसम्म पुर्याउने गरिन्छ । उच्च महत्त्व दिनुपर्ने कूटनीतिक पाहुना र नजिकका आफन्तलाई विमानस्थलमै स्वागत र बिदा गर्न पुगिन्छ । यस्ले आपसी सम्बन्ध सुदृढ तुल्याउन मद्दत गर्छ ।
आफूलाई झोँक नै चले पनि, उचित नलागे पनि, रिस उठे पनि आफ्नो घर वा कार्यालयमा भेट्न आएका मनिसले दुर्व्यवहारको अनुभव गर्ने गरी कुनै पनि प्रकारको गलत व्यवहार गर्नु ठूलो गल्ती मनिन्छ ।
पोसाक मर्यादा
सामान्यतः दैनिक कामकाजमा आफूसँग भएको र आफूलाई मन पर्ने पोसाक नै लगाइन्छ । तथापि, कतिपय अवसरमा कुन पोसाक लगाउने भनेर अलमलिनु स्वाभाविकै हो ।
कुनै कार्यक्रममा जानुपर्दा औपचारिक पोसाक लगाउने कि अनौपचारिक भन्ने दुबिधा भए औपचारिक पोसाक लगाउनु उचित हुन्छ । महिलाको औपचारिक पोसाकमा खासै समस्या पर्दैन । पुरुषले स्थिति हेरर औपचारिक पोसाकको टाई खोलेर कोटको गोजीमा हाले पोसाक अनौपचारिक भैहाल्छ ।
सामान्य चल्तीको उपयुक्त पोसाक टाई र कोट नै हो । कामकाजको सामान्य पोसाकमा टाईरहित गतिलो पाइन्ट कमेज लगाउने भन्ने बुझिन्छ । अर्ध औपचारिक भनेको कोट, टाई र पाइन्ट हो । औपचारिक वा सुट भन्नाले कालो वा नीलो रंगको सुट, सादा सर्ट, सादा टाई, कालो रंगको चुच्चो नपरेको छालाको जुत्ता भन्ने बुझिन्छ । सामान्यतः खैरो रंगको सुट भने वर्जित मानिन्छ । यथाथस्मा सर्ट, कोट, पाइन्ट र सर्ट महिला पुरुष दुवैको पोसाक हो ।
टाई लगाउने विधि
टाई धैरै लामो र छोटो हुनेगरी लगाउनु हुँदैन । सामान्यतः कम्मरपेटीको बक्रममा टच हुने गरी टाई लगाउनु उत्तम मानिन्छ । सादा रंगको सर्टमा धर्के टाई र धर्के सर्टमा सादा टाई लगाउने चलन छ । विशेष समारोहमा टाईपिन पनि प्रयोग गरिन्छ । टाईसँग म्याच गर्ने रुमाल पनि कोटको माथिल्लो खल्तीमा हालिन्छ । टाई नभएमा स्कार्पको प्रयोगले पनि टाईको पुरताल गर्छ ।
‘ह्वाइट टाई डिनर’ भनेको अति औपचारिक रात्रिभोजको कार्यक्रम हो । यसैगरी, रातीको समयमा अनौपचारिकरुपमा आयोजना गरिने कार्यक्रमलाई ‘ब्ल्याक टाई डिनर’ पनि भनिन्छ । धैरै मानिसलाई टाईको गाँठो (नट) बनाउन आउँदैन । तिनले नट नबिगारी टाई लाउने र फुकाल्ने गर्नुपर्छ । हाल बजारमा नट पारेको टाई पनि पाइन्छ ।
सामान्यतः टाई लगाएपछि कोट लगाउनुपर्छ । टाईलाई खुकुलो पार्नुका साथै सर्टको टांक खोलेर हिँड्नु सही पोसाक मर्यादा होइन । टाई महिला पुरुष दुबैको पोसाक हो । सामान्यतः टाईले मानिसको व्यक्तित्व बढाउनु पर्छ, नकि हासोको पात्र ।
जुत्ता, मोजा, पेटी (बेल्ट) टाँक
औपचारिक कार्यक्रममा तुना बाँध्ने जुत्ता प्रयोग गर्ने चलन छ । सामान्यतः जुत्ता, मोजा र कम्मरपेटीको रंग कालो हुनु बेस हुन्छ । दुईवटा टाँक भएको कोटमा उभिएर कुराकानी गर्दा माथिल्लो टांक लगाउनुपर्छ, तल्लो टाक लगाउनु हुँदैन । तीनवटा टाँक भएको कोटमा उठेर कुराकानी गर्दा बीचको टाँक लगाउनुपर्छ । यस अवस्थामा माथिल्लो टाँक पनि लगाउन सकिन्छ तर तल्लो टाँक भने लगाउनु हुँदैन ।
मेचमा बस्दा कोटका सबै टाँक खोल्नुपर्छ । यसैबीच उठेर कुराकानी गर्नुपर्यो भने पुनः कोटको माथिको वा बीचको टाँक लगाउनुपर्छ ।
मोबाइल नचलाउने
नेपालीमा एउटा चलनचल्तीको भनाइ छ – नपाउनेले केरा पायो, बोक्रासमेत खायो । नेपालीले ठाउँ कुठाउँ मोबाइल फोन प्रयोग गरेर अचाक्ली गर्न थालेका छन् । औपचारिक बैठकमा पालै पालो मोबाइलको घन्टी बज्ने, ठूलो स्वरले सबैले सुन्ने गरी तीन न तेह्रको कुरा गर्ने, झुक्किएर आएको फोनवालासँग पनि विवाद गरेर लोक हसाउने गर्न नेपाली खप्पिस भएका छन् ।
सामान्यतः औपचारिक भेटघाट, छलफल र विदेशीसँगको वार्तामा ३।४ वटा मोबाइल सेट प्रदर्शन गर्ने प्रयोजनले आफ्नो टेबुल अगाडि राख्नुलाई साहै नराम्रो मानिन्छ ।
मोबाइल फोन व्यक्तिगत उपकरण हो । यसलाई सार्वजनिक स्थलमा प्रयोग गर्दा होस् पुर्याउनु पर्छ । सामान्यतः मानिसहरुको बीचमा फोनमा कुरा गर्नु अमर्यादित मानिन्छ । यसर्थ, साह्रै जरुरी परे उपस्थित व्यक्तिहरुसँग अनुमति मागेर अलगै ठाउँमा गएर छोटो कुराकानी गरेर फर्किनुपर्छ ।
छड्के कुराकानी र नेपालीमा कुराकानी
अधिकांश नेपालीहरु औपचारिक कार्यक्रममा राम्रैसँग छड्के वार्तालाप गर्ने गर्छन् । मैले कैयौं समारोहमा नजिकै बस्नेले कोट्याई कोट्याई गफ गर्न खोजेको अनुभव गरेको छु । कैयौं समयमा स्वयं मंचमा रहेका बखत पनि बातचित गर्न खोज्नेले हैरान पारेको कटुअनुभव गरेको छु । यसरी समारोहमा वक्ताको कुरा नसुनेर कुराकानी गर्नु भनेको वक्ताको अपमान गर्नु हो ।
अर्को, विदेशीसँग वार्ता भइरहदा कैयौं नेपालीहरु नेपाली भाषामा कुरा गर्न सुरु गर्छन् । सो बखत विदेशीले नेपाली भाषा नबुझे पनि हाउभाउ बुझिरहेको हुन्छ । यो अति नै गैरकूटनीतिक र अशिष्ट व्यवहार हो । कुनै बखत असजिलो भएमा वार्तामा ब्रेक लिन सकिन्छ । विदेशी सहकर्र्मीसँग अनुमति लिएर हामी यस कुरामा आपसमा छलफल परामर्श गरेर जबाफ दिन्छौँ भन्न सकिन्छ ।
विदेशीलाई बीचमा राखेर कुराकानी भइरहेका बखत दुई नेपालीबीच पनि अंग्रेजीमै कुराकानी गर्नु शिष्टाचारको मर्यादा हो । कसैलाई पनि असजिलो अवस्थामा राखेर कुराकानी गर्नु हुदैन भन्ने हेक्का राख्नुपर्छ ।
फोटो खिच्न हुन्न
औपचारिक कार्यक्रममा सामान्यतः अनुमति बेगर फोटो खिच्नु राम्रो मानिन्न । औपचारिक समारोहमा अनुमति पाएकाले खिचेका फोटो हासिल गर्न सकिने हुन्छ । फोटो अर्काको व्यक्तिगत विषय भएकाले पनि अनुमति बेगर खिच्न नहुने मानिन्छ । सामान्यतः सार्वजनिक बस, रेल, हवाईजहाज, पार्कमा आफ्नो र आफ्नो समूहको फोटो खिच्दा अरुको फोटो नआउने र अरुलाई बाधा पर्न नहुने कुराको हेक्का गर्नुपर्छ ।
सामान्यतः हामीले मान गर्नुपर्ने व्यक्ति र विदेशीसँग फोटो खिच्नुपूर्व अनुमति माग्नुपर्छ । अनुमति लिएर खिचेको फोटो पनि अवसर मिलेमा देखाउनुपर्छ । जसरी हामीलाई अर्कोसँग बसेर फोटो खिच्ने रहर हुन्छ उनलाई पनि कस्तो फोटो आएछ भनेर हेर्ने मन हुनसक्छ । साथै फोटोमा कुनै कमी कमजोरी भएकोरहेछ भने उनले यो फोटो मेटेर अर्को फोटो खिचौँ भन्न सक्छन् ।
उठाइ बसाइ र पेय (ड्रिंक्स)को मर्यादा
सामान्यतः औपचारिक कार्यक्रमको सिलसिलामा पुगी उभिएर कुराकानी गर्दा सावधान अवस्थामा रहने गरिन्छ । यसलाई ‘अपराईट पोजिसन’ पनि भनिन्छ । यस्तो बखत औपचारिक अनौपचारिक कुराकानी हुन्छ तर आफूले मर्यादा भुल्नु हुँदैन । यसैगरी, सोफामा मेचमा बस्दा पनि भद्र किसिमले बस्नुपर्छ । ढल्किएर, तन्किएर, उपरखुट्टी लगाएर, सुतेको वा निदाएकोजस्तो देखिने गरी वा कसैसँग ढेप्पिएर बस्नु हुँदैन ।
साथै, मेच र सोफाको छेउमा टुसुक्क बस्नु पनि हुँदैन । मज्जाले आरामले भलादमी देखिइने गरी हँसिलो र प्रशन्न मुद्रामा बस्नु आफ्नो व्यक्तित्वको परिचय दिनु हो । खाना खानु पूर्व पेय पदार्थ (ड्रिंक्स) दिइने हुँदा आफू अनुकूल लिन सकिन्छ । सामान्यतः रात्रिभोजमा सुरुमा ड्रिंक्स दिएको अबस्थामा डाइनिङ टेबुलमा ह्विस्की दिइँदैन । यस्को मतलब हार्ड ड्रिंक्ससहित रात्रिडिनर लिनु हुँदैन भन्ने हो ।
औपचारिक डिनरमा माछा वा कुखुराजस्ता सेतो मासु (ह्वाइट मिट)सँग ह्वाइट वाइन र खसीको मासुलगायत रातो मासुसँग रेड वाइन दिइन्छ । यस्तो अवस्थामा वाइन खाने वा नखाने सुविधा हुन्छ तर छान्न पाइँदैन । सामान्यतः वाइन कोठाको तापक्रममा, सेम्पेन कोल्डमा र सेरी चिल्डमा सर्व गरिन्छ । यसर्थ, आप्mनो घाँटीको स्थिति के छ सो विचार गरी कुन पेय पदार्थ लिने वा नलिने निर्णय गर्नुपर्छ । तातो, चिसो ल्याऊ भन्नु हुँदैन ।
बेंक्वेटमा काँटा चम्चाको प्रयोग
बेंक्वेट औपचारिक भोज भन्नाले सिटिङ लन्च वा डिनर हुन्छ । यस्मा जति प्रकारका खाना आउने हो, सोहीअनुसार पहिल्यै काँटा चम्चा मिलाएर राखिएको हुन्छ । पहिलो खानाका लागि सबैभन्दा बाहिरी भागमा राखिएको काटा चम्चाको प्रयोग गर्नुपर्छ । सो खाना सकिएपछि ती काटा चम्चा सोहि प्लेटमा राखी दिनुपर्छ । त्यसो भए प्लेटसँगै जुठो काँटाचम्चा पनि माज्ने ठाउँतिर जान्छ ।
देब्रे हातले काटा र दाहिने हातले चक्कु प्रयोग गर्नुपर्छ । सुपको चम्चा दाहिने हातले नै प्रयोग गरिन्छ । सामान्यतः यस्तो भोजमा एकैपटक सबैलाई खाना सर्व गरिन्छ र एकैपटक सबै प्लेट उठाइन्छ । यसर्थ, आफूले गफ गरेर खान नभ्याएको भए पनि प्लेट उठाउन आउनेलाई म खाँदैछु, अहिले प्लेट नउठाऊ भन्नु हुँदैन ।
यस्तो औपचारिक भोजमा खाना अगाडि आउनेबित्तिकै खानु हुँदैन । कुनै घोषणा हुन सक्छ । यस्तो नभए पनि मुख्य व्यक्तिले खान थालेपछि मात्रै खानुपर्छ ।
देव्रेतिरको छेउमा राखिएको सानो प्लेट आफ्नो हो, दाहिनेतिरको प्लेट अर्काको हो भनी जान्नुपर्छ । पानीको गिलास उठाउँदा पनि यस्तै सावधानी अपनाउनुपर्छ । साह्रै दुबिधा भएमा पहिले आफुले प्रयोग नगर्ने, सँगै बसेको व्यक्तिले प्रयोग गरेपछि बचेको प्लेट वा पानीको गिलास प्रयोग गर्दा गल्ती भए पनि आफ्नो नभएर अर्काकै गल्ती देखिइनेछ ।
टोष्ट प्रस्तावका लागि गिलासमा स्याम्पियन हुनुपर्छ । हिजोआज वाइनको गिलास पनि प्रयोग गरिन्छ । आफू यी वस्तु उपयोग नगर्ने भए स्याम्पियन वा वाइनको गिलासमा पानी ठिक्क पारेर तयारी अवस्थामा रहनुपर्छ । रित्तो गिलास उठाउनु हुँदैन । उठाएको गिलास ओठमा नपुर्याई पुनः टेबुलमा राख्नु हुँदैन ।
वाइन जस्ता पेय पदार्थ चिसो बनाएर सर्व गरिने हुँदा गिलासको तल्लो भागमा रहेको डण्डीमा समाउनुपर्छ ।
बेंक्वेटमा प्रत्येक पटकको प्लेटमा उपयुक्त परिमाणमा खानेकुरा आउँछ, आफूले खाईनसके फाल्न सकिन्छ तर पुगेन थपिदेऊ भन्नु हुँदैन । यस्ता कार्यक्रममा जाँदा अर्कालाई असर नपर्ने गरी हल्कामात्रै परफ्युम प्रयोग गर्नुपर्छ ।
खानाको मेनु र धन्यवादपत्र
सामान्यतः ठूला भोजमा दुई प्रकारले मेनु सर्व हुन्छ । आला कार्टे भनेको आफूले छनोट गरेको खाना आउने भन्ने बुझिन्छ । टेबुल डिहोटेमा आयोजकले पहिल्यै ठीक गरेको खाना सर्व हुन्छ भनी बुभ्mनुपर्छ । फुड तथा वेभरेज सर्भिसमा प्री प्लेट सर्भिस, प्लेट टु प्लेट सर्भिस, बफे सर्भिस, काउन्टर सर्भिस, फेमली सर्भिस, गार्डेन सर्भिस जस्ता शब्दको प्रयोग हुन्छ ।
अन्त्यमा, दुईवटा अनौठा प्रचलनको चर्चा गरौँ । पहिलो, सामान्यतः औपचारिक कार्यक्रममा मेनु फ्रेन्च भाषामा लेख्ने चलन धेरै छ । दोस्रो, कुनै एक राजदूतका पति पत्नीले अर्को राजदूतका पति पत्नीलाई लन्च वा डिनरका लागि आमन्त्रण गरे भने भोलिपल्ट पाहुना लाग्न जाने राजदूतकी पत्नीले धन्यवादपत्र पठाउने प्रचलन छ ।
यसरी महिला पुरुष, पति पत्नी सबैले समानरुपमा औपचारिक भोजभतेरको विश्वव्यापी मन्यताको मर्यादा बुझ्नु जरुरी छ । यस्ता कुरा चित्त नबुझ्न पनि सक्छ तर यो पनि जीवनको एउटा पाटो हो ।