site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रजातान्त्रिक जनमतको पुनःपरीक्षण

नेपालमा प्रजातान्त्रिक जनमत पुनःपरीक्षणको दोभानमा पुगेको छ । विश्वका केही शक्तिशाली मुलुकमा सत्तास्वार्थ प्रेरित अतिराष्ट्रवादी आड लिएको नेतृत्वका कारण प्रजातान्त्रिक मान्यताप्रति बेवस्ता बढेको समीक्षा भइरहेछ । यतिबेलाको अनुदार राष्ट्रवादी राजनीतिक परिवेशले विश्वदृष्टि गुमाउँदै छ । नेपाल पनि यही व्याधिमा छ तर यिनीहरूसँग प्रजातन्त्रको विकल्प भने देखिँदैन ।

राजनीतिक खेलाडीको प्रवृत्ति र व्यवहारले नैराश्य बढेको छ तर विश्व जनमतमा प्रजातन्त्रप्रति आस्थावानको अत्यधिक समर्थनजस्तै नेपालमा पनि प्रजातन्त्रवादीको बाहुल्य छ । नेपालको संघर्ष गाथाले पुष्टि गरेको यो कुरा वर्तमानको पनि सत्य हो । बारम्बार निष्ठा प्रमाणित गरिसकेको नेपालको प्रजातान्त्रिक जनमत पुनःपरीक्षणको लागि संघर्षमा आउनुपर्ने अवस्था भने देखिँदैछ ।     

कारोना महाव्याधिको बेला जर्मनीमा लगाइएको बन्दाबन्दीको विरोधमा हालै व्यापक प्रदर्शन भएको छ । इटालीमा पनि यस्तै भयो । महिनाअघि अमेरिका र बेलायतमा पनि बन्दाबन्दीको मात्रै होइन मास्क प्रयोग गर्नुपर्ने सर्तको समेत व्यापक विरोध भयो । यी सबै विरोधको तात्पर्य आफूहरूको स्वतन्त्रता बाधित गर्ने बन्दाबन्दी वा निषेधाज्ञा मान्दैनौ भन्ने हो । 

Prabhu Bank
Agni Group
NIC Asia

जीवन जोखिमको बेला पनि स्वतन्त्रताप्रतिको यस्तो प्रतिबद्धता साच्चै प्रेरणादायी छ । कसैकसैले पश्चिम, युरोपमा वैयक्तिक स्वतन्त्रताप्रतिको व्यक्त मोहलाई ‘बहुलठ्ठी’ पारा भनी टिप्पणी समेत गरेका छन् । टिप्पणीका कोण हुन्छन् र ती आफ्नो रुचिअनुसार समाइन्छन् । स्वतन्त्रताको मूल्यलाई उनीहरूले कसरी लिएका रहेछन् भन्ने अद्भूत उदाहरण चाहिँ हो यो । स्वतन्त्रताको लागि नेपालमा पनि आन्दोलन भएको इतिहास छ । 

युरोपलगायत पश्चिममा व्यक्त अभिमतले सतहमा ल्याइदिएको प्रजातन्त्रका स्थापित स्तम्भहरूले थप सामयिक विमर्श खोजेजस्तो छ । यो काम उपल्लो अध्येता वर्गबाट सम्भव छ र केही सूत्र यहाँ समावेश हुनसक्छन् । ‘नागरिक पहिलो’ (पिपुल्स वा सिभिलियन् फस्ट) मान्यतालाई चिन्तनको केन्द्रीय तत्व मान्ने प्रजातन्त्रको पहिलो बल जनमत नै हो भन्ने तथ्य ती घटनाले पुनर्पुष्टि गरेका छन् । 

Global Ime bank

नागरिक स्वतन्त्रता लक्षित प्रजातन्त्रका अरू आधार विधि र संविधानबाट निःसृत वा व्यवस्थित हुन्छन् । प्रजातन्त्र प्रतिकूल संविधान दुनियाँका मुलुक र यहाँ पनि बनेका थिए, छन् र पछि पनि बनाइएलान् । नागरिक लक्षित संविधान चाहिँ प्रजातन्त्रको स्तम्भ हो । प्रश्न संविधान नागरिक लक्षित कि सत्ता केन्द्रित भन्ने हो । 

सांस्कृतिक विविधता भएको नेपालजस्तो मुलुकमा बहुल मान्यतासहितको बहुदलीय संवैधानिक प्रणालीमा राजनीतिक दलहरू प्रजातन्त्रका आधार हुन् । यसमा दलहरूको इमानी प्रतिबद्धता भने अपरिहार्य हुन्छ । निष्पक्ष आवधिक निर्वाचनमा प्रतिविम्बित हुने यस्ता आधारहरूले वैचारिक, चारित्रिक र नैतिक पक्षको साथ खोज्नु स्वाभाविक हो । निर्वाचनबाट बन्ने सरकारको कार्यकारी भूमिकामा थप प्रतिबद्धता हुनैपर्छ । 

अर्थात्, जनमत, विधिविधान र दलहरू सम्बल मानिने प्रजातन्त्रमा आवधिक निर्वाचन परिणाम पनि हो । निर्वाचनमा मात्रै होइन कि प्रजातान्त्रिक मत अनेक प्रकारले प्रकट गरिन्छन् र युरोप, पश्चिमको यस्तो बेलाको आग्रह पनि यस्तै हो । नेपालमा आवधिक निर्वाचन त गरिएला नै त्यसै बखत वा अघि नै पनि यहाँको प्रजातान्त्रिक जनमत पुनः परीक्षणमा उत्रनुपर्ने अवस्था भने स्पष्ट भएको छ ।         

विगत परिवेश वा प्रतिबद्धता फेरिएको छ । प्रजातान्त्रिक चेतना र आन्दोलनलाई नेतृत्व यहाँ नेपाली कांगे्रसले दिए पनि तीन वर्षअघिसम्म नेपालका सबै राजनीतिक शक्ति लोकतान्त्रिक धारमा आएको धारणा बनेको थियो । लोकतन्त्रका लागि मूलधारका सबै राजनीतिक दल मिलेर हिँडेको भान पनि परेको थियो । प्रजातन्त्रका लागि अब संघर्ष टुंगिएको मान्यता पनि बलवान हुँदैथियो । तर, अहिले त्यस्तो देखिएन ।

मनमोहन अधिकारीले भनेजस्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमालेको नाममा ‘कम्युनिस्ट, ट्रेडमार्क’ मात्र हो भन्ने अरूलाई पनि लाग्दैथियो । गत निर्वाचनसँगै एकआपसमा विलय भएको एमाले र नेकपा माओवादी केन्द्रले अत्यधिक शक्ति आर्जन गरे । विलयनको परिणामले बनेको नेकपा र कम्युनिस्ट नेतृत्वको सरकारको कार्यशैलीले आन्तरिक प्रजातान्त्रिक राजनीति र बाह्य नीतिमा समेत जोखिमको छाया परेको छ । 

लोकतन्त्रप्रतिको वचनबद्धता सहित हत्या, हिंसा छोडेर शान्ति मार्गमा आएको भनिएको नेपाल कम्युनिस्ट पार्टी माओवादी ‘केन्द्र’ लाई पनि क्रमशः लोकतान्त्रिक अभ्यासमा खरो उत्रने ‘शंकाको सुविधा’ दिइएको थियो । जनताको बहुदलीय जनवाद (जबज) को मान्यताका कारण एमाले काँग्रेसपछिको प्रजातान्त्रिक शक्ति मानिदै थियो । एमालेले ‘जबज’ छोड्यो र माओवादी केन्द्रको अवसरवाद मिलेर नेकपा बनेपछि आशंका बढ्ने कृत्य धेरै भएका छन् ।   

मूलधारका राजनीतिक दल मिलेर ल्याइएको लोकतन्त्र र संविधानको रक्षा यिनै दलले गर्ने भरोसा नागरिकले लिएका थिए । यी कम्युनिस्ट दल मिली नेकपा बनेर नयाँ जनवादी भएपछि भने फेरिएको शैलीले यिनीहरू प्रजातन्त्रको सिकारमा उद्यत भएको आशंका बढाइ दिएको छ । यही कारण प्रजातान्त्रिक जनमत चुनौतीतर्फ र पुनः प्रकट हुनुपर्ने परीक्षणमा धकेलिएको हो । 

मधेस केन्द्रित दल अहिलेको जनता समाजवादी पार्टी (जसपा) लोकतन्त्रको पक्षमा देखिए पनि कम्युनिस्टको केही प्रस्तावमा सन्निकट देखिन्छ । जस्तै, एकाधिकारवादी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्ने जसपाको समेत मान्यता सार्वजनिक भएको छ । कम्युनिस्टसँग मिल्ने यस्तो मान्यताले संसदीय लोकतन्त्रलाई खण्डित गर्छ र नेपाली राजनीतिमा छिमेकी वा शक्तिराष्ट्रको प्रत्यक्ष कटुस्पर्धा भित्र्याउने छ । 

केही अंश आफ्नै गलत कारण पनि होलान्, अर्कोतर्फ गत राजशाही र अहिले कम्युनिस्टले मधेस केन्द्रित दलको देशभक्तिमाथि आशंक प्रक्षेपित गरिदिएका कारण ऊ राष्ट्रिय भावधारामा एकाकार समावेश हुन गाह्रो परेको हो । यसले भावनात्मक राष्ट्रिय शक्ति आर्जन गर्न बाँकी नै छ, मिहिनेत गर्नुपर्नेछ, गर्दैछ । यस्ता कमीले तराइमधेस, हिमाल र पहाडको प्रजातान्त्रिक जनमतलाई एकाकार गति दिने शक्ति वा दल भिन्न भिन्न अवस्थामा छन् ।           

कांग्रेस प्रजातन्त्रवादी थियो र छ पनि । प्रजातान्त्रिक जनमतलाई प्रबद्र्धन र रक्षा गर्न चुकेर अहिलेको काँग्रेस नेतृत्व पार्टीभित्र मात्र सीमित भएको छ । गतिहीनताले नागरिकसँग संवाद टुटेको छ । यस कारण संगठित प्रयत्नको कमीले प्रजातान्त्रिक जनमतमाथि चुनौती थपिएको हो । व्यक्ति, व्यक्ति प्रतिबद्ध व्यापक प्रजातान्त्रिक जनमत असंगठित छ र संगठित शक्तिले एकीकृत गति दिने शृंंखला पनि कमजोर भएको छ । 

यसबीच दलभन्दा भिन्न देखिने तर प्रजातन्त्रको नाम र आवरणमा स्थापना गरिएका संस्थाहरू खासै भरपर्दा छैनन् ।  तिनले जनमतलाई राजनीतिक दलले जस्तो विशाल परिचालन गर्ने हैसियत पनि बनाइ सकेका छैनन् । त्यस्तो सामाजिक हैसियत बनाउन यस्ता संस्थाले विश्वासको लामो यात्रा तय गर्नुपर्नेछ तर वैचारिक बहसका लागि भने यी संस्था उपयोगी छन् । दलहरूले यस्ता संस्थाको सुनुवाइ गर्ने उदारता चाहिं संकुचित छ र पनि दलहरूको ठाउँ यस्ता संस्थाले लिन सहज छैन । 

थप कम्युनिस्ट सरकारको विधिविपरीतको कार्यशैलीले प्रजातान्त्रिक जनमतलाई चुनौती आएको हो । राज्यका सबै स्वायत्त निकायलाई सत्ताको बलमा दमित पार्ने समेत  राज्यस्रोतको ब्रह्मलुट वा नीति र आर्थिक भ्रष्टाचारलाई सरकारले संस्थागत बनाएको छ । अनेक हथकन्डा अपनाएर भ्रष्टाचार र मनपरीविरुद्ध अरू दललाई बोल्न नसक्ने बनाइदिएको नेकपा सरकारले पार्टीभित्र ‘भागबण्डा’को झगडा झिकेरे जनताका यावत समस्या ओझेलमा पारिदिएको वा किनारीकृत गरिदिएको छ ।  

लोकतान्त्रिक संविधानविरुद्ध सरकारी षड्यन्त्रका अनेकौं विधेयक र ऐन,कानून यो सरकारले बनाएको छ । खुला नागरिक अधिकार र आलोचनात्मक विवेकप्रति प्रधानमन्त्रीकै नेतृत्वमा सरकारले प्रहार तीव्र गरेको छ । कोरोना कहरले थलिएका सञ्चारमाध्यमप्रति सरकारी वक्रदृष्टि, उपेक्षा र घृणा लोकतन्त्र सुहाउँदो हुँदैहोइन । प्रजातान्त्रिक ठानिदै गएको सरकारी दलले लिन थालेको कम्युनिस्ट प्रशिक्षणको उपादेयता के ? यो प्रजातन्त्रमाथिको धाबा हो भन्ने स्पष्ट छ । 

अनगिन्ती यी र यस्ता उदाहरणले लोकतान्त्रिक जनमतलाई असहाय बनाइएको छ र पनि कुनै आधारमा चुनौती र पुनःपरीक्षणको सामना गर्न प्रजातान्त्रिक जनमत तत्पर हुनुपर्ने संकेत देखिँदै छ । आवधिक निर्वाचन भए त्यसमा वा नभए यसअघि र पछि नै पनि नागरिकतन्त्र बचाउने तत्परताको खाँचो गहिरिँदै छ ।   
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १८, २०७७  १५:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC