site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
गुटमा हराएको कांग्रेस

नेपाली कांग्रेसले २००७ सालको सशस्त्र जनक्रान्तिद्वारा नेपालमा प्रजातन्त्र ल्याएको हो । त्यसैले नेपाली कांग्रेस नेपाली प्रजातन्त्रको जननी पार्टी हो । तर, जननीले नै प्रजातन्त्र (पछि लोकतन्त्र भनिएको) को अपेक्षाकृत रक्षा गर्न नसक्दा लोकतान्त्रिक हक, अधिकार अपहरित हुँदैगएको छ । हुँदाहुँदै लोकतन्त्रकै विरुद्धमा अङ्कुराएका कम्युनिस्टहरु अहिले बहुमतका साथ सत्तामा छन् । आधुनिक नेपाललाई पल्लिवत, पुष्पित गरेको ऐतिहासिक पार्टी नेपाली कांग्रेस भने कमजोर प्रतिपक्षीय भूमिकामा खुम्चिन पुगेको छ । 

नेपाली जनतालाई रैतीबाट नागरिक तुल्याउने क्रान्तिका नायक बीपी कोइराला नेपालको प्रजातान्त्रिक समाजवादी आन्दोलनका प्रवर्तक पनि हुन् । सामन्ती शासनको उन्मूलन गर्ने बीपीले नेपाललाई भारतीय उपनिवेशवादी हस्तक्षेपबाट समेत बचाएका थिए । प्रजातन्त्रकै खातिर राणाकुलमा जन्मेका सुवर्ण शम्शेरसमेत जहानिया शासनको अन्त्यको त्र    mान्तिमा मियो बन्न पुगे । राणा दरबारका काजीका सन्तान गणेशमान सिंह लोकतन्त्रको संघर्षमा सधैँ अगिल्लो पंक्तिमा रहे । विसं १९९७ देखि राजनीतिक नेतृत्व गर्दैआएका सिंह २०४६ सालको जनआन्दोलनको सर्वोच्च कमान्डर बने । जनताले लौहपुरुष भन्ने गरेका सिंहले आफ्नो नेतृत्वमा आन्दोलन सफल भएपछि प्रधानमन्त्रीको पद अस्वीकार गरेर त्याग र बलिदानको उदाहरण पेस गरे । द्रव्यमोहबाट मुक्त कृष्णप्रसाद भट्टराईले प्रधानमन्त्री निवासबाट छाता र सुराईका साथ बाहिरिएर जीवनभर आफ्नो निष्ठा बचाए । गिरीजाप्रसाद कोइरालाले कांग्रेसका कार्यकर्ता छानीछानी मार्ने लोकतन्त्रविरुद्ध हतियार उठाएका हिंसाचारी विद्रोही माओवादीलाई समेत कुनै प्रतिशोध नराखी शान्ति प्रक्रियामा ल्याए । सुशील कोइरलाले २०७२ सालको संविधान जारी गरेर जननिर्वाचित संविधान सभाद्वारा संविधान बनाउने ६५ वर्ष लामो जनचाहना पूरा गरिदिए । 
नेपाली कांग्रेसका लागि प्रतिकूल वातावरण हुँदाहुँदै पनि स्थानीय, प्रदेश र संघको निर्वाचन गरेर शेरबहादुर देउवाले संविधान कार्यन्वयन गराए । 

कांग्रेसका कैयौं होनहार योद्धाले प्रजातन्त्रको लागि बलिदान गरे । अनेकौंले सर्वस्वहरणसहित जेलको चिसो छिडीमा जिन्दगी बिताए । त्यसैले राजनीतिक परिवर्तन र नागरिक अधिकारका लागि बलिदानपूर्ण इतिहास बोकेको नेपाली कांग्रेसको तुलनामा अर्को कुनै पार्टी छैन । तर, समयसँगै हिँड्न नसक्दा नेपाली कांग्रेसको ऐतिहासिक भूमिकालाई आज किनारा लगाउन खोजिएको छ । सडक र संसद् दुवैबाट घेरिएको कांग्रेसका केन्द्रीय नेताहरुको व्यवहार, लेख, रचना र अन्तर्वार्तासमेतले पनि विपक्षलाई भन्दा आफ्नै पार्टीको सर्वनाश गर्न उद्यत देखिन्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यस्तो स्वर्णीम इतिहास बोकेको नेपाली कांग्रेस यतिबेला गुट, उपगुटका ऐजेरुको मारमा परेको छ । जिल्ला तथा वडासम्मका पनि पदाधिकारीले केन्द्रलाई मात्र दोष पन्छाएर आफ्नो अक्षमतालाई ढाकछोप गर्ने प्रवृत्ति बढेर गएको छ । प्रतिपक्ष देख्दै देख्दिन भन्दै कम्युनिस्ट सरकारले राजनीतिक भिडन्तको निम्तो बारम्बर दिइरहेको छ । तर, कांग्रेस आफैँभित्रको भिडन्तबाट बाहिर निस्किन सकिरहेको छैन । बरु, उल्टै सर्पको मुखमा परेको भ्यागुतोजस्तै  आहारको लागि गुट र फुटमा रमाएर बसेको छ । नेपाली कांग्रेसको उदार सोचका कारण विसर्जनको डिलमा पुगेको दक्षिणपन्थी शक्तिको जुर्मुराउन खोजेको छ । पूर्वपञ्चहरुलाई कांग्रेस र कम्युनिस्टले बोकेर पालैपालो प्रधानमन्त्री बनाएका थिए । आज पनि तिनै इतिहासले पन्छाएका पात्र र प्रवृत्तिलाई पार्टीमा भित्र्याउन होड देखिएको छ । 

प्रजातन्त्र आएपछि पार्टीमा सुकिलामुकिलाको प्रभुत्व हुनेछ र त्यसको विरुद्ध इमानदार कार्यकर्ताले फेरि एकपल्ट आन्दोलन गर्नुपर्नेछ भन्ने नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालाको भविष्यवाणी अहिले सही प्रमाणित भइरहेको छ । प्रजातन्त्र त आएको छ तर जनताको जीवन स्तरमा अपेक्षाकृत परिवर्तन भएको छैन । इमानदार, दुःख पाएका कार्यकर्ता पछाडि परेका छन् । प्रजातन्त्रपछिका नवधनाढ्य तथा चैते कांग्रेस एवं अवसरवादी, बिचौलियाले पार्टीलाई क्रमशः कब्जा गर्दै लगेका छन् । कांग्रेसको शिर झुकाउने तिनै अवसरवादी दलालले फेरि कांग्रेसको गर्धनमा तरवार चलाउँदैनन् भन्ने विश्वास गर्न सकिँदैन । त्यसैले इतिहासको निर्मम समीक्षाविना १४ औं महाधिवेशनले पनि सार्थक परिणाम दिन सक्दैन । 

Global Ime bank

अब कस्तो कांग्रेस बनाउने ? चौधौं महाधिवेशनको प्रक्रिया नेपाली कांग्रेसले सुरु गरिसकेको छ । यद्यपि कोभिड— १९ ले महाधिवेशन प्रक्रियालाई अवरुद्ध पनि गरेको छ । आगामी फागुन ७—१४ गते महाधिवेशन गर्ने निर्णय नेपाली कांग्रेसले गरेको छ । यसका लागि बाँकी पार्टी समायोजन र क्रियाशील सदस्यता वितरण साउनभित्र गरिसक्नु पर्नेथियो । चार वर्षको कार्यकाल रहेको नेपाली कांग्रेसको विधानअनुसार असामान्य अवस्थामा १ वर्ष पदावधि थप्न पाउने वैधानिक व्यवस्था यही फागुणमा सकिँदैछ । अब संकटकालीन अवस्थामा थप्न सक्ने ६ महिनाबाहेक अरू वैधानिक व्यवस्था छैन । अर्कातिर, नेपाली कांग्रेसको महाधिवेशन कोरोना महामारीमा निर्भर हुँदैगएको छ ।

जेहोस्, १९९७ सालमा गठन भएको प्रजापरिषद्पछिको देशको सबैभन्दा जेठो पार्टीको महाधिवेशनको चासो र चिन्ता सर्वत्र हुनु स्वभाविकै हो । मूलतः महाधिवेशन पार्टीको अद्यावधिक समीक्षा गर्ने र भावी नीति, योजना तथा कार्यक्रम तर्जुम गर्ने थलो पनि हो । एउटा सफल महाधिवेशनको नीति कार्यक्रमले पार्टीलाई दशकौंपछि सम्म जीवित राख्छ । तर, विचार मन्थन छोडेर भागबण्डामा रमाएजस्तो महाधिवेशनले भने सार्थक परिणाम दिन सक्दैन । 

लोकतन्त्रमा पहरेदार मानिने प्रेसले सरकारका कुकृत्यहरू उदांगो पारेको छ । तर, सरकारका अनियमितता र भ्रष्टाचारको भण्डाफोर गर्ने दायित्वबाट विमुख भएको प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको भूमिकालाई औंल्याउन पनि छोडेको छैन । नेपाली कांग्रेसका नेता भने कम्युनिस्ट सरकारको असंवैधानिक, अलोकतान्त्रिक कार्य तथा अनियमितता र भ्रष्टाचारको भण्डाफोर गर्नेभन्दा पनि पार्टीका असहमत पक्षको तेजोबध गर्ने कार्यमा समय खेर फालिरहेको छ । सभापति असफल तर केन्द्रीय कार्य समिति सफल त हुनसक्दैन । अवश्य पनि जस, अपजसको भार व्यक्तिगतरुपमा सभापतिका भागमा धेरै पर्छ तर केन्द्रीय कार्य समिति पनि समग्रमा पार्टीको असफलताको दोषबाट उन्मुक्त हुँदैन । मौका पाइसकेका नेताको क्षामताको परीक्षण गुट र उपगुटको आधारमा होइन कार्य क्षमताको आधारमा हुनुपर्दछ । त्यसैले नीतिको बहस छोडेर व्यक्तिको प्रतिस्थापनमात्रले सार्थक परिणाम दिन सक्तैन । 

स्वयं वीपीले पनि आफूलाई समय सापेक्ष परिमार्जन गर्नुभएको थियो । जोत्नको लागि एक हल गोरु, दुध खाने एउटा गाई, शिक्षा, स्वास्थ्य र कम्तिमा खान पुग्ने जग्गाको नारा दिने बीपीको तत्कालीन क्रान्तिकारी कार्यक्रमलाई आजको परिवर्तनसँग निरपेक्ष भएर मूल्यंकन गर्न सकिँदैन । कांग्रेसले बीपीलाई त नबिराई सम्झिन्छ तर उनको गतिशील, परिवर्तनकामी आचार र विचारलाई पछ्छ्याउँदैन । 

आर्थिक प्रश्नमा आफूलाई माक्र्सवादी भन्न नहिच्किचाउने बीपीले राष्ट्रियताका सबालमा ‘राजासँग आफ्नो घाँटी जोडिएको’ भन्नसमेत पछि परेनन् । किनभने, तिनताका भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले छिमेकी मास्ने विस्तारवादी नीति लिएकी थिइन् । उन्ले राजा र बीपीलाई मिल्न नदिने रणनीति अख्तियार गरेकी थिइन् । तत्कालीन निरंकुश राजाको शासकीय महत्त्वाकांक्षा प्रकारान्तरले भारतीय प्रधानमन्त्रीको अभिष्टसँग मेल खाँदा मुलुकको राष्ट्रियता नै गुम्ने अवस्थाबाट बीपी अनभिज्ञ थिएनन् । 

असहमतिको स्वीकृति लोकतन्त्रको सार हो । भनिन्छ, लोकतन्त्रमा एउटै पार्टीमा अनेकौं पार्टी हुन्छ । आज त्यस्तै भइरहेको छ । नेपाली कांग्रेस फुटेर दुइटा पार्टी बन्यो तैपनि गुट, उपगुट सकिएन । जतिसुकै साना पार्टी भए पनि नेपालका कम्युनिस्ट पार्टीलाई गुट र फुटबाट कसैले उछिन्न सकेको छैन । भलै नेकपा फुटको संघारमा पुगेर इतिहासको कटु सत्यलाई बदल्न खोज्दै छ । अरुणा लामाको गीत सापटी लिएर ‘‘यसपाली त मनै फाट्यो के ले सिउने के ले टाल्ने हो ?’’ भन्ने पुष्पकमल दाहालको मन प्रधानमन्त्री नछोडेसम्म ओलीले टाल्न सक्ने छैनन् । समयलाई हाँक दिँदै परिवर्तनशील युवाको पार्टी भएको दाबी गर्ने विवेकशील साझा पार्टी पनि गुट र फुटबाट बचेन । 

नेपाली कांग्रेसमा स्थापनादेखि नै गुटहरु थिए । बीपी र मातृका दाजुभाइकै गुट थिए । कोइराला परिवारले जतिसुकै एकताको नारा लगाऐ पनि शशांक, शेखर, सुजाता कोइराला आआफ्नै गुट विस्तारमा लागिपरिरहेकै छन् । गुटकै कारण मातृकाप्रसाद कोइराला २००८ सालमा बीपीलाई उछिनेर प्रधानमन्त्री बने । बीपी र सुवर्णका अनुयायीसमेत गुटमा विभाजित भएका थिए । उनीहरुकै उत्तराधिकारी कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालाले पनि खुलेरै गुटगत राजनीतिलाई निरन्तरता दिए । 

गुटकै अस्वस्थ प्रतिस्पर्धाले कहिल्यै नमेटिने गरेर छत्तीसे र चौहत्तरेको जन्म भयो । नेपाली कांग्रेसको ओरालो यात्रा त्यहीँबाट सुरु भएको थियो । हुदाहुँदै अन्तर्घातले क्षुब्ध कृष्णप्रसाद भट्टराईले गिरिजाबाबुको गुट फुटाएर शेरबहादुर देउवालाई आफ्नो उत्तराधिकार सुम्पिए । अस्वस्थ गुट र अहंकारको कारण नेपाली कांग्रेसले २०५१ सालमा बहुमत गुमायो । विसं २०५१ को उपनिर्वाचनपछि प्रोत्साहित अन्तर्घातले आज उप्रान्त कांग्रेस थला परिरहेको छ । विपक्षी दलसँगभन्दा आफ्नै पार्टीको अन्तर्घातबाट हार्नुपर्ने अभिशप्त इतिहासको शिकार नेपाली कांग्रेस पटक, पटक भइरहेको छ । 

त्यसैले परम्परादेखि चल्दै आएको गुट अब गुटमा सीमित नभएर गिरोहमा परिणत हुँदै गएको छ । आफ्नै पार्टीको उम्मेदवारलाई हराउने, निषेध गर्ने, असहमत पक्षलाई सिध्याउने  अमानवीय सोच र क्रियाकलाप नै गिरोहवादी मानसिकताको उपज हो । पार्टी एउटै कार्यक्रम अलग्गै, खानपिन, बसउठ, बोलचालसमेत नगर्ने प्रवृत्तिले पार्टीलाई धरशायी बनाउँदै लगेको छ । केन्द्रको गुटबन्दी अब वडा तहसम्मै फैलिँदै गएको छ ।

नयाँ साथीहरुको प्रवेशमा समेत गुटगत छायाँ देखिनु अशोभनीय विषय हो । अब कांग्रेसमा भन्दा पहिले गुटप्रति प्रतिबद्ध हुनुपर्ने संस्कृतिले पार्टीलाई कहाँ पुर्याउला ? संस्थागत र सैद्धान्तिक प्रशिक्षणविनाकै प्रवेशीको लावा लस्करले पार्टीलाई कुनै ऊर्जा दिँदैन । भनिन्छ, एउटै सिद्धान्त र विचारको नाता रगतको भन्दा गहिरो हुन्छ । त्यसैले विचारको लागि मानिस मर्न तयार हुन्छ ।

दाहालका कैयौं अपराध छिपेका छैनन् तर माओवादी विचारका लागि हजारौं मानिसलाई मर्न, मार्न तयार गर्नु सानो कुरा थिएन । यसको अलग्गै विश्लेषण गरौँला । अहिले उदेकलाग्दो के छ भने आफ्नै भविष्य सुरक्षित गर्ने महाधिवेशनलाई नेपाली कांग्रेसका साथीहरुले जीवन, मरणको सवाल बनाइरहेका छन् । ‘कहाँ पोखियो दूध भाग’मा भन्ने उक्तिझैं पार्टीभित्रको अधिवेशन हो, जस्ले जितेपनि कांग्रेसले जित्ने हो भन्ने भावना नआएसम्म पार्टीले ऊर्जा हासिल गर्न सक्तैन ।

अधिवेशन जसरी नै कांग्रेसीलाई देशको चुनाव लागेको भए निश्चय नै पार्टीले यो दुर्दिन भोग्नुपर्ने थिएन । टिकट नपाउँदैमा राजनीति सकिएको भन्ने अन्तर्घातीको उजुरी पार्टी कार्यालयमा थुप्रिएका छन् । सबै जिल्लामा जितोस् तर आफ्नै जिल्लामा चाहिँ हारोस् भन्ने् आत्माघाती भावनाले अन्ततः धेरै निर्वाचन क्षेत्र गुमाउनु परेको थियो । पार्टीको हितका लागि एक कदम अघि वा पछि गर्न सबै तयार हुनुपर्ने हो ।

परन्तु, सकिएकै पार्टी पनि आफैँ कब्जा गर्ने आत्मघाती मानसिकताले अहिले काम गरिरहेको देखिन्छ । गुटको नाममा योग्यको गला रेट्ने महाधिवेशनले आफ्नो खुट्टामा आफैँ बन्चरो हान्ने काम त हुने हैन ? प्रश्न जटिल हुँदै गएको छ ।
(नेविसंघका पूर्व उपाध्यक्ष तथा, रामेछापबाट प्रदेश सभा प्रत्याशी) 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १६, २०७७  ०७:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC