कोरोनासँग जम्काभेट 

कोरोनासँग जम्काभेट 

काठमाडौंबाट हतारहतार खैरेनीतिर हिँड्दा यति लामो समय बस्ने कल्पनै गरेको थिइन । यति धेरै बस्नुपर्ला भन्ने थाहा भएको भए सायद आउने नै थिइन । खैरेनी आउनुपर्ने मेरा दुईवटा काम थिए । पहिलो श्रीमती जी चितवनमा एउटा विवाहमा सामेल भएपछि खैरेनी गएकी थिइन् । उनलाई बन्दाबन्दी सुरु नहुँदै काठमाडौं लिएर आउने ।

अर्को, मझुवाघाट तरेर गोर्खा – बन्दिपुर आवतजावत गर्ने पुरानो मूलबाटोको  एउटा खण्डलाई मोटर चल्ने सडक बनाउन आँबुखैरेनी गाउँपालिकाले दिएको तीन लाखबाट काम सुरु गर्न उपभोक्ता समिति बनाउन सघाउने । यी दुवै काम म विना रोकिने त थिएनन् । (यति जान्दाजान्दै पनि उपभोक्ता समितिका दाजुहरूले ‘बाबु नआउनु भएको भए बाटै बन्थेन’ भन्दा मख्ख परेर ‘थप बजेट चाहिँ तपाईँहरूले नै माग्नुपर्छ नि ! म अब माग्नेवाला छैन’ भनेर घुर्की लगाउँदाको आनन्दै बेग्लै ) साथमा ल्यापटप भएपछि आफ्नो काम भइरहने हुनाले बन्दाबन्दी नहुँदै ९० वर्षका बालाई पनि भेटेर आउँछु भनेर काठमाडौंबाट निस्केको थिएँ । यति काम २–३ दिनमा सकिन्थ्यो । अर्थात्, चैत ११ भन्दा पहिले म काठमाडौं फर्कने योजनामा थिएँ । 

‘सोचे झैँ जिन्दगी रै’नछ’ । ससाना अलमलले चैत ११ आइहाल्यो । सार्वजनिक यातायात बन्द भयो । एक्लै भए केही जोहो पनि हुन्थ्यो होला । अरू कोही साथी भए पनि केही न केही उपाय हुन्थ्यो । अनि उनलाई ‘आफ्नो खेतीको चामल र तेल’को मोह नभए पनि कसैसँग ठाउँ मागेर आउन सकिन्थ्यो । त्यसभन्दा पनि काठमाडौंमा भएकाहरूले ‘अहिले किन हतार किन गर्नु परेको छ र ?’ नभनेका भए जसरी पनि आइने थियो । तर, आफ्नाहरू र परिस्थितिले मिलेर षड्यन्त्र गरे । हामी पनि के भयो त बसौँ न त । अर्को साता जाउँला भन्दै बसिरह्यौँ ।

म सडक निर्माण गराउन लागिरहेँ । गाउँपालिकाकै स्काभेटरले बाटो खनियो । पछि त इन्जिनियर पनि हेर्न गए रे ! गाउँमा मोटर बाटो बनाउने त्यसरी नै रहेछ । ससाना काममा अल्झिरहन रमाउने बानी । अत्यास लागेन । 
 

बिजुली अलिधेरै गए पनि इन्टरनेटको गति बयलगाडाकै जस्तो भए पनि काम चल्यो । बिस्तारै चैत बित्यो, वैशाख बित्यो । जेठको आधाआधी भएपछि खेतमा बीउ राखेपछि जाने भनियो । अरू सबै भयो काठमाडौं जाने साइत भने जुरेन । बीउ हुर्कँदै गएपछि रोपाइँ गरेर जाने भनियो । रोपाइँ पनि भयो । केही दिनमै रोपो हरियो पनि भयो ।

काठमाडौं जाने मौका भने मिलेन । के मिलेन मिलेन ! सायद, निजी सवारी साधन नभएको र सार्वजनिक यातायात बन्द भएका कारण रोकियौँ हामी । अलिअलि हठी र अव्यावहारिक पनि छु म । कुन्नि किन मलाई सार्वजनिक यातायातमा सरकारी अनुमति नलिईकन काठमाडौं जान पाउने भएपछि मात्र जाने सनक चड्यो । यतिका महिना पर्खियो अब कसो नखुल्ला भन्ने गलत हिसाब गरेछु सायद !  

कारण जे जे देखिए पनि वास्तवमा हुनत कोरोनासँग डराएरै खैरेनीमा थुनिएको हो । धेरैले यस्तो बेला काठमाडौंभन्दा गाउँ नै ठीक भने । गाउँ पनि गाउँजस्तो भएन हो ! तैपनि लगभग आफ्नै परिवारमा सीमित रहेकाले सुरक्षितै रहेको भ्रममा बाँचिएको थियो । पहिलो पटक एउटा सानो घटनाले सातो खायो । आँगनमा जम्मा भएर सबैजना भित्री सडकतिर हेर्दैरहेछन् । तीनचार जना केटा गलफत्ती गर्दै थिए त्यहाँ । हुँदाहुँदै हात हालाहाल गरे । तिनलाई छुट्याउन भने कोही गएनन् । गाउँ त यस्तो हुन्थेन । अरूले गाउँले कर्तव्यसँगै कोरोनाको डर पनि हेक्का राखेका रहेछन् । मैले बिर्सेछु । कता कता मलाई यिनले पक्कै चिनेका छन् । मैले भनेपछि कसो नमाल्लान् भन्ने पनि लाग्यो कि ? चार दशक पहिलेको ‘म’ प्रकट भएछ । ती जन्मेकै रहेनछन् मेरो हाँकोडाँको चल्दा । तिनले के टेर्ने ? एउटाका परिवारै अर्कोमाथि जाइलागे । अर्को त्यतिबेला एक्लै थियो । उसलाई तानेर छुट्याएँ अनि घरतिर पठाएँ । त्यतिबेलै उसकी पत्नी पनि लिन आइपुगिन् ।

म फर्केर घर नआउँदासम्म भाइहरूलाई गाली गर्छु भन्दै आएको त सबै एकै मुखले त्यो हुलमा किन गएको भनेर हप्काउन पो थाले ! हामीलाई कतै नजानु कसैसँग नछुनु भन्ने आफू त्यसरी हुलमा गएर मिसिने भनेपछि बल्ल मैले गल्ती गरेँ भन्ने लाग्यो । अब पछुताएर के गर्ने ? एकछिन तर्कसर्क त दिएँ तर डर पनि लाग्यो । त्यसलगत्तै मैलाई तर्साउनका लागि भने झैँ हल्ला फैलियो – गाउँकै एकजना भारतबाट आउँदा उसलाई काठमाडौंबाट लिएर आउने चालक हो त्यो मैले तानेर लगेको केटा । अनि भारतबाट आउनेलाई कोभिड–१९ ‘पोजिटिभ’ देखियो । कोरोना देखिएको व्यक्तिलाई लिन गएको चालक अर्कै हो त्यो झगडिया केटा होइन भन्ने भोलिपल्ट थाहा नहुँदासम्म अत्यासै लाग्यो । 

वरपर छरछिमेकमा कोरोना आइपुग्न थाल्यो । सकेसम्म घरैभित्रै बस्ने र यसो साँझ बिहानमात्र निस्कने गरेर समय बिताउन थालियो । अन्ततः ‘राहदानी’ नमाग्ने र सार्वजनिक यातायातबाट जाने भन्न छाँडे । कोरोनाले हरायो यसमा मलाई । अनि असार २७ गते काठमाडौं जाने साइत हेरेर कागजपत्र मिलाउन र गाडी खोज्ने तरखरमा लागेँ । सायद, नियतिलाई मञ्जुर भएन । नियतिले ठान्यो होला – तेरो हैन मर्जी त मेरो पो चल्छ ।

खैरेनीको घरमा भुइँ तला भाडामा दिएको छ । गाउँपालिकाले लिएको हो भाडामा । प्रमुख प्रशासकीय अधिकृत बस्दै आएका छन् । म चैतमा गएपछि सरुवा भएर आएका एक सज्जन अधिकृत बस्थे । उनकी सासुआमा मुटुकी बिरामी रहिछन् । पोखरामा गरेको उपचारमा जटिलता देखिएछ । अनि काठमाडौं लगेका रहेछन् । उनी केही दिन काठमाडौंमा बिरामीको हेरचाह गरेर फर्के । आउँदा सूचना पनि दिएका थिए । ‘म आएँ’ भनेर मैले त्यसलाई सामान्यरूपमै लिएँ । उनी तल्लो तलामा बस्थे । खासै भेटघाट पनि हुँदैनथियो । बुधवार स्वाब दिएर काममा लागेछन् उनी । शुक्रवार उनी पोखरा गए । आइतवार बिहान त उनलाई कोरोना पोजिटिभ भएको खबर सुनियो ।

अनि त के थियो र ? यसबीच म अन्त त कतै गएको थिइन तर पाँच भाइको घर सँगै छ । बा हुनुहुन्छ । सबैसँग जस्तो संसर्ग त भयो । मेरी पत्नी बढी नै आत्तिइन् । खबर काठमाडौं, अमेरिका, बेलायत सन्तानहरू जताजता छन् सबैतिर उही दिन फैलियो । सबैलाई स्पष्टीकरण दिँदैको ठीक । उनीहरूको सोधपुछले अत्यास झन् बढायो । म मानसिकरूपमा कोरोनाको कहर भोग्न तयार भएँ । मनमा के के खेल्यो खेल्यो । मनको अत्यास छोप्न पर्ने । पत्नी, बा, भाइ बढी आत्तिएलान् भनेर । सबैजसोले स्वाब दिएर पर्खने सल्लाह दिए । गाउँपालिकाले उनीसँग प्रत्यक्ष संसर्ग भएकालाई प्राथमिकता दिएर स्वाब लिएछ । हाम्रो परिवारले उपेक्षा गरिएको ठान्यो ।

‘अहं’को अर्को चोट आइलाग्यो । उनीहरूले हाम्रो पछि लिन्छौँ सम्म पनि भनेनन् । म र मेरो परिवारलाई यस्तो उपेक्षा गर्ने भनेजस्तो कटुता मनमा उब्जियो । तर, मैले तुरुन्तै गर्न सक्ने त केही थिएन । फोन गरेर गाउँपालिकाका अध्यक्षसँग सोधेँ । आलटाले उत्तर आयो । मन झन् खिन्न भयो । मैले सायद अध्यक्षबाट बढी अपेक्षा गरेछु । गाउँपालिकाका जनस्वास्थ्य प्रमुखसँग सोध्दा हाम्रो स्वाब अर्को कुनै दिन लिने र संक्रमित अधिकृतले नै लिइदिन भनेका जानकारी पाएँ । 

हामी सिंगो परिवारले दुई रात निकै तनावमा बितायौँ । बाहिरै ननिस्की बस्यौँ । जति एक्लै बस्न खोजे पनि फोन र इन्टरनेटले दिए पो । आफ्नो निरीहतामा निराश भएर एक्लै बसेका बेला बुहारीले फोन गरिन् । स्वास्थ्यकर्मी भएकाले उनलाई सबै बताएँ । उनको सल्लाह बेग्लै भयो । स्वाब लिइहाल्नु पर्नेजस्तो लाग्दैन । बरु दुई साता ‘आइसोलेसन’मा बस्ने । अहिले स्वाब लिएर पनि नदेखिन सक्छ । 

बुहारीको सल्लाहले अलिकति त्राण त दियो तर मन ढुक्क भएन । अनि मैले काठमाडौंमा साथीहरूलाई सम्झेँ । डा. भगवान कोइरालालाई सम्झेँ । डा. कोइरालाको व्यस्तता देखेको छु । त्यसैले सानोतिनो कुरामा फोन गर्न पनि हिचकिचाउँछु । चैतमै हो क्यार आँबुखैरेनी गाउँपालिकाका लागि केही स्वास्थ्य सामग्री करुणा फाउन्डेसनसँग मागेको थिएँ । डा. कोइरालाले फोन गरेर गर्नुपर्ने काम पनि सम्झाइदिँदा गाउँपालिकाका जनस्वास्थ्य प्रमुख निकै खुसी भएका थिए । अनि डा. कोइरालालाई फोन गरेँ ।        

डा. कोइरालालाई मैले संक्रमितसँग भएको संसर्गको विवरण सविस्तार बताएँ – मुस्किलले उनको र मेरो एक मिनेटजति छोटो कुरा भएको थियो । उनी ढोकाभित्र म बाहिर । बेलुका उनले लगाएको मूल ढोका बिहान मेरी पत्नीले खोलेकी थिइन् । प्रत्यक्ष सम्पर्क भएको त्यत्ति हो । अनि बुहारीले दिएकी सुझावका बारेमा पनि भने । 

बुहारीको सल्लाह ठीकै हो, त्यत्ति सम्पर्कले संक्रमण हुँदैन भनेर डा. कोइरालाले भनिदिएपछि लामो सास फेरेँ । मनबाट अत्यास एक्कैपटक हरायो । अनि श्रीमतीलाई र भाइलाई भने । डा. कोइरालाले नै त्यत्ति संसर्गबाट संक्रमण हुँदैन भनेपछि भइहाल्यो नि । श्रीमती झन् खुसी भइन् । यति कुरा हिजै नगरेकोमा उल्टै खप्की पनि पाइयो । 

अनि लाग्यो कोरोनालाई छलेर बस्दा त यो हाल छ भने ‘वनकालीका ढेडु’ जसरी लखरलखर गरेको भए के हुन्थ्यो होला ?  

अलिकति संवेदनशीलहरू बढी आत्तिने र धेरैले महामारी कस्तो होला भनेर खोज्दै हिँड्ने गरेर स्थिति झन् बिग्रेजस्तो लाग्यो । साथै, यहाँको अनुभवले जनप्रतिनिधिहरू अलि गैरजिम्मेवार भएका हुन् कि जस्तो पनि लाग्यो । जनतालाई सुसूचित गर्न र आश्वस्त तुल्याउन स्थानीय तहबाटै गर्न सकिने जति गरिएको देखिँदैन । अन्यत्र बेग्लै अवस्था छ कि ? संक्रमणको अवस्था हेरेर स्थानीय तहबाट अलग्गै व्यवस्थापनको व्यवस्था मिलाउन सकिनेमा केन्द्र वा प्रमुख जिल्ला अधिकारीको आदेश जे हुन्छ त्यही पालना गर्नेमा जनप्रतिनिधि सीमित देखिए । अनि अलिकति उच्चाट र अहंकार पनि तिनमा बढेको हो कि ? हुनसक्छ कल्पनै नगरेको समस्या आइलाग्दा उनीहरू आत्तिएका हुन् । 

यस्तै अत्यास सन् १९९४ को सेप्टेम्बरतिर लागेको थियो । अमेरिकन फाउन्डेसन फर एड्स रिसर्च नामको संस्थाको निम्तामा न्युयोर्क भ्रमणमा पुगेको थिएँ । दोस्रो दिनै एड्स संक्रमितहरू राखिएको ‘हस्पिस’मा हामीलाई लगियो । उति बेला एड्स ठूलै हाउगुजी थियो । छुँदैमा सर्ने हो कि भनेर डराउने धेरै भेटिन्थे । छुँदामा सर्दैन भनेर त भन्थे तर मनमा डर पनि थियो । हामी पुग्नेबित्तिकै एउटा कोठामा लगियो । सबैजसो कालाहरूमात्र थिए । दुब्ला फुकीढल । सबै हात मिलाउनमात्र हैन अँगालै मार्न अघि सर्ने । लाग्थ्यो यिनले हामीलाई पनि एड्स सारेरमात्र छाड्छन् । 

म त्यो रात राम्ररी सुत्न सकिन । समाज कल्याण परिषद्का उपनिर्देशक जीवन भट्टराई पनि सँगै गएका थिए । राति उनको फोन आयो । बिचरा झन् आत्तिएका रहेछन् । दुई तीनपछि अरू पनि त्यसरी नै छ्यासमिस भएको देखेपछि बल्ल मन अलि शान्त भएको थियो । कोरोनाका हकमा पनि पछिपछि यससँगै बाँच्न सिकिएला । संक्रमित सहकर्मीसँग सँगै काम गर्ने विधिको विकास होला । कोरोनालाई ठूलै ‘कलंक’ ठान्न छाडिएला कि ? 

यसपटक त कोरोनासँग जम्काभेट भए पनि उही तर्केर गएछ । अर्कोपटक भेट नभए हुन्थ्यो । 
 

गोविन्द अधिकारी

प्रतिकृया दिनुहोस
ad