site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मानव
Ghorahi CementGhorahi Cement

रामदेव पाण्डे


अस्पतालअगाडि भीड थियो, हल्ला पनि थियो । केही घाइतेहरू आकस्मिक कक्षमा उपचाररत् छन् । तिनै घाइतेमध्येकी एक थिई, सङ्गीता सिंह । मेरो पेटमा पाँच महिनाको गर्भ छ भनेपछि उपस्थित सुरक्षाकर्मी र चिकित्सकहरूको प्राथमिकतामा परेकी थिई सङ्गीता । टाउकोमा ढुङ्गाको चोट र दाहिने कुममा भालाले घोचेकोे चोटबाट धेरै रगत बगिसकेको थियो । रगतको खाँचो परिसकेको थियो । ‘ओ पोजिटिभ’ रक्तसमूह । तत्काल रगत दिन इच्छुकहरूको जाँच गरियो । घाइतेहरूलाई उद्धार गर्नेहरूमध्ये एक जवानको रक्तसमूह मिल्ने भयो । 

प्रयोगशालाकी कर्मचारीले एउटा सानो कागजमा लेख्न खोज्दै सोधिन्, “तपाईंको नाम ?”

Agni Group

“अख्तर हुसेन ।”

भीडमा हल्ला मच्चियो, धक्कामुक्की सुरू भयो । भीडबाट एकले सोध्यो, “के रे ? के नाम अरे यसको ?”

Global Ime bank

त्यसै युवकले अलि टाठो स्वरमा भन्यो, “अख्तर हुसेन हजुर, अख्तर हुसेन नाम हो मेरो ।” 

“हुँदैन, हुँदैन ! यसको रगत दिनुहुँदैन । यो मुसलमान हो । यिनै मुसलमानहरूले आक्रमण गर्दा घाइते हिन्दू केटी हुन् यिनी ।

ठोक ठोक यसलाई ! लखेट्नुपर्छ यसलाई यहाँबाट... 

हो, हो, ठोक यसलाई... ।”

भीड पेलिँदै आयो । प्रहरीले रोक्न खोज्दाखोज्दै पनि एकदुई मुक्का खाइहाल्यो युवकले । सुरक्षाकर्मीको हल्का बल प्रयोगपछि भीड केही थामियो । 

युवक आक्रोशित देखिएन । बरू जबर्जस्ती मुस्कुरायो र भन्यो, “वाह रे धर्मात्माहरू ! अहिले यहाँ चाहिएको के हो ? रगत हैन ? कसको रगत चाहिएको हो ? हिन्दूको कि मुसलमानको ? क्रिस्चियनको कि बौद्धको ? तपाईंहरू हिन्दू हैन ? किन मिलेन यत्रो इमर्जेन्सी पर्दा पनि तपाईंहरूको रगत ?”

वातावरण केही शान्त भइसकेको थियो । मानौं, सन्नाटाले घेरेको थियो । 
अख्तर बोल्दै गयो, “यहाँ यस घाइतेलाई कुनै धर्मको रगत हैन, ओ पोजिटिभ रगत चाहिएको हो, ओ पोजिटिभ । कुनै धर्मका मानिस एकै हुने भए किन मिलेन तपाईंहरूको रक्तसमूह ? किन कसैको ए, कसैको बी, कसैको ओ ? त्यसमा पनि कसैको प्लस, कसैको माइनस ! र अर्को कुरा सुन्नुस्, म मुसलमान हैन, न म हिन्दू या क्रिस्चियन नै हुँ । सुन्नुहुन्छ म के हुँ र म को हुँ ? पख्नोस् एकछिन, धैर्य गर्ने हिम्मत छ भने एकछिन पख्नोस् । पहिले मलाई आफ्नो रगत दिएर कुनै धर्मको हैन, एक जना मान्छेको ज्यान बचाउन दिनोस् अनि बताउँला म को हुँ !”

भीडमा खासखुस मात्र सुनियो । तर साँच्चै धैर्य देखाए जस्तो लाग्दै थियो । युवकको रगत झिकियो । 

उसले भन्दै थियो, “मिल्छ भने अलि धेरै निकाले पनि हुन्छ है, सिस्टर !” चिकित्सक समूहसहितको वातावरण पूरै भावुक बन्यो । 

अस्पतालकै एक कर्मचारीले ल्याइदिएको पानीको बोतलबाट आधा जति पानी खाएर अख्तर उठ्यो । भीड भएतिर यसो हे¥यो र विजयको मुस्कान निकाले जस्तो गरी फेरि मुस्कुरायो । भीडको अनुहार अलिकति लज्जित जस्तै देखिन्थ्यो । उसले भन्यो, “सुन्नुहुन्छ म को हुँ ? अथवा म कुन धर्मको मान्छे हुँ ?”

“मेरा बुबाको नाम ज्याक मेन्डिस हो रे ! आमाले भन्नुभएको । आमा एक बौद्धधर्मीकी छोरी । पर्यटक बनेर आएका ज्याकको अवैध सम्बन्धबाट गर्भ रहेपछि ऊ भागेको रहेछ । गाउँबाट सहर आएर मलाई फाल्न खोज्दा ढिलो भैसकेको थियो । आमाले एउटा होटलको भाडाको कोठामा जन्माएर मस्जिद छेउ छाडिदिनुभएछ । दयालु मुसलमानले लगेर बचाए । नाम राखिदिए, अख्तर हुसेन । आफ्नो शरीरको हिस्सा बनिसकेको, आफ्नो कोखबाट जन्मेको सन्तानलाई छाडेर आए पनि मेराप्रति हुने सबै गतिविधिमा नजर रहेछ आमाको । मस्जिदबाट प्रहरीलाई खबर गरिएपछि सहरको एक अनाथालयले मलाई लिएछ । त्यो पनि आमाले पत्ता लगाउनुभयो ।

अनाथालयमा यसरी फालिएका शिशुहरूका लागि दूध खुवाउने आमाहरूको खोजी हुने रहेछ । मलाई दूध खुवाउनकै लागि पनि मेरी आमा त्यहाँ पुग्नुभयो । मसँगै अरू म जस्ता परित्यक्त शिशुहरूलाई एक वर्षसम्म दूध चुसाउनुभयो । त्यस एक वर्षमा मप्रति आमाको स्नेहले फेरि जरा गाडिसकेको रहेछ । प्रक्रिया पु¥याएर आफ्नै सन्तानलाई कोख लिनुभएको मेरी आमाले । उहाँलाई केले प्रभाव पा¥यो, थाहा छैन, मेरो नाम अख्तर हुसेन नै रहन दिनुभयो । आज म एक मानवतावादी संस्थाको कार्यकर्ता हुँ । भन्नुहोस्, म कुन धर्मको मानिस भएँ ?”

भीडसँग कुनै जवाफ थिएन । अख्तर बोल्दै गयो, “बच्चा जन्मिन त कुनै एक धर्मको डिम्ब या शुक्रकीटले कुनै फरक नपार्ने रहेछ, हैन र ? अनि यति मिलेर बसेको यो मेरो देशमा कहाँबाट आयो यो महामारी ? म हिन्दू, म मुसलमान, ऊ क्रिस्चियन, ऊ बौद्ध ! म फलानो जातको, त्यो ढिस्कानो जात ! के हामीले सबै कुरा छिमेकबाटै आयात गर्नुपर्ने ? पाकिस्तानमा मन्दिर भत्काइदिए रे, त्यसको बदलामा भारतमा मस्जिद भत्काइयो । भारतमा भड्केको धार्मिक डढेलोको फिलिङ्गोले हामी पनि पोलिनुपर्ने ? कहाँ गयो, हाम्रो सद्भावपूर्ण मानवता ? तपाईंहरू त शिवका पुजारी पनि हैन ? एक अनार्य किराँती शिवले आर्यपुत्री सती÷पार्वतीलाई पाउन किन त्यत्रो हङ्गामा गर्नुप¥यो ? त्यस्ताका भक्त हाम्रो मति केले मार्यो ?”

यतिन्जेल रक्तमिलान कार्य सकिएर युवतीलाई रगत चढाइसकिएको थियो । पीडाका बीच पनि सबै कुरा सुनिरहेकी थिई घाइते । बर्र आँसु झार्दै इसाराले अख्तरलाई नजिक बोलाई । हात समाएर भनी, “थ्याङ्क यू !” 

“यो त मेरो मानवीय कर्तव्य थियो, धन्यवादको आवश्यकता पर्दैन मलाई ।”

अब प्रहरीले बयान लिने पालो थियो । उपचाररत युवतीलाई सोध्यो, “तपाईंको नाम ?”

“हजुर, मेरो नाम सङ्गीता ।”

“सङ्गीता के ? थर के हो तपाईंको ?”

“किन, थर पनि चाहिन्छ र हजुर ? सङ्गीता सिंह । सिंह थर हो मेरो ।”

“हिन्दू हो तपाईं ?”

“हैन । म के हुँ मलाई थाहा छैन र थाहा पाउन पनि चाहन्नँ ।”

“ओहो सरी ! अनि त्यहाँ मस्जिदमा किन जानुभएको ?”

“म पत्रकारिता गर्छु । दङ्गा भड्किएको थाहा पाएर रिपोर्टिङका लागि गएकी थिएँ । मस्जिदमा आक्रमण गर्न आएका हिन्दूहरू मस्जिदमा रहेका मुसलमानहरूभन्दा कम भएपछि भाग्दै थिए । ऊ त्यो पल्लो बेडमा रहेका हिन्दू अभियानका युवा कार्यकर्ता रे ! उनी एक्लै समातिएछन् । उनलाई झन्डै मार्ने प्रयास हुँदै थियो । म पत्रकार मात्र नभई एक मानव पनि हुँ । अनाहकमा कोही मारिनुहुँदैन भन्ने सोचले ती युवकलाई बचाउन होमिएँ । प्रहरी नआएको भए म र ऊ दुवै सायद... !”

यत्तिकैमा पातलिइसकेको भीडबाट आवाज आयो, “थ्याङ्क यू, सिस्टर !”

“मलाई थ्याङ्क यू भन्नु आवश्यक छैन है, हजुर ! म त्यहाँ कुनै हिन्दू या मुसलमानलाई बचाउन गएकी थिइनँ । एकथरी मान्छेको हूलबाट अर्को निरीह मान्छेको ज्यान बचाउने उद्देश्य थियो मेरो । र म सफल पनि भएकी छु । म हिन्दू भएर या मुस्लिमको विरोधी भएर त्यहाँ पुगेको पनि हैन, बुझ्नुभो ?” कोही केही बोलेन ।

प्रहरीको बयान सकियो । आफ्नो मनसाय पूरा नहुने देखिएपछि दङ्गा भड्काउने खुराक खोज्न आएकाहरूको भीड पनि छाँटियो । मानवतावादी सोचको अख्तरलाई भने त्यहाँबाट जान मन लागेन । सङ्गीताको परिवारमा खबर भइसकेको थियो । परिवारको कोही सदस्य नआउन्जेल लागि भए पनि बस्छु भन्ने सोचले अख्तर त्यतै रोकियो । 

“केही चाहिन्छ कि सङ्गीताजी ? जुस, चिया अथवा अरू केही ?”

“नो थ्याङ्क्स ! अहिले केही पर्दैन । इमर्जेन्सीमा रगत दिएर मेरो ज्यान बचाउनुभयो, त्यही नै सबैभन्दा ठूलो कुरा भयो ।”

“म त त्यसलाई ठूलो कुरा मान्दिनँ है, सङ्गीताजी । मान्छेको ज्यान बचाउनु त मान्छेको कर्तव्य नै हो !”

“बुझ्नेलाई पो त्यसो हो । नत्र आज यहाँ त मान्छे नै मान्छेको सबैभन्दा ठूलो दुस्मन बनेको छ । कहिले केका नाममा कतै केका नाममा एकअर्काको रगतका भोका बनेको देख्दा दिक्क लागेर आउँछ के, अख्तरजी ! तपाईंको सङ्क्षिप्त जीवनकथा सुनेर बडो गज्जब लाग्यो । तपाईंको व्यवहारको त कुरै नगरौं ।”

“त्यस्तो त केही खास हैन । बरू मेरो मनमा अलिकति जिज्ञासा उत्पन्न भएको छ । सोध्न मिल्ने हो कि हैन कुन्नि ? हुन त तपाईंको निजी मामिलामा मेरो चासो किन रहनुपथ्र्यो र ? तैपनि म हिन्दू हैन भन्नुभयो, नाम सङ्गीता सिंह छ । के तपाईं पनि म जस्तै नास्तिक भनौं अथवा कुनै धर्म नमान्ने मानवतावादी विचारको मान्छे हो ?”

“त्यसै भन्दा पनि हुन्छ । तपाईं त कुन चाहिँ संस्थामा हुनुहुन्छ भने जस्तो सुन्दै थिएँ । म त्यस्ता कुनै संस्थामा छैन । बाँच्नका लागि यसो पत्रकारितासँगै ट्युसन पढाउने काम गर्छु । यी सङ्घसंस्था भनेका पनि त्यस्तै हुन् भन्ने लाग्छ । विदेशबाट डलर आउन्जेल हल्ला गर्यो, पैसा उडायो, सकियो । त्यसैले मलाई संस्थाहरूतिर खासै चासो छैन । हो, मलाई कुनै एक धर्मतिर आकर्षण पनि छैन ।”

“किन नि त्यस्तो ? म त वैज्ञानिक विचारहरू बुझेर त्यस्तो भएँ रे, तपाईंलाई किन त्यस्तो ?”

“आफू जुन धर्म मान्ने मान्छेको घरमा जन्मियो, त्यसै धर्मबाट अपहेलित बनेपछि कसरी मेरो धर्म फलानो भन्नुपर्यो र ?”

“मलाई तपाईंको जीवनकथा पनि इन्टे«स्टिङ छ जस्तो लागिरहेको छ अघिबाटै । तपाईं कुनै संस्थामा लाग्नुस् या नलाग्नुस्, तपाईं विचारले मानवतावादी मान्छे नै हो भन्नेमा म विश्वस्त छु । यसो केही जान्न सकिन्छ त ? माफ पाऊँ नरिसाउनुहोला है !”

“किन रिसाउनु नि, त्यसमा पनि त्यत्रो भीडबाट उद्धार गरी आफ्नै रगत दिएर ज्यान बचाउनेसँग !”

“धन्यवाद !”

“सुन्नै खोज्नुभएको हो भने सुन्नुस् मेरो दुःखले भरिएको कहानी । मेरो कहानीभन्दा पनि मेरी आमाको कहानी हो यो । म हिन्दूभित्रको अछूत जात दलित आमाकी छोरी हुँ । मलाई कुनै धर्मले पीडाबाहेक केही दिएको छैन । तपाईंको जस्तै मेरो शरीर पनि धार्मिक हिसाबले मिसावटी रगतले बनेको छ । मेरा बाबु सिखधर्मी सरदार हुन् रे, जसलाई मैले देख्न पाइनँ । यसमा पनि माथिल्लो भनिने जातका अमानवीय सोचका मानिसले दिएको पीडा नै प्रमुख कारण बनेको हो ।”

“हो, तपाईंले भन्न सुरू नगर्दै धेरै कुराहरू भने जस्तो लाग्न थाल्यो । भन्नुस् न प्लिज, के भएको थियो ?”

“मेरा हजुरबुबा अर्थात् मेरी आमाका बुबा कथित माथिल्लो जातका केही घरहरूको बालिघरे जोत्ने हुनुहुँदो रहेछ । तिनै मालिकहरूमध्येको एक परिवार हो, कान्छा पण्डितको परिवार । अरू बराजु (मालिक)हरूभन्दा अलि दयालु थिए रे, कान्छा पण्डित । उनैले भनेर मेरी आमालाई पनि स्कुल पढ्न पठाइएको रहेछ । मेरी आमाले त्यति बेलै भोगेको र म जान्ने भएपछि मलाई सुनाएको कहानी सुनाउँछु, तपाईंलाई । आमाले सुनाउनुभएको थियो— 

कान्छा पण्डितले नै भनिदिएर म सरकारी स्कुलमा पढ्थें । पण्डितको झन्डै मेरै उमेरको छोरा महेश्वर पनि एउटै कक्षामा पढ्थ्यो । तर उसको स्कुल त्यस क्षेत्रकै महँगो र राम्रो मानिएको थियो । स्कुलबाट आएपछि म पण्डितका घरमा यसो घाँसपातमा सघाउन जान्थें । काम सकाएर महेश्वरसँग एकछिन खेल्न पनि पाइन्थ्यो । स्कुलहरू छुट्टाछुट्टै भए पनि साँझबिहान हामीहरूको भेट भइरहन्थ्यो । महेश्वर त्यति सुन्दर थिएन । तर म राम्री थिएँ । महेश्वर र म सँगसँगै जस्तो खेल्दै, पढ्दै र हुर्कंदै गयौं । 

उमेर बढ्दै जाँदा हामी दुवैमा शारीरिक परिवर्तनहरू हुँदै गए । शरीरसँगै मेरा केही अङ्गहरू अलि फरक ढङ्गले बढ्दै जान थाले । शरीर मात्र होइन, त्यस समयमा मन पनि चञ्चल बन्दै जाने रहेछ । आफैंप्रति पनि जिज्ञासु बन्दै जाने रहेछ । मनको परिवर्तन उसमा पनि भएको महसुस गर्न थालें । केले केले हामीलाई एकआपसमा तानिरहे जस्तो लाग्न थालेको थियो । थाहै नपाई महेश्वर र म हामी दुई मात्र भएको एकान्त खोज्ने भएछौं । एक दिन नदेख्दा पनि कति बेला देखूँ भन्ने हुन थालेको थियो । मनले मात्र हैन, हामी त शरीरले पनि नजिकिन खोजिरहन्थ्यौं । 

उमेर बढ्दै गएका हामीहरूको सामीप्यलाई सहज रुपले हेर्न छोडियो । मेरा बुबाले एक दिन भन्नुभयो, “नानी तँ महेश बाबुसँग धेरै घुलमिल नहुनू है । जे भए पनि उनीहरू बिस्ट बराजु हुन्, हामी भनेका तल्लो जातका गरिब मान्छे । अब त तँ ठूली पनि भइसकिस् । तिमीहरूको घुलमिललाई पण्डित कान्छा बराजुले जाती नमाने जस्तो लाग्दै छ मलाई । अब तँ स्कुलबाट आएपछि घरतिरैको धन्धामा लाग् । तेरो भाइ जान्छ, उता यसो सघाउन परे । त्यसै पनि तेरो त एसएलसीको परीक्षा हो यसपाला । यति गरेर पढाइँदै छ, पास पनि हुनुपर्छ ।”

किन किन मलाई बुबाको कुरा मन परेन । महेश्वरले पनि एक दिन भनेको थियो, हेर कान्तु, यहाँ मानिसहरूले जातभात, केके कुरा गर्छन् । तर मलाई भने त्यो मन पर्दैन । आखिर तिमी र ममा जातले के नै फरक पार्छ र ? तिमीले पनि अरूका कुरा नसुन्नू है !” मेरो नाम कान्ति भए पनि उसले मलाई कान्तु भनेर बोलाउँथ्यो । मलाई उसको कुरा ठीक लागेको थियो । 

उता महेश्वरलाई पनि रोक्न थालिएछ, “आफ्नै बालिघरे कामीकी छोरीसँग तेरो उठबस धेरै भएको गाइँगुइँ छ है, केटा ! आजैका दिनदेखि त्यससँगको भेटघाट र बोलचाल बन्द हुनुपर्छ । नत्र निको हुँदैन नि, ख्याल गरेस् !”

दुवै परिवारको निगरानी बढेपछि हाम्रो भेटघाट लगभग बन्द जस्तै भयो । स्कुल जाँदाआउँदा टाढैबाट यसो देखभेट भए पनि नजिक हुन डर लागिरहेको थियो । एक दिन आफैं आएर महेश्वरले नै भन्यो, “कान्तु, तिमी किन आउन छोडेकी ?”

“बुबाले आउनै दिनुहुन्न । तिमी पनि तर्किंदै हिँडेका छौ त !”

“हो त कान्तु, मेरो पनि त्यस्तै समस्या छ । सुन न, आज साँझ तिमी ऊ त्यो बाँसघारीनेर आऊ न है ! म पनि साथीको घरमा होमवर्कको कापी लिन जानु छ भनेर आउँछु ।”

मैले हुन्न भन्नै सकिनँ । मलाई पनि त कति धेरै कुरा गर्न मन लागेको थियो ऊसँग । त्यस साँझ मैले पनि साथीकोमा एउटा होमवर्क सोध्न जानु छ भनेर बाँसघारीमा भेट्ने योजना बनाएर गएँ । 

भेट्नासाथ हामी धेरै दिनसम्म बिछोडिएका जोडी भेट भए जस्तो गरी अङ्कमालमा बाँधियौं । उसैले सोध्यो, “तिमी त आउनै छोड्यौ, कान्तु !”

“बुबाले आउन दिए पो !”

“मेरो पनि त्यस्तै छ, कान्तु । म आउन नपाए पनि मैले दिनदिनै जसो तिमीलाई सपनामा देख्छु नि !”

“भो नदेख महेश सपनामा पनि अब । तिमी ठूला जातका धनी मान्छेको छोरा, म सानो जातका गरिबकी छोरी । तिमी बराजु प¥यौ, हामी त बालिघरे । त्यही भएर हामी भेट्नुहुँदैन रे । बुबाले त्यसै भन्नुभयो, तिम्रा बुबाले पनि त्यसै भनेर धम्क्याउनुभएछ !”

महेश्वर एकछिन केही बोल्न सकेन । तर मलाई च्याप्प समातेर म्वाइ खायो । 

हाम्रो निगरानी भइरहेको रहेछ । बाँसको झ्याङपछाडि बसेर चियो गरिरहेका दुई जना केटाहरू फुत्त गर्दै निस्के । “तँलाई कमेनी, अझ अँगालो हाल्ने बाहुनको छोरालाई !” भन्दै च्याप्प मेरा जगल्टामा समातेर घिसा¥यो एउटाले । अर्कोले दुईचार चड्कन लगाइहाल्यो । म चिच्याएँ । महेश्वर मलाई बचाउनुको साटो एक शब्द पनि नबोली आफ्ना घरतिर कुद्यो । होहल्लाबीच गाउँलेहरू जम्मा भए । 

मसँग रूनुबाहेक केही उपाय थिएन । मेरा बुबाआमा पनि आइपुग्नुभएको थियो । सबैले मलाई छिछी र थुथु गर्न थाले । आमा रून थाल्नुभयो । बुबाले मलाई दुई झापड हान्दै भन्नुभयो, “तँलाई मैले भनेको हैन, महेश बाबुसँग भेटघाट गर्न छोड् भनेर ? अलच्छिनी तँलाई !” 

बुबाले भीडतिर फर्केर भन्नुभयो, “माफ पाऊँ बिस्ट बराजुहरू । अबदेखि कुनै दिन यस्तो भेट्नुभयो भने मार्दिनुहोला मलाई । माफ हजुर !”

भीडमध्येको एक जनाले बुबालाई लठ्ठीले ड्याम्म हिर्काउँदै भन्यो, “तेरिमा ठास्ने करेटा ! जुन थालमा खान दियो, त्यसैमा थुक्ने ? पाजी ! अब उप्रान्त तेरी छोरी कान्छा पण्डितका छोरासँग नजिक पनि परेको भेटियो भने तेरा जहान परिवार सबलाई गाउँ निकाला गरिन्छ, बुझिस् ?”

“भेटिन्ने हजुर, कुनै हालतमा भेटिन्ने । अब उप्रान्त भेटिन्ने !”

जाँदाजाँदै लौराले बुबालाई एक सठ्ठा लगाउँदै भन्यो, “पाजी साला !”

मेरो मन छियाछिया भयो । घरमा आएपछि बुबाले फेरि चार झापड लगाउनुभयो, “तँलाई भनेको हैन मैले ? खुब सम्झाउने भएकी थिइस् हैन मलाई– अचेल जातीय विभेद गर्न पाइँदैन बुबा, कानुनले नै विभेद नगर्न भनेको छ भनेर ! खुब छेक्यो हैन कानुनले ? अब पण्डितले पक्कै निकाल्छन् मलाई । के खाएर पाल्ने हो अब तिमीहरूलाई ?”

मन र शरीरको दुखाइ हुँदाहुँदै पनि रिस उठिरहेको थियो मलाई । मेरो मात्र गल्ती थिएन । त्यही महेश्वरले बोलाएर त गएकी थिएँ म । त्यही झोकमा भनिदिएँ, “कामै गर्नका लागि तिनैकहाँ जानुपर्छ र ? अन्त गरे पनि त हुन्छ ।”

“अझ बढी बोल्छेस् !” भन्दै बुबाको फेरि एक झापड खाएकी थिएँ मैले ।

अर्को दिनदेखि मेरो स्कुल जान बन्द भयो । छरछिमेकीहरू सबैले मलाई नै बिग्रेकी केटी भनेर गाली गरिरहेका थिए । 

एक महिना अघिदेखि एक जना पन्जाबी सरदार छिमेकमा डेरा गरी बस्न थालेका थिए । माहिला पण्डितका जेठा छोराले गाडी किनेका थिए । त्यही गाडी चलाउने ड्राइभर थिए उनी । गाडी चलाएर बिसाउनुपर्दा त्यहीँ आएर बस्थे । 

अलिअलि नेपाली बोल्ने सरदारलाई मप्रतिको अन्याय मन परेको रहेनछ । उनैले म र मेरा बुबाआमालाई सान्त्वना दिन थाले । मेरो र बुबाको दुखाइ कम गर्ने मल्हम ल्याएर दिए । त्यस दुःखको घडीमा उनी आफन्त जस्तो बनेर उभिएका थिए । उनलाई भने किन हो कुन्नि सबैले सरदारजी भनेर सम्मान गर्थे । 

बुबाले जे सोच्नुभएको थियो, त्यही भयो । कान्छा पण्डितका घरमा बुबालाई जान प्रतिबन्ध लगाइयो । अरू दुई घरले पनि बुबाको बालिघरे जागिर छुटाइदिए । अब हामीलाई बिहानसाँझको छाक टार्न पनि धौधौ हुन थाल्यो । 

सरदार दयालु थिए । उनले बजारबाट कहिले तरकारी त कहिले चामल ल्याएर दिन थाले । उनी हाम्रो घरका सदस्य जस्तै बन्न थाले । एक्लै पकाएर खानभन्दा म पनि तपाईंहरूसँगै खान्छु भनेर सँगै खान थाले । उनको प्रेम पाएर हामी सबै दङ्ग थियौं ।

एक दिन उनले अनायासै एक प्रस्ताव राखे, “बुबा, हुन त उमेरको अलि फरक पर्ला, तर मैले कान्तिसँग बिहे गर्दा के हुन्छ ?”

बुबाआमा केही बोल्न सक्नुभएन । मलाई लाज लागेर म बाहिर निस्किएँ । अलि बेरमा सरदारजी बाहिर निस्केपछि बल्ल म भित्र गएँ । त्यस रात मलाई निद्रा नै परेन । उनी कहाँका हुन्, परिवारको पृष्ठभूमि के हो, केही थाहा नभए पनि उनको दयालु भावबाट म प्रभावित थिएँ । उमेरको अन्तरको त मैले ख्यालै गरिनँ । सिकारीबाट फुत्केको घायल हिरणले घाउमा मल्हम लगाउने साथी भेटिएको अनुभव गर्न थालें । 

बुबाआमा पनि कसरी प्रभावित हुनभयो कुन्नि, मेरो बिहे सरदारजीसँग हुने भयो । घरमै दुईचार जना आफन्तबीच हाम्रो बिहे भयो । अत्यन्त माया गरे उनले मलाई । म पीडाहरू भुल्दै गएँ । मलाई लाग्न थाल्यो, यी सिखहरू कति दयालु हुँदा रहेछन् । म पनि सिख धर्म अपनाउने सोच बनाउन थालेकी थिएँ । 

१७ वर्षकै उमेरमा मेरो पेटमा तँ बसिस् । पाँच महिना भइसकेको थियो । मलाई दैनिक रुपमा काजु, बदाम, ओखर जस्ता चीज बजारबाट ल्याएर खुवाउँथे उनी । “यो खुवाएको तिमीलाई हैन है, तिम्रो पेटमा भएको हाम्रो मान्छेलाई हो” भनेर मलाई माया गर्दा आनन्दमा हराउँथें । 

छ महिना लाग्दै गर्दा एक दिन उनले भने, “मलाई केही दिनका लागि सहरतिर काम छ । गाडी पनि बनाउनु छ, नआत्तिई बस्नू है !” 

केही दिन एक्लै बस्नुपर्ने कुराले मलाई नरमाइलो लाग्यो । तैपनि काम छ भनेपछि मैले खुसीसाथ बिदा गरें उनलाई । त्यही नै थियो, मेरो उनीसँगको अन्तिम भेट । त्यस दिनदेखि फर्केनन् तेरा बा सरदारजी । 

आज आउलान्, भोलि आउलान् भनेर पर्खंदापर्खंदै दिन बित्दै गए । उनी आएनन् । एक महिनापछि थाहा भयो, उनलाई बुटवलको ग्यारेजबाटै सादा पोसाकका भारतीय प्रहरीको टोलीले अपरहण गरेर लगेछ । पन्जाब स्वतन्त्र अभियान, खालिस्तानका नेता थिए रे उनी । बाटैमा झूटो मुठभेड देखाएर उनलाई गोलीले उडाइदिएछन् । नेपाल प्रहरी आएर हाम्रो कोठामा खोजतलासी गर्न थालेपछि थाहा भयो । हाम्रो कोठाबाट कुनै शङ्कास्पद कुरा नभेटिएपछि उनीहरू फर्केर गए ।  

म दुःखीलाई एक्लै पारेर उनी त गइहाले । यता मलाई समाजले फेरि हेप्न थाल्यो । “कहिले बाहुनसँग, कहिले सरदारसँग गर्दागर्दै पाप कुल्र्यो । बल्ल स्वाद भेटी यस अधर्मीले !” जस्ता कुरा गरेर मानसिक पीडा कति दिए कति । पाँच महिनासम्मको राम्रो खुराकका कारण त्यसपछि राम्रोसँग खान नपाए पनि तँ स्वस्थ भएर जन्मिस् । समयले साथ दियो, म अस्पताल पनि नगई सामान्य रुपमा सुत्केरी भएकी थिएँ, नत्र त अस्पतालकै खर्च पनि कहाँबाट आउँथ्यो र !”

यति भनिसक्दा नसक्दै सङ्गीताका आँखाबाट आँसुका धारा लागिसकेका थिए । अख्तरले भन्यो, “सरी सङ्गीताजी, मैले तपाईंको घाउ कोट्याएँ क्यारे, माफ पाऊँ ।”

“हैन अख्तरजी, तपाईंले कोट्याएर मात्र हैन । यो घाउ ठ्याक्कै मेरो नभए पनि मेरी आमाको घाउ मलाई धेरै दुख्ने गरेको छ । जबजब सम्झिन्छु, भित्रैबाट हिक्का छाडेर रून मन लाग्छ । त्यो पीडा मलाई पनि त पर्न सक्छ ? त्यस्तो असहज परिस्थितिमा पनि मलाई जन्माएर नै हिम्मत गर्नुभएको थियो, मेरी आमाले । अझ मजदुरी निमेक गरेरै भए पनि मलाई दुःख नदिई पढाएर आफ्नो खुट्टामा उभिन सक्ने बनाउने मेरी आमा साँच्चै महान् हुनुहुन्छ, साक्षात् देवी हुनुहुन्छ ।”

एकछिनको मौनतापछि सङ्गीताले नै बोल्न सुरू गरी, “तर म आज धेरै खुसी छु, अख्तर सर । किन थाहा छ ?”

“खै ठ्याक्कै त थाहा भएन । तर तपाईं सदा सकारात्मक सोच्ने भएर हो कि भन्ने मेरो अनुमान हो ।”

“हैन, त्यति मात्र हैन, अख्तरजी ! आज तपाईंसँग भेट्न पाउनु एक सुसंयोग परेको मैले बुझेकी छु । अहिले मेरा श्रीमान् आउनुहुन्छ, उहाँसँग पनि तपाईंको परिचय गराउनेछु । मेरो आफ्नै कहानी पनि त्यति सीधा बाटोमा हिँडेको छैन । त्यो सारा त पछि कुनै बेला भेट भएछ भने भनौंला । तर आज म धेरै खुसी छु । मेरो पेटमा भएको बच्चाबारे सोचेर म आनन्दित भएकी छु ।”

“आजै धेरै खुसी हुनुपर्ने त्यस्तो के प¥यो, सङ्गीताजी ?”

“मेरा श्रीमान् पनि तपाईं जस्तै मानवतावादी सोचका मानिस हुनुहुन्छ । उहाँ एक कट्टर जैन परिवारको छोरा हो । लसुन–प्याज मात्र होइन, जमिनमुनि फलेको कुनै आलुसम्म पनि नखाने परिवारको मान्छे । हामी एउटै स्कुल र एउटै कक्षाका विद्यार्थी थियौं । मेरो पनि मेरी आमाको जस्तै उनीसँग प्रेम सुरू भएको थियो । आफ्नै गाउँका मानिससँग त त्यति ठूला पीडा बेहोरेकी मेरी आमा साह्रै डराउनुभएको थियो । मलाई सुरेशसँग मिलजुल नबढाउन धेरै पटक सचेत गराउनुभएको थियो । माफ गर्नुहोला, मेरा पतिको नाम सुरेश हो !

आफैंले भोगे जस्तो गरी आमाको कथा सुनेकी मलाई पनि डर नलागेको त कहाँ हो र ! तैपनि आमाको जीवन पीडाबाट म अलि सचेत थिएँ । सुरेशसँग मैले मेरो सम्पूर्ण पारिवारिक पृष्ठभूमि सविस्तार बताएपछि उहाँले मलाई झन् धेरै माया गर्न थाल्नुभएको थियो । साँच्चै, म कहिलेकाहीँ सोच्ने गर्छु, यो कुनै विशेष धर्म या जातका सबै मानिस खराब या सही त हुँदैनन् होला नि ?”

“ठीक भन्नुभो तपाईंले । मानिसको स्वभाव आआफ्नै प्रकारको हुन्छ । तर परिवार र समाजमा रहेको प्रथा, प्रचलन, विचार र संस्कारले भने कुनै न कुनै रुपमा प्रभाव पारेकै हुन्छ । त्यही प्रभावबाट माथि उठ्न सक्ने मानिस त हो महान् बन्ने ।”

“हो, एकदम सत्य वचन । अँ त अख्तरजी, म भन्दै थिएँ– मेरो हबिगत पनि आमाको जस्तो हुने हो कि भन्ने डर नलागेको कहाँ हो र ? सम्बन्धित मान्छे बलियो, विचारनिष्ठ भएपछि जस्तै अप्ठ्याराहरू पनि सहज बन्दा रहेछन् । सुरेशले परिवारसँग विद्रोह मात्र गर्नुभएन, उहाँहरूलाई मानवीय सोचप्रति आकर्षित गर्नसमेत सफल हुनुभयो । नत्र त, कहाँ सुरेश एक उच्च भनिएको जात र धनी परिवारका मान्छे, कहाँ म एक गरिब, दलित र ठिमाहा जातबाट जन्मेकी मान्छे । त्यसैले त म उहाँलाई महान् मान्छु । कति चिन्तित हुँदै आउँदै हुनुहोला, उहाँ अहिले !”

“सङ्गीताजी, तपाईंको उत्प्रेरक जीवन कहानी अति सङ्क्षेपमा त सुनें । तर मेरो प्रश्नको जवाफ आएन नि !”

“ओ हो, म पनि ! हो त नि है ! सुन्नुस्– म गर्भवती छु, मेरो पेटमा अहिले पाँच महिनाको बच्चा हुर्किंदै छ । मेरो बारेमा, म कसरी जन्मिएकी मानिस हुँ भन्ने कुरा त सुनिहाल्नुभयो । एक हिन्दू तर अछूत भनिएको दलित बाआमाकी छोरी र सिख धर्म मान्ने एक सरदारको छोराको समागमबाट जन्मिएकी हुँ म । मेरो पेटमा मेरो र एक जैनधर्मीको समागमबाट तयार हुन लागेको सन्तान हुर्किंदै छ । यसमा पनि सबभन्दा महत्वपूर्ण र मेरो खुसीको कुरा आज तपाईंसँगको भेट हो ।”

“म त अझ पनि प्रस्ट हुन सकिनँ सङ्गीताजी !”

“मेरो पेटमा रहेको यो बच्चाको शरीरमा आजदेखि एक त्यस्तो मानिसको रगत पनि मिसिएको छ, जुन एक मानवतावादी हो । ऊ आफैं एक बौद्ध र क्रिस्चियन धर्म मान्नेको एक मिश्रण हो । त्यसैले मेरो सन्तान एक मानव भएर जन्मनेछ, मात्र एक मानव । योभन्दा बढी खुसी मेरा लागि अरू के हुन सक्छ र, अख्तरजी !”

“वाह सङ्गीताजी, वाह ! साँच्चै तपाईंको विचार महान् छ । मेरो एउटा थप अनुरोध है ! मिल्छ भने उसको नाम नै मानव राखिदिनुहोला ! सानैदेखि उसले मानवताको शिक्षा पाउनेमा कुनै शङ्का रहेन अब । कसैले उसलाई मानवभन्दा अरू बनाएर कलङ्कित बनाउने प्रयास गर्ने चेष्टा पनि नगरोस् ! मानव मात्र बनोस् ऊ, एक मानव !”
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ६, २०७७  ११:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC