site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
माधवप्रसाद घिमिरेको नउघ्रिएको पाटो 
Sarbottam CementSarbottam Cement

चलचित्रमा तत्कालीन राजा महेन्द्रको गहिरो चासो थियो । नेपालमा सिनेमा कसरी बनाउन सकिन्छ भन्नेमा उनको रुचि थियो । त्यसैले उनले बेलायतमा फिल्म पढिरहेका यादव खरेललाई पढाइ सकेर नेपाल फर्किएर मलाई भेटन आउनू भनेका थिए । नेपालमा चलचित्र क्षेत्रमा देखिने गरी केही उल्लेख्य काम गर्नुपर्छ भनेका थिए । 

भारतीय कला–संस्कृतिले नेपाली कला–संस्कृतिको अतिक्रमण हुन सक्नेमा महेन्द्रको चिन्ता थियो । त्यसैले उनी नेपालमा चलचित्र उद्योग स्थापना गरेर नेपालबाट भारतीय चलचित्र र त्यसले पार्ने नकारात्मक सांस्कृतिक प्रभाव विस्थापित गर्न चाहन्थे । राजा महेन्द्रको आग्रह नकार्न नसकेर खरेल नेपाल फर्किए । दरबारले नेपालमा चलचित्र उद्योग स्थपना गर्ने र त्यसका लागि शाही नेपाल चलचित्र संस्थान खडा गर्ने तयारी सुरु गरे । दुर्भाग्य त्यही बेला उनको निधन भयो । तर राजा वीरेन्द्रले महेन्द्रले गरेको तयारीलाई पूर्णता दिए ।

२०२८ सालमा शाही नेपाल चलचित्र संस्थान गठन भयो । अध्यक्ष थिए, यादव खरेल । उनको उमेर थियो २९ वर्ष । सदस्य थिए, साहित्यकार माधवप्रसाद घिमिरे र बालकृष्ण सम । घिमिरेको उमेर ५२ वर्ष थियो । घिमिरे वरिष्ठ साहित्यकार, उमेरले अग्रज । समाजमा इज्जत थियो । तर ठिटौले खरेल अध्यक्ष रहेको शाही नेपाल चलचित्र संस्थानमा सदस्य हुँदा पनि घिमिरेले कहिल्यै पनि आफू सिनियर हुँ भन्ने अहम् देखाएनन् । त्यो उनको उदारता भएको खरेल सम्झिन्छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

कवितासँगै साहित्यका अन्य विधामा घिमिरेले कलम चलाएको धेरैलाई थाहा छ । ०६० सालमा सरकारले राष्ट्रकविको उपाधि दिएपछि उनको उचाइ थप उचालियो । कविका रूपमा उनलाई नचिन्ने कमै होलान् । तर चलचित्रमा संलग्न रहेको उनको त्यो पाटो भने सधैं ओझेलमै रह्यो । 

सिनेमाको विकास र विस्तारका लागि आउने हरेक कार्यक्रम र योजनामा उनको सक्रिय सहभागिता रहने गरेको खरेल सम्झिन्छन् । 

Global Ime bank

“नेपालमा चलचित्र क्षेत्रको विकासको आधारशीला शाही नेपाल चलचित्र संस्थानको गठनपछि नै बसेको हो । त्यसमा पहिलो कार्यसमितिमै बसेर नीतिगत निर्णयमा सहभागी भएका हिसाबले चलचित्रमा उहाँको योगदानलाई नकार्न सकिँदैन,” यादव भन्छन्, “सिनेमा क्षेत्रको इन्फास्ट्रक्चर विकासका हरेक निर्णयमा उहाँको सहभागिता छ । त्यही बेला उहाँले चलचित्रका लागि गीत लेखेर रेकर्ड गराउनुभयो मनको बाँधका लागि फूलको थुँगा बहेर गयो... त्यो त्यतिबेलाका लागि नयाँ प्रयोग थियो ।”

गीत त त्यो बेला यादव खरेल स्वयं पनि लेख्थे । तर घिमिरेका गीत सुनेर हुर्किएका उनले त्यो आग्रह राखेनन् । तत्कालीन समयमा संस्थानबाट बनेका चलचित्रमा घिमिरेकै गीत समावेश गरे । कारण आफूभन्दा उमेर र सिर्जनाले अब्बल स्रष्टा हुँदा–हुँदै उनले आफ्ना गीत समावेश गर्नु उचित ठानेन् । 

भलै चलचित्रमा उनका गीत धेरै छैनन् । कारण उनी स्वच्छन्दवादी कवि कुनै विषय र परिवेशमा बाँधिएर बस्नुभन्दा पनि मनमौजी कलम चलाउन रुचाउँथे । जुन स्वतन्त्रता चलचित्रमा कमै मात्रै पाइन्छ । उनले स्वच्छन्द रूपमा लेखेका केही गीत चलचित्रमा समेटिए । तर पछि उनको व्यक्तित्व यति उचालियो उनलाई गीत लेखिदिन आग्रह गर्न पनि निर्माताहरू हिच्किचाउन थाले ।
 
अर्को कुरा पछिल्लो समय गीतको भाव एकातिर हुन्छ निर्माता, निर्देशकले पिक्चराइज अर्कै तरिकाले गरिदिँदा गीत नै मर्ने भएकाले पनि चलचित्रका लागि उनले गीत कम दिएको हुनसक्ने खरेल बताउँछन् । 

उनीहरू चलचित्रको विषयमा छलफल गर्थे । सेन्सरमा सँगै बस्थे । सँगै चलचित्र हेर्थे । मेकिङ, चलचित्रको विषय, त्यसले समाजमा पार्ने प्रभाव र संस्थाको उद्देश्यबारे बहस गर्थे ।

० ० ०

माधवप्रसाद घिमिरे र यादव खरेल शाही नेपाल चलचित्र संस्थानको एउटै कार्यसमितिमा बसे । दुवै साहित्यकार । कुरा मिल्थ्यो । खरेल बेलाबेलामा घिमिरेलाई भेट्न उनको घर पुग्थे । 

खरेल गीतकार मात्रै होइन चलचित्र निर्देशक पनि हुन् । घिमिरेलाई आफ्नो कृतिमा चलचित्र बनाउने ठूलो रहर रहेछ । उनले आग्रह गरे– मेरो खण्डकाव्य अस्वस्थामामा सिनेमा बनाइदिनुपर्यो ।

५० को दशकको सुरुमा लेखेको उक्त कृतिमा चलचित्र बनोस् भन्ने उनको चहाना थियो । “म बरोबर उहाँकोमा जान्थेँ । हामीबीच सानिध्यता थियो । त्यही भएर पनि होला उहाँले मलाई अस्वस्थामामा पटकपटक सिनेमा बनाइदिन रिक्वेस्ट गर्नुभयो,” खरेल सम्झिन्छन्, “अस्वस्थामा यति राम्रो कृति हो, जसलाई एकेडेमीले अंग्रेजी भाषामा अनुवाद गरेर नोबेल पुरस्कारका लागि सिफारिस पनि गरेको थियो ।”

तर, खरेलले घिमिरेको आग्रहलाई स्वीकार गर्न सकेनन् । “मैले भनेँ कविज्यू म महाभारतको यो अस्वथामा पात्र यति बृहत् छ । म चलचित्र बनाउन आँटै गर्न सक्दिनँ ।”

अस्वस्थामालाई प्रतीक बनाएर आधुनिक संसारमा हतियारको होडबाजी, मानिसमा रहेको लोभ र लालसा । सत्ता कब्जा र त्यसका लागि हुने चालबाजीलाई आधुनिकतामा ढालेर लेखिएको कृतिलाई चलचित्रमा न्याय गर्न सक्दिनँ भन्ने उनलाई लाग्यो । खरेलले प्रेमपिण्ड, श्री स्वास्थानी त बनाएका थिए तर त्योभन्दा पनि बृहत् सेट र डिजाइन, ट्विस्ट र टर्न तथा त्यसका लागि आवश्यक बजेट नेपाली चलचित्रको बजारले थेग्न नसक्ने भएकाले खरेलले मन खिन्न बनाउँदै भेनका थिए, “कविज्यू म यो तपाईंको श्रेष्ठतम् कृतिलाई चलचित्र बनाउने आँटै गर्न सक्दिनँ ।”

तर पनि उनले खरेललाई पटकपटकको भेटमा यो कुरा सम्झाइरहे ।

० ० ०

लकडाउन सुरु हुनुभन्दा केही महिनाअगाडि यादव खरेल माधवप्रसाद घिमिरेको घरमा पुगेका थिए । एग्रिगेटर कम्पनीहरूले स्रष्टाहरूको गीत–संगीत विनाअनुमति प्रयोग गरेको, रोयल्टी नदिएको भन्दै स्रष्टाहरू संगठित भएपछि यसमा आवाज उठाउनु पर्यो भनेर संगीतकार लक्ष्मण शेष, गायक सत्यराज आचार्य, स्वरूपराज आचार्यलाई लिएर घिमिरेको घरमा पुगेका थिए । कपिराइट भ्वाइलेन्स भयो यसमा सहयोग गर्नुपर्यो भन्ने आग्रहमा उनले यो उमेरमा मुद्दा मामिलाका लागि अदालत त म जान सक्दिनँ तर वैचारिक हिसाबले भने मेरा साथ र समर्थन छ । घिमिरेसँगको त्यो नै खरेलको अन्तिम भेट भयो । 

गीत लेखनका हिसाबले खरेल घिमिरेलाई उच्चतम् शिखर भन्छन् । “उहाँहरूकै गीत सुनेर हुर्किएको लेखेको देखेर हामीले पनि सिकेको हिसाबले म चेयरमेन भए पनि प्रोटोकलका नाताले पनि मैले आग्रह नराखी मनको बाँधमा सबै गीत उहाँकै राखिएको हो,” खरेल भन्छन्, “अफिसियल हिसाबले मात्रै म अध्यक्ष थिएँ तर लेखनका हिसाबले मैले उहाँलाई सधैँ सम्मान गरेँ ।”

सरकारले अफिसियल रूपमा संस्थानका लागि पदीय तह निर्धारण गरिदियो । तर घिमिरेको व्यक्तित्वलाई खरेलले कहिल्यै नजरअन्दाज गरेनन् । आफूभन्दा अग्रज भन्ने हुन् भन्ने मनमा राखिरहे । 

“उहाँ जति शालीन, सरल र भद्र हुनुहुन्थ्यो त्यति नै मैले पनि म अध्यक्ष हुँ भनेर अहम् देखाइनँ । कारण उहाँ र बालकृष्ण सम मैले आदर र श्रद्धा गर्ने व्यक्ति हो भन्ने यथार्थलाई मैले भुलिनँ,” ४९ वर्षअगाडि फर्किन्छन्, “म चेयरमेनका हिसाबले बस्दा पनि उहाँहरूको भन्दा अग्लो कुर्सीमा बसिनँँ । म जुनियरलाई अध्यक्ष मान्दिनँ बनेर कार्यसमितिमा नबस्न सक्नुहुन्थ्यो तर त्यो अहम् उहाँले कहिल्यै देखाउनु भएन ।”

० ० ०

गीतकार संघले राष्ट्रकविलाई गीतकारका रूपमा सम्मान गरेन । संघले गर्ने सम्मानभन्दा धेरै माथि व्यक्ति नै स्वयं संस्था बनिसकेको अवस्थामा त्यसले खासै अर्थ नराख्ने खरेल बताउँछन् । 

तर घिमिरेलाई गीतकार नै नस्वीकार्नेहरूलाई भने उनको कडा जवाफ छ— जसले उहाँ (माधवप्रसाद घिमिरे) लाई गीतकार भन्दैन त्यो उहाँलाई नपढेको र गीत नबुझ्ने मान्छे हो । उहाँ गीत लेखनको सगरमाथा हो । हामी जो गीत लेखिरहेका छौं, उहाँको उचाइलाई छुन पनि सकिरहेका छैनौं । उहाँका त्यति धेरै गीति नाटक, खण्डकाव्य छन् झ्याउरे मात्रै गीत छन् भन्नु गीतलाई नबुझ्नु हो । 

खरेल भन्छन्, उहाँ (माधवप्रसाद घिमिरे) का दुईवटा खड्को नै रह्यो । एउटा अस्वस्थामामा चलचित्र बनाउने । अर्को ऋतम्भरा महाकाव्य प्रकाशन गर्ने । 

“उहाँ भन्नुहुन्थ्यो म ऋतम्भरा प्रकाशन गरेर मात्रै मर्छु । तर त्यो पूरा भएन । अन्तिम भेटमा पनि उहाँ त्यसै भनिरहनु भएको थियो,” खरेलले अन्तिममा भने । 

ऋतम्भरा लेखिसके पनि घिमिरे थप परिष्कारका क्रममा थिए । लेखिसकेपछि त्यसका शब्दशब्दमा परिष्कार गर्नु उनको विशेषता नै हो । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ६, २०७७  १०:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC