site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सिन्धुलाई विन्दुमा अटाउने कारिगरी 
Ghorahi CementGhorahi Cement

विन्दुमा सिन्धु समेट्न सजिलो छैन । कठिन काम हो यो । तर साहित्यकारहरूले आफ्नो रचनाशिल्प र लेखन कौशलद्वारा विन्दुमा पनि सिन्धु समेट्न सक्छन् । त्यसैले त भनिन्छ, जहाँ पुग्दैनन् रवि त्यहाँ पुग्छन् कवि । 

अर्थात्, कविता होस् वा आख्यानका विभिन्न विधा, तिनमा सिङ्गो संसार जसरी समेटिन्छ, सारा दर्शन जसरी अट्छ, त्यसबाट स्पष्ट हुन्छ एउटा कुशल सर्जकले आफ्नो मनका अथाह भावना मात्र केही हरफमा सुललित पाराले भर्छ । 

लघुकथा लेखन पनि यस्तै विन्दुमा सिन्धुलाई भर्नसक्ने कारिगरी हो । जसरी एउटा कवितामा थोरै शब्दमा अनगिन्ती भाव अभिव्यक्त भएको हुन्छ, त्यसरी नै लघुकथामा पनि निश्चित शब्द संख्यामा एउटा पूर्ण आख्यान लेखिएको हुन्छ । 

Agni Group

बितेको ११ वर्षदेखि लघुकथाको प्रवद्र्धन र लघुकथा लेखनप्रति लेखकहरूलाई प्रोत्साहित गर्नै लघुकथा समाज नेपालले बर्सेनि विभिन्न क्रियाकलाप गर्दै आएको छ । त्यसैले कुनै समय मुड आएका बेला लेखिटोपलिने विधा लघुकथामा अहिले धेरै नाम चलेका आख्यानकारहरूले कलम चलाउँदै आएका छन् ।

आख्यानकार सरुभक्त श्रेष्ठ ३० को दशकको अन्त्यतिर आफूले पनि लघुकथाहरू लेखेको बताउँछन् । उनी आफूले त्यसबेला यसो फुर्सदको समयमा वा मध्यान्तरको समयलाई सदुपयोग गर्न मात्रै लघुकथा लेख्दै आएको बताए । 

Global Ime bank

तर यसरी लघुकथा लेख्दै गए पनि उनले उसैबेला एउटा लघुकथा संग्रह नै तयार पारेर प्रकाशनमा ल्याए, ‘विरुपाक्ष र देश’ । सरुभक्तका अनुसार त्यसबखत स्रष्टाहरूले लघुकथालाई विशिष्ट विधा मानेर लेखेका होइनन् । यो गम्भीर विधा हो भन्ने पनि त्यसबेला सायद सोचिएन ।

साहित्यकार सरुभक्त भन्छन्, “४० को दशकसम्म त्यस्तै रह्यो । लघुकथालाई गम्भीर विधा मानिएन । तर पनि लेख्दै गइयो । यतिबेला भने लघुकथा लेखन अगाडि बढेर आएको छ । मलाई के लाग्छ भने, लघुकथा सानो र सटिक हुने भएकाले नै आज लेखन पनि फस्टाएर गएको हो । छोटो समयमा पनि पढ्न सकिने, कथामा भाव, मर्म बुझ्न सकिने सन्देश हुने भएकाले नै पनि लघुकथा लेखनतिर धेरैको ध्यान गएको हो ।” 

सरुभक्तका अनुसार आज लघुकथाले राम्रो बाटो समाएको छ । यो बाटो निर्माणमा लघुकथा समाजको योगदानलाई स्वीकार्नै पर्ने उनको तर्क छ । 

आकारमा सानो वा लघु भए पनि भाव अभिव्यक्तिका दृष्टिकोणले लघुकथालाई बृहत् र बलियो मान्नुपर्छ । त्यसैले पनि लघुकथा लेखनमा धेरैले आफ्नो कलम र कथ्यशिल्पको प्रयोग गर्दै आएका छन् । 

यद्यपि लघुकथा लेखनलाई बलियो बनाउने काम त्यसका लेखकहरूको नै भएको ‘लघुकथाको रचनाविधान’का लेखक प्रा.डा. लक्ष्मणप्रसाद गौतम बताउँछन् । लघुकथा लेखकले जहिले पनि होहल्ला गरेर अगाडि बढ्नुभन्दा स्तरीय लघुकथा पाठकलाई दिएर अगाडि बढ्दा त्यसले स्रष्टालाई युगयुगान्तर जीवित राख्ने प्राडा गौतमको भनाइ छ । 

प्राडा लक्ष्मण गौतम भन्छन्, “एउटा लेखकको शक्ति नै उसको लेखन हो । लेखकले जुनै विधामा कलम चलाऊन् तर त्यसका लागि साधना र समर्पण आवश्यक मानिन्छ । त्यसैले हरेक लेखकले म युगौंयुग बाँच्ने भनेको साधनाले हो, समर्पणले हो भन्ने कुरा प्रस्टसित बुझ्नुपर्छ ।”

डा. गौतम र साहित्यकार सरुभक्तको भनाई हेर्ने हो भने प्रस्ट हुन्छ, कुनै पनि लेखकले साधना र समर्पणसाथ गम्भीर भएर लेख्न चाहेको विधामा कलम चलाउँदा नै रचना शक्तिशाली बन्छ । त्यसरी कलम चलाउँदे गइयो भने त्यसले लेखकको लेखनकलालाई तिखार्छ नै, साथै लेखकलाई युगयुगान्तर साहित्यमा स्थापित गराउँछ । 

पछिल्लो समय लघुकथा लेखनमा कतिपय लेखकको साधना झल्किँदै आएको यस क्षेत्रका कलमजीवीहरू बताउँछन् । एक समय थियो, लघुकथा भने पछि चुट्किला शैलीको लेखन पनि भने धेरैले, तर पछिल्लो केही वर्षयता लघुकथा लेखनमा आएको गम्भीर र हृदयस्पर्शी कथानकताले अन्य विधामा कलम चलाउँदै आएका कतिपय सर्जकहरूले पनि लघुकथामा कलम चलाउन थालेका हुन् भन्दा गलत नहोला ।

लघुकथा समाजका अध्यक्ष साहित्यकार श्रीओम रोदन, लघुकथा लेखनमा यादव खरेल, कमल दीक्षित, विधान आचार्यलगायत अनेकौं सर्जकको आगमन हुनुले लघुकथा लेखन फस्टाउँदै गएको संकेत दिएको बताउँछन् । 

सानो आकारको भए पनि बलियो लेखनले गर्दा नै लघुकथा सबैको नजरमा पर्दै आएको छ । तसर्थ लघुकथा लेखनलाई प्रवद्र्धन गर्नुका साथै लघुकथातर्फ लेखकहरूलाई आकर्षित गर्नका लागि ११ वर्षअघि लघुकथा समाज नेपालको स्थापना भएको डा. गौतम बताउँछन् । 

पछिल्लो एक दशकयता समाजले लघुकथाका क्षेत्रमा अनेकौँ काम गर्दै आएको छ । लघुकथा लेखनमा लाग्नेहरूलाई छलफल र अन्तर्क्रियामा बसाउनु त छँदै छ, त्यसबाहेक लघुकथाको स्तरीयताका लागि पनि समाजले विशेष जोड दिँदै आएको छ । लघुकथा गोष्ठी, वाचन, अन्तर्क्रिया, छलफल, लघुकथा लेखन कार्यशाला मात्रै नभएर समाजले प्रकाशोन्मुख लघुकथा संग्रहको पाण्डुलिपिमाथि विमर्श पनि गराउँदै आएको छ । यो विमर्शको अर्थ प्रकाशित लघुकथामाथि अनर्गल आक्षेप नआओस् भन्ने नै हो । 

लघुकथा समाजको १२औं दिवसका सन्दर्भमा लघुकथासँग जोडिएका केही व्यक्तित्वहरूसँग लघुकथाबारे गरिएको कुराकानीले लघुकथा लेख्न, लघुकथाको वर्तमान अवस्थाबारे बुझ्न सजिलो बनाउने निश्चित छ । 

प्रा.डा. लक्ष्मणप्रसाद गौतम : 
लघुकथाको रूप मात्रै लघु भएर हुँदैन । यसको संरचना, आख्यानको क्षेत्र सबै कुरा लघु हुनुपर्छ । तब मात्र लघुकथा– लघुकथा हुन्छ । आख्यानमा उपन्यास ठूलो र लघुकथा सानो भन्ने हुँदैन । 

जस्तै, उपन्यास रूख हो भने लघुकथा हाँगो हो भन्ने होइन । त्यो अवधारणा गलत हो । उपन्यास रूख हो भने लघुकथा पनि रूख नै हो, तर उपन्यास ठूलो रूख हो भने लघुकथा गमलामा रोपिएको रूख । गमलामा रोपिएको रूखमा वा बोटमा पनि ती यावत् कुरा हुन्छन्, जुन बाहिर रोपिएको ठूलो बोटमा हुन्छ ।

अर्थात् उपन्यास वा कथामा जत्ति पनि तत्त्वहरू हुन्छन्, लघुकथामा पनि ठ्याक्कै तिनै तत्त्वहरू हुन्छन्, तर फरक के हो भने उपन्यासको कथानकतामा व्यापकता हुन्छ । लघुकथाको कथानकता अत्यन्तै सूक्ष्म हुन्छ ।

उपन्यास, कथा र लघुकथाको संरचना एउटै हुन्छ । यिनमा आकार मात्रै फरक हो । आकार सानो भएकाले लघुकथाको संरचना सानो हुन्छ । त्यसले लिने कथानकको आयाम सानो हुन्छ । त्यसले समेट्ने समय र परिवेश सानो हुन्छ । 

लघुकथाका केही निजी अभिलक्षण र विशेषताहरू पनि छन् । लघुकथा लघु भएकाले सामान्य किसिमबाट टुंगियो भने त्यो चुटकिलाजस्तो हुनजान्छ । त्यसैले पनि लघुकथाको अत्यन्तै गहन रूपमा रहस्यको पटाक्षेप हुनुपर्छ । समापन तीव्र हुनुपर्छ । यस्तो भएको खण्डमा मात्रै लघुकथा वास्तविक लघुकथा बन्छ ।

आख्यानकै अर्को उपविधा लघुकथालाई हेय दृष्टिले हेर्नु वा ‘छि लघुकथा पो’ भन्ने अभिव्यक्ति दिनु भनेको आधा गाग्री पानी छचल्किनुजस्तै हो लाग्छ मलाई । पश्चिमी साहित्यमा पनि प्रशस्त लेखिँदै आइएको छ लघुकथा । खलिल जिब्रानलाई हामी सबैले पढेका छौँ । तिनका अनेकौं किताब विश्वका सयौं भाषामा अनुवाद भएर प्रकाशनमा आएका छन् । खलिल जिब्रानलाई विश्वभरिका पाठकले पढ्छन् । यस हिसाबले खलिल जिब्रान लघुकथाका एक मानक व्यक्तित्व मानिन्छन् ।

त्यसैले पनि लघुकथा विश्वमै स्थापित विधा हो । तर यसको अप्ठ्यारो पक्ष भनेकै यसको गुणात्मक लेखन हो । राम्रो लघुकथा लेख्न अत्यन्तै गाह्रो हुन्छ । किनभने त्यहाँ लेखकले थोपामा समुद्र अटाउन सक्नुपर्छ । जुन हरकोहीबाट सम्भव हुन्न । त्यो सामथ्र्य नभएकाले लघुकथाप्रति हेय दृष्टि राख्दै आएका हुन कि भन्ने मलाई लाग्छ ? 

पछिल्लो समयमा नेपाली साहित्यमा लघुकथा लेखन अत्यन्तै बलियो भएर आइरहेको छ । यस्ता धेरै लघुकथाकार छन्, जसले बलिया लघुकथा लेख्दै आएका छन् । मेरो विचारमा कुनै पनि विधा हेला गर्ने खालको हुँदैन ।

हरेक स्रष्टामा आफ्नो सिर्जना सबै राम्रा भन्ने दृष्टिकोण हावी भइरहेको हुन्छ । यसले जहिले पनि सिर्जनालाई अप्ठ्यारोमा पारिरहेको हुन्छ । सिर्जना भनेको त साधना हो । जिन्दगीभरि साहित्य सिर्जना कहिले नगर्ने, साधना नगर्ने, अनि कहीँ कतै सेवाबाट निवृत्त भइसकेपछि त्यस्ता व्यक्तिले पहिचानको खोजी गर्दै साहित्य लेख्ने परम्पराले पनि लेखन कमजोर हुँदै गएको जस्तो देखिन्छ । यस्तो लेखनमा साधना अलिकति पनि हुँदैन । साधना नगरी लेख्दा सिर्जना शक्तिशाली बन्दैन । 

लघुकथा समाजले लघुकथा प्रकाशनपूर्व लघुकथाको पाण्डुलिपिमा छलफल गरेर यो राख्ने, यो मिलाउने र यो हटाउने भन्ने सल्लाह गर्दै राम्रो छापिएर आओस् भनेर एउटा गहकिलो काम गर्दै आएको हो । तर हामी कहाँ त कस्तो प्रवृत्ति छ भने लघुकथा समाजमार्फत किताब छाप्न जाने हो भने त सबै लघुकथा रेटिन्छ है भन्ने हल्ला पो फैलिँदै गयो । जसले गर्दा धेरै लेखकहरूले पाण्डुलिपि माथि विमर्श गराउनै छाडे । यस किसिमको छलफललाई सकारात्मक रूपमा लेखकले लिएनन् । 

कथाकारले लघुकथा सानो हुन्छ तर त्यसका लागि झन् बढी साधना र सिर्जनशीलता चाहिन्छ भन्ने बुझिदिनुपर्छ । हामी कहाँ साहित्यको संख्यात्मक ग्राफ चार्ट धेरै माथि पुगेको छ तर गुणात्मकताको ग्राफचार्ट तलै रहेको छ । जबकि यो दुवै समानान्तर रूपमा रहनुपर्थ्यो । यी दुईमा ग्याप धेरै रह्यो । यो घट्दै गए स्वतः सबै विधाको लेखनले स्तरीयताको उचाइ लिन्छ नै ।

मूलतः शक्तिशाली लेखनले नै बाचिन्छ भन्ने सोच्नुपर्छ हरेक स्रष्टाले । संख्याले इतिहास बनाउँदैन, साधनाले इतिहास बन्छ भन्ने लेखकले सोचिदिनु भए लेखनको गुणात्मकताको चार्ट निश्चित रूपमा माथि पुग्छ । यो लघुकथामा मात्रै हैन, नेपाली साहित्यका हरेक विधामा लागु हुन्छ ।

यादव खरेल :
लघुकथाप्रतिको आकर्षण मलाई उहिलेदेखिकै हो । त्योबेला आफूभन्दा अग्रजहरूले लेखेको लघुकथा मैले निरन्तर पढ्दै आएको हुँ । 

पछिका दिनहरूमा समय–समयमा आयोजना हुने लघुकथा गोष्ठीहरूमा मैले पनि भाग लिने मौका पाएँ । त्यसपछि मेरो रुचि लघुकथातर्फ बढेर गएको हो । अनि मैले लघुकथामा कलम चलाउन थालेँ । 

लघुकथा लेखन गम्भीर विषय हो । तर लघुकथालाई गहिरो गरी कथाकारहरूले बुझ्न खोजेनन् । लघुकथाको गम्भीरता नबुझ्न खोज्नेले मात्रै लघुकथामाथि अनर्गल उडाएका हुन् भन्ने मलाई लाग्छ । 

राम्रो नराम्रो लेखाइ जुनसुकै विधामा पनि हुन्छ । राम्रो लघुकथा सानै भए पनि गहकिलो हुन्छ । जीवन र दर्शन त्यहाँ अथाह भेटिन सक्छ । 

आजको समय र परिवेशमा लघुकथा उपयुक्त पाठ्यसामग्री हो भन्ने मलाई लाग्छ । 

अशेष मल्ल :
लघुकथा हेपिएको छ भन्ने मलाई लाग्दैन । तर कथाकारहरू स्वयंले लघुकथा लेखनमा सुषुप्तता ल्याएका हुन् कि ? तथापि लघुकथा समाजले जसरी काम गरिरहेको छ, त्यसले लघुकथाको गरिमा बढाएको मलाई अनुभव हुन्छ ।

चुट्किलाका रूपमा लघुकथालाई लिनु त्यस्ता व्यक्तिहरूको वैयक्तिक हीनताबोध हो । वास्तवमा लेखन विधा जति सानो भयो त्यति लेख्न गाह्रो हुन्छ । जस्तो मुक्तक लेख्न गाह्रो हुन्छ । हाइकु लेख्न त झनै गाह्रो हुन्छ, कविताको तुलनामा । त्यसैले लेख्न नसक्नेहरूकै हीनताबोध हो यो ।

खलिल जिब्रानको लघुकथा विश्वभर मानक मानिन्छ । खलिल जिब्रान नपढ्ने कोही छैनन्, होला । नेपालको लघुकथा लेखनमा स्तरीयतालाई खासै ध्यान दिइएन, संख्यालाई मात्रै ध्यान दिइयो । यसको प्रत्यक्ष असर लेखनमा पर्ने निश्चित छ । 

त्यसैले पनि लघुकथा लेखनमा हामीले अझै धेरै काम गर्नुपर्ने देखिएको छ । मूल कुरा के हो भने, लघुकथामा प्रस्तुत हुने भाव, मर्म र त्यसको कथानकताले मात्रै त्यसलाई लघुकथा बनाउँछ । 

लघुकथा समाजले लघुकथालाई प्रवद्र्धन र स्थापित गर्न ठूलो अभियान थालेको छ । यसले लघुकथालाई धेरैले मनपराउने विधा बनाइदिएको छ । यस अर्थमा समाजले गरेका कामहरूले लघुकथालाई स्थापित गरिदिएको छ । पत्रिकाहरूमा सीमित लघुकथालाई व्यापकता प्रदान गरेको छ ।

केही वर्षदेखि लघुकथाको मञ्चन पनि सुरु गरिएको छ । लघुकथा मञ्चन निकै गाह्रो कुरा हो । लघुकथालाई नाट्यकरण गर्न लघुकथाको भाव र घटना प्रमुख मानिन्छ । त्यसैले पनि लघुकथा मञ्चन गाह्रो भएको हो तर पनि रंगकर्मीहरूले लघुकथालाई रंगकर्ममा ढाल्दै आएका छन् । यो खुसीको कुरा हो ।

सरुभक्त :
लघुकथामा मैले धेरै अगाडिदेखि कलम चलाउँदै आएको हुँ । अहिले आएर लघुकथा झनै विस्तारित भएर गएको मैले पाएको छु । लघुकथा लेखनले गति लिएको छ । लघुकथा समाजले पनि धेरै राम्रा कामहरू गरिरहेको छ, लघुकथा लेखन र प्रवद्र्धनका लागि ।

पोखरामा पनि लघुकथाको संस्थागत विकासका लागि धेरै प्रयास भइरहेका छन् । पोखरामा लघुकथा लेखन र वाचनको क्रम पनि सुरु भएको छ । अब लघुकथा फुर्सदमा मात्रै लेख्ने विधा रहेन । 
पछिल्लो समय संस्थागत हुँदै गएकाले लघुकथामा लेखकहरूको रुचि बढेर गएको छ । भोलिका दिनमा लघुकथा मूल विधाका रूपमा विकसित हुनसक्छ भन्ने देखाएको छ यसले । तथापि, यसलाई पूर्ण विकास भएको भन्न सकिँदैन । 

लघुकथाको मञ्चनले पनि एउटा विशिष्ट स्वरूप लिएको मैले देखेको छु । पोहोर मेरो लघुकथा ‘दसैं’ को मञ्चन भएको देखेपछि लघुकथा मञ्चनका लागि पनि र वाचनका लागि पनि योग्य रहेको मैले महसुस गरेँ । 

केही दिनअघि मैले एउटा कवि गोष्ठीमा लघुकथा नै वाचन गरेँ । त्यसैले लघुकथा पाठकले रुचाउने विधाका रूपमा विकसित भएको मैले पाएको छु । 

श्रीओम रोदन :
दशक अघिदेखि लघुकथाको अभिवृद्धिका लागि हामीले एकनासले काम गरिरहेका छौँ । लघुकथामा हामी सक्रिय भएपछि धेरै लेखकहरूले लघुकथामा कलम चलाउनुभएको छ । जस्तै, कमल दीक्षितले पनि एउटा लघुकथासंग्रह प्रकाशन गर्नुभयो । अरू पुराना लेखकहरू पनि लघुकथा लेखनमा सक्रिय हुनुहुन्छ । 

लघुकथा समाज स्थापना भइसकेपछि सामाजिक सञ्जालमा पनि लघुकथा लेख्ने समूहहरू बनेका छन् । र सबैले लघुकथा समाजले बनाएको बाटोलाई नै पछ्याएको, समाजले बनाएको बाटोमै हिँडिरहेको देखेको छु मैले । यसले लघुकथा लेखनमा व्यापकता आएको प्रस्ट देखाएको छ । 

पहिले लघुकथाप्रतिको दृष्टिकोण फरक थियो । कतिपयले यो साहित्यिक सिर्जना होइन भन्दै आएका थिए । लघुकथा लेखेर नेपाली साहित्यमा स्थापित भइँदैन भन्ने कुरो पनि नगरेका हैनन् । 

तर पछिल्ला वर्षहरूमा हामीले गरेको कामले त्यो दृष्टिकोणलाई विस्थापित गर्दै लगेको छ । लघुकथाका विरुद्धमा लाग्नेहरूले प्रशंसा गर्ने स्थिति पैदा भइसकेको छ, आज । लघुकथाको जागरण भएको छ । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ६, २०७७  ०८:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC