बुवा
बुवा अभावहरूलाई ओढेर
मुस्कुराउनु हुन्थ्यो
जसरी डुब्न लागेको सूर्य भोलि सम्झेर
गोधूलीमा पनि मुस्कुराउँछ
बुवासँग बाँड्नका लागि अनगिन्ती कुराहरू थिए
नसिकाएर सिकाउने अनेकौँ कथाहरू थिए
र त गाउँलेहरू आउँथे
र बुवाको कुरा सुनिरहन्थे
मास्टरको स्वभाव थियो बुवाको
बाँडेर कहिल्यै नथाक्ने ।
आमाको पक्षबाट सोच्दा
बुवाले घरको होइन गाउँको मात्र पीर गर्नुहुन्थ्यो
चुलो कसरी बल्छ कहिल्यै सोच्नु भएन बाले
तर पनि चुलो बलिरह्यो
हाम्रा लागि मात्र होइन
घर आउने जो सुकैका लागि
चिया पनि पाकी नै रह्यो ।
बुवा बाहिर जाँदा
हामीले फुर्माइस गरेको कुरा
कहिले आउँदा आउँदै गाडीमै छुट्थ्यो
कहिले त्यो पसलमै सकिन्थ्यो
तर
मसँग पैसा भएन र किन्न सकिनँ
कहिल्यै भन्नु भएन बुवाले
हाम्रो मन नदुखोस् भनेर
बुवा झुटो पनि बोल्नु हुन्थ्यो
तर कहिल्यै आफ्नो आदर्श र इमान
बेच्नु भएन बुवाले ।
भलै धन थुपारी दिनुभएन
तर सबै थोक दिनुभयो बुवाले
इज्जत, नाम, सोच र संस्कार
मैले बुवाबाट पाएको नासो हो
मेरो सम्पत्ति हो ।
बुवालाई बुझ्न बुवा नै बन्नुपर्छ
छोराले कहिल्यै बुझ्न सक्दैन
बुवा हुनुको अर्थ
जुन दिन उसले बुझ्छ
त्यो दिन ऊ छोरा मात्र रहँदैन
बुवा बनिसकेको हुन्छ ।
० ० ०
अर्थ
म गर्भमा हुँदा
आमाले सधैँ गीता पढ्नु हुन्थ्यो
त्यही भएर होला
मैले कहिले पनि फलको आशा नगरी
आफ्नो कर्म गरिरहेँ ।
आफूलाई बिर्सेर
आफ्नो कर्म गरिरहँदा
म आफू हराएको पत्तै भएन ।
०००
साथी, श्रीमती वा आमा
छोरी वा असल नागरिक
यी सबै हुँदा हुँदै म आफू भइनँ
आफन्तहरूबाटै काटिए मेरा पखेटाहरू
जसका लागि मैले आफूलाई हराएँ
उही आँशु बनेर आउँछ घरीघरी
जसका लागि मैले आफूलाई बिर्सेँ
उही ठडिन्छ पीडा बनेर घरीघरी ।
०००
आज फेरि गीता पढ्दै छु
र बुझ्दै छु– कर्मको अर्थ
आफ्नो स्वतन्त्रता र मुस्कानको अर्थ
दिनु र पाउनुको अर्थ
मायाको अर्थ ।