प्योङयाङ । उत्तर कोरियाली नेता किम जोङ उनले बहिनी किम यो जोङलाई 'थप जिम्मेवारी' हस्तान्तरण गरेका छन् ।
दक्षिण कोरियाली जासुसी संस्था नेशनल इन्टेलिजेन्सका अनुसार किमले अझै पनि 'पूर्ण अधिकार' आफूमै राखेको तर तनावको स्तर कम गर्न कैयौं नीतिगत अधिकार बहिनीलाई सुम्पिएका छन् ।
किमले अहिले 'सम्पूर्ण राजकीय मामिला चलाइरहेको' जनाइएको छ । विगतमा उत्तर कोरियाको केही ममिलामा दक्षिण कोरियाली जासुसी संस्थाको दाबी गलत सावित भएको थियो ।
दक्षिण कोरियाको माथिल्लो सदनको बन्द छलफलमा उक्त दाबी गरिएको बताइएको छ । त्यसपछि सांसदहरूले उक्त आँकलनबारे पत्रकारहरूसँग छलफल गरेका थिए ।
जासुसी संस्थालाई उद्धृत गर्दै भनिएको छ, "किम जोङ उनले अझै पनि पूर्ण अधिकार प्रयोग गरिरहेका छन् तर त्यसमध्ये केही जिम्मेवारी भने हस्तान्तरण गरिरहेका छन् ।"
अब अमेरिका र दक्षिण कोरियाबारे प्योङ्याङको नीतिसहित अन्य नीतिगत मुद्दाहरूको जिम्मेवारी बहिनी किममा सरेको र उनी वास्तविक रूपमा दोस्रो नम्बरको नेता रहेको बताइएको छ ।
तर नेता किमले उनलाई 'उत्तराधिकारी छानेका' छैनन् । नेता किमको निर्णय 'राजकीय तनावबाट छुटकारा पाउने र नीतिगत विफलताको दोषबाट जोगिने' उपायको एउटा भाग भएकोसमेत नेशनल इन्टेलिजेन्सले जनाएको छ ।
तर कतिपय विश्लेषकहरूले बहिनी किम यो महिना भएका दुई महत्त्वपूर्ण बैठकहरूमा नदेखिएको भन्दै उनको घटुवा भएको अनुमानसमेत गरेका छन् ।
नेता किमकी कान्छी बहिनी उनी निकट र शक्तिशाली सहयोगी हुन् । सन् १९८७ मा जन्मिएकी चार वर्ष कान्छी बहिनी र किमले एकै समयमा स्वीट्जरल्यान्डमा पढेका हुन् ।
किम वंशको पहिलो सदस्यको रूपमा सन् २०१८ मा दक्षिण कोरियाको भ्रमण गरेपछि उनले अन्तर्राष्ट्रिय ध्यान तानेकी हुन् । उनी दक्षिण र उत्तर कोरियाले संयुक्त रूपमा सहभागिता जनाएको शीतकाली ओलम्पिकमा गएको प्रतिनिधिमण्डलमा सहभागी थिइन् ।
उनी दक्षिण कोरियाली नेता मुन जे-इन, चीनका राष्ट्रपति सी जिन पिङ र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको बैठक सहितका अन्तर्राष्ट्रिय सम्मेलनहरूमा दाजु किमको नजिक रही सहभागी भएकी थिइन् ।