क. आइसोलेसनमा राख्ने ठाँउको व्यवस्थापन ।
नेपाली सेनाको भक्तपुरस्थित स्कुलको होस्टेललाई ‘आइसोलेसन वार्ड’ बनाउन सकिन्छ । २ – ३ हजार त त्यहीँ अट्छन् । नजिकै ३ ओटा केन्द्रीय तहका अस्पताल छन् । गम्भीर बिरामीलाई सजिलै तिनमा सार्न सकिन्छ । पूर्वाधार बढाउनु परे सेनाको स्कूलको चौरमा जति पनि ठाउँ छ । कोरोनासँग पनि राज्यको युद्ध नै हो । राज्यले चाहने हो भने पक्कै पनि मिल्छ ।
२. मेडिकल कलेजका बेसिक साइन्सका होस्टलहरुलाई पनि आइसोलेसन बनाउन सकिन्छ । दुई तीन हजार त त्यहीँ सजिलै अट्छन् ।
३. काठमाडौं उपत्यकामा खालि रहेका पुरुष र महिला छात्रावासलाई आइसोलेसन बनाउन सकिन्छ ।
४. आवासीय सुविधा भएका स्कूल, कलेज सबै बन्द छन् । तिनको खाली होस्टेललाई पनि आइसोलेसनका रूपमा प्रयोग गर्न सकिन्छ ।
ख. आईसीयु, भेन्टिलेटर, अक्सिजन, पीपीई, सहयोगी (सपोर्टिभ) औषधि
आईसीयु, भेन्टिलेटर, अक्सिजन, पीपीई, सहयोगी (सपोर्टिभ) औषधिको व्यवस्था यथाशीघ्र गर्न केहीले पनि छेकेको छैन । बस इच्छा शक्तिमात्र चाहिन्छ । यस्तो बेलामा पनि पैसा खाने मेलो हो भने त केही भन्न सकिन्न । कोभिडलाई मात्र होइन भविष्यमा ’टाकटुके पाराले’ चलिरहेका अस्पतालको स्तर उन्नति गर्न अहिले किनेका सामानले धेरै मद्दत पुग्छ ।
ग. चिकित्सक, नर्स, कर्मचारीको व्यवस्थापन
आईसीयु, भेन्टिलेटर चलाउन दक्ष चिकित्सक, नर्स चाहिन्छ । सरकारले ’दक्ष चिकित्सकहरू छैनन्’ भन्नु आफ्नो नालायकी लुकाउन खोज्नुमात्र हो । यथार्थमा नेपालमा बीस हजार चिकित्सकमध्ये ५–६ हजारलाई सरकारले विगत ४–५ वर्षदेखि घरैमा ‘बन्धक’ बनाएर राखेको छ । पचास लाख खर्च गरेर, ६–७ वर्ष पढेर धेरै कुरा सिकेर तयार भएका ५–६ हजार डाक्टर चिकित्साा व्यस्त हुनुपर्ने बेलामा घरैमा बन्धक बनाइएका छन् – एमडी एमएसको तयारीका नाममा । घरैमा थुनिएर बसेका आईसीयु, भेन्टिलेटर सबै चलाउन आउने हजारौं डाक्टरलाई यस्तो बेलामा परिचालन गर्नु पर्दैन ? यद्यपि, घरमा बन्धक बनाएर राखेकाहरूलाई काममा बोलाउने नैतिक आधार भने यो सरकारले राख्दैन ।
सरकारमा बस्नेहरू वर्षको अर्बमा होइन ‘खर्बमा’ भ्रष्टाचार गर्ने अनि यस्तो बेलामा डाक्टर, नर्स लाई २० हजारमा काम लगाउन खोज्दा कुन मनोबल र उत्साह लिएर काममा आउने ? सरकार गरिब भएर पैसा नभएको होइन । शासकहरूले लुटेकाले यो देश गरिब भएको हो ।
खर्बाैं खल्तीमा हाल्न सक्नेहरूले यस्तो बेलामा ३–४ हजार डाक्टर, नर्स, स्वास्थकर्मी नियुक्त गर्न सक्दैनन् ? आफ्नो दुनो सोझिने चुनावमा अर्बौं खर्च गरेर, हजारौं म्यादी प्रहरी राखेर तामझाम गर्न सक्नेहरुले अहिले यति गर्न सक्दैनन् ? जति पनि सक्छन् । नगरेरमात्र हो ।
घ. वुद्धि, विवेक, ज्ञान, चातुर्य, दूरदृष्टि र कुशल नेतृत्व
यी पाँचवटै गुण भएका व्यक्तिलाई त यो कोरोनाको युद्ध लड्न गाह्रो होलाजस्तो छ भने केही नभएको तर चुनावमात्र जितेकाले यत्रो लडाइँ लड्न सक्लान् त्यो पनि घमण्ड गरेर । ज्ञान र दूरदर्शिता नभएको घमण्डी नेतृत्वले हामीलाई खाल्डोमा पार्दैछन् । महसुस त धेरैले गरिसक्नु भयो होला ।
के गर्ने त?
दूरदर्शी, जनस्वास्थ्य बुझेका, इमानदार व्यक्ति यस लडाइँको कमान्डर बन्नुपर्छ । नैतिकता, इमानलगायत सबै सद्गुण नभएकाबाट यो लडाइँ जित्न सम्भव छैन ।
तसर्थ नेपाल मेडिकल एसोसिएसन, नेपाल नर्सिङ्ग संघ, अन्य स्वास्थ्य संघसंस्था, जिल्ला प्रशासन कार्यालय, स्थानीय सरकार, सुरक्षा निकाय, नागरिक समाजको प्रत्येक जिल्लामा छुट्टै अधिकार सम्पन्न टोली हुनुपर्छ । त्यस टोलीको हरेक सुझावलाई अक्षरशः पालना गर्नु गराउनु पर्छ । विचार आदानप्रदान हुनुपर्छ । संघ सरकारले पनि ५ महिनादेखि सरकारी विज्ञ वृद्ध टोलीको मात्र कुरा सुनिरहन छाडेर देशव्यापीरुपमा प्रकट विचारहरु मनन गर्दै लागू गर्नुपर्छ ।
( शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कार्यरत)