site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सरकारै गैरजिम्मेवार भएपछि...

सरकार सबै नागरिकको अभिभावक हो । नागरिकमाथि शासन गरी शासकले सुख सुविधा उपभोग गर्न र समाजमा रवाफ देखाउन राज्य तथा सरकारको अवधारणा आएको हो भन्ने परिभाषा पुरानो भइसक्यो । अहिले त राज्य जनताले आफ्नो जीवन र धनको सुरक्षा गर्न आफ्ना निश्चित अधिकार सुम्पेर निर्माण भएको संस्था हो भन्ने मानिन्छ । आफ्नो अधिकार र सम्पत्तिको सुरक्षा गरिदिएबापत निश्चित मात्रामा नागरिकले राज्य सञ्चालन खर्च करका रुपमा सरकारलाई दिने गरी भएको सम्झौताअनुसार आधुनिक राज्य सञ्चालित हुन्छ । यसैले राज्य सञ्चालनका लागि गठन गरिएका सरकारहरूको पहिलो कर्तव्य जनधनको सुरक्षा र राज्यमा शान्ति कायम गर्नु हो ।

घरमा परिवारका सम्पूर्ण सदस्यलाई सुखी र समृद्ध बनाउन अभिभावकको भूमिका भएजस्तै राज्यका सबै नागरिकका समस्यामा साथ दिई उनीहरुलाई सुखी र समृद्ध तुल्याउने उद्देश्य प्रजातान्त्रिक सरकारको हुने गर्छ । 

व्यक्ति तथा परिवार स्वयंले सामना गर्न नसक्ने किसिमका समस्याको समाधान तथा जनताका आधारभूत आवश्यकता पूरा गर्ने र विकासनिर्माणसम्बन्धी पूर्वाधारका क्षेत्रमा राज्यको लगानी एवं प्रयास आवश्यक पर्छ । राज्यमा शासक असल भए जनता निश्चिन्त हुन सक्छन् भने देशविकासका लागि अनुकूल वातावरण पनि सिर्जना हुन्छ । कोरोना महामारी विश्वव्यापी समस्याका रुपमा देखा परेपछि विभिन्न राष्ट्रले आफ्नो क्षमताअनुसार नागरिकको सुरक्षाका लागि आवश्यक कदम चाले । औषधि उपचारको लागि अहिले पनि धेरै राष्ट्रले ठूलो लगानीमा अध्ययन र अनुसन्धान कार्य अगाडि बढाइरहेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

 अत्यन्त छिटो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्नसक्ने कोरोनाभाइरसका कारण विश्व अर्थतन्त्र गम्भीर समस्यामा परेको छ । कोरोनाकै कारण विश्वमा मन्दीको जोखिम रहेको अर्थशास्त्रीले बताउन थालेका छन् । स्वास्थ्य, शिक्षालगायतका क्षेत्रमा महामारीले पारेको असर मानव समुदायले लामो समयसम्म भोग्नुपर्ने देखिन्छ ।

यतिमात्र होइन, धेरै समयसम्म भाइरस मानव समाजमै रहनसक्ने भएकाले आवश्यक सतर्कतासहित कोरोनासँगै जिउने कला सिक्नुपर्ने तर्कसमेत गर्न थालिएको छ । 

Global Ime bank

नेपालले पर्याप्त सतर्कता अपनाउन सकेको भए छिमेकी मुलुक चीनबाट फैलिएको यस महामारीको कुप्रभावबाट देशलाई बचाउनसक्ने पर्याप्त सम्भावना थियो । अभिभावकको भूमिकामा रहेको सरकारको दूरदर्शिताको अभावका कारण देश चार महिनाको पट्यारलाग्दो बन्दाबन्दी पार गरेर पनि समस्या कम हुनुको सट्टा झनै कष्टकर हुने क्षणको प्रतीक्षामा छ । स्वास्थ्यकर्मी तथा वैज्ञानिकहरुअनुसार आगामी केही दिन नेपालका लागि झनै कष्टकर र चुनौतीपूर्ण देखिन्छन् । कुन कारणले नेपाली समाज सङ्क्रमणको गम्भीर समस्या तर्फजाँदै छ भन्ने विषयमा प्रस्तुत लेख केन्द्रित रहेको छ ।

१ हवाई यातायात समयमा नरोक्नु

चीनमा सङ्क्रमण बढेपछि संसारका धेरैजसो देशले चीनसँगको हवाई सम्पर्क विच्छेद गरे ।  नेपालले यस विषयमा ध्यान दिएन । नेपालीलाई अन्य देशले सङ्क्रमणको जोखिममा रहेका भनी आआफ्नो देशमा प्रवेश दिन छाडेपछि मात्र ढिलो गरी नेपालले अन्तर्राष्ट्रिय उडान बन्द गर्‍यो । भाइरसको संक्रमणले महामारीको रुप लिन थाल्नासाथ नेपालले अन्तर्राष्ट्रिय उडान अझ त्यसमा पनि चीनबाट हुने उडान बन्द गरी आन्तरिक गतिविधिलाई सञ्चालन गरिराख्न सकेको भए लामो समयको बन्दाबन्दी (लकडाउन) र त्यसपछिको भयावह अवस्थामा उत्पन्न हुँदैनथ्यो भने जनधनको क्षति हुने अवस्था पनि आउँदैनथ्यो । सरकार दूरदर्शी नहुँदा नेपाली जनता चार चार महिना आर्थिक, शैक्षिक तथा अन्य सम्पूर्ण दैनिक गतिविधि बन्द गरेर स्वयं बन्दी बने भने बन्दाबन्दीको औपचारिक अन्त्यपछि अझै विकराल अवस्थाको सामना गर्दै छन् ।

२   सीमामा राम्रो क्वारेन्टिन नबनाउनु

बन्दाबन्दी घोषणा भइसकेपछि भारतबाट नेपाल फर्किने नेपाली नागरिकका लागि उचित प्रबन्ध र व्यवस्थापन गर्न नसक्ता तिनले आफ्नै देशको प्रवेशद्वारमा अपमानित महसुस गर्नुपर्‍यो भने औपचारिकरुपमा नेपाल भित्रिएमा नाममात्रका क्वारेन्टिनमा बेवारिसे अवस्थामा थुनिनुपर्ने भयो । यही डरका कारण धेरैजना लुकेर र अनौपचारिक नाकाबाट नेपाल छिरे । सयौं किलोमिटरको विदेशी भूमिको पैदल यात्रा गरी दुःख कष्टसाथ आफ्नो घर फर्केका नागरिक सीमाबाट देश भित्रिन नपाउँदा ज्यान जोखिममा राखेर महाकाली नदी पौडेरै नेपाल प्रवेश गरेकोसमेत पाइयो ।

सीमानजिक राम्रो र सुविधासम्पन्न क्वारेन्टिनको व्यवस्था गरेको भए नागरिकहरु भिडभाडमा जोरजुलुम गरी गाउँघरतिर जाने थिएनन् । तर, त्यसो हुन नसक्ता उनीहरु लुकीछिपी गाउँघरमा पुग्ने र बस्ने निर्णयमा पुगे । यसै कारणले ग्रामीण क्षेत्रमा समेत कोरोनाको सङ्क्रमण बढ्दै गयो । कोरोनाका नाममा राज्यकोषको अर्बौं रुपैयाँ खर्च गर्ने सरकारले समयमै क्वारेन्टिनको व्यवस्थापन गर्न नसक्नु  ठूलो कमजोरी हो । राज्यले समयमा सही निर्णय गर्न नसक्दा वीरगन्ज, विराटनगरलगायतका क्षेत्र कोरोनाका हटस्पट बनिसकेका छन् भने घना बस्ती रहेको काठमाडौं उपत्यका ‘भिरको कुभिन्डो’ बनेको छ ।   

३ स्तरहीन आरडीटीको प्रयोग गर्नु

विपत्तिका बेलामा जनता त्राहिमाम भई घरभित्रै थुनिएर बसेको बेलामा कमाउ धन्दा फस्टाउन सक्छ भन्ने स्वार्थी समूहको दबदबा एवं प्रभावमा सरकार परेकाले महामारीकै बीच पनि अनेक अवाञ्छित क्रियाकलापमा राज्यका प्रभावशाली व्यक्तिहरुको संलग्नता देखियो । यस्तै धन्दावाल व्यापारिक समूहको फन्दामा परेर सरकारले अन्तर्राष्ट्रियस्तरमा स्वीकृति नपाएको गुणस्तरहीन किटबाट कोरोना परीक्षण गर्न थाल्यो । परीक्षणको नतिजामा विश्वसनीयता नभएकाले सङ्क्रमितलाई पनि ‘कोरोना फ्री’ प्रमाणपत्र दिई ढुक्कसँग समूहमा घुलमिल हुने वातावरणबनाइदिँदा सङ्क्रमण बढाउन सहयोग पुग्यो । स्तरीय परीक्षणको व्यवस्था नगरी कमिसनको लोभमा आरडीटी किट भित्र्याउनु कोरोना सङ्क्रमण नियन्त्रणका क्षेत्रमा घातक र त्रुटिपूर्ण प्रमाणित भयो ।

४ अस्पतालको स्तरोन्नति नगर्नु

चीनबाट सुरु भए पनि सङ्क्रमणले सुरुमा पश्चिमा राष्ट्रहरुमा भयावह अवस्था सिर्जना गर्‍यो । लामो समयसम्म पनि नेपालमा सङ्क्रमित भेटिएका थिएनन् । चीनपछि लगत्तै नेपालमा सङ्क्रमण फैलिएको भए अझ निकै ठूलो क्षति पुग्थ्यो । युरोप अमेरिकामा फैलिएसँगै यसका प्रभाव र असरका बारेमा धेरै अध्ययनहरु पनि भए । एक जना सङक्रमित भेटिनेबित्तिकै लकडाउन सुरु गरेर सरकार लकडाउनका चार महिनामा खासै केही नगरी बस्यो । यसबीचमा परीक्षणका उपकरण थप्नेबाहेक अस्पताललाई तयारी अवस्थामा स्तरोन्नति गर्ने काम भएन । 

लकडाउनको समय अस्पताललाई सुविधासम्पन्न बनाउने र जनसचेतना अभिवृद्धि गर्ने काममा लगाउन सकेको भए अबका दिनमा सङ्क्रमणलाई रोक्न सावधानी अपनाउँदै नियमित कार्यसञ्चालन गर्न सकिन्थ्यो । तर, अवस्था त्यसको ठीकविपरीत बन्यो । व्यवस्थित अस्पतालको अभावमा वीरगञ्ज, विराटनगर, पोखरालगायतका क्षेत्रमा सङ्क्रमितले उपचार प्राप्त गर्ने अवस्था छैन भने घना जनसङ्ख्या रहेको काठमाडौंमा सङ्क्रमणको यस्तै अवस्था रहे अबका केही दिनमै अस्पतालले  थाम्न सक्ने छैनन् । भेन्टिलेटर आवश्यक पर्ने गम्भीर किसिमका बिरामीले उपचारको अभावमा ज्यान गुमाउनुपर्ने अवस्था बन्न थालेको छ भने सरकार कार्यक्षेत्रमा केही गर्न नसकी बूढापाका र बालबच्चालाई घरबाहिर ननिस्कन आग्रह गर्दै आफ्नो निरीहता प्रदर्शन गर्ने अवस्थामा पुगेको छ । लकडाउनका बेलामा अस्पताललाई स्तरोन्नति गर्न नसक्नु कोरोना नियन्त्रण प्रयासको गम्भीर कमजोरी हो ।

५ सत्ताको खेलमा भुल्नु

देशमा कोरोेना महामारीको त्रास बढिरहेको अवस्थामा सत्तारुढ दल नेपाल कमयुनिस्ट पार्टी (नेकपा) भने आन्तरिक किचलोमा   व्यस्त रह्यो । सबै दलहरु एकजुट भएर महामारी नियन्त्रणका लागि खट्नुपर्नेमा बहुमतको शक्तिशाली सरकार स्वयं आन्तरिक द्वन्द्व र सत्ताको खेलमा सक्रिय देखियो । सत्ता जोगाउन कार्ययोजनाबिना बन्दाबन्दी थपियो तथा किचलो समाप्त हुनासाथ जनस्वास्थ्यको वास्तविक अवस्थाको आकलन नै नगरी एकाएक पूर्णरुपमा बन्दाबन्दी हटाइयो । 

जनस्वास्थ्य र राष्ट्रिय अर्थतन्त्रका विषयलाई नहेरी बन्दाबन्दी गर्ने र हटाउने गरिएको भनी बन्दाबन्दीको औचित्य पुष्टि गर्नसमेत चौतर्फी दबाब परेको देखिन्छ । एकाएक बन्दाबन्दी हटाइँदा सर्वसाधारणले कोरोना मुक्त भएको घोषणाका रुपमा लिए । फलस्वरूप, जनताले आफ्नो र समुदायको स्वास्थ्य संवेदनशीलता महसुस गरेनन् । पूर्वसावधानी नअपनाई जोखिमपूर्ण व्यवहार गर्न थालेकाले कोरोनाले स्थानीयस्तरमै सङ्क्रमण बढाएको देखिन्छ ।

६  आधारहीन र अवैज्ञानिक अफवाहमा विश्वास गर्नु

स्वास्थ्यकर्मी बाहेकका राज्यका जिम्मेवार व्यक्तित्वले नेपालमा आएको कोरोना कमजोर किसिमको भएको र नेपालीहरूको प्रतिरोधात्मक क्षमता बलियो भएकाले सामान्य रुघाखोकीजस्तै हो तुरुन्तै निको हुन्छ भन्नेजस्ता अभिव्यक्ति दिँदा स्वास्थ्य संवेदनशीलता शून्यप्रायः बन्यो । उच्च तहका व्यक्तिले स्थानीय खानपान र घरेलु उपचारका विधि नै कोरोना जित्ने उपाय हो भनेर प्रसार गरिदिँदा नागरिकमा यसको नराम्रो असर पर्‍यो । यस्तै अवैज्ञानिक र तथ्यहीन घोषणाका कारणले नागरिकले बन्दाबन्दीको पालना नगरी हेलचेक्य्राइँ गर्न थाले । यसैले बन्दाबन्दीमा मानिसहरु स्वास्थ्य सावधानी अपनाउनुभन्दा प्रहरी प्रशासनका आँखा छल्न उद्यत देखिए ।

७ अभिभावकीय भूमिका खेल्न नसक्नु

दैवी प्रकोप, महामारी र शत्रुराज्यको आक्रमणमा जनताको सबैभन्दा नजिकको अभिभावक सरकार बन्न सक्नुपर्छ । महामारीले जनतामा त्रास बढाएको बेलामा जनतालाई सुविधा पुग्ने काम सरकारले गर्छ भन्ने विश्वास हुनुपर्छ । परिस्थितिको वैज्ञानिक विश्लेषण र सुस्पष्ट आधारबिना बन्दाबन्दी घोषणा र परिस्थिति झनै बिग्रँदै गएको अवस्थामा एकाएक बन्दाबन्दीको अन्त्य गर्ने सरकारी अपरिपक्व क्रियाकलापले सरकार सत्ताकै सुरक्षाका लागि मात्र भिडेको छ र जनताले आफ्नो सुरक्षा आफैँ गर्नुपर्छ भन्ने सन्देश दियो । सङ्कटको बेलामा नागरिकलाई सहयोग गर्न नसक्दा सरकारले जनताबाट अभिभावकीय भूमिका र सम्मान प्राप्त गर्न सकेन । यसले जनतालाई असहाय महसुस गराएकोमात्र होइन सरकारप्रति असहिष्णुता एवम् वितृष्णाभाव विकास गर्नुका साथै सरकारले ल्याएका हरेक कार्यक्रममा शङ्का गर्ने वातावरणसमेत निर्माण गर्‍यो ।

निष्कर्ष

स्वास्थ्यजस्तो संवेदनशील विषयमा सरकारले हेलचेक्य्राइँ गर्दै जाँदा महामारीको जटिल अवस्था उत्पन्न हुन लागेको छ । लक्षण सहितका सङ्क्रमितको सङ्ख्या बढ्दै जानु र दिनानुदिन मृतकको सङ्ख्यासमेत थपिँदै जानुले काठमाडौँजस्ता घना बस्ती भएका सहरी क्षेत्रका लागि आगामी केही दिन निकै कष्टकर हुने देखिन्छ ।

जिम्मेवार निकायले राम्रो काम गरेन भनेर आफैँ बेपर्बाह काम गर्नु झनै घातक हुनेछ । यसैले अब नागरिक आआफ्नै ठाउँबाट नजाग्ने हो भने पशुको झुण्डलाई सरुवा रोगले गाँजेजस्तै हाम्रो समाजलाई सङ्क्रमणले दलदलमा भासिदिने छ । आफूबाहेक साथीसङ्गाती वा जो कोही पनि सङ्क्रमित छ भन्ने सोचेर सावधानीपूर्वक आत्मानुशासनको पालना गरी मास्क लगाउने, भिडभाडमा नजाने, हात धुने तथा स्वस्थकर जीवनशैलीका महत्त्वपूर्ण पक्ष सन्तुलित भोजन, पर्याप्त निद्रा र सकारात्मक मानसिक सोच एवम् मनोशारीरिक व्यायामलाई दैनिकीमा समावेश गर्न ढिलाइ गर्नुहुँदैन । 

काठमाडौँलगायतका मुख्य सहरका सरकारी अस्पतालमा आईसीयु र भेन्टिलेटर खाली नरहेको वर्तमान अवस्थामा मृत्युदर र जटिल अवस्थामा पुग्ने बिरामीको सङ्ख्या औसतमा कम हुने भनिए पनि आफू वा आफ्नो परिवारका सन्दर्भमा एउटै घटना पनि शतप्रतिशत ठहरिने भएकाले सतर्कता र सावधानीमा कत्ति हेलचेक्याइँ गर्नुहुँदैन । उपचारको व्यवस्था नभएको रोगबाट बच्नका लागि पूर्वसावधानी एवं आत्मविश्वास नै सबैभन्दा शक्तिशाली हतियार भएकाले सङ्कटको क्षणमा नआत्तिएर उच्च मनोबलका साथ रोगप्रतिकारका लागि तयार भई बस्नुबाहेक अर्को उपाय अहिले देखिँदैन । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २, २०७७  १४:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC