site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कस्तो देखियो त पाँचदिनमा नेकपाभित्रको सिनेरियो ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । झै–झगडा र किचलोमा व्यस्त प्रधानमन्त्री निवास बालुवाटारको परिदृश्य सोमबार बेग्लै थियो । सचिवालय बैठक सकिएलगत्तै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि पुलकित हुँदै पत्रकारसामु प्रस्तुत भए । पार्टीभित्र देखापरेका समस्या, तिनको समाधान, संकटको निकास निम्ति भइरहेका छलफललाई अझ व्यवस्थित ढङ्गले अगाडि बढाएर टुङ्गोमा पुर्‍याउन अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यदल गठन गरेर, सुझाव पेस गर्न गरेको पहललाई सकारात्मकरूपमा लिँदै त्यसकार्यप्रति बैठकले धन्यवाद दिएको बताए ।

यो नै सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको पछिल्लो परिदृश्य हो । गत बुधबार एपी वन् टेलिभिजनसँगको वार्तालापमा प्रधानमन्त्री ओलीले पाँच दिनभित्रै नेकपाभित्रको सिनेरियो बदलिने बताउँदै दिन गन्न भनेका थिए ।

प्रधानमन्त्रीले दाबी गरेको पर्सिपल्टै नेकपाभित्रको गतिरोधको गाँठो फुक्ने सङ्केत देखापरिसकेको थियो । अध्यक्षद्वय ओली, प्रचण्डले पार्टीभित्रको सङ्कट निवारणका लागि महासचिव विष्णु पौडेलको नेतृत्वमा सर्वपक्षीय सम्मिलित ६ सदस्यीय कार्यदल गठन गरेपछि सिनेरियो बदलिने सङ्केत मिलेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

सचिवालय बैठकले त्यसलाई मूर्तरूप प्रदान गरेको हो । पार्टीका वरिष्ठ नेता झलनाथ खनालले अध्यक्षद्वयले पेस गरेको कार्यदल गठनसम्बन्धी प्रस्तावलाई सर्वसम्मत रूपमा अनुमोदन गरेको जानकारी दिए ।

“आजको सचिवालय बैठकले कार्यदल अनुमोदनको प्रस्तावलाई अनुमोदन गरेको छ । कार्यदलले आज राष्ट्रका सामु देखापरेका कार्यभारलाई पूरा गर्न पार्टी र सरकार सक्षम हुनेगरी गर्नुपर्ने कामहरूबारे सुझाव दिन सफल हुनेछ भन्ने आशाका साथ बैठकले शुभकामना पनि दिएको छ,” प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रेस ब्रिफिङमा भनेका थिए ।

Global Ime bank

प्रवक्ता श्रेष्ठले भनेझैं नेकपाभित्रको विवादले निकासको बाटो समातेको छ । सङ्कट समाधान गर्ने अध्यक्षद्वयको तत्परतालाई सचिवालयले पार्टी निर्णयको रूपमा लिपिबद्ध पनि गरेको छ ।  २०७५ मङ्सिरमा बसेको स्थायी कमिटीको तेस्रो बैठकले गठन गरेको रामबहादुर थापा बादल नेतृत्वको ९ सदस्यीय कार्यदलकै जस्तो नियति भोगेन भने महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले समाधानको एकीकृत, ठोस–मूर्त र प्याकेजमा सुझाव पनि तय गर्ला ।

पार्टीभित्र विद्यमान समस्या समाधानका लागि ठोस खाका तय नभइसकेकाले शङ्का गर्नुपर्ने ठाउँ र आधारहरू प्रशस्तै छन् । तर, के अर्थमा नेकपाभित्रको परिदृश्य परिवर्तन भएको मान्न सकिन्छ भने बैठकको नामै सुन्न नचाहने र टाढिनै रुचि देखाउने  प्रधानमन्त्री पुनः बैठकतिरै डोरिएका छन् । बैठकबाट हल हुँदै सडकमा पुगेर एकले अर्काको उछित्तो काढ्न तम्सिएका नेताहरू फर्किएर वार्ता, समझदारी टेबलमा पुगेका छन् । विधानका धारा ६० मा टेकेर बहुमतकै बलमा पेलेर जानुपर्छ भन्नेहरू पनि सहमतिमै फर्किएका छन् ।

अध्यक्षद्वय ओली, प्रचण्डको साउन १८, १९ र २० गतेको छलफल सचिवालय बैठकबाटै समाधान खोज्ने कि, स्थायी कमिटी बैठक बोलाउने भन्ने विवादकै वरिपरि घुमेको थियो । उपाध्यक्ष वामदेव गौतम र रामबहादुर थापा तटस्थ बसेकाले ओलीको मनोबल बढेको थियो । र, उनी सचिवालय बैठकबाटै छिनोफानो गर्न चाहन्थे ।

स्थायी कमिटी बैठकमा पुननपुग दुईतिहाइ बहुमतमा रहेका प्रचण्ड किन टसको मस हुन्थे ? उनी स्थायी कमिटीको अडानमा थिए । अध्यक्षद्वयको यही अडानमा पार्टीको विवाद अड्किएको थियो ।

साउन ३ गतेपछि सचिवालय बैठकले निरन्तरता पाउनुलाई नेकपाभित्रको फेरिएको परिदृश्यमा बुझ्न पर्याप्त हुन्छ । दुवै पक्षले आ–आफ्नो हठलाई बैठक अधिनस्थ राख्दै समस्या समाधानमा केन्द्रित हुनुलाई सकारात्मक रूपमा लिनुपर्ने सचिवालयले निष्कर्ष पनि निकालेको  छ ।

ओलीले काटेको तेस्रो ‘खड्गो’

प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो प्रधानमन्त्रीकालमा खड्गो देखा परेको पर्यै छ । पार्टी एकताको वर्षदिनपछि नै उनको प्रधानमन्त्रीको कुर्सी धर्मराउन थालिसकेको थियो । पार्टी अध्यक्ष प्रचण्डले जेठ २ गतेको सहमतिको पाना पल्टाएपछि ओली झल्याँस्स भएका थिए । प्रचण्डसँगको संवादबाट मात्रै होइन पार्टी कमिटीका बैठकबाटै टाढिन थालेका थिए ।

बैठक बसेपिच्छे २०७५ जेठ २ गतेको सहमतिको व्याख्या–उपव्याख्या हुन थालेपछि नभागून् पनि किन ? तर, मङ्सिर ४ गतेपछि भने उनलाई राम्ररी निद्रा पर्न थालेको थियो । मङ्सिर ४ गतेको सचिवालय बैठकले ओलीलाई प्रतिनिधिसभाको मौजुदा कार्यकालभरि प्रधानमन्त्री र प्रचण्डलाई कार्यकारीको पगरी गुथाइदिएपछि ओलीले पहिलो ‘खड्गो’ काटेका थिए । अन्यथा आलोपालो सरकारको नेतृत्व कायम गर्ने समझदारी कायम रहेको हुन्थ्यो भने ओलीलसँग प्रधानमन्त्री छाड्नुको विकल्प रहँदैनथ्यो ।

मङ्सिर ४ को सहमतिले ओलीको प्रधानमन्त्रीको पद जोगाइदिए पनि पार्टीभित्र विद्यमान सङ्कटको निकास दिएन । फेरि उही समस्याको पुनरावृत्ति भयो । बैठक नबस्ने, निर्णय पालना नहुने, एक, अर्काविरुद्ध गठबन्धन निर्माण हुने, धम्क्याउने, तर्साउने कृत्यले निरन्तरता पाइ नै रह्यो । पार्टीको साङ्गठनिक एकता, एकीकरणका बाँकी कामहरू थाती नै रहे ।

वैशाख ८ को अध्यादेश प्रकरणपछि ओली पुनः क्षीण बने । वैशाख १७ गतेको सचिवालय बैठकमा प्रचण्डले राजीनामा दिन दबाब दिएपछि ओली साँच्चिकै रक्षात्मक अवस्थामा पुगेका थिए । त्यतिबेला उपाध्यक्ष वामदेव गौतम रामवाण बने । वामदेवलाई शक्तिमा ल्याउने अभिप्रायले भैंसेपाटी गठबन्धन निर्माण भएको थियो । उनैले गठबन्धनबाट खुट्टा झिकेपछि ओलीको प्रधानमन्त्रीको कुर्सी थामियो । र, दोस्रो ‘खड्गो पनि काटे ।

असार १४ को अभिव्यक्तिपछि प्रधानमन्त्री ओली नैतिक सङ्कटमा थिए । पार्टीका नेताहरूलाई खुलम्खुला ‘भारतीय एजेन्ट’ करार गर्न खोजेपछि र बहुमत सदस्यले दुवै पद छाड्न दबाब दिए । ओली सामु राजीनामाबाहेक दोस्रो विकल्प थिएन । पार्टी कमिटीका सदस्यहरूलाई ‘हुल्लडबाज’को उपमा दिएपछि ओलीविरुद्ध ध्रुवीकरण पनि बढ्दो थियो ।

तर, शुक्रबारको परिघटनापछि प्रधानमन्त्री ओलीले तेस्रो ‘खड्गो’ पनि काटेको चर्चा हुन थालेको छ । यो पटक पनि उनै वामदेव सञ्जीवनी बुटी बनेका छन् । साउन १३ गते बहुमत सदस्य बैठक बसेर ओलीविरुद्ध प्रस्ताव पारित गरिरहँदा तिनै वामदेवले ‘दुष्टै भए पनि अहिले हटाउन नमिल्ने’ भन्दै ६ बुँदे प्रस्ताव अघि सारेपछि ओलीले त्राण पाएका थिए ।

अहिले त्यही वामदेव प्रस्तावित ६ बुँदे वरिपरि रहेर सहमतिको प्याकेज तयार भइरहेको नेकपाका नेता दाबी गर्छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १, २०७७  १६:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC