site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
संकटमा विराटनगर

कोभिड–१९ को महाव्याधि फैलिएसँगै करिब ४ लाख जनसंख्या र ७० हजार घरधुरी भएको  विराटनगर संकटमा फँसेको छ । प्रदेश–१ को राजधानी विराटनगर कोभिड–१९ को केन्द्र (हटस्पट) भएको छ । गत श्रावण ७ गतेबाट संघीय सरकारले बन्दाबन्दी (लकडाउन) खोलेसँगै विराटनगर महानगरपालिकासहित आसपासको क्षेत्रमा संक्रमितको संख्या ह्वात्तै बढेको छ । सुरुका दिनमा विराटनगरमा देखिएका संक्रमितहरु भारत र तेस्रो मुलुकबाट फर्किएर क्वारन्टिनमा बसेकाहरु थिए । तीमध्ये ३० जनामात्र संक्रमित थिए । तर, यी पंक्ति लेख्दासम्म विराटनगरमा संक्रमितको संख्या ५६६ र मृतकको संख्या ७ पुगेको छ  । मृतक ६ पुरुष र १ महिला हुन ।

संक्रमित हुनेहरु सर्वसाधारणदेखि डाक्टर, नर्स, प्रहरी, सफाइ कर्मचारी, प्राविधिक तथा प्रशासनका कर्मचारी आदि रहेका छन् । हिजोआज दैनिक सरदर ६० जना जति संक्रमित बढ्दै छन् ।  करिब एक सय संक्रमित उपचार पश्चात् घर फर्किएका छन् । अधिकांश संक्रमितको बाहिरको यात्रा विववरण (ट्राभल हिस्ट्री) देखिँदैन । अहिले संक्रमण समुदायमा फैलिएको छ । संक्रमण माहानगरको १९ वटै वडामा फैलिएको छ । कोभिड–१९ नियन्त्रणका लागि भन्दै विराटनगर महानगरपालिकाले साउन १६ गतेदेखि दुई साताका लागि लगाएको लकडाउन भदौ ५ गतेसम्म बढाएको छ ।    

कोभिड–१९ को  फैलावटसँगै विराटनगरको जीवनशैली बदलिएको छ । एक किसिमको जेल जीवन मानव समाजले अनुभव गर्दै छन् । खानपिन, सुताइ, उठाइ, बसाइ, पढाई, लेखाइ, खेलाइ टिभी हेराइ, फेसबुक, युटुब आदि दैनिकी भएको छ ।  मानिसहरु घरभित्र उकुसमुकुस भएर जीवन बिताइरहेका छन् । विराटनगरको बाहिरी वातावरण सुनसान छ । बजारका चौक गल्ली सबै सुनसान छन् । विराटनगरको वडा न ७ र ९ सिल गरिएको छ । अस्पतालहरु सिल गरिएका छन । केही अस्पतालहरुले आकस्मिक सेवा सञ्चालन गरेका छन् । उत्पादन र वितरण सबै ठप्प छ । केही अत्यावश्यक सामग्रीका पसलहरु बिहान बेलुका खुल्छन् । पसलहरुमा अत्यावश्यक सामानको अभाव देखिन्छ । पसलहरुमा मानिसहरुको भिडभाड देखिन्छ । दिनभरी बाहिरी वातावरण सन्नाटापूर्ण हुन्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

बजारमा अत्यावश्यक सामाग्रीको अभाव देखिन्छ । मूल्य वृद्धि अत्याधिक छ । कालोबजारीको कारण उपभोक्ता मारमा परेका छन् । कालोबजारी नियन्त्रण गर्न सरकार अक्षम देखिन्छ । कालोबजारी नियन्त्रणको लागि कठोर कदम चाल्नुपर्छ र कालोबजारी गर्नेविरुद्ध हदैसम्मको सजाय गर्नुपर्छ । सरकारले उपभोक्ताको समस्यामा ध्यान दिई सहज र सुलभ पसलहरु यथाशीघ्र सञ्चालन गर्नुपर्छ  । 

आफ्ना नागरिकलाई कोभिड–१९ को महामारीबाट मात्र हैन भोकबाट पनि बचाउने दायित्व सरकारको हो । स्थानीय सरकारले महामारीविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेर सहायता वितरण पनि गर्नुपर्छ । सर्वोच्च अदालतले पनि श्रमिकको पहिचान गरी उनीहरुलाई खाने व्यवस्था मिलाउन सरकारको नाममा आदेश जारिगरिसकेको छ । नेपालको संविधान, २०७२ को धारा ३६ ले पनि प्रत्येक नागरिकलाई खाद्य सुरक्षाको हकको व्यवस्था गरेको छ । खाद्यवस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित गरिएको छ ।  लकडाउनका कारणले विराटनगरमा दैनिक ज्यालादारी गरी खाने वर्ग यतिबेला रोगभन्दा चर्को भोकमा डुबेको छ । उनीहरुको काममात्र हैन माम पनि गुमेको छ । उनीहरु भोकमरीको चपेटामा फसेका छन् । धेरै मानिस गरिबीको रेखामुनि पुगे । तिनीहरुसँग भएको खाने अन्न र नगद रुपियाँ सकिएको छ । तिनको घरमा चुल्हो बल्न छाडेको छ  । 

Global Ime bank

विराटनगरमा संक्रमण फैलिएसँगै प्रदेश–१ सरकार र विराटनगर महानगरपालिका अलमलमा देखिएका छन् । प्रदेश सरकार र महानगरपालिकाले संक्रमण नियन्त्रणको स्पष्ट खाका ल्याउन सकेका छैनन् । अत्याधिक संक्रमणका कारणले कोभिड अस्पतालहरु भरिएका छन् । संक्रमितहरु घरमै आइसोलेसन बनाएर बस्न बाध्य भएका छन् । संक्रमत करिव ९० प्रतिशत घरमै एक्लै बसेका (होम आइसोलेसन) छन् । तर, सीमित कोठा हुने घर र डेरामा बस्नेहरुमा संक्रमण फैलिएसँगै व्यवस्थापनमा चुनौती थपिएको छ । प्रदेश सरकार र स्थानीय सरकार व्यवस्थापन गर्न चुकेका छन् । समयमै प्रदेश सरकार र विराटनगर महानगरपालिकाले संक्रमितहरुलाई सुरक्षित स्थानमा राख्ने व्यवस्था नगर्ने हो भने  ‘होम आइसोलेसन’ले झनै संक्रमण विस्तार गर्न सक्छ ।

प्रदेश–१ सरकारले कोभिड–१९ संक्रमितको उपचार गर्न विराटनगरमा कोभिड–१९ अस्पताल गत चैतमा निर्माण गरेको थियो । गत वैशाख ५ गतेबाट सञ्चालनमा छ । तर, अस्पतालको लागि आवश्यक पर्ने आधारभूत स्वास्थ्य सामग्रीको अभावमा अस्पतालले संक्रमितहरु सही ढंगले उपचार दिनसकेको छैन । अस्पतालमा ६ वटा भेन्टिलेटर भए पनि कुनै चालु छैन । सञ्चालन गर्न आवश्यक पर्ने न्यूनतम औषधि र प्राविधिकको कमी छ । अस्पतालमा ३० वटा अक्सिजन सिलिन्डर भए पनि त्यसलाई सञ्चालन गर्ने पाइपलाइन जोडिएको छैन । आईसीयु बेडको कमी उत्तिकै देखिन्छ । प्रदेश सरकारले कमी कमजोरीलाई तत्काल सच्यएर संक्रमित नागरिकको जीवन रक्षा गर्नुपर्छ । भखरै प्रदेश सरकारले प्रदेशभरका कोभिड–१९ संक्रमितको उपचारको लागि १ करोड ३० लाख छुट्याएर सकारात्मक काम गरेको छ । रकम सही ढंगले खर्च गर्नुपर्छ । यही रकमा पनि भ्रष्टचार हुन सक्छ । भ्रष्टचार नियन्त्रण गर्नुपर्छ । यसलाइ आईसीयु बेड निर्माणमा खर्च गर्नुपर्छ । भेन्टिलेटर थप खरिद गर्नुपर्छ । विज्ञ जनशक्ति थप्न खर्च गर्नुपर्छ । क्वारेन्टिन र आइसोलेसन सुविधा थप गर्नुपर्छ ।

विराटनगर महानगरले पनि आफूलाई सच्याउनुपर्छ । केही दिन अगाडि महानगरपालिकाका प्रमुख भीम पराजुली प्रदेश सरकार र संघीय सरकारले महानगरलाई स्वाब परीक्षणमा विभेद गरेको गुनासो गर्दै थिए । विराटनगर महानगरपालिका आफैँ सरकार हो । माहनगरपालिकाका जनप्रतिनिधिहरुले क्षमता देखाउनुपर्छ । महानगरपालिकाले पनि संक्रमितहरुको  स्वाब परीक्षण गर्ने पीसीआर मेसिन र किट किन्नुपर्छ । भेन्टिलेटर खरिद गर्नुपर्छ । आईसीयु बेड निर्माण गर्नुपर्छ । क्वारन्टिन र आइसोलेसन निर्माण गर्नुपर्छ । स्वाब परीक्षण विज्ञ नियुक्ति गर्नुपर्छ । संक्रमित नागरिकको सेवामा महानगरपालिका समर्पित हुनुपर्छ । 

यस्तो संकटको बेला सरकारको महत्त्वपूर्ण भूमिका हुनुपर्छ । संघीयताको भावना र मर्मअनुरुप सरकारहरु क्रियाशील हुनुपर्छ । नागरिकलाई कोभिड–१९ को महामारीबाट बचाउनुपर्छ । जनतालाई सरकार चाहिने नै यस्तै संकटको बेलामा हो । सामान्य अवस्थामा त जनतालाई सरकार के काम ? जनताले कर तिरेका छन् । स

रकार जनताको मालिक हैन सेवक हुनुपर्छ । तीनै तहका सरकारहरु, राजनीतिक दलहरु, नागरिक समाज सबै एक भएर महामारीलाई पराजित गर्नुपर्छ । संघीय सरकारले प्रदेश सरकार र स्थानीय सरकारलाई सही ढंगले यो महामारीविरुद्ध परिचालन गर्न सक्नुपर्छ । स्थानीय सरकारले आफूलाई खरोरुपमा प्रस्तुत गर्नुपर्छ ।

जनताको सच्चा प्रतिनिधि भएको भूमिकाबाट देखाउनुपर्छ । स्थानीय सरकार जनताको सरकार भन्ने प्रमाणित गर्नुपर्छ । स्थानीय सरकार जनताको सुखदुःखको सरकार भन्ने प्रमाणित गर्नुपर्छ । यसको गरिमा र महत्त्वलाई बढाउनु पर्छ  । तीनै तहका सरकारले संकटका बेला जनताको मन जित्ने काम गर्नुपर्छ । प्रदेश सरकारले आफूलाई जनताको समस्या समाधान गर्न बलियोरुपमा प्रस्तुत गर्नुपर्छ । संघीय सरकार र स्थानीय सरकारबीच रहेको खाडललाई पूरा गर्न प्रदेश सरकारले आफूलाई पुलको रुपमा प्रस्तुत गर्नुपर्छ ।

नेपालीमा एउटा कथन छ — अनिकालमा बीउ जोगाउनु आपतमा जिउ जोगाउनु । महामारीको कारणले जिउ र बीउ जोगाउनु आजको प्रमुख कार्य भएको छ । स्थानीय सरकारले जिउ र बीउ जोगाउन लकडाउन गरेको छ । जनताहरु पनि कोभिड–१९ महामारीको संक्रमणबाट जिउ र बीउ जोगाउन लकडाउनलाई पूर्णरुपमा पालना गर्दैछन् । लामो समय लकडाउनमै बितेको छ । कोभिड–१९ को उपचारको औषधि पत्ता लागिसकेको छैन । विश्वका वैज्ञानिकहरु यसको उपचार पद्धति र औषधि पत्ता लगाउन व्यस्त देखिन्छन्  । आशा गराँै औषधि चाँडै पत्ता लाग्नेछ । यो महामारीबाट बच्न अहिलेको उपचार भनेको भौतिक दूरी, लकडाउन, क्वारेन्टिन र आइसोलेसन नै हो । सबैले यसको पालना गरौँ र गराऔँ ।

महामारीबाट बच्न अति आवश्यक कामबाहेक अरू बेला घरबाट बाहिर निक्लिनु हुँदैन । निस्कनै परेमा मास्क अनिवार्य रुपमा लगाउनुपर्छ । कोरोना संक्रमण जहाँसुकै र जुनसुकै अवस्थामा पनि हुनसक्ने भएकोले सजग र सतर्क हुनुपर्छ । कुनै चिज छोएपछि अनिवार्यरुपमा साबुनपानी वा स्यानिटाइजरले हात धुनु पर्छ । भिडभाड गर्नु हुदैन । भीडभाडमा जानु हँुदैन ।
      
अध्यक्ष,समाजवाद अध्ययन केन्द्र विराटनगर  

    

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १, २०७७  १४:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC