site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
को पत्रकार, कस्तो पत्रकार 

कोरोना महामारीपछि जागिर गुमाएका धेरै पत्रकारलाई लागेको छ – नसक्ने मिडिया हाउसले त बिदा गरे तर वर्षौं नाफा कमाएकाले पनि केही महिना थेग्न सकेनन् कि चाहेनन् ? जागिर गुमेपछि नियमित आय नभएका पत्रकार ठूलो संकटमा छन् । भर्खर जागिर गुमाएका एक साथीले सुनाए – संचित पैसा छैन, डेराभाडा कसरी तिर्ने ? के खाने ? यतिका वर्ष सानो सरकारी जागिर खाएको भए पनि पेन्सन आउने थियो, यत्रो वर्ष काम गरेर घर न घाटको भइयो । 

पत्रकार बलराम बानियाको मृत्युपछि त झनै प्रश्न उब्जिएका छन् । उनको अस्वाभाविक मृत्यु कर्तव्य हो कि भवितव्य ? हत्या गरियो वा आत्महत्या गर्न बाध्य पारियो ? बानियाको मलामी जाँदा धेरै साथीले यस्तै आशंका सुनाए । कतिपयको भनाइ थियो जुन सञ्चार गृहमा बानियाले साढे दुई दशक काम गरे । अन्तिममा त्यही संस्थाबाट अममानित हुनु पर्दा उनी निराश थिए । त्यसैको परिणाम हुन सक्छ उनको मृत्यु भन्ने धेरै भेटिए । 

त्यस्तो हो भने बानियाले पत्रकारिता सुरु गर्दा आरम्भ भएको मिडिया कान्तिपुर देशको नम्बर १ संस्था बन्यो । कमायो तर त्यसलाई नम्बर १ बनाउने श्रमजीवीले के पाए ? 

Prabhu Bank
Agni Group
NIC Asia

अर्कोतिर बलरामजस्ता पत्रकारले लेखेका कारण देशमा गणतन्त्र स्थापना भयो । सडकमा भौँतारिने राजनीतिकर्मी राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री भए । कतिले राजनीतिक आडमा कमाए । तर, निष्ठा, आदर्श र नैतिकताका लागि पत्रकारिता गरे बानिया जस्ता पत्रकारलाई भने समाजले मृत्युको मुखमा पुग्न बाध्य बनाई दियो । 

पत्रकारिताको दोष हो कि समाजको ? एकातिर व्यावसायिक पत्रकारलाई अस्वाभाविक मृत्यु वरण गर्न बाध्य बनाइँदैछ अर्कोतिर पेसाको बदनाम गरेर गैरपत्रकारहरूले आर्जन गरिरहेकै छन् ।  हुनत, पत्रकारितामा संकट अहिले मात्र आएको होइन । यसअघि पनि थियो । फरक यतिमात्र हो – अहिले त्यो समस्याले कोरोना नै जस्तो सरुवा रोगको रूप धारण गरेको छ । 

Global Ime bank

मिडिया हाउसले पत्रकारलाई उपेक्षा गर्दाको परिणाम के हुँदोरहेछ भन्ने एउटा उदाहरण यस्तो पनि छ । एक दशक अघि (२०६८)को कुरा हो । नेपाल पत्रकार महासंघको सचिव थिएँ । स्वास्थ्य बिट हेर्ने एक जना पत्रकार साथीले फोन गरे । तत्कालीन स्वास्थ्यमन्त्री राजेन्द्र महतोले दसैँको शुभकामना दिने भनेर पत्रकारहरुलाई मन्त्री निवास बोलाए । शुभकामना कार्डसँगै दसैँ खर्च भनेर पैसा पनि बाँडे । धेरैले त्यसलाई सहजरुपमा स्वीकार गरे ।

ती पत्रकारले भने मन्त्रीले शुभकामना दिन भनेर प्रेस सल्लाहकारमार्फत बोलाएपछि म पनि गएको थिएँ । हार्दिक मंगलमय शुभकामना, २०६८ लेखेको खाम दिए । केही बेर कुरा भयो । शुभकामना आदानप्रदान गरियो । चिया खाएँ र निस्किएँ । पछि खाम खोलेर हेर्दा थाहा पाए, शुभकामना कार्डसँगै हजार हजारका केही नोट पनि रहेछन् । छक्क परेँ । तत्काल मन्त्री क्वाटर फर्किए । मन्त्रीका प्रेस सल्लाहकारलाई भेटेँ र रकम फिर्ता गरेँ । त्यतिन्जेल त्यहाँ पत्रकारहरुको भिड नै थियो । आउने जाने क्रम चलिरहेकै थियो । उनै पत्रकारले म र अध्यक्ष शिव गाउँलेलाई भनेका थिए – यस विषयमा महासंघले केही गर्नु पर्‍यो । 

मलाई अझै याद छ, त्यो बेला पहिलो संविधान सभामा संविधान वारे गरमागरम बहस जारी थियो । विभिन्न जातजाति र समुदाय संविधानमा आफ्ना सरोकार समावेश गर्न दबाब दिइरहेका थिए । 

महासंघका महासचिव ओम शर्मा कामको सिलसिलामा युरोपमा थिए । अध्यक्ष गाउँले र मैले सल्लाह गर्‍याैँ– यो त राम्रो भएन । महासंघका तर्फबाट वक्तव्य दिनुपर्छ । अनि एउटा मसौदा बनायाैँ । सचिवको हैसियतमा मैले जारी गरेको त्यो वक्तव्यमा लेखिएको थियो – आफ्ना स्वकीय सचिवमार्फत मन्त्री महतोले जरुरी काम छ मन्त्रीज्यूलाई भेट्नु पर्‍यो भन्दै पटकपटक फोन गरेर बोलाई पुल्चोकस्थित सरकारी निवासमा पत्रकारहरुलाई शुभकामना कार्डसहित ५ देखि ८ हजारसम्म नगद वितरण गरेको विवरण महासंघलाई प्राप्त भएको छ ।

स्वास्थ्यमन्त्री महतोको यो कार्य पदीय मर्यादाविपरीतमात्र होइन नेपालको अन्तरिम संविधान र कानुनको प्रत्यक्षतः उल्लंघन पनि हो । यसैगरी सो कार्य अख्तियारको दुरुपयोग र भ्रष्टाचार नियन्त्रण ऐनविपरीतको काम पनि हो । यो कार्यलाई महासंघले सत्ता र शक्तिको  आडमा सरकारी रकम दुरुपयोग गरी पत्रकार र सञ्चार माध्यमलाई भ्रष्ट र आफ्नो प्रशंसक बनाउन खोज्ने प्रयत्नको रुपमा लिएको छ । यसतर्फ आवश्यक अनुसन्धान गरी कारवाही प्रक्रिया अघि बढाउन महासंघ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गराउँछ । साथै आचार संहिताविपरीतका यस्ता कार्यबाट टाढा रहन आफ्नै सबै सदस्यको ध्यानाकर्षण गराउँछ ।

तिनताका म अनामनगरमा बस्थेँ । मन्त्री महतो बाटोमा जहाँ देखे पनि झन्डावाल गाडीभित्रबाट हात हल्लाउँथे । वक्तव्य प्रकरण पछि भने लामो समय उनी मसँग बोलेनन् । आमनेसामने हुँदा टाउको घुमाउन थाले । 

महासंघको त्यस वक्तव्यले पत्रकारहरुबीच चर्चा परिचर्चा सुरु भयो । धेरैले व्यावसायिक पत्रकारले भनेका थिए यस्तो विषय पनि महासंघको क्षेत्राधिकार भित्र पर्छ र यस प्रकारका विकृति रोक्न महासंघले पहल गर्नुपर्छ भन्नेतर्फ ध्यान नै पुगेको रहेनछ । राम्रो काम भयो । यसले पत्रकारिताभित्रको विकृति कम गर्न सघाउ पुग्नेछ । यस्तो विचार राख्नेमा महासंघका पूर्वसभापति विष्णु निष्ठुरी प्रमुख थिए । 
केही दिनपछिको कुरा हो । बिहान महासंघ पुगेको के थिएँ टेबलमा हाम्रो वक्तव्यको कडा आलोचना गर्दै प्रकाशित समाचारमा आँखा पुग्यो । त्यहाँ लेखिएको थियो – अधिकांश पत्रकारले विनातलब काम गर्नुपर्छ, तलब पाउनेहरु पनि तीन महिना, छ महिनामा पाउँछन् । पत्रकारको पारिश्रमिक दिलाउन महासंघले पहल नगर्ने, अनि दसैंको बेलामा मन्त्रीले पैसा दिएकोमा विरोधमात्र गर्ने ? मन्त्रीले के गल्ती गरे  वर्षभरी तलब नपाउने पत्रकारलाई पैसा दिएर ? मन्त्रीका कारण उनीहरुका परिवारले दसैंमा राम्ररी मासु खान पाउने भए त के गलत भयो ? महासंघले विरोध गर्नुको अर्थ छैन । 

समाचार पढेर छक्क परेँ । दिक्क पनि लाग्यो । अनि आफ्ना गुरु प्राध्यापक पी. खरेलको भनाइ सम्झेँ । कक्षामा उहाँ प्रायः भन्ने गर्नुहुन्थ्यो – नेपालमा पर्वे पत्रकारिता र गोजी एडिसन खुब चल्छ । व्यावसायिक पत्रकारिता त बामे सर्ने प्रयासमा सीमित छ । 

पर्वे पत्रकारिता भनेको नयाँ वर्ष, दसैँ तिहारलगायत चाडपर्वमा मात्र छापिने पत्रिका । जसको नियमित प्रकाशन हुँदैन । कहिले चाड आउला र विज्ञापन जम्मा गरेर छापौँला भनेर भन्नेहरुले चलाएको पत्रिका ।

अर्को गोज एडिसन – कसलाई समर्थन गर्ने, कसको विरोध गर्ने, कसलाई उचाल्ने, कसलाई पछार्ने भन्ने प्रयोजनका लागि मात्र चलाइएका मिडिया । यस्ता पत्रिका बजारमा देखिँदैनन् । प्रकाशकले छाप्छन् र जहाँ जहाँ पुर्‍याउनु पर्ने हो खल्तीमा राखेर पुर्‍याई दिन्छन् । 

नेपालमा पत्रकारका विभिन्न रुप छन् । त्यसैले त दक्ष पत्रकारको खोजी गर्ने संस्थाले चाहेजस्तो जनशक्ति पाइरहेको हुँदैन । तर, पत्रकार महासंघका सदस्यको संख्या तेह्र हजारभन्दा बढी छ । दलीय सिन्डीकेटका कारण कतिपय श्रमजीवी पत्रकारले महासंघको सदस्यता लिएकै छैनन् । लिने अधिकांश पनि विभिन्न पेसा व्यवसायमा संलग्न पत्रकार भनेर आलोचित छन् । राजनीतिक दल, समूह, व्यावसायिक घराना, धार्मिक संस्था आदिले मिडियामा राम्रै लगानी गरेका छन् । 

पत्रकार महासंघको अघिल्लो महाधिवेशनसम्मका साधारण सदस्यमध्ये करिब बहुमत गैरपत्रकार त छैनन् भन्ने प्रश्न त्यसै त उठेको होइन नि ।  

त्यसको आधार छ । राम्रा मिडिया हाउसमा दशकभन्दा बढी काम गरेका, श्रमजीवी पत्रकारहरुलाई नै दैनिक गुजारा चलाउन गाह्रो छ । एकथरी पत्रकार महिनौ तलब आएको छैन भन्छन् । वैकल्पिक आय स्रोत छैन । 

परन्तु, तिनककै आलिसान ‘महल’ हुन्छ । बर्सेनि मोटर फेर्छन् । महंगो ब्राण्डका कपडामात्र लगाउँछन् । स्मार्टफोन र ल्यापटप चलाउँछन् । रेस्टुराँ पुगेकै हुन्छन् । आखिर कहा“बाट आउँछ ? खर्चको स्रोत के हो ?  

नेपाली बजारमा पत्रकारका विभिन्न रुप छन् । व्यावसायिक, जेडी, एमडी र जेएन । व्यावसायिक पत्रकारहरुमा प्रायः ठूला मिडिया हाउसमा काम गर्नेहरु नै छन् । केही अपवादलाई छाडेर धेरैले नियमित तलव सुविधा पाउँदैनन् । वर्षाैँ काम गरेको संस्था छोड्ने बेला उपदान हुँदैन । कोरोना महामारीपछि लामो समय नाफामा चलेका ठूला व्यावसायिक घरानाले जसरी पत्रकारलाई बिदा गरेका छन् यसबाट थाहा हुन्छ वास्तविक पत्रकारको कस्तो हबिगत छ भन्ने ।

अर्कोथरी पत्रकार छन् जेडी अर्थात् जग्गा दलाल, एमडी अर्थात म्यान पावर कम्पनीका दलाल र जेएन जाली नोटका कारोबारी । दलालीको पैसाले मिडिया चलाउँछन् । जसलाई पत्रकारिताको मर्म र भावना थाहा छैन, तिनलाई आचार संहिता र सामाजिक उत्तरदायित्वको के मतलब ? 
पछिल्लो समय प्रविधिका क्षेत्रमा भएका क्रान्तिका कारण भाइरल पत्रकारिता (युट्युव) को ताउरमाउर भएको छ । भिडियो बनायो युट्युवमा हाल्यो । चर्चा कमायो । सत्य, तथ्य र विश्वसनीय सूचना होस् कि नहोस् ! समाजमा जस्तोसुकै प्रभाव पारोस् । छु मतलब ? कति भाइरल भयो?  लाइक र सेयर कति बढ्यो भन्नेबाहेक अरुमा ध्यान दिएको पाइँदैन । 

समाजको चौथो अंग पत्रकारितालाई बचाइ राख्ने हो भने श्रमजीवी पत्रकारको भौतिक र सामाजिक सुरक्षालाई पहिलो प्राथमिकतामा राख्नुको अर्को विकल्प छैन । समाजको पहरेदारी गर्ने पत्रकारलाई कुनै प्रकारको दबाब, आशा र त्रासबाट टाढा राख्न उनीहरुले पनि यसलाई अनिवार्य सर्त बनाउन आवश्यक छ । यो जिम्मेवारी कसको हो ? सरकार, मिडिया हाउस वा पत्रकार महासंघजस्ता संस्थाको ? 

त्यसैले पत्रकारहरुको मुखबाट हिजोआज सुन्ने गरिएको छ – पत्रकारको वर्तमान त होला भविष्य छैन । श्रमजीवीलाई पाखा लगाएर सामाजिक उत्तरदायित्वसहितको पत्रकारिता प्रवर्द्धन  सम्भव होला ? प्रविधिको बलमा कर्मजीवीलाई उपेक्षित गर्दै जाने संस्कार बेलैमा अन्त्य गर्न सकिएन भने छिट्टै खराबले असल पत्रकारितालाई विस्थापित गर्ने निश्चित छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ३२, २०७७  ११:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC