बाह्रखरी
sticky  ncell
Samsung
Daraz
Samsung
Daraz
साहित्य र कला प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
पुस्तक  बीपी कोइरालाको ‘तीन घुम्ती’ 
Godraj nepal
Godraj nepal
बाह्रखरी - शनिबार, साउन ३१, २०७७
Laxmi Bank
Laxmi Bank

शारदा प्रसाद दाहाल


विश्वेश्वरप्रसाद कोइरालाको ‘तीन घुम्ती’ लाई नेपाली उपन्यास विधामा एउटा अप्रतिम प्रतिमानका रूपमा लिन सकिन्छ । मूलतः उनको साहित्य सिर्जनाको आधार मनोविश्लेषण नै हो, तथापि यस उपन्यासलाई कुनै एउटा वैचारिक दर्शनको आडमा मात्र सिर्जिएको हो भनी भन्न युक्तिसँगत देखिँदैन । बीपी कोइरालाको व्यक्तित्व विकीर्ण चिन्तनबाट निर्माण भएको छ । चेतन प्रवाह शैलीको माध्यमबाट पात्रहरूमा बौद्धिकतत्वको निरूपण गर्नु उनको विलक्षण प्रतिभा हो । साधारणतः कुनै पनि उपन्यासलाई पाठकले एकपटक अध्ययन गरेपछि पुनः त्यसलाई अध्ययन गर्न रुचाउंँदैनन्, तर ‘तीन घुम्ती’ उपन्यास यस्तो उपन्यास हो, जसलाई पाठकले बारम्बार अध्ययन गर्दा पनि रुचिको तीव्रतामा कुनै कमी महसुुस गर्दैन । 

मूलतः ‘तीन घुम्ती’ उपन्यासलाई तीन आयामबाट विश्लेषण गर्न सकिन्छ । पहिलो हो आधुनिक एवम् बौद्धिक दृष्टि, दोस्रो मनो–शारीरिक द्वैतवाद र तेश्रोमा अस्तित्ववादी चिन्तन । कोइरालाको यस उपन्यासमा यी तीनै दृष्टिकोणहरूको संयोजन रहेको छ भन्न सकिन्छ । आधुनिक शब्द समयसापेक्ष र अत्यन्त लचिलो भएकाले यसलाई इतिहास, समाज, संस्कृति र कला साहित्यमा भिन्न अर्थमा प्रयुक्त हुने गरेको पाइन्छ, स्वचेतनालाई आधुनिकताको अनिवार्य सर्त मानिन्छ । यसको स्वचेतनाकै कारणले समाज र साहित्यलाई नयाँ ढंगले हेर्ने दृष्टि प्रदान गर्छ । स्वचेतन वृत्तिको कारण नै आधुनिकताको प्रमुख चिन्तना वर्तमानका लागि उपयोगी बन्दछ । यस चिन्तनाको आधारमा आधुनिक चेता व्यक्ति भूतको मूल्यांकन र भविष्यको रेखांकन गर्न सक्छ । यस आधुनिक प्रवृत्तिका अनेकौं आयाम विषयवस्तु र शिल्पको प्रयोगले आधुनिक साहित्य पोषित छ । 

Agani Group

विश्व साहित्यमा जस्तो इट्स, इलियट, आडेन जस्ता कविहरू कनराड, लरेन्स, भर्जिनिया वुल्फजस्ता रचनाकारहरू जर्ज बनार्ड शाजस्ता नाटककारहरू तथा इलियट, रिचर्डस, लेविस र अरू अमेरिकी नव्य समीक्षकहरूका सिर्जनमा आधुनिक विषयवस्तु र शिल्पको प्रयोग देख्न सकिन्छ । वस्तुतः कथ्य र शील्पमा नवीनता प्रदान गर्नु र परम्परित मूल्य मान्यताहरूको दृष्टि विंदुहरूमाथि प्रश्न गरेर साहित्यको सिर्जना गर्नु नै आधुनिक दृष्टि हो । यतिमात्रै होइन आधुनिक दृष्टिमा परम्पराकाप्रति अवमानना र नकार, मानव स्वात्रन्त्य, व्यक्ति चेतनाको अभिव्यक्ति तथा आदि कतिपय प्रवृत्तिहरू समावेश भएका हुन्छन् भन्न सकिन्छ । साथै आधुनिकतासँगै जोडिएको अर्को प्रमुख विषय हो बुद्धिवाद । मूलतः तर्कमा आधारित चिन्तनलाई नै बुद्धिवाद भनिन्छ । अर्थात् कुनै पनि विचारको सर्मथन वा खण्डन तर्कद्वारा गरिन्छ भने त्यो बुद्धिवादी दृष्टि मानिन्छ । यसले मनुष्यको चेतनालाई जागृत गराएर ऊ भित्रका अन्धविश्वासी, तर्करहित वा संंवेदनशून्य मान्यताहरूबाट मुक्त गराउँछ । आधुनिकताको प्रमुख विशेषताको रूपमा रहेको बुद्धिवादले सम्पूर्ण विश्वलाई मनुष्यको बुद्धिद्वारा नै नियमित वा नियन्त्रित गर्न सकिन्छ भन्ने मान्यता राखेको छ ।

यस परिप्रेक्ष्यमा कोइरालाको तीन घुम्ती उपन्यास आधुनिक र बौद्धिक दृष्टिबाट सिर्जना भएको कृति हो भन्न सकिन्छ । साहित्यमा आधुनिक दृष्टि र बौद्धिकताको प्रयोग भनेको कुनै विषय वा समस्यालाई तर्कणाद्वारा प्रहार गर्नु हो । बौद्धिकताप्रधान कृतिमा भावना, संवेदना र हार्दिकता भन्दा विचार, तर्क बुद्धि र विवेकको वाहुल्यता हुन्छ । 

sarbottam cement

उपन्यासको सशक्त पात्रा हो इन्द्रमाया । ऊ एउटा बौद्धिक पात्राको रूपमा उपन्यासमा देखापरेकी छे । उपन्यासको कथामा काठमाडौंको सम्भ्रात नेवार परिवारकी छोरी इन्द्रमाया पहाडको ब्राह्मणको छोरो पीताम्बरसँग प्रेम गर्छे र उसैसँग विवाह गर्ने जिद्दी गर्छे । उसको परिवारवाट जातीय वैषम्यता, सामाजिक हैसियतजस्ता प्रश्न उठाएर पीताम्बरसँग कुनै पनि हालतमा विवाह गर्नु हुँदैन भन्ने तर्क राखेर विवाह गर्न स्वीकृति दिँदैनन् । यस परिस्थितिका अगाडि इन्द्रमाया एक्लै पर्छे तर परिस्थितिसँग जुझेर अन्ततः एक साँझ पीताम्बरलाई पति वरण गर्ने निर्णय गरी स्वेच्छाले इन्द्रमाया आफ्नो पिताको घर छाडेर हिँड्छे । आधुनिकताको दृष्टिमा जातीय विभेदता, सामाजिक हैसियत र रुढीग्रस्त सामाजिक मूल्य मान्यताहरू र निरपेक्ष नैतिकताका विषयहरू त्याज्य हुन्छन् । इन्द्रमायाले तत्कालीन सामाजिक मानकहरूको अवमानना गरेर ब्राह्मण केटोलाई पतिका रूपमा वरण गर्ने जुन निर्णय गरी त्यो नै उसको आधुनिकता र बौद्धिकताको चेत हो । उपन्यासमा इन्द्रमायाका प्रत्येक उक्ति र संवाद सबै नै उच्च चेतनास्तरका छन् । उसका निर्णयहरू बौद्धिक छन् र कठोर पनि छन् । 

बीपी कोइरालाले साहित्यमा आफूलाई नन्–कन्फर्मिस्ट व्यक्तिका रूपमा पनि परिचय गराएका छन् । यथार्थमा उनको सिर्जनात्मक साहित्यमा आधुनिकता, बौद्धिकता र नन् कनफर्मिज्मको अवधारणा सहज रूपमा प्रतिविम्बित भएका छन् । साहित्यमा आधुनिकता र बौद्धिकता सहजरूपमा विकसित भएको पाइन्छ । किनभने आधुनिक दृष्टि अनिवार्यतः बौद्धिक छ । आधुनिक युगका शंकालु र बुद्धिवादी पाठकहरू रुमानी साहित्यको अध्ययनप्रति त्यति चासो राख्दैनन् । मूलतः बौद्धिकता भनेको परम्परागत मूल्यप्रति उठाउने एउटा आलोचनात्मक चिन्तन, आस्था र विमति हो । 

‘तीन घुम्ती’ उपन्यासमा कोइरालाले त्यही बौद्धिक तत्त्वको प्रयोग गरेका छन् । इन्द्रमायाले विजातीय पुरुषलाई वरण गर्नु, परपुरुषसँगको सहवासलाई स्वीकार गर्नु आधुनिकता, बौद्धिकता र नन्–कन्र्फमिज्मकै उदाहरण हुन् । वैचारिकरूपले हेर्दा बौद्धिकता र नन्– कन्र्फमिज्ममा तात्विक भिन्नता पाइँदैन । नन्–कनर्फमिज्म भनेको पनि मूलरूपले स्थापित सामाजिक मानक र मूल्यप्रति असहमति हुनु हो । त्यसैले ‘तीन घुम्ती’ उपन्यासमा यी अवधारणाहरू स्वभाविक रूपमा परिलक्षित भएको पाइन्छ । 

‘तीन घुम्ती’ उपन्यासलाई मनो–शारीरिकी द्वैतताको दृष्टिबाट पनि हेर्न सकिन्छ । दर्शन र मनोविज्ञानमा मनोशारीरिक प्रश्न सुरुदेखि नै उठ्ने गरेको पाइन्छ । दर्शनको क्षेत्रमा मन र शरीरको, यो द्वैतको विषयमा सबभन्दा पहिले रेने डेकार्टेले चर्चा गरेको पाइन्छ । उनको दर्शनमा शरीर र मन एक अर्कामा विराधी गुण राख्ने तत्व हुन् । शरीरको गुण विस्तार (एक्सटेन्सन) हो र मनको गुण विचार (थट) हो । यसरी शरीर र मन, यी दुई एक अर्कोबाट सर्वथा स्वतन्त्र सत्ता हुन् । साथै उनी यी दुईको सम्बन्ध हाम्रो मस्तिष्कको मध्य भागमा रहेको पिनियल नामक ग्रन्थीले गराउँछ भन्दछन् । मनोविज्ञानमा पनि केही सम्प्रदाय यस्ता छन् जसले मन र शरीर दुवैको अस्तित्व हुन्छ भन्ने मान्दछन् । यस किसिमको सम्प्रदायलाई द्वैतवाद भनिन्छ । मनोविज्ञानको संरचनावादी सम्प्रदायले मन र शरीर दुवैकोे अस्तित्वलाई लगभग समानान्तर रूपमा मान्दछ । 

यस परिप्रेक्ष्यमा ‘तीन घुम्ती’ उपन्यासमा कोइरालाले मन र शरीर अलगअलग सत्ता हुन भन्ने कुरा पनि देखाउन खोजेका छन् । जस्तो इन्द्रमायाले परपुरुष रमेशसँग यौन सम्बन्ध कायम गरेर देह वा शरीरको स्वतन्त्र सत्ता स्थापित गरेकी छ भने पीताम्बरलाई आफ्नो पति मानिराख्नु उसको मनसा हो । मनले उसलाई पति मानेर शरीरको सत्ताबाट मनलाई स्वतन्त्र राखेकी पनि छ । 

विश्वेश्वरप्रसाद कोइराला समकालीन विचार र चिन्तनप्रति आफूलाई सधैँ अद्यतन राख्न चाहन्थे । चाहे त्यो राजनीतिक विचारहोस्, चाहे साहित्यिक । उनको चिन्तनमा फ्रायडको मनोविश्लेषणदेखि लिएर अस्तित्ववादी, विसंगतिवादी धारका सात्र्र, कामुका चिन्तन र विचारहरूको प्रभाव पनि सहज रूपमा देखिन्छ । त्यसैले उनको साहित्यिक सिर्जनामा मनोविश्लेषण र अस्तित्ववादी विचारहरूका प्रभाव स्पष्टरूपले देखिन्छ । उनको उपन्यास ‘तीन घुम्ती’ उपन्यासलाई सम्भवतः सर्वप्रथम नेपाली साहित्यका मूर्धन्य साहित्यकार एवम् समालोचक इन्द्रबहादुर राईले अस्तिवादी वरण भनेर समालोचना गरेका छन् । अस्तित्ववादमा खास गरेर सात्र्रको अस्तित्ववादले समकालीन विश्व चिन्तन र साहित्यमा जवरजस्त प्रभाव पारेको देखिन्छ । सात्र्रले आफ्ना दार्शनिक मान्यताहरूलाई आफना कृतिहरूमा रूपायित गरेका छन् । मानवीय अस्तित्व, स्वातन्त्रय, वरण निर्णय, दायित्वबोध तथा शून्यताजस्ता विषय शात्र्रीय दर्शनका मूल स्थापनाहरू हुन् । सात्र्र कुनै पनि किसिमको नियतत्ववादलाई स्वीकार गर्दैनन् । सात्र्रका विचारमा मनुष्य जगतमा हुनुको अर्थ अस्तित्वशील हुनु हो, त्यस्तै ऊ कुनै चयन वा वरण गर्नका लागि स्वतन्त्र हुन्छ, ऊ आफू के हुने हो र बन्ने हो उसैले निर्णय गर्नुपर्छ । उसले आफ्नो स्वतन्त्रताको उपयोग गरेर निर्णय गर्नुपर्दछ । त्यस्तै हरेक निर्णय र स्वतन्त्रतासँग उपस्थित हुने दायित्वबोध निर्वहण पनि उसले गर्नुपर्दछ । सात्र्रका विचारमा मनुष्यले स्वतन्त्रताको उपयोग गरेपछि सन्ताप पनि सँगै उपस्थित हुन्छ । उनले आप्mनो दर्शनमा मनुष्यलाई एउटा मौलिक प्रायोजनको रूपमा प्रक्षेपण गरेका छन् । उपन्यासमा प्रस्तुत अस्तित्ववादी मान्यतामा आधारित घटनाहरू र कथोपकथनलाई यहाँ विवेचन गर्ने प्रयत्न गरिन्छ । 

स्वतन्त्रता अस्तित्व, वरण र निर्णय :
आफ्नो जातसँग नमिल्ने ब्राह्मण केटो पीताम्बरलाई पतिका रूपमा वरण गर्नु इन्द्रमायाको पहिलो निर्णय हो । इन्द्रमायाको यो निर्णयले व्यक्ति स्वतंत्रताको मान्यता स्थापित हुन गएको छ । सात्र्रका अनुसार मान्छेले आफ्नो बारेमा आफै निर्णय गर्दछ । उसले स्वतन्त्रतालाई वरण गरेर मात्र आफूलाई अस्तित्वशील प्रमाणित गर्न सक्छ । इन्द्रमायाले आफ्नो स्वतन्त्रताको उपयोग गरेर अस्तित्वशील जीवन बाँच्ने निर्णय गरेको देखिन्छ । 

शास्त्रीय दर्शनअनुसार मान्छे आफू अस्तित्वशील हुनखोज्दा अरूद्वारा आफनो अस्तित्वमा अतिक्रमण हुन्छ, यसलाई नै उनी ‘द अदर इज हेल’ भन्दछन् । यहाँ इन्द्रमायाको स्वतन्त्र निर्णयमा उसका बाबु–आमा र सामाजिक परिवेश उसको अस्तित्वमा आक्रमण गर्ने चुनौतीका रूपमा उपस्थित भएका छन् । यहाँ उसको बाबु–आमा समाज र परिस्थिति उसका लागि सात्र्रले भनेजस्तै ‘द अदर इज हेल’ साबित भएका छन् । मान्छेले जहिले पनि आफ्नो स्वतन्त्रताको प्रयोग गर्दा विभिन्न व्यवधानहरूको सामना गर्नुपर्ने हुन्छ । इन्द्रमायाले पनि आफ्नो स्वतन्त्रताको उपयोग गरेर पीताम्बरलाई पतिका रूपमा रोज्ने क्रममा उसको परिवारको विरोधको सामना गर्नु परेको घटना उपन्यासमा देखिन आएको छ । व्यक्तिले यसरी स्वतन्त्रताको उपयोग गर्दा त्यसमा व्यवधान आउनु स्वभाविक हुन्छ भन्ने सात्र्रको विचार छ । त्यसैले उनी भन्दछन् निर्बाध स्वतन्त्रता अर्थहीन प्रत्यय हो । स्वतन्त्रतामा वरण इच्छा वास्तविकता र संकल्पको भावना सन्निहित हुन्छ । 

शात्र्रीय अस्तित्ववादमा सबभन्दा पहिले आउने तत्त्व नै अस्तित्व हो । इन्द्रमाया र पीताम्बरकाबीच छोरीको विषयलाई लिएर विवाद भएपछि त्यस समस्यालाई उसले आफनो अस्तित्वसँग जोडेर हेरेको देखिन्छ । सो सम्बन्धमा उपन्यासको अंश यस्तो छ– “अहिलेको समस्या त उसको अस्तित्वसँग सम्बन्ध राख्दथ्यो । आफ्नो अस्तित्व लोप गराएर मात्र इन्द्रमाया अहिलेको समस्यातर्फ विमुख भएर बस्न सक्ने थिई । पीताम्बरका कुरा मानेको खण्डमा इन्द्रमाया नै रहने थिइन । यदि उसले आफ्नो जीवनको सत्यलाई पीताम्बरको आचरण र उसको विचारका सम्मुख निर्धक्कसित राखिन भने– ऊ प्रेमिका, पत्नी र माताको पदबाट आफूलाई झारेर केवल एउटा परान्नभोजी दासीमा परिणत हुन्न र ? त्यस स्थितिमा जीवनको अर्थ नै लोप भएर जान्छ ? उसले गरेको समाज त्याग, त्यसपछि उसले गरेको पीताम्बरको वरण र उसका पतिको प्रेम, रमेशवाट प्राप्त गरेको त्यो तृप्तिदायी आनन्द, आफ्नो गर्भको गौरव र अहिलेचाहिँ माताको मर्यादा, के यी सवै तत्वहीन आकासमा निस्सार भई बिलाउने बाफजस्ता हुन्नन् र ? 

इन्द्रमायालाई लाग्यो कि उसले कमसे कम यी सब प्राप्तिको संरक्षणका लागि पनि चुप लागेर बस्न हुन्न । “इन्द्रमायाका यी कथनहरू माथि विचारगर्दा वास्तवमा भन्ने हो भने ‘तीन घुम्ती’ उपन्यासको सम्पूर्ण सार नै उपन्यासका यी अंशहरूमा प्रतिविम्बित भएको स्पष्ट हुन्छ । इन्द्रमायाले आफनो स्वतन्त्रताको उपयोग गरेर पीताम्बरलाई वरण गर्दा परिवार समाज त्याग गर्नु परेको, रमेशसँगको सहवासबाट प्राप्त गरेको यौन आनन्द, रमेशबाटै भएको गर्भाधानको गौरव, माताको रूपमा आफूले निभाउनु पर्ने भूमिका एवम् मर्यादा र छोरीका सम्बन्धमा लिएका निर्णयहरू व्यक्ति अस्तित्वका चेतनशीलता एवम् स्वातन्त्रय वरणबाट निर्देशित छन् । जीवनमा लिएका निर्णयहरूको आफैं समीक्षा गर्र्दे ती निर्णयहरू लिँदा उसले आफूलाई अनावश्यकरूपमा नफँसाएर जीवनको अस्तित्वमा नै आधारित भएर लिएको महत्त्वपूर्ण निर्णयहरू हुन् भन्ने ठहर गरेकी छे । 

जीवन बाँच्ने क्रममा लिइने निर्णयहरूका सम्बन्धमा इन्द्रमायाको आफ्नो अनुभव छ । उसलाई लाग्छ मानिसले निषेधाज्ञा उल्लङ्घन गर्नुपरेको कारणले नै निर्णयहरू कठिन हुँदा रहेछन् । समाजलालई ‘म मान्दिन पीताम्बरलाई वरण गर्छु’ भन्ने समाजकाप्रतिको उसको पहिलो निषेधाज्ञाको उल्लङ्घन थियो । जीवनमा लिइने निर्णयहरूको प्रकृति अवस्था र स्वरूप सम्बन्धमा तुलना गर्दै इन्द्रमाया भन्दछे आफूभन्दा बाहिरको तत्त्व जुन समाज हो, त्यसका काइदा कानुनविरुद्धमा उभिन त्यति कठिन नहुने रहेछ जति आफनै स्वको कुनै न कुनै अंशको विरुद्धमा उभिनु । जस्तो रमेशसँग घनिष्ठता स्थापित गर्नहुन्न भन्ने कुरा पनि सामाजिक विश्वास र आस्थाकै एउटा रूप हो । यस किसिमको आस्था र विश्वासविरुद्ध निर्णय लिनु पनि आफ्नै विरुद्ध उठाइएको कदमजस्तै हो । सामाजिक नियमका विरुद्ध उभिनु भन्दा पनि आफ्नो आस्थाका विरुद्ध उभिनु धेरै दुस्सह हुने उसले अनुभव गरेकी छ । जीवनमा निर्णय लिँदा आफूलाई खण्डित नपारी निःसँग भएर लिन नसकिने कुरा उसले रमेशलाई स्वीकार गर्दा महसुस गरेको देखिन्छ । त्यस्तै वरण र स्वकिृति पनि अलगअलग तत्व हुन् । दुवै अवस्थाका परिणति समान भए पनि जिम्मेवारीको दायित्वबोधले यी दुईको सीमालाई छुट्याई रहेको हुन्छ । किनभने स्वीकारमाभन्दा वरणमा बढी दायित्वबोध लिनुपर्ने अवस्था आएको हुन्छ । इन्द्रमायाले वरण र स्वीकारका यिनै पार्थक्यताका आधारमा पीताम्बर र रमेशसँगको प्रेम सम्बन्धको मात्रालाई परिभाषित गर्न खोजेकी छ । 

त्यस्तै घरमा विवाहको कुरा चलेपछि इन्द्रमायाले पीताम्बरको कुरा अघि सार्नासाथ उसका बाबु–आमाले जात र कुलको कुरा नमिल्ने आधारमा पीताम्बरसँग विवाह गर्न नहुने तर्कलाई इन्द्रमायाले कुनै महत्त्व नदिएको कुरा पनि उल्लेख गरिएको छ । सात्र्रका विचारमा मनुष्य कुनै पनि पूर्व निर्धारित मूल्यहरूवाट स्वतन्त्र हुन्छ र ऊ स्वयम् मूल्यको सृष्टि गर्दछ भन्ने मान्यता राख्छन् । मनुष्यको वरणभन्दा पूर्व कुनै मूल्य हुंदैन । मनुष्यको आफ्नो वरणले नै मूल्यलाई परिभाषित गर्छ । यसअर्थमा पूर्वस्थापित मूल्य मान्यताहरू स्वयंमा कुनै अर्थका हुँदैनन् । तिनबाट केवल व्यक्ति अस्तित्वको स्वतन्त्रतामा व्यवधान पुग्छ र यस्तो अवस्थामा व्यक्तिले आफ्नो अस्तित्वलाई प्राप्त गर्न सक्दैन । अस्तित्वशील भएर बाँच्न व्यक्तिले आफूभन्दा बाहिरबाट आएको परिस्थति र आग्रहलाई निषेध गर्न सक्नुपर्छ । इन्द्रमायाले पूर्वस्थापित मूल्य मान्यताअनुरूप विवाह गर्नुपर्छ भन्ने उसका बाबु–आमाको आग्रहलाई अस्वीकार गरेर पीताम्बरलाई वरण गर्ने निर्णय गरेको देखिन्छ । 

अस्तित्वको केन्द्रसँग जोडिएको प्रेम र यौन
शात्र्रीय दर्शनमा प्रेमलाई अन्यकासाथ मूर्त सम्बन्धको रूपमा हेरिएको छ । अर्कोसँगको चेतना हुनेबित्तिकै हाम्रो लागि ऊ प्रतिद्वन्द्वीका रूपमा उपस्थित भएको हामीलाई महसुस हुन्छ । यस स्थितिमा हामी आफूलाई अर्काको कब्जामा रहेको पाउँछाैँ । अरूको स्वतन्त्रता मेरो सत्ताको आधार हुन्छ किनकि मेरो स्वतन्त्रता अरूको कृपामा निर्भर रहन्छ । अतः यस अवस्थामा म आफूलाई असुरक्षित महसुस गर्दछु । यो स्वतन्त्रता भएकोले म आफूलाई खतरा महसुस गर्दछु । मनुष्यको यो अवस्था अन्यकासाथ मूर्त सम्बन्धको रूप हो । प्रेमका सम्बन्धमा पनि यही रूप देखिन जान्छ भन्ने अस्तित्ववादी मान्यता हो । प्रेमको चाहनामा प्रेमीले समग्र मूल्यहरूको स्रोत आफूलाई मानेर उसका लागि सम्पूर्ण पारम्परिक नैतिक मूल्यहरूलाई तोड्न सक्नुपर्छ भन्नेसमेत अपेक्षा राखेको हुन्छ । 

प्रेम गर्नुभन्दा पहिले प्रत्येक मनुष्यले ऊ आफू यस जगतमा फ्याँकिएको बेकारको वस्तुको रूपमा महसुस गर्दछ । तर प्रेम भएपछि उसको अस्तित्वलाई कसैले सम्पूर्ण रूपले आफ्नो पूरा स्वतन्त्रताकासाथ चाहेको छ भन्ने लाग्छ । प्रेमको आनन्दको यही आधार हो, त्यसपछि हामीलाई आफ्नो जीवन सार्थक लाग्छ । अर्कोसँग ठोस सम्बन्धको परिणाम द्वन्द्व हुन्छ । यी सबै सम्बन्धहरूको नियमन आफ्नो त्यस दृष्टिकोणबाट हुन्छ जो म त्यस वस्तुकाप्रति बनाउँछु । अर्कोको उपस्थितिमा मेरो धेरै किसिमको दृष्टिकोण सम्भव हुन्छ– जस्तो अर्कोको स्वतन्त्रतालाई म प्रेमको माध्यमबाट बिच्छिन्न गर्न सक्छु– अथवा अर्कोको शरीरलाई म कामेच्छाबाट वर्जित गर्न सक्छु अथवा अप्रत्यक्ष रूपले घृणाबाट त्यसलाई नष्ट गर्न सक्छु । सात्र्रका अनुसार प्रेमको माध्यम प्रायः असफल नै रहन्छ किनकि आफ्नो आत्मिक स्वतन्त्रतालाई सुरक्षित राखेर अर्कोसँग घनिष्ठता कायम गरी उसमाथि प्रभुत्व पनि राख्ने कुरा सम्भव हुँदैन । अतः यो आकस्मिक हुँदैन । यस अर्थमा फ्रायडलेजस्तै सात्र्रले पनि प्रेम र घृणाको पारस्परिकताको उल्लेख गर्दै यो विचार राखेका छन् कि स्वभाविक रूपले प्रेमको असफलताले परपीडन रति र स्वपीडन रतिको रूप लिन पुग्छ । 

व्यवहारिक जीवनमा प्रेमको स्वरूपले दुवै लिंगहरूरुका लागि एउटा समान अर्थ र मूल्य कहिल्यै बोकेको हुँदैन र यही कारणले दुवैकाबीच गम्भीर असमझदारीहरू हुने गर्दछ भन्ने सामान्य धारणा राख्ने गरेको देखिन्छ । यस सन्दर्भमा अंग्रेज कवि लर्ड ब्यारोनले ‘पुरुषको लागि प्रेम उसको जीवनको एउटा अलग हिस्सा हो भने एउटा स्त्रीको लागि प्रेम उसको सम्पूर्ण जीवन हो भन्ने विचार व्यक्त गरेका छन्’ । ब्यारोनको यस भनाइबाट मूलतः स्त्री र पुरुषका लागि प्रेमका अलगअलग अर्थ र मूल्य हुन्छ भन्ने देखिन्छ । तर अस्तित्ववाद प्रेमको यस्तो अलगअलग मूल्य र अर्थको परम्परागत परिभाषालाई स्वीकार गर्न चाहँदैन । प्रेमी प्रेमिकाको व्यक्ति स्वातन्त्रय र उनीहरूको ‘स्व’खण्डित नभईकन गरिने प्रेममात्र अस्तित्ववादी दृष्टिमा प्रेम हो । प्रेम मूलतः स्त्री पुरुषबीचको आकर्षण र प्रणय–भावनाको मिलन त हो तर त्यहाँ त्यो प्रणय मिलन व्यक्ति स्वतन्त्रता र अस्तित्वमा बाधक हुनु हुँदैन भन्ने अस्तित्ववादी मान्यता हो । व्यवहारिक जीवनमा सात्र्र स्वयम् परिवर्तनशील अथवा सांयोगिक प्रेमका पक्षधर थिए । त्यसकारण उनले अनेकौँसँग प्रेम गरे । उनको प्रेमको यस्तो विचारलाई आजीवन उनको प्रेमिकाको रूपमा रहेकी प्रसिद्ध अस्तित्ववादी लेखिका सिमोन द बोबुआरले तुरुन्तै स्वीकारेको पाइन्छ । 

उनीहरू दुवैले प्रेमलाई सधैं एउटा स्वतन्त्र व्यक्तिकारूपमा बुभ्mने प्रयास गरेको देखिन्छ । उनीहरूको बुझाइको प्रेममा पारदर्शिताको पक्ष पनि जोडिएको छ । प्रेमका सम्बन्धमा पारदर्शिताको दृष्टिकोण राखियो भने पुरुष र स्त्री दुवैको जीवनलाई यसको अर्थ र मूल्य बुझ्न मद्दत गर्दछ भन्ने उनीहरूको विचार रहेको देखिन्छ । सात्र्र र आफ्नो पे्रम जीवनका प्रसँगमा पारदर्शिताको पक्षलाई आफूले सधैँ महसुस गर्ने गरेको कुरा सिमोन स्वीकार्द छिन् । त्यस्तै प्रेमको सम्बन्धमा प्रायःजसो देखाइने वफादारिताको रूपलाई उनी पाखण्ड वाहेक अरू केही होइन भन्ने मान्यता राख्दछिन् । उनका विचारमा प्रेमको लक्ष्य स्त्री र पुरुषकाबीच अन्तरङ्ग समझदारी कायम गर्नु नभएर यो केवल यौनको क्षेत्रसम्म मात्र सीमित रहन्छ भन्ने हो । 

यस परिप्रेक्ष्यमा इन्द्रमायाको प्रेम र यौनलाई हेर्नु पर्ने हुन्छ । इन्द्रमायाको प्रेम अस्तित्ववादी केन्द्रसँग जोडिएको प्रेम हो । उसले प्रेमको मौलिकता, ऊ र पीताम्बरका बीचको सम्बन्ध समाजको मर्यादा भन्दा बढी तात्विक आधारमा खडा भएका कुरा हुन् भन्ने स्वीकार्छे । त्यस्तै प्रेममा समाजमा प्रचलित मूल्य र मान्यताहरू पनि तोडिन्छ भन्ने कुरा पीताम्बरसँग भएको प्रेमले पुष्टि गरेको छ । ऊ प्रेमको सम्पूर्णतामा विश्वास गर्छे । इन्द्रमाया पे्रमको मूल तत्त्व सम्बन्धमा पनि प्रश्न उठाउँछे । 

प्रेमको मूल तत्त्व मन हो भने उसले धेरै पहिलेदेखि नै रमेशसँग प्रेम गर्न थालेको हो, यस विषयमा उसलाई स्वीकार गर्न कुनै संकोच थिएन । उसले आफू र रमेशका बीच केवल मांस प्राचीर खडा गराइराखेकी थिई । समागमको सुगमतामा यही मांस प्राचीर वाधक भएको थियो । जब आस्थाको आत्मा नै मृत भइसकेको थियो भने शरीरले मात्र आफ्नो आस्थालाई यसरी टेवा दिइराख्नु के एउटा बंचना होइन ? केवल एउटा आडम्बर होइन र ? कहिलेकाहीँ इन्द्रमायाको मनमा प्रेमको असली तत्त्व शारीरिक नै हो, शरीरदान नै प्रेम हो भन्ने तर्क उब्जन्थ्यो । देह र आत्माका सम्बन्धमा अस्तित्ववादी विचारलाई हेर्दा जगतमा हामी देह हुनुका अर्थमा रहेका हुन्छौ । दैहिक रूपबाट मात्र हामी जगतमा अस्तित्वशील हुन्छौं । जगतमा अवस्थित वस्तु र व्यक्तिलाई म मेरो देहबाट जान्न र बुझ्न सक्छु । र अरूले पनि मलाई त्यसरी नै जान्छन् र बुझ्छन् । 

वातावरणबिना जगतमा हुनुको अस्तित्व हुँदैन भन्ने अस्तित्ववादीहरू स्वीकार गर्छन् । त्यसकारण देह अस्तित्वको आवश्यक वस्तु हो । देहबिना जगतसँग कसैले पनि अन्तक्र्रिया गर्न सक्दैन । सार रूपमा देह सम्बन्धमा अस्तित्ववादी दर्शनको चासो के रहेको छ भने देह मेरो जगतमा हुनुको तात्कालीक बोधको घटकका रूपमा उत्पति भएको हुन्छ । अस्तित्ववादले देहलाई शरीरक्रिया र मनोवैज्ञानिक सन्दर्भबाट हेरेको छैन । अस्तित्ववादमा देहलाई अस्तित्वको दार्शनिक अवधारणाबाट हेरिएको पाइन्छ । यद्यपि देहको अस्तित्वशील चरित्रका सम्बन्धमा अस्तित्ववादीहरूमा समान धारणा रहेको देखिँदैन । 

त्यसैगरी आत्माका सम्बन्धमा पनि विचार गरिएको छ । सात्र्र आत्माको स्वरूपलाई विषयापेक्षी मान्दै यसको निवास चेतनामा होइन जगतमा हुन्छ भन्छन् । अन्य व्यक्तिको आत्माजस्तै आत्मा जगतको सत्ता हो । मूलतः सात्र्र अनुभवातीत आत्मालाई स्वीकार गर्दैनन् । आत्माले कुनै पनि काम देहबिना गर्न सक्दैन तर ऊ देहको निर्देशलाई मान्नका लागि वाध्य हुँदैन । उसले देहको सीमाहरूमा काम गर्नुपर्छ तर उसको प्रयास भने यी सीमाहरूलाई तोड्ने हुन्छ तथापि अस्तित्ववादमा दुवैको सह–अस्तित्वलाई स्वीकार गरिएको छ । 
रमेशसँगको प्रेमका प्रसँगमा इन्द्रमाया प्रेमको सारतत्त्व मन हो कि शरीर हो भन्ने द्विविधामा पर्छे । कहिलेकाहीँ उसलाई प्रेमको असली तत्व शारीरिक नै हो भन्ने पनि लाग्छ । रमेशसँगको समागममा उसको मन भनौं वा आत्मतत्व प्रवल भएको छ किनकि इन्द्रमायाले समागममा शरीरलाई बाधक मानेकी छ । यहाँ इन्द्रमायाको चेतन रमेशसँग समागम गर्न कल्पित छ, जुन अवस्था वास्तविक रूपमा उपस्थित छ । चेतना र यथार्थ बीचको सम्बन्ध नै मूलतः आत्माको विषयापेक्षी स्वरूप हो । इन्द्रमाया र रमेशबीचको समागमलाई यस दृष्टिबाट पनि हेर्न सकिन्छ । अर्कोतिर यही घटनालाई दुरास्थाको आधारमा पनि हेर्नु पर्ने हुन्छ । इन्द्रमायालाई मनले रमेशसँग यौन समागम राख्ने इच्छा हुँदाहुँदै शरीरलाई बाधक मान्नु केवल बंचना र आडम्बर हो भन्ने मात्र लाग्दछ । शात्र्रीय दर्शनमा यस्तो अवस्थालाई दुरास्थाको स्थिति भन्ने गरिएको छ । 

अस्तित्वको केन्द्रिय अनुभवसँग जोडिएको प्रेम एउटा निरन्तर चुनौतीका रूपमा रहन्छ; यसको कुनै विश्रामस्थल हुँदैन बरु एउटा निरन्तर प्रवाह, विकास र कर्मको रूपमा हुन्छ, यद्यपि यस्तो प्रेममा सामान्जस्यता पनि हुन सक्छ, द्वन्द्व पनि हुन सक्छ, आनन्द पनि हुन सक्छ या खिन्नता पनि हुन सक्छ । वास्तवमा यी तथ्यहरूको महत्त्वभन्दा पनि सर्वोपरि रूपमा व्यक्ति केवल आफू स्वयम्लाई आफनो अस्तित्वको सार तत्वबाट अनुभव गरिरहेको हुन्छ र त्यही केन्द्रीय स्तरमा एक अर्कासँग जोडिएका हुन्छन् ।
 
इन्द्रमायाको प्रेम पनि अतित्वसँग जोडिएको प्रेम हो । उसले अनुभव गरेको प्रेम प्रारम्भदेखि नै एउटा निरन्तर चुनौतीको रूपमा देखिएको छ । चाहे त्यो पीताम्बरसँगको होस् चाहे रमेशसँगको । उसको प्रेममा द्वन्द्व, आनन्द र खिन्नताका अनुभूतिहरू बारम्बार देखिन्छन् । त्यसो भए पनि यी अनुभूतिहरूका बहानामा ऊ आफनो अस्तित्वबाट विचलित भएकी छैन । त्यसैले उसको प्रेमको मूलतत्व अस्तित्ववादी केन्द्रसँग जोडिएको प्रेम हो भन्न सकिन्छ । तर यहाँ इन्द्रमायाको प्रेमको परिणति के हो भन्ने मूल प्रश्न पनि त्यतिकै प्रवल रूपले उठेको छ । अर्थात् उसको प्रेम सफल असफल के हो भन्ने प्रश्न छ । सात्र्रले पनि प्रेमको माध्यम प्रायः असफल नै रहन्छ भन्ने मानेका छन् । यसको कारण के हो भने प्रेमी प्रेमिकाले आफ्नो आत्मिकताको स्वतन्त्रतालाई कायम राखेर एक अर्काबीच घनिष्ठता स्थापित गरेर प्रभुत्वता कायम राख्न सम्भव हुँदैन । अन्ततः सात्र्र पनि फ्रायडले जस्तै प्रेम र घृणाको पारस्परिकताको विचारलाई स्वीकार गर्दे स्वभाविकरूपले प्रेमको असफलताले परपीडन रति, स्वपीडन रतिको रूप धारण गर्न पुग्छ भन्ने मान्दछन् । यस अर्थमा इन्द्रमायाको प्रेमको परिणतिलाई हेर्दा सफल प्रेम हो भन्न सकिने अवस्था देखिदैन । उसले प्रेम गरेका दुई पुरुषहरू पीताम्बर र रमेश कुनैसँग पनि सँगै रहेर जीवन बिताउन सकेकी छैन । अन्त्यमा उसले आफ्नो छोरीलाई लिएर पतिगृह त्याग गर्नुृ परेको देखिन्छ । उसले आफनो आत्मिकताको स्वतन्त्रतालाई मात्र कायम राख्न सफल भई तर समग्र रूपमा प्रेम सफल र सार्थक हुन सकेको देखिँदैन । 

आफैंले निर्णय गरेर वरण गरेको पति पीताम्बर हुँदाहुँदै इन्द्रमायाले अर्को युवक रमेशसँग प्रेममात्र गरिन कि ऊ सँगको सहवासबाट छोरीको जन्मसम्म भएको छ । फ्रायडीय मनोविश्लेषणले स्त्रीपुरुषबीचको यस्तो सम्बन्धलाई यौन तृप्तिको चाहना वा जैवीकीय आवश्यकताका रूपमा अथ्र्याउँदै आएको छ । तर अस्तित्ववाद यौनलाई जैविक कार्य मात्र नभएर यसको सत्तामीमांसात्मक आयामसमेत हुन्छ भन्ने मान्यता राख्छ । सात्र्र यौनिक कार्यको आल्हादिक चरित्रले शरीरमा यौनको केन्द्रिय अस्तित्वशील भूमिकालाई प्रदर्शित गर्ने गर्दछ भन्ने मान्छन् । यौनिक सम्बन्धमा व्यक्ति आफूबाट बाहिर गएर अरूमा एकात्मक हुन्छ । तर यौनिक कार्य आल्हादिक मात्र होइन, यो समग्रता पनि हो । 

अस्तित्ववादी विचारमा यौन भनेको सत् को समग्र सहभागिता हो । यौन इच्छाको उद्देश्यमा मूलतः एकात्मकताको भावना प्रवल रूपमा रहेका हुन्छ । यौन इच्छाका धेरै कारणहरू हुन सक्छन् । इन्द्रमायाको यौन इच्छाको भावनालाई शारीरिक भोक या पीडादायक तनावको निकासको रूपमा हेर्नु भन्दा पनि एकलोपनको व्यग्रता र आत्म गौरवको भावनाबाट पे्ररित रहेको भन्न सकिन्छ । यौन इच्छाको भावना सधैँ प्रेमबाट प्रेरित हुन्छ नै भन्न सकिँदैन । यद्यपि यौन इच्छाको कारणमा एउटा पे्रम पनि हुन सक्छ । पीताम्बरबाट सन्तान हुन नसकेको र मातृत्वको नारी सुलभ वृत्तिलाई अगाडि सारेर इन्द्रमायाले रमेशसँगको सहवासलाई जायज ठह¥याउने कोशिश गरेकी छ । तर शात्र्रीय अस्तित्ववादले कुनै पनि किसिमका मानवीय स्वभाव र सहजवृत्तिहरूलाई स्वीकार नगर्ने हुँदा अस्तित्ववादी दृष्टिकोणबाट इन्द्रमायाको प्रेम र सहवासलाई परिवर्तनशील वा सांयोगिक भन्नुपर्ने हुन्छ । अर्थात पीताम्बर हुँदाहुँदै इन्द्रमायाले रमेशसँग यौन सम्बन्ध कायम गरेकी छ । ऊसँगको यौन सम्बन्धमा उसमा कुनै पापबोधको भावना देखिएको छैन । उसमा पापबोधको भावना नआउनु, शुभ–अशुभ र नैतिक मूल्य अवस्था अनुसार आफैले निरूपण गर्नु पर्दछ भन्ने मान्यताको द्योतक हो । यस सम्बन्धमा ऊ अझ दृढ भएर भन्दछे की प्रेममा कायादान पनि अनिवार्यतः निहित छ । उसले प्रेम र यौन विषयमा परम्परागत रूपले अपेक्षा गर्ने गरिएको बफादारीको आवरणलाई हटाएकी छ । त्यसैगरी उसले रमेशसँगको प्रेम र यौन सम्बन्धलाई ढाकछोप गरेर होइन कि त्यस घटना सम्बन्धमा उसले आफूलाई पारदर्शिरूपमा प्रस्तुत गरेकी छे । उसले यी घटना सम्बन्धमा पीताम्बरसँग कुनै कुरा लुकाएकी छैन । जीवनमा यौन मात्रै अपरिहार्य वस्तु होइन भन्दै इन्द्रमाया भन्दछे। ‘मानव जीवनमा यौन सम्बन्ध जतिसुकै आवश्यक भए पनि त्यसमा कमसे कम त्यो अधिकारशक्ति चाहिँ कदापि छैन कि यौन प्राप्त पुरुषलाई केवल त्यति कारणले मात्र पतिको प्रतिष्ठा प्रदान गरोस् । यस अर्थमा इन्द्रमायाले यौनलाई अधिकारशक्तिको रूपमा स्वीकारेकी छैन । 

नैतिकता र मूल्य
मूलतः नैतिकता मनुष्यको सामाजिक सम्बन्धहरूको आवश्यकता हो । अस्तित्ववादले मनुष्यले आप्mनो स्वतन्त्र चुनावद्वारा नअपनाएको र बाहिरवाट थोपरिएको नैतिकतालाई नैतिकता मान्दैन । मानवीय अवस्थाको स्वरूप अनेकार्थी किसिमको हुन्छ । हामी समाजमा आत्मपरक, वस्तुपरक, देह एवम् चेतनाको समक्षणीक स्थितिबाट अस्तित्वमा आएका हुन्छाैं । मूल्यहरू चेतनामा स्वतन्त्ररूपले आउन सक्दैनन् । वैयक्तिक रूपमा हामीले जगतमा आफ्नो उद्देश्य र लक्ष्यद्वारा मूल्य आफै निरूपण गर्ने हो । यसको मान्यता छ कि स्वतन्त्रता मानव–चेतनाको स्वभाव हो र सबै नैतिक मूल्यको आधार एवम् स्रोत स्वतन्त्रता हो । अस्तित्ववादको दृष्टिमा नैतिकताको निरपेक्ष मूल्य हुँदैन । प्रत्येक व्यक्ति स्वयम् आफ्नो नैतिकताको सृष्टि गर्छ । समाज राज्य अथवा धर्मद्वारा मनुष्यमा लादिएको नियम–काइदा र नैतिक मूल्य अनैतिक हुन् तर मनुष्यले आफ्नो स्वतन्त्र निर्णयद्वारा ती मूल्यलाई अपनाउँछ भने ती अनैतिक हुँदैनन् । त्यसैले सात्र्र खेलको नियमलाई मन पराउँछन् किनभने यो आफैले बनाएको नियममा खेलिन्छ । उनका विचारमा मूल्यको कुनै अनुभवातीत स्रोत हुँदैन र नैतिकताको कुनै पूर्वप्रदत्त मानदण्ड पनि हुँदैन । 

इन्द्रमायाले आफ्नो जीवन बाँच्ने क्रममा लिएका पगपगका निर्णयहरू अस्तित्ववादी मूल्य र नैतिकताको हिसाबले खरो रूपमा उत्रिएका छन् । नैतिक मूल्य र मान्यताको आदर्शवादी परम्परालाई उसले ब्राह्मण केटो पीताम्बरलाई पतिकारूपमा वरण गरेर तोडेकी छ भने विवाहित नारी भएर पनि परपुरुष रमेशसँग स्वच्छन्दरूपले यौन सम्बन्ध कायम गरेकी छ । यस परिप्रेक्ष्यमा इन्द्रमायाले पारम्परिक नैतिक मूल्यका दृष्टिमा अनैतिक मानिने यी दुवै कार्यहरूबाट समाजले थोपरेका मानदण्डहरूलाई अस्वीकार गरेर नैतिकताको सापेक्ष मूल्य कायम गरेकी छ । यस अर्थमा उसले मूल्यको कुनै अनुभवातीत स्रोत र नैतिकताको कुनै पूर्वप्रदत्त मापदण्डलाई मानेकी छैन । 

स्वतन्त्रता–सन्ताप
सात्र्रको भनाइमा स्वातन्त्रयसँग जहिल्यै पनि सन्ताप जोडिएको हुन्छ । जब हामी आफ्नो वर्तमान र भविष्यलाई आफ्नो हातमा लिन्छाैँ अर्थात् आफ्नो स्वतन्त्रताको प्रयोग गर्छांै त्यसवेला स्थिति केही कष्टप्रद पनि हुन जान्छ । यस्तो स्वतन्त्रताको प्रयोगबाट हामीमा सन्ताप, भय, दुश्चिन्ता वेदना उत्पन्न हुन्छ तर यसबाट नै हामी प्रमाणिक जीवनतिर उन्मुख हुन्छौं । त्यस्तै प्रेमसँग वियोगको यातना र आत्म बलिदानको भावना पनि जोडिएको हुन्छ । अर्थात् आफ्नो स्वातन्त्रयता साथ बाँच्नका लागि विद्रोह गर्नु अनिवार्य हुन्छ र विद्रोहका लागि यातना भोग्न र आत्म बलिदान गर्नु अनिवार्य हुन्छ । 

इन्द्रमायाको जीवनको उत्तराद्र्ध सन्ताप र अन्तरद्वन्द्वबाट गुज्रिएको देखिन्छ । रमेशसँगको यौन सम्बन्धबाट जन्मिएकी छोरीलाई रमेश वा अनाथलयमा जिम्मा लगाउनु पर्ने पीताम्बरका यी दुई सुझावले इन्द्रमायाले फेरि तेश्रो निर्णय गर्नुपर्ने अवस्थाको सिर्जना भएको घटना प्रस्तुत छ । यो घटनामा उसले पति रोज्ने कि छोरी रोज्ने भन्ने प्रश्न उठेको देखिन्छ । यी रोजाईमा यहाँ पनि स्वभाविकरूपले उसको अस्तित्व र स्वतन्त्रताको ज्वलन्त प्रश्न उठेको छ । छोरी उसको प्रेमको उपज हो । यस परिस्थितिमा इन्द्रमायाका लागि एकैचाटी वात्सल्य र मातृत्वको प्रश्न एवम् पत्नीको पतिकाप्रतिको दायित्वको प्रश्न उठेको छ । पीताम्बरको सुझावअनुसार उसले पत्नीका रूपमा रहने हो भने छोरीलाई त्याग्नु पर्ने हुन्छ । यस परिस्थितिमा छोरीलाई त्यागेर पतिसँग वस्ने निर्णय गरी भने ऊ दासी वा परान्नभोजी ठहरिन्छे र उसको आफनो स्वतन्त्रता र अस्तित्व गुम्ने हुन्छ । 

उसका सामुन्ने उपस्थित यी दुई विकल्पहरूमध्ये एउटालाई मात्र रोज्न पाउने परिस्थिति छ । अन्त्यमा इन्द्रमायाले मातृत्वलाई नै रोजेर पतिगृह त्यागेकी छे । यहाँ इन्द्रमायाले आफ्नो स्वतन्त्रताको उपयोग गरेर निर्णय गर्दा, प्रेमको भावनालाई स्वीकार गर्दा, घनघोर यातना र यन्त्रणाबाट गुज्रनु परेको अवस्था रहेको तथ्य देखिन आएको छ । प्रेम एउटा विसंगत प्रयास हो र साथै हामीले प्रामाणिक ढंगले कुनै पनि निर्णयमा पुग्नका लागि यातना र यन्त्रणा भोग्नै पर्छ भन्ने शात्र्रीय मान्यता उसको लागि चरितार्थ भएको छ । समग्ररूपमा हेर्दा इन्द्रमायाले विजातीय पति वरणदेखि लिएर पतिगृह त्याग गर्दाको अवस्थासम्म आप्mनो अस्तित्व र स्वतन्त्रताको विषयमा कुनै सम्झौता गरेकी छैन । 

यसरी ‘तीन घुम्ती’ उपन्यासभित्र घटित घटना विवरणको विश्लेषणात्मक अध्ययन गर्दा कोइरालाले अस्तित्ववादी मान्यताका पक्षहरूलाई प्रस्तुत गर्ने मनसाय राखेर नै त्यस किसिमको घटनाहरूलाई निर्माण गरेका हुन् भन्ने कुरा अस्वीकार गर्न सकिन्न । 

 [email protected] 

लेखक शारदाप्रसाद दाहाल बिचार - बिमर्श नामक पुस्तकको लेखक हुनुहुन्छ ।  

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
शनिबार, साउन ३१, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्