site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रिय समय
Ghorahi CementGhorahi Cement

लक्ष्मी उप्रेती 


समय तिमीलाई सम्बोधन गर्न कुन प्रेमिल विम्ब सुहाउँदो छ, यकिन गर्नै सकिनँ । उज्यालो भनौँ कि अँध्यारो ? हरेक पल तिम्रो लयमा म सुसेली रहेछु । जन्मेदेखि हिजोसम्मको कोलाहलमा कहिले दुखेर दुखाउँदै आयौ, कहिले हाँसेर हसाउँदै आयौ । यसबेला अनायासै दुखाउँदै आयौ । थाहा छैन यो मेरो दर्दमा तिमी दुखेउ कि दुखेनौँ । तर तिमीले मलाई अनौठो दुःखमा पारेर पनि आफ्नो गतिसँगै चलिरहेका छौँ, आफ्नो धर्म नछाडी– निरन्तर, अविश्रान्त !

दिनको कोलाहल निल्छौ र रातको सन्नाटा ओकल्छौ । अनि कालो रात निल्छौ र दिन ब्युँझाउँदै उज्यालोको उत्सव ल्याउँछौ । संसारमा सौन्दर्यको सार्वभौमसत्ता उज्यालोले नै देखाएको छ । म यही उज्यालोमा तिमीलाई हेर्न चाहन्छु । तर तिमी न रोकिन सक्छौ न देखिन सक्छौ । अगाडि बढ्दै जाने बढ्दै जाने पछाडि नफर्कने तिमी सृष्टिको अनौठो सरगम । आफ्नो गतिमा आफैं चल्दै र अरूलाई चलाउने तिम्रो शक्ति अपरम्पार । दूरत्यय । 

Agni Group

प्रिय समय ! तिमीलाई अरूसँग मिसाएर कतिकति सम्बोधन गरिसकें । मैले लेखेका कवितामा कथामा निबन्धमा जहीँत्यहीँ छरपस्ट छौ तिमी । तिमी मेरो जीवनका असीमित आनन्दहरूमा मिसिएर बगिरहन्छौ । यति मात्र कहाँ हो र जीवनको हरेक पलमा तिम्रो सान्निध्यताको रसपान गरिरहेछु । मेरो हृदयमा तरंगित हुने प्रेमिल पथिक दुःखमा तिमीलाई आवेग पोखेकी छु खुसीमा तिमीलाई खुब मनपराएकी छु । तर तिम्रो छुट्टै अस्तित्व किन ख्याल भएन छ मलाई अहिलेसम्म ! जन्मेदेखि नै हरेक आयतनमा नजानिँदो गरी एकाकार भइरहेछौ । तर यो एकाकारको आभास मैले कहिल्यै पाइनँ र एकाकार हुने याचना भने तिमीसँग गरिरहेँ, हरेक पल एउटा अमूर्त प्रेमिल रागको सौन्दर्य पिएर । यसबेला थकथकाउँदै आफैंलाई प्रश्न गर्छु तिम्रो बोध पहिले नै किन भएन छ ! मैले तिमीलाई अन्याय गरेकामा म आफैंप्रति खेद प्रकट गर्दै छु । 

अब यसका हरेक शब्द–शब्दमा तिमीसँग मात्र वार्तालाप गर्नेछु । तिमीलाई उचाइको शिखरमा आरोहण गराउने मेरो अभियान ग्रहण गरिदेऊ ल । जसमा निःतान्त निरपेक्ष भई मात्र तिमीलाई खोज्छु । अब निर्वाध तिमीलाई भेट्न म व्यग्र छु । हृदयरत आभासको झन्कारसँगै अनुभूति भयो प्रिय समय, तिमीलाई म धेरै प्रेम गर्दिरहेछु । तर मैले नै थाह पाउन सकेकै थिइनँ । जब थाह पाए तबदेखि तिमी नै तिमी छौ ममा । तिम्रो आकार, रंग र रूप आफ्नै इच्छाले मनभित्र कोर्दै म सोचिरहेछु र भन्नै नसक्ने गरी भेटिरहेछु तिमीलाई । 

Global Ime bank

कहिलेकाहीँ त लाग्छ तिमी नै संसार हौ । तिमी नै सृष्टिको अविच्छिन्न आयाम हौ । महाभारतमा भगवान् कृष्णले भनेका छन्– म स्वयम् समय हुँ । ब्रह्माण्डको सृष्टिकर्ता नै म हुँ । म यो संसार चलाउने शक्ति हुँ । मभित्र आफ्ना पीडाहरू लुकाऊ, देखाऊ जे मनलाग्छ गर । म सबैको सुख दुःखको औषधि हुँ । हिँडेर जित्न चाहनेका लागि जागरिलो मार्ग, बसेर हार्नेका लागि आलस्य अनि सदाचारी लागि प्रेरणा र दुराचारीका लागि नमीठो झापड हुँ । आदि इत्यादि । 

प्रथमेश जस्ता तिमी न कसैको वशमा हुन्छौ न विज्ञानको वैशाखी टेकेर तिम्रो खोज हुन्छ । तिम्रो चक्रमा सारा सौर्यमण्डल नै बाँधिएको छ भन्ने थाहा नभएको हो र ? ईश्वरकै प्रशान्त मानक हौ कि यन्त्र हौ जो मेरो कल्पनाभन्दा निकै माथि छौ । अविनाशी सागर वर्तमानमा बग्दैबग्दै अनि अनवरत बगिरहने जीवन्तताको सञ्जीवनी । तिमी सर्वोच्च शक्ति र म त्यसको सानो एउटा अंश । तर म जीवनको लय भुलेर परास्त भइरहन्छु बारम्बार । तिमी भने आफ्नो लय कहिले भुल्दैनौ । तिम्रो मापन पहिलो जसरी भएको होस् अहिले तिमी पृथ्वी हौ र तिम्रो मापन पनि पृथ्वीजस्तै गोलाकार घडीको सुईले गर्ने गर्छ– टिक्टिक्..टिक्टिक्... ! 

भविष्यको हरेक सम्भावनाभित्र सापेक्ष गति दिने मधुर धुन । विगतको सम्झनामा नरित्तिने तृष्णा बनेर सुटुक्क आउँछौ र कहिले मलाई आह्लादित त कहिले विक्षिप्त पारेर बगाउँदै–बगाउँदै सागर बनिदिन्छौ । तर प्रिय जुन कुरा मसँग हुन्न नि त्यसैप्रतिको आशक्ति यति बिघ्न किन हो ? न भविष्य देखाउँछौ न विगत फर्काउँछौ तिमीले । वर्तमानको एक पल नै तिम्रो र मेरो साक्षी र मिलनको अकन्टक सत्य । सम्भावनाहरूलाई आफ्नै गतिमा चलाइरहनु तिम्रो विजयी हो र असम्भव गतिमा तिमीले नचाए पनि मान्छे चल्नु मान्छेको नै पराजय हो । रूपबिना, आकारबिना, आयतन र रंगबिनाका तिम्रो ढंग बाफरे बाफ् क्या बात ! र त कहिले बिस्तारै र कहिले बेजोडले भागेर टाढा जान सक्दैन र तिमी जाँदै नजाने अनन्तः काल हौ । रोकिएर नअडिने सुन्दर आयम र हरेक युगमा भरिने कलाको समायोजन । दिनमा घामको उज्यालो चमक छर्दै अनेक रंगमा भरिएर आउँछौ । सुनौलो, सेतो, नीलो, रातो कालो, कैलो, बैजनी, सेतो, पहेंलो बाफ रे बाफ कति रंगमा बग्न जानेको ? फिँजिन सकेको ?

रातमा कहिले कालो रात खनिएर अँध्यारो–अँध्यारो कहिले चन्द्रमा र ताराको सौन्दर्यमा असरल्ल बग्दै–बग्दै कलाको अद्भुत सौन्दर्य आहा ! कलाकारको अनुपम कलाजस्तो आकाशमा टाँगिएर सबैलाई मन्त्रमुग्ध पार्ने तिम्रो सामथ्र्य, कुरा गर्नु नै असम्भव ? हरेकको जीवन कृतिका अधुरा पाठ तिमी । 

तिम्रो आगमनदेखि लयमा निमग्न पोखिइरहेको छु । तिमी आउनु नआउनुको आभास नै नदिई निरन्तर खुसुक्क आउने तिम्रो बहना के भनौं खै ? रहस्यमा राखेर भुतुक्कै पार्छौ ? कहिलेकाहीँ केही कुराले दिक्दार भएर हतासिँदै तिमीलाई कतिपटक छाडेको छु । म हतारिँदा तिमी नहतारिँदाको आभासले मन थुमथुम्याउँदै तिमीलाई पछ्याउने गरेकी छु । अनि जुन क्षण तिमीले मलाइ खुसी नै खुसी दिन्छौ त्यो क्षण न उम्कियोस् भनेर समात्ने प्रयासमा जहिल्यै विफल भएकी छु । आहा ! त्यो पल मलाई उमंग भरेर भाग्छौ । तिमीलाई कैद गर्ने म कल्पना नै गर्दिनँ, तर तिमीले मलाई हरपल बाँधिरहेकै छौ– आफ्नो चैतन्य र विवेकमा !

प्रिय समय ! तिम्रो र मेरो गणितीय हिसाब–किताब नै हुँदैन । तिमी शक्तिको सर्वोच्च शिखर म त एक मनुवा न हुँ । कसरी हुन सक्छ र हाम्रो हिसाब ? तिम्रो हिसाबमै जोड र घटाउको समीकरण गरेर मात्र यहाँसम्म आइपुगेँ सायद । तिमीसँगै बगेर उमेर रित्याउने म र जहिले एउटै चालमा चल्ने तिमीबीचको दूरी नदेखाउनु तिम्रो उदारता होजस्तो लाग्छ मलाई त । न प्रारम्भको कुनै सवाल छ न अन्तको कुनै जवाफ छ कोहीसँग । म हिजो आए तिमी आदिमकालदेखि नै छौ । म आज यो अवस्थामा उमेरको विचरण गर्दै छु तिमी आफ्नो कलेबर नबदलिई चलिरहेछौ । अनि मेरो सत्य भोलि टुङ्गिएर म माटो हुनेछु । तिमी त निरन्तर उमंगको पखेटा फैलाएर उडिरहन्छौ । हिजोको र आजको मेरो संसारमा अनगिन्ती उतारचढावहरू आए अझ भोलि त देखेकै छैन के हुने हो ? जीवन कतिन्जेल रहने हो ? तर तिमी त अविरल यात्रामा न टुंगिन्छौ न त एकछिन रोकिन्छौ । यो नै तिम्रो बिहान उदाउँदाको बैंस र बेलुकी उदासिने रातको सजीवता हो । तिम्रो सजीवतासँगै संसार अपरिमित सौन्दर्यमा बाँडिएको छ । 

ए प्राणावी समय । मेरो अज्ञानताले भरिएको रहस्यमा जटिल रहस्य तिमी । कहिले–कहीँ बैंसालु बादल भएर तिमीसँग बग्दाको क्षण कसरी वर्णन गरौँ ? प्रिय ! तिमी नै भन यो लय यो गति कुनै कला पारखीको सुरम्य कला हो । प्रिय तिमी एकछिन रोकिएर मलाई विचरण गर्न अलिकति नियम बदल्दै बदल्दैनौ, जतिसुकै याचना गरे पनि । प्रकृतिले त बदल्छ कहिलेकाहीँ आफ्नो नियम । यसैले होला निर्दोष र निर्वाध सौन्दर्य भयौ तिमी । थाहा छैन मैले यस्तो बोल्ने दुस्साहस किन गरेँ ? हृदयमा तिमीबारे उब्जिएका तरंगहरू छताछुल्ल भएर बोले कि ! जे होस तिमी सत्यको विजय र असत्यको पराजय मन्त्र र युगाँैयुगका सुन्दर आयम हौ । सृष्टिको अनुपम उदाहरण र जीवनका मृदुल धुन बनी हरेकलाई लालायित बनाउन सक्ने भोलिका सुकिलो सपना हौ तिमी कि निराशाहरू बीचका आशातीत आशीर्वाद आभा भनूँ !

प्रणम्य समय ! तिमी एक अवधारणा हौ कि आयाम । यो सम्पदाको कुनै विरोध हुनै सक्दैन । बनिनु, बिग्रनु, छुट्टिनुमा तिमी लयबद्ध हुँदैनौं । तर तिम्रो आधार अरूले जस्तै मैले पनि सोच्न सक्छु कि तिमी गतिशील होइनौ र परिवर्तन हुँदैनौ । संसार पो गतिशील छ र परिवर्तन भई रहन्छ । प्रिय समय ! तिमी त यी सबै वस्तु पर्गेल्ने परमित माध्यम हौ भन्ने सोचेकी छु । 

ए प्रियोषा ! तिमी के हौ यसै हौ भन्न जटिल मात्र होइन असम्भव नै छ । सोच्छु– जीवन रहिन्जेलको तिमी जीवन हो कि । हिजो रोए हिजोकै पीडाले मर्माहत भएर आज हाँस्छु आजकै खुसीमा रमाएर । जीवन यात्रामा अनेक समस्यासँग लड्दै जीवन खारेर हिम्मतले लक्ष्यमा पु¥याउने तिमी यस, आराम, ज्ञान, विज्ञानभन्दा कति माथि छौ । हरेक वस्तु नष्ट हुन्छन् तर तिमी कहिले नष्ट हुँदैनाँै । तिमी छौ भने संसारमा सारा कुरा हुन्छन् तिमी नहुने हो त संसार नै...! र त उत्तराद्र्धमा पुगेपछि हरेक मान्छे भन्छन्¬– त्यो समय एकपटक फर्किए जतिसुकै मूल्य चुकाउँथेँ । तिमीलाई पनि अरू वस्तुझैँ किनबेच गर्ने सकिने भए त तिम्रो व्यापार कस्तो चल्तीको हुने थियो एकपटक सोच त ! 

समय ! यो चराचर जगतमा तिमी नै सबभन्दा बलवान् छौ भनेर त मैले हरेक कर्ममा कैयौैपटक भनिसकेँ । तिमी प्रेमिल रागमा आउँछौ र विद्यालय बनेर जीवनका पाठ सिकाउन तम्सँदा म सिकिरहन्छु चुपचाप, चुपचाप, तिम्रो लयमा बग्दै, बग्दै । कहिले शान्तसँग प्रेमको उत्सर्ग हुन्छौ कहिले कोलाहल मच्चाउँदै आउछौ र मलाई जलाउँछौ । परिपक्व बनाउने तिम्रो प्रकटीकरणको सिलसिलाले नै त होला ।

तिमीलाई कतिकतिले लेखे भनेर साध्य नै छैन । युगौँदेखि निरन्तर लेखेर पनि नसकिने स्वर्णिम भाव तिमीलाई महान् दार्शनिक अरस्तुले भनेका छन्– समयमा चल्ने गति प्रभाव हुनसक्छ तर गतिले मात्र प्रभाव पार्छ समयले हैन । आइन्स्टाइनले गणितको जटिल अर्थ बुझाए र समय उनले बुझेर पनि बिर्सन्थेँ भनेर विद्वान् लेखक पाल डेबिसले समयलाई आइन्स्टाइनको अधुरो क्रान्ति हो भनेर वर्णन गरेकै छन् । 
प्रियल स्थूल शक्ति ! तिम्रो मूल्यको कुनै गणना हुनै सक्दैन तर तिमीले संसारको प्रारम्भदेखि अनन्त कालसम्म हामीलाई अँध्यारो, उज्यालोको सौन्दर्य बिनामूल्य बिनासर्त खन्याइरहेछौ, आफूलाई लुकाएर । यस्तो कुरा बुझेपछि कहिलेकाहीँ त लाग्छ– तिमीले चाहँदा पनि अरूलाई फर्काउने समय तिमीसँग नै छैन सायद । अपरिमित आनन्दका पारखी समय ! तिमी आफ्नो गतिमा भागिरहेका हुन्छौ । नत्र कसले यसरी हरेकलाई एक क्षण एकैपटक मात्र दिन्छ र अर्को क्षण दिनुअघि नै पहिलो क्षण खोस्छ । त्यसैले तिमी वर्तमान भएर भागेका छौ, भागेका छौ, सबैलाई कुदाएर । हरपल छाड्दै एकसुरले अघि बढिरहन्छौ र त्यो छाडेको पल बिदा दिएर अर्को पल जन्माउन अँगालोमा मलाई अन्तिमपटक बाँध्छौ । जब उषाको किरण छरेर मुस्कुराउँदै आउँछौ तब उज्यालोे आस्थामा बेर्छौं । अनि तिम्रो रागको मीठो स्पर्श गराउँदै मलाई व्याकुल पारेर प्रणाम गर्न हतारो लगाउँछौ । यो उज्यालो र अँध्यारोका खेलमा सधैँ, सधैँ मलाई नै प्रयोग गर्ने तिम्रो चाल हो कि के हो प्रिय आशुतोष ! 

प्रकृतिका अवयवहरूमा सधैँ जीवनलाई दिइरहने बोटविरुवाहरू एउटा बीउबाट उमार्छौ र फूल फुलाउँछौ फल फलाउँछौ अनि फेरि बिउ बनाउँछौ र त्यही बीउको समर्पणमा नयाँ बिरुवा बनाउने ध्याउन्नमा लाग्छौ । तिम्रो चक्रीय महकतामा साराका सारा सिर्जना समाविष्ट छन् र यी कुनैले तिम्रो नियम छाड्दैनन् । तिमीसँग कुनै गुनासो नगरी चल्ने यिनीहरूलाई साक्षी राखेर मैले पनि जीवनमा कति–कति योजना बनाएँ सपना सजाएँ तर तिमीले केही वास्तासमेत नगरी आफ्नो कर्म, धर्म र लय नछाडी चुपचाप हेरिरह्यौ र हेरिरहेछौ । थाहा छैन, यो सिलसिला कहिलेसम्म चल्ने हो ? ओ समय फूल ! अब निरपेक्ष भएर तिम्रो अधिनमा चल्न सक्ने तिमीबाट प्राप्त अपरिमित मेरो शक्ति–सामथ्र्यलाई कसैले हल्लाउन सक्दैन । यो नै मेरो प्राप्ति र तिमीसँगको अनुराग हो सायद ! 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ३१, २०७७  ११:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC