site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
आधा
Sarbottam CementSarbottam Cement

मोहन सङ्ग्राम


मान्छेहरू अरूसँग सम्बन्ध बिग्रिएको कुरा गर्छन्, मेरो त शरीर र मनबीच पनि मिलेको सम्बन्ध छैन । शरीरले एक थोक माग्छ, मनले अर्कै थोक ताक्छ ।

आज आफ्नै कथा लेख्छु । कथा पूरा त नहोला । तर आधा हुनुको सौन्दर्य पनि त कम हुँदैन । म जन्मिएँ, सुदूरपश्चिमको बझाङमा । जन्मिँदा बाले अँध्यारो मुख लगाए रे, छोरी जन्मिई भनेर । पछिसम्म पनि आमा भन्थिन्, “बरू मैले बाख्राको पाठो जन्माएको भए तेरा बा खुसी हुन्थे होला, महिना दिनसम्म तेरो अनुहारतिर फर्केर हेरेनन् ।” मलाई पनि हो जस्तो लाग्थ्यो । बा त्यो बेला खसी व्यापार गर्थे । सात गाउँ डुलेर खसी पार्ने बेला भएका बोका भेला पार्थे, खसी पारेर अलि समय पाल्थे र अलिकति दाम फाइदा हुने गरी बेच्थे । घर यसरी नै चलेको थियो । पहिलो सन्तान छोरो होस् भन्ने आमाको पनि इच्छा थियो, घरपरिवारको पनि । तर म छोरी भएर जन्मिएँ त्योमाथि पहिलो र अन्तिम सन्तान पनि बनें । 

Prabhu Bank
Agni Group
NIC Asia

“छोरी भए पनि मेरी छोरी अरू जस्तो हुन्न, छोरो जस्तै तगडा हुन्छे,” एक महिनापछि बाले यस्तो भनेर मलाई बोकेका थिए रे । हुन पनि बाले छोरीको जस्तो व्यवहार नै गरेनन् मलाई । बोलाउँदा पनि छोरो भनेर बोलाउँथे, छोरी जस्तो नदेखियोस् भनेर मेरो पूरै शरीर नाङ्गो हुँदा पनि कम्मरको भाग जहिल्यै छोपिएको हुन्थ्यो । मलाई थाहा थिएन के गर्यो भने छोरा हुन्छ, के ग¥यो भने छोरी । बस्, मलाई जे गर्न मन लाग्यो, त्यही गर्थें । 
पाँच वर्षको हुँदा मलाई बाले नै स्कुल भर्ना गरिदिए । बा आफू चाहिँ धेरै पढेनन्, छ कक्षा पढेर भागेर इन्डिया गएका रे गाउँका तन्नेरीहरूसँग । १५ वर्षमा एक पटक पनि घर आएनन्, जहिले आए, त्यसपछि फर्किएर गएनन् । “म छोरोलाई चाहिँ धेरै पढाउँछु, डाक्टर हुने गरी,” मलाई काँधमा बोकेर बाले धेरै पटक यस्तो भनेका थिए ।

गाउँ र स्कुलमा मेरै उमेरका साथी थिए । साथीहरूसँग खेल्दा म बेहुला बन्थें, बाबु बन्थें । बाबु बनेर इन्डिया जान्थें । कोसेली भनेर चकलेटको खोल लिएर आउथें । बा मक्ख पर्थे म केटा बनेर खेलेको देख्दा । स्कुलमा केटा र केटी छुट्टाछुट्टै बस्नुपथ्र्यो । म हतारहतार केटाको बेन्चमा गएर बस्थें, केटीहरूले केटासँग बसी भनेर जिस्काउँथे, सरमिसले उठाएर केटीतिर लगेर बसाइदिन्थे । कसैले गाली गर्थे, “कस्तो छक्का जस्तो ?” मलाई रिस उठ्थ्यो, थुप्रै पटक झगडा गरेको छु मैले यस्तै कुरामा ।

Global Ime bank

छ कक्षामा हुँदा जाडो बिदामा मेरो पेट छुट्टै तरिकाले सहनै नसक्ने गरी दुख्यो, बाले जुन ठाउँ जहिल्यै छोपिदिन्थे, त्यहाँबाट घरीघरी रगत बग्न थाल्यो, मलाई डर लाग्न थाल्यो । सक्नेसम्म सहें, सक्दिनँ भन्ने लागेपछि आमाले पो केही गर्न सक्छिन् कि जस्तो लाग्यो र सुनाएँ । म नछुने भएछु, मलाई आमा नछुने भएको थाहा थियो, बा नछुने भएको थाहा थिएन । बाले कसैलाई भन्दैनथे जस्तो लाग्यो । आमाले भनेअनुसार मैले छाउपडीमा बस्नुपर्ने भयो । के भएर मलाई यस्तो भएको हो भनेर बालाई सोधें, उनले भलिबल खेलेकाले हो भनिदिए । मैले काम छाडेर भलिबल खेलेको बालाई मन पर्दैनथ्यो । आमा कहिलेकाहीँ जाने गरेको सानो गोठ थियो, घरनजिकै । म त्यहीँ बस्नुपर्ने भयो । अरू बेला भए मलाई केही लाग्दैनथ्यो यस्तोमा बस्न, एक पटक बाले गाली गर्दा मैले बारीमा रात कटाएको छु । तर अहिले त म बिरामी थिएँ नि । धेरै चित्त दुख्यो बाआमासँग, रिस पनि उठ्यो । सक्ने भए म जिन्दगीभर यो घरमा फर्केर आउने थिइनँ । छाउपडीमा बस्दाका ती हप्ता दिन सम्झिन पनि मन लाग्दैन । मुटु काँप्ने जाडो, पेट दुख्ने बिमार । मैले खाना खानै मानिनँ । रोएरै सात दिन बिताएँ, रगतभन्दा धेरै आँसु बग्यो, त्यो बेला । कहिलेकाहीँ आमा पनि मसँग आएर रून्थिन्, मैले खाना नखाएकोे चिन्ता थियो उनलाई । बाले मलाई मन पर्ने मिठाई ल्याएर दिएका थिए, बेलाबेला । त्यो खान्थें तर खाना खाँदैनथें । छाउपडीबाट निस्किएपछि मैले प्रण गरें, अब नछुने भएँ भने कसैलाई भन्दिनँ । बाले जस्तै लुकाउँछु । त्यसपछि म कहिल्यै छाउपडी बसिनँ, नभनेरै जितें ।

म स्कुलमा केटाहरू बस्ने लाइनको अन्तिम बेन्चमा एक्लै बस्न थालें । टिफिनमा केटाहरूसँग पनि केटीहरूसँग पनि भलिबल खेल्थेंं । केटाहरूले पनि सक्दैनथे मलाई भलिबलमा । थुप्रै पटक केटीको पक्षबाट खेलेर केटाहरूलाई हराएको छु मैले । खेलाडी बन्छु पछि भन्ने लाग्थ्यो, नछुने भए पनि सहन्छु । तर भलिबल खेल्न छाड्दिनँ भन्ने सोचिरहें । कक्षामा म बस्ने ठाउँभन्दा पल्लोपट्टि बस्ने केटी थिई– पवित्रा । मलाई पवित्रासँग बोल्न खुब लाज लाग्थ्यो, अरू केटीहरूसँग त म बोल्थें, पवित्रा भनेपछि रातो भइहाल्थें । पवित्रा घरीघरी मतिर हेरेर मुस्कुराउँथी, घरीघरी हाम्रो आँखा जुध्थ्यो । म भुतुक्कै हुन्थें, उसलाई खै कस्तो लाग्थ्यो । मलाई धेरै मन पर्न थालेको थियो पवित्रा । एक दिन आँट गरेर मैले चिठी लेखें । सकेसम्म राम्रा शब्द छानेर । भोलिपल्ट स्कुलमा मौका पारेर चिठी दिएँ ।

अर्को दिन, पवित्राको जवाफ चिठीमै आयो, मैले संसार पाएँ जस्तो लाग्यो । पवित्रालाई पनि म राम्रो लाग्दो रहेछु । यति भए के चाहियो र ? उनको र मेरो घर त्यस्तै १५ मिनेटको दूरीमा होला, त्यो बेला फोन थिएन । म हरेक दिन चिठी लेख्न थालें । हामी जति बेला पनि भेट्न थाल्यौं, पवित्रा घाँस काट्न जान्छे भन्ने थाहा पाएपछि म पनि हिँडिहाल्थें, कहिले पँधेरामा, कहिले स्कुल नजिक चौतारीमा, कहिले अर्को कुनै ठाउँमा भेट्न थाल्यौं । बिस्तारै म उनको घर पनि जान थालें, उनका बाआमाले मलाई छोरीकी साथी भनेर राम्रै व्यवहार गर्थे । तर हरेक दिन भेट्न जाने, त्यो पनि पवित्रासँग मात्र भेट्ने गरेको उनीहरूलाई त्यति मन पर्दैनथ्यो । मलाई पनि अप्ठ्यारो लाग्थ्यो । 

पछि म घरका सबै सुतिसकेपछि सुटुक्क पवित्राकोमा आउन थालें, हामी पवित्राको कोठाभित्र घण्टौंसम्म गफ गरेर बिताउन थाल्यौं, पवित्राको स्पर्शले नै मलाई काउकुती लाग्थ्यो, झन् अँगालोमा घण्टौंसम्म बस्न पाउँदा, गोडा बोकाएर सुत्न पाउँदाको आनन्दको त के कुरा गर्नु । बिहान उज्यालो नहुँदै म घर आइपुग्थें । हामीले कोठाभित्र केके गर्छौं भन्ने पवित्राका बाआमालाई थाहा हुँदैनथ्यो, त्यही भएर म पवित्राकोमा आउँदा त्यति धेरै नराम्रो चाहिँ मान्दैनथे । त्यही पनि छोरीले यसरी धेरै साथीसँग सङ्गत नगरे हुने भन्ने उनीहरू सोच्थे । कहिलेकाहीँ म अलि ढिलो घर आइपुग्दा बाआमाले थाहा पाइहाल्थे । उनीहरू भन्थे, “केटीसँग यति धेरै सङ्गत नगर्, तरूनी भएपछि छोडेर गइहाल्छन् ।” मलाई नराम्रो लाग्थ्यो यस्तो सुन्दा ।

मेरा सबै क्रियाकलाप केटाका जस्ता थिए । केटाहरूसँग झगडा गर्थें, झट्ट रिसाउँथें र बाहुला सुर्किन थालिहाल्थें । केटाहरूका अगाडि अपशब्द बोल्थें, केटीहरूसँग चाहिँ यस्तो बोल्न सक्दिनथें । स्कुल पढ्दा कुनै दिन मैले स्कर्ट लगाइनँ । बाले मेरो कपाल पनि काटिदिन्थे । झट्ट देख्ने मान्छेहरूले मलाई केटा भन्थे, गाउँमा र स्कुलमा केटी अनि घरमा चाहिँ छोरा ।

त्यो बेला सदरमुकाममा हरेक वर्ष वीरेन्द्र कप हुन्थ्यो । त्यसमा सहभागी भएर म जिल्लास्तरको हुँदै म सुदूरपश्चिमस्तरको भलिबल खेलाडी भइसकेको थिएँ । हामीले एसएलसी दिने साल म एउटा गेममा सहभागी हुन भनेर दिपायल गएको थिएँ, यता पवित्राको बिहेको कुरा चलेछ । उनका बाआमाले कुरा फिक्स गरिदिएछन् । म घर नआइपुग्दै बाटोमै पवित्रा दौडेर आई र मलाई अँगालो हालेर धेरै बेर रोइरही । अन्तिममा भनी, “तिमी माओवादीमा जाऊ ।” त्यो बेला पश्चिमतिर माओवादीले चलाएको सशस्त्र सङ्घर्षको प्रभाव चरम रुपमा पर्न थालेको थियो । माओवादीसँग जो पनि डराउँथे, म माओवादीमा लागें भने मैले थर्काएर बिहे पनि रोकिदिन सक्थें । या हुन लागेको दुलाहालाई क्षति पु¥याउन सक्थें भन्ने उनको बुझाइ थियो । तर म माओवादीमा गइनँ, खै केले दिएन मलाई माओवादीमा लाग्न त्यो बेला । 

“बरू म तँलाई भगाएर काठमाडौं लैजान्छु । तर माओवादीमा लाग्दिनँ,” मैले खै के सोचेर यस्तो भनें, पवित्रा त्योभन्दा केही बोलिन । आँसु पुछ्दै फर्किई । म त्यो दिन कति बेचैन भएँ भन्ने भनिसाध्य छैन । भोलिपल्ट पवित्रा फेरि मलाई भेट्न आई । भनी “ल मलाई काठमाडौं लैजाऊ, म जान्छु तिमीसँग ।” 

त्यो दिन फेरि मलाई काठमाडौं लैजान्छु भन्ने आँट पनि आएन । 

“केही गर्न सक्दैनौ, छक्का हौ, तिमी,” पवित्राले रूँदै यस्तो भनी र गई । पवित्राको बिहे हुँदै थियो । म वरबाटै रूँदै मण्डप हेरिरहेको थिएँ, आवाज निस्केको थिएन, आँसु घरीघरी आउँथ्यो । तर मन अहिलेसम्म त्यति रोएको छैन होला । एक पटक पवित्रालाई भेट्न मन लाग्यो, पवित्राको घरमा गएँ । तर कसैलाई केही भनिनँ । उनको शृङ्गारको काम हुँदै थियो । खै कसले हो म आएको खबर पु¥याइदिएछ । ऊ दौडेर म भए ठाउँमा आई र मलाई अँगालो हाली । देख्नेहरूले यसलाई दुइटा केटी साथी छुट्टिन लागेकाले दुःखी भएको देखे । त्योभन्दा धेरै पवित्रा र मलाई मात्र थाहा थियो । 

“अझै पनि समय छ,” पवित्राले यत्ति मात्र भनी । म केही बोल्नै सकिनँ, फेरि छाडेर हिँडी उसले मलाई । यो पटक छक्का भनिन ।

म किशोरावस्थाको उत्कर्षतिर थिएँ । मेरो उमेरका केटी धेरैको बिहे भइसकेको थियो, म भने केटीप्रति नै आकर्षित हुन्थें । म केटी हुँ भन्ने भाव ममा कहिल्यै आएन । म केही फरक त हुँ भन्ने मलाई लाग्न थालेको थियो । म छोरा जस्तो बन्दा खुसी हुने बालाई पनि म अलि अस्वाभाविक लाग्न थालिसकेको थियो । मेरा छातीका दुई भाग दिनदिनै अग्लो हुँदै गइरहेका थिए । कपाल नकाटेको भए म अरू केटीहरूभन्दा राम्री देखिन्थें होला, तर मलाई राम्री देखिनु नै छैन, बरू डरलाग्दो देखिन पाए हुने । एसएलसी राम्रै भयो । भलिबलमा पनि म राम्रो हुँदै गएँ । एसएलसी दिएको अलि समयपछि मेरो पनि घरमा बिहेको कुरा आएछ, सुर्खेतको केटा भनेर आमाले सुनाउँदा म झस्किएँ । 

“अनि छोराको बिहे केटासँग गरिदिनुहुन्छ ?” मैले झस्किएरै प्रश्न गरें । 

“यत्रो पढेर पनि तँ ठूली भइनस् है, छोरी ?” आमाले पहिलो पटक छोरी भन्नुभयो । 

बिहे टुङ्गो नै लागिसकेको भनेपछि मसँग दुई ओटा मात्र विकल्प रहे, कि भाग्ने कि मर्ने । त्यही केटासँग बिहे गर्ने भन्ने सोच्न पनि नसक्ने विकल्प थियो । मैले कोही केटासँग बिहे गरें भने ममाथि बलात्कारभन्दा पनि भयानक केही हुने थियो हरेक दिन । बलात्कार बरू दुई फरक लिङ्गीबीच हुने दुर्घटना थियो । तर केटाले केटाबाट बलात्कृत हुनु... यो त सोच्नै नसक्ने कुरा थियो, मेरा लागि । मलाई फेरि एक पटक पवित्राले भनेको नमानेकोमा पछुतो लाग्यो । अन्ततः मैले दोस्रो विकल्प रोजें । भलिबल खेलेर केही पैसा जम्मा गरेकी थिएँ, बाले पैसा राख्ने गरेका ठाउँ पनि थाहा थियो । सक्नेसम्म भेला पार्दा छ हजारभन्दा बढी भयो । यो पर्याप्त थियो, मेरा लागि । यो सकिएपछि के गर्ने भन्ने पनि सोचिनँ । किनकि योभन्दा पछिल्लो विकल्प मर्नु मात्र थियो । अब अनिकालसँग डर लागेन । भएका अलिकति कपडा पोको पारें, सर्टिफिकेटको पनि माया लाग्यो । महिला लेखेको नागरिकता थियो, त्यो पनि छाडिनँ । कसैलाई थाहा नदिई गाडी चढेर काठमाडौं हान्निएँ । काठमाडौंमा कसकोमा बस्ने भन्ने थिएन, अहिले जस्तो भए फोन गर्थें होला कसैलाई । चिनेको मान्छे कहीँ भेटिएनन् । काठमाडौं जानासाथ थुप्रै अप्ठ्यारा खेप्नुपर्यो । सार्वजनिक शौचालयको अप्ठ्यारो कहिल्यै भुल्दिनँ होला । महिला र पुरूषका लागि शौचालय थियो, महिलाकोमा जान मनले दिएन, पुरूषकोमा जान तनले ? म के हुँ भन्ने प्रश्न हजार पटक आफूलाई सोधें, घरी शरीरले जवाफ दियो, घरी आत्माले । अन्तिममा महिला शौचालय नै जाने निर्णयमा पुगें । 

शौचालय भित्र पुग्नासाथ पिसाब फेर्दै गरेकी महिलातिर आँखा पुगिहाल्यो, एकै पटकमा रातोपीरो भएँ । शौच त कहाँ पुग्यो कहाँ, त्यहाँ बस्नै सकिनँ । निस्किएँ । पैसा उठाउन बसेको मान्छे म यति छिटो निस्किएको देखेर छक्क पर्यो, दुई रूपैयाँ दिएर म त्यहाँबाट निस्किएँ । पुरूष शौचालय जाने पनि आँट आएन । अर्को ठाउँको शौचालय गएँ, पुरूष शौचालयमा पसें । केटाहरू उठेर पिसाब गर्दै थिए, मैले आफ्नो गुप्ताङ्ग यसरी देखाउन सक्ने अवस्था रहेन, ढोका थुनेर दिसा गर्ने ठाउँमा पसें र पिसाब फेरें । दिसा गर्ने ठाउँमा पसेर फेरेको पिसाब महँगो पर्यो, पाँच रूपैयाँ ।

पैसा सकिँदै गएपछि काठमाडौंको बसाइ झनै सकसपूर्ण बन्दै गयो । संयोगवश, त्यो बेला शाही सेनाका लागि आवेदन खुलेको रहेछ, मैले पनि फारम भरें, महिला भनेर भए पनि । नाम निस्कियो, एउटा सानो भए पनि खुसी मिल्यो, उत्रै आशा पनि । तालिम सुरू भयो, बीचबीचमा अलिअलि अप्ठ्यारा आइपरे पनि बस्न र खानको समस्या नहुने भयो, बाँच्न पनि । तालिम सकियो, अरू केटीहरूभन्दा मलाई सजिलो भयो ।

गणभित्रै बस्दा फेरि कोही मन पर्न थाल्यो । दोस्रो पटक । शर्मिला थियो, केटीको नाम । दुवै जना सँगै गेम खेल्थ्यौं । शाही सेनाबाट हामीले थुप्रै पटक सँगै गेम खेल्यौं र अधिकांश जित्यौं । हामी दुवैले एकअर्कालाई मन पराउन थाल्यौं । हामी आँखा छल्न सक्नेसम्म छलेर सँगै बस्न थाल्यौं । मैले कहिल्यै पनि प्रेमलाई सीमाभित्र गर्न जानिनँ । यसको संसार त ठूलो हुन्छ, ब्रह्माण्डभन्दा पनि, आकाशभन्दा पनि । सबै कुरा राम्रो चल्न लागेको थियो । तर त्यस्तो हुन पाएन । हामीसँगै काम गर्ने एक जना बहिनीले मेराविरूद्ध उजुरी गरिछन्, आर्मी क्याम्पभित्रका महिलासँग अनैतिक सम्बन्ध राखेको भनेर । मेरो जागिर टिकेन । शर्मिलासँगको प्रेम यत्तिमै सकियो, फेरि भेट भएन । न त पवित्रासँग भेट भयो ।

जागिरबाट निकालिएपछि म ठूलै मानसिक तनावमा परें । जागिर फिर्ता गर्न सक्ने केही पनि ठाउँ बाँकी रहेन, त्यसो त मेरा लागि बोलिदिने नै को थियो र ।

एक दिन नयाँ बसपार्कछेउ यसै बसिराखेको थिएँ, एक जना दिदी आएर बालाजु कता हो भनेर सोध्नुभयो । मैले देखाइदिएँ । पानी खाने भनेर सोध्नुभयो, मैले खाइनँ । एकैछिनमा घर सोध्नुभयो, अरूअरू धेरै प्रश्न सोध्नुभयो । बीचबीचमा दिदीले भाइ भनेर सम्बोधन गर्दै हुनुहुन्थ्यो, मैले त्यसमा त्यति ध्यान दिएनछु । मेरोबारे धेरै कुरा सोधेको मलाई त्यति राम्रो लागेको थिएन । यसै पनि मान्छेहरूसँग धेरै नजिक हुन मलाई पुगिसकेको विषय थियो । नाम सोध्नुभयो । 

“लक्ष्मी,” मैले भनिदिएँ । 

“केटा भएर पनि किन केटीको जस्तो नाम राखेको ?” भर्खर भेट भएकी दिदीको प्रश्नले मलाई झस्कायो । मैले जवाफ नै दिन सकिनँ । दिदी तेस्रोलिङ्गीसम्बन्धी काम गर्ने एउटा संस्थामा आबद्ध हुनुहुँदो रहेछ । 

“म पनि तिमी जस्तै हो, बायोलोजिकल्ली केटा तर अरू सबै कुराले केटी,” दिदीको कुरा चाखलाग्दो बन्दै गयो । अन्य (तेस्रो) लिङ्गभित्र समलिङ्गी, पारलिङ्गी, अन्तरलिङ्गी जस्ता फरकफरक समुदाय हुने रहेछन्, म तीमध्ये ‘ट्रान्सजेन्डर मेल’ अर्थात् पारलिङ्गी पुरूषमा पर्ने रहेछु । पहिलो पटक आफूलाई चिन्दाको खुसी बेग्लै हुने रहेछ । त्योमाथि जन्माउनेहरूले पनि नचिनेको सङ्गत गर्नेहरूले पनि नचिनेको मलाई आफैंले यसरी चिन्न पाउँदा पहिलो पटक मेरो पनि पैताला जमिनमा छ जस्तो लाग्यो । म जस्ता थुप्रै मान्छे संसारमा छन् भन्ने थाहा पाउँदा मेरो पनि आवाज संसारमा छ जस्तो लाग्यो । 

दिदी आफैंले लक्ष्मीबाट मेरो नाम लक्ष्मण राखिदिनुभयो । दिदीकै संस्थामा आफ्ना समुदायकै पक्षमा गर्ने काम पाएँ । कामकै सिलसिलामा एक जनामा तेस्रो पटक मन अडियो, बिहे गर्यौंं । परिवारको समझदारीमा होइन, कसैलाई थाहै नदिई । 

कसैले आफूलाई अर्कै बनाउन खोजे भने पनि खुसी हुन नसकिने रहेछ । आफूले आफैंलाई अर्कै सोचियो भने पनि खुसी नमिल्ने रहेछ । खुसी हुन त आफूभित्रको आफूलाई भेट्नुपर्ने रहेछ । मैले भेटें, आफूभित्रको आफूलाई । अब म पूर्ण रुपले आफू बन्छु र कथा पूरा गर्छु । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ३१, २०७७  ०८:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC