गजल– १
कहिल्यै हाँसेको थिएन मूर्ति न कहिल्यै रोएको थियो
सायद पहिलोपल्ट उसलाई कसैले यसरी छोएको थियो ।
कसको शिरमा सजिनुपर्छ कहाँ गएर ओइलिनुपर्छ
टिपिएको फूलले डालीलाई सानो स्वरमा सोधेको थियो ।
भुरुर्र उडेर के गएको थियो कसैलाई थाहा थिएन
खोल्नेले सदियाँैदेखि नखोलिएको सन्दुक खोलेको थियो ।
ए किनाराहरू हो, कागजको डँुगालाई नबताइदिनू
कसले उसलाई बनाएको थियो कसले पानीमा छोडेको थियो ।
तालीकै लोभमा सधैँसधैँ चुट्किला सुनाउँछ गजलकार
उसलाई के थाहा, मेहफिलले कस्तो गजल खोजेको थियो ।
० ० ०
गजल– २
सबथोक पाएर पनि केही नपाए जस्तो गर्छ
जिन्दगीले घरी–घरी चित्त दुखाए जस्तो गर्छ ।
हावाका हातहरू हरियो कपाल सुम्सुम्याइ दिन्छन्
मोडमा टक्क उभिएर पिपल निदाए जस्तो गर्छ ।
चाहेको भए सिङ्गै नदी पिउन सक्थ्यो बगरले
अरूको तिर्खा सम्झेर ओंठ भिजाए जस्तो गर्छ ।
एकपल्ट आफ्नो मनलाई अक्षरमा उतारी हेर त
आँखा खोले जस्तो गर्छ औंला चलाए जस्तो गर्छ ।
गजÞलको गला त उहिल्यैदेखि थिचिएको छ यहाँ
गजÞलकार भने ठूलो स्वरले चिच्याए जस्तो गर्छ ।
–तनहुँ