काठमाडौं । नेपाल तरुण दलले सिन्धुपाल्चोक मातहतका कार्यसमितिहरुलाई जुगल गाउँपालिकामा पर्ने लिदीमा गएको पहिरो प्रभावितको राहत तथा उद्धारमा खटिन निर्देशन दिएका छन् ।
अध्यक्ष जीतजंग बस्नेतले शुक्रबार दिउँसो विज्ञप्तिमार्फत् सिन्धुपाल्चोकमा रहेका तरुणका जिल्ला, क्षेत्र, पालिका र वडा समितिलाई लिदी पहिरो प्रभावितहरुको उद्धार, राहात र स्थानान्तरण कार्यमा जुट्न निर्देशन दिएका हुन् ।
लिदीका जनताले पटकपटक बस्ती जोखिममा रहेको र बस्ती संरक्षणका लागि पहल गरिदिन आग्रह गर्दा पनि स्थानीय सरकारी निकाय जिम्मेवार नबन्दा भगावह अवस्था आएको तरुण दलले दाबी गरेको छ ।
“आम जनताको माग प्रति गैरजिम्मेवार हुनेलाई हदैसम्मको कारबाही गर्नु हुन साथै बेपत्ताहरुको यथाशीघ्र खोजी, घाइतेहरुको उपचार र जोखिममा रहेका परिवारको सुरक्षित स्थानान्तरण गर्नका लागि सम्बन्धित निकायलाई आग्रह गर्दछौं,” विज्ञप्तिमा भनिएको छ ।