site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
युवाको मौसमी खोजी 

युवा गतिशील सक्रिय जीवन हो । समाजमा युवाप्रतिको भरोसा उसले परिणामदायी काम गर्नसक्ने विश्वासले जगाएको हो । परिवारका पाका सदस्यले घरका युवालाई ‘अब तिमीहरुकै पालो हो’ भन्ने कारण यही विश्वास हो र पुस्तान्तरणको अनिवार्य सर्त पनि यही हो । समाजले युवाको सिर्जनशील वयप्रति भरोसा राख्छ । रचनात्मक बन्न पनि सक्ने र ध्वंशको वाहक पनि हुने तन्देरी उमेरलाई परिस्थितिले समेत प्रभावित गर्छ र डोर्याउँछ । 

विश्वभर युवा शक्तिको खोजी वा परिचालनको उद्देश्य देशलाई समुन्नत बनाउने अपेक्षाले प्रेरित छ तर अधिकांश देशको राजनीतिमा भने ज्येष्ठ सदस्यले नै नेतृत्व लिएका छन् । अपवादबाहेक राजनीतिमा युवक, युवतीको नेतृत्व पनि पाकाहरुकै लयमा हिँडिरहेको देखिन्छ । नेपालको राजनीतिक सन्दर्भमा भएकाले अन्य व्यवसाय(पेसा)मा युवाको स्थान र भूमिकाको यहाँ चर्चा गरिएको छैन । 

स्वाभाविक हो, राजनीतिमा एकैचोटि शीर्ष तहमा पुग्न सम्भव हुँदैन । निरन्तर लगावको क्रमिक प्राप्ति हो राजनीतिक नेतृत्व पनि । निरन्तर समर्पणले उपल्लो नेतृत्वमा पुग्दा अहिलेका युवा प्रायः प्रौढ अवस्थामै पुग्ने हुन् । आशक्तिको रोग चाहिँ ज्यादै जेठो भइसक्दा पनि पदीय आकर्षणमा लालायित रहनु हो । जेठो पनि अन्यथा मानिदैन उसमा सिर्जना, गतिशीलता र वर्तमानलाई सम्बोधन गर्नसक्ने क्षमता छ भने । विश्वमा यस्ता उदाहरण बग्रेल्ती छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

नेपाली राजनीतिमा जेठो र आफ्नो सान्दर्भिकता अब सिद्ध गर्न नसकेकाहरुको हालीमुहाली छ । नेतृत्वमा युवाको उदियमान हिस्सा पनि प्रशस्त छ । यहाँका ठूला र साना राजनीतिक दलमा युवाको सहभागिता धेरथोर छ नै । नेपाली कांग्रेसमा युवा जमात ठूलो छ । केन्दी्रय समितिमा आधाको हाराहारीजस्तै युवा छन् । नेपाल कम्युनिस्ट पार्टीको पनि दृश्य यही हो । उपल्लो नेतृत्वमा पुग्ने बाटो त यही हो तर प्रश्न हालीमुहालीमाथि तिनको न्यायिक र निर्णायक उपस्थितिको मात्रै हो । 

यतिबेला पुनः युवा नेतृत्वको चर्चा निकै छ । जब दलभित्र संकट र विवाद चुलिन्छ वा यिनको महाधिवेशन तथा नेतृत्व चयन नजिक हुन्छ तब युवा नेताको याद  निकै गरिन्छ । भनिन्छ, युवा सक्रियताको प्रतीक, विवेक विचारको वाहक र नैतिक चरित्रको हुन्छ, हुनुपर्छ । ऊ वाद, विवाद र संवादमा उत्रिन सक्छ । यो कसीमा नेपालका युवालाई घोट्नेहरुले सधैं उनीहरुप्रति अपेक्षाकै आग्रह गरिरहनु परेको छ । 

Global Ime bank

तन्देरी उमेर युवाको लागि स्वर्णीम अवसर हो । तर, यतिमात्रै पर्याप्त हुन्छ त युवाको प्रभाव बुझ्न ? राजनीति स्वयंमा पारदर्शी परिणाममा देखिन्छ । राजनीतिमा सम्बद्ध युवक, युवतीको निरन्तर गतिशीलता र राम्रो गर्ने मनसुबा छ भने त्यो बाहिर आइरहन्छ, देखिन्छ । केहीले त्यस्तो उदाहरण बन्ने कोसिस पनि गरेका छन् । तर, राजनीति नामको खुट्टा तान्ने प्रवृत्तिले तिनलाई प्रभावहीन देखाउने दुष्टता प्रशस्त गरेको छ । 

युवाको एकीकृत चिन्तनधार बन्न दिइँदैन, बन्न कोसिस गरे छिन्नभिन्न पारिन्छ । पद र अवसरको बल्छीले तानिन्छ । युवा पनि मानिस हो र मानिसमा आत्मकेन्द्रित हुने प्रवृत्ति ज्यादै हुन्छ । पिछडिएको नेपाली समाजमा यो प्रवृत्ति अरु बढी हुनेरहेछ ।  यही आत्मकेन्द्रित अभिव्यक्तिलाई उदात्तभावको लगाम कस्न नसक्दा भरोसा गरिने युवा जमात बरालिन्छ । टुट्फुट हुन्छ । नेपालमा अधिक यही देखिएको छ । 

यतिबेला राजनीतिमा लागेका र नेतृत्वमा पुग्ने प्रबल सम्भावना भएका युवाको बहुसंख्यक हिस्सालाई अविवेकको बन्दी बनाइएको छ । एकाधलाई छोडेर उनीहरुलाई खाऊ, कमाऊ सिकाइएको छ । पैसा, पद र स्रोत, सुविधाको लोभमा वशीभूत बनाइएको छ । सरकारी नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को सत्ता त भ्रष्ट अखाडा भएको टिप्पणीमाथि थप टिप्पणी गर्नुपर्ने बाँकी रहेन । भ्रष्टताको कमाइ युवा विवेको खरिदमा पनि लगानी गरिएको छ । प्रतिपक्षी सत्ताको आन्तरिक व्यवहार पनि यस्तै चरित्रको छ । सरकारी सत्ताले राज्यस्रोतमाथि लुटपाट गरेको छ, फरक यत्तिमात्रै हो, चरित्र समान उही ।

विचार र विवेकको राजनीति छैन । नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालापछिको राजनीतिमा इमान र सादगीको सेवाभाव स्खलित छ । तेरोमेरो, असहिष्णु पक्षपातले राजनीतिलाई पक्षाघात गरेको छ । नेतृत्व तह देशका हरेक विषयमा असंवेदनशील छ । ओठे भनाइ र व्यवहारमा तादात्म्य छैन । विपरीत तर सही विवेक बोल्ने र तर्क दिनेलाई सिद्ध्याउने उपक्रम चलेको छ । समाज राजनीतिक प्रभावबाट मुक्त हुनसक्दैन तर ऊ चाहन्छ राजनीति प्रजातान्त्रिक होस् – विवेकी र सामाजिक बनोस् । 

समाज यही छट्पटाइले नेपालको राजनीतिमा सुध्रिएको युवा नेता आओस् भन्ने चाहन्छ तर तिनको चाहनाले नेताको दिमाग उघार्दैन र परिणामको हैसियत कमै राख्छ । यस्तो अँध्यारोमा दिमाग उघार्ने र उज्यालो भरोसा दिने सम्बद्ध युवा जमातले नै हो । अहिले के छ र कस्तो हुनुपर्छ ? त्यो युवाले बुझेका पनि छन् तर धेरै अन्त कतै लठ्ठिएका छन् । ‘अनहोनी’लाई ‘होनी’को थपडी दिइरहेका छन् ।     

नेपाली कांग्रेस ‘अनिश्चित’ महाधिवेशनको संघारमा छ । तोकिएको मितिमा हुने भरोसा भत्काइँदै छ । तै पनि कुनै मितिमा होला भन्ने आशमा नेतृत्व लिनसक्ने छवि देखाएको युवातिर समाजले हेरेको छ । राजनीतिक उद्यमको उत्पादन भोग्न समाज अभिशप्त छ । त्यसैले राजनीति राम्रो होस् भन्ने समाजको अनुरोध स्वाभाविक हो । नेपाली कांग्रेसका युवा ‘नेता’सँग अवसर छ, चुनौती छन् र विकल्पहरु पनि छन् । त्यही पोखरीका यिनीहरुले त्यो बुझेकै कुरा हो । मात्र पोखरीलाई निरन्तरको वहाब र स्वच्छता दिने सवाल हो । 

कांग्रेसका बाह्रजना युवाले सभापति शेरबहादुर देउवाले  गर्दै रहेका विभागहरुको गठनलाई असामयिक, अवैध र पद केन्द्रित कार्यको अर्थ आउने गरी संयुक्त वक्तव्य मार्फत चुनौती दिएका छन् । घोषित महाधिवेशनको तयारीका बेला सभापतिलाई विधानको रक्षक, पालक हुन र प्रजातान्त्रिक मर्मको अनुकूल हिँड्न सुझाएका छन् । यो सानो र उपेक्षा लायक चुनौती वा सुझाव होइन र बाह्रजना मात्रैको भनाइ पनि होइन । यसमा ठूलो समूहको भाव र आग्रह निहित छ । यो आवाज सभापतिको निर्णय प्रक्रियाको मूल्यांकन पनि हो । तर, उनीहरुको अनुरोधलाई सम्मान गर्ने आन्तरिक लोकतन्त्र र पार्टी सभापतिको भूमिकाको चाहिँ बखान गर्नै परेन । निर्णय  भन्छौ त ? जोरी खोज्छौ त ? भनेजस्तो देखिएकै छ । 

युवाले यस्तै प्रकारको जमर्को यसअघि पनि गरेका थिए । त्यसबेला यही समूहका एक प्रभावशालीले आफूहरुको प्रयासलाई सघाउन फोन गरेको सम्झना छ । अहिले भावना के छ थाहा छैन, भरोसा र असल उनी आज  दिइएको गुरु गम्भीर पदीय दायित्वमा छन्, स्वाभाविक हो । यसपछि त्यो समूह धेरै दिन टिकेन टुट्यो, निस्क्रिय बन्यो । उनका प्रतिको भरोसा किन यतिबेलै टुट्न सक्दैन भने त्यो भरोसा उनैले आर्जन गरेका हुन् । दायित्वको यात्रा र भरोसालाई सँगै लानसक्नेहरु पनि हुन्छन् । समाजको भरोसा सायद् यहींनेर अडिएको पनि हुन्छ । अहिले देखिएको समूह पुनः त्यस्तै निस्क्रिय वा निष्प्रभावी र क्षणिक वा भत्काइने खालको नहोस् भन्ने चाहिं छ । 

नेपाली राजनीति घृणाले भरिएको छ । त्यसको नकारात्मक चाङमा खोज्दा सकारात्मक अवशेष भेटिन इतिहासबाहेक वर्तमानमा मुस्किल पर्ने भएको छ । यस्तो बेला समाजले हेर्ने पुस्तान्तरित सम्भावित नेतृत्वप्रति नै हो । नेपाली कांग्रेसमा भनिने युवा नेता वा युवापंक्ति र मताधिकार भएका अग्रजहरुले पनि यही परिवेश र चुनौतीबीच विकल्प खोज्ने हो, रोज्ने हो वा दिने हो । भावी नेतृत्वले विचारको, गतिको र आन्तरिक लोकतन्त्रको चरित्र पुनः बसाओस्, अहिले खोज्ने र रोज्ने यही हो । अन्यथा कांग्रेस, कांग्रेस नै होस् भन्नेहरु पछुतो हात लाग्ने कुरामा ढुक्क भए हुन्छ । 

निश्चय पनि अबको कांग्रेस नेतृत्व दोस्रो पुस्ताको उपल्लो प्रौढमा सर्ने छ, सर्नुपर्छ । यसपटकलाई युवा नेतृत्वले महामन्त्रीदेखि विभिन्न पद र सदस्यहरुमा व्यापक उपस्थिति जनाउनुपर्छ । यो सहज र स्वाभाविक छ । सभापतिमा पुग्ने प्रौढले पनि त्यही युवा जमातलाई समेट्नुपर्छ, प्रेरित गर्ने र उदारता साथ, सहयोग दिनुलिनुपर्छ । यसको अर्थ अग्रजलाई उपेक्षा गर्ने भन्ने होइन । उनीहरुको स्थान, मान पनि सुनिश्चित गरिनुपर्छ । पार्टी संगठन सबै उमेर, योगदान र अनुभवको समष्टी सञ्चालन हो । सक्रियहरुको मात्रै होइन, शुभेच्छुकहरुको पनि सहभागी हुने स्थान, सम्मान र भरोसा संगठनले दिनुपर्छ,उनीहरुको सहयोग बटुल्नुपर्छ । 

नेपाली कांग्रेसको अग्रज पुस्तामा पछिल्लो तत्कालीन सभापति एवं प्रधानमन्त्री सुशील कोइरालासम्मले इमान, चरित्र र विवेकको राजनीति बचाउनु भयो । उहाँले बनाउन चाहेको पार्टी विभागहरु अहिलेका सभापति, त्यतिबेला वरिष्ठ केन्द्रीय सदस्य शेरबहादुर देउवाको विरोधपछि स्थगन गरिएको घटना स्मरणले पनि धेरै कुरा बुझाउँछ । आन्तरिक लोकतन्त्रको मर्यादा र साथीको कुरा सुन्ने सभापति सुशील  कोइराला नै कांग्रेस इतिहासमा अन्तिम नेतृत्व हो त ? 

युवा नेता संकट वा महाधिवेशनको मौसममा खोजिने उदाहरण यतिबेला सरकारी नेकपामा पनि छरपस्ट छ । नेकपाभित्र प्राप्तिको द्वन्द्वमा रहेका दुवै पक्षले बहुमत युवा कार्यकर्तालाई आफूतिर तान्न साम, दाम, दण्ड, भेद अपनाएको सबैको जानकारीमा पुगेकोले थप चर्चा आवश्यक रहेन । युवाले विवेक र विचारमाथि लोभको शासन चल्न दिनु भएन । 

युवा नेतृत्वको खोजी मौसमीजस्तै छ । यसमा युवाले सम्भावना त देखाए तर त्यही अनुकूल निरन्तर निर्णायक रहने प्रयत्न गरेनन् । हिँडेको विचारलाई सान्दर्भिक र सामूहिक चिन्तन वा व्याख्या दिएनन् र सकेनन् । यही कारण समाजले उनीहरुको मौसमअनुसार खोजी गर्ने बानी बस्यो । संकटको मौसममा नेताले खोज्ने भए । भोक जाग्नु भोजन पाउन हो, युवा भोक जागिरहनु पर्यो, मौसमी फलमात्र हुनुभएन । अन्त्यमा जन्म दिन पनि हो, इमानका अन्तिम राजनेता सुशील कोइरालाको । उनै युवाको प्रेरणा बनून्, राजनीति सुध्रियोस्, नेपाली कांग्रेस बचोस् । कोइरालाप्रति हार्दिक श्रद्धाञ्जलि !           
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २९, २०७७  १२:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC