काठमाडौं । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले परम्परागत मौलिक लोक बाजालाई पाठ्यक्रममै राख्नका लागि पहल थाल्ने भएको छ । चालु आर्थिक वर्षमा पाठ्य सामग्री तयार पारेर पाठ्यक्रममै राख्न पाठ्यक्रम विकास केन्द्रसँग पहल गर्ने प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ (रायन) ले अहिले प्रतिष्ठानले विद्यार्थी तथा गीत-संगीतसँग सम्बन्धित सबैलाई हुने गरी पाठ्यसामग्री तयार पारिरहेको र त्यसपछि पाठ्यक्रममा राख्न पहल थाल्ने बताए । अहिलेसम्म लोकबाजासँग सम्बन्धित पाठ्य सामग्री नरहेकाले प्रतिष्ठानले चालु आर्थिक वर्षभित्र सक्ने गरी पाठ्य सामग्री तयार पार्ने योजना रहेको कुलपति श्रेष्ठले जानकारी दिए ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संगीत विभाग प्रमुख अशोक राईको संयोजकत्वमा गठित १८ सदस्यीय समितिले एक वर्षमा पाठ्य सामग्री तयार पार्नेछ । राईले पाठ्य सामग्री तयार पारेपछि पाठ्यक्रममा राख्नका लागि पहल गर्न थप सहज हुने बताए ।
हाल सरकारी पाठ्यक्रममा लोकगीत तथा परम्परागत मौलिक बाजासँग सम्बन्धित कुनै पनि सामग्री पढाइँदैन । नेपालकै मौलिक लोकगीत तथा बाजागाजा आजसम्म समावेश नहुनु दुखद् पक्ष भएको भन्दै कुलपति श्रेष्ठले यसैलाई मध्यनजर गर्दै प्रतिष्ठान अगाडि बढेको बताए ।
अहिले भएका पाठ्यसामग्री पनि आधारभूत ज्ञानका लागि मात्रै भएको भन्दै थप र पूर्ण जानकारीका लागि पाठ्यपुस्तक अभाव रहेको संगीत विभाग प्रमुख राई बताउँछन् । “विद्यार्थी तथा लोकगीतसंगीतमा लागेका तथा लाग्न चहानेका लागि स्तरवृद्धि गर्न थप सहज होस् भन्ने हाम्रो चहाना हो,” राईले भने ।
पछिल्लो समय निजी विद्यालय (बोर्डिङ स्कुल) ले गीतसंगीत अध्यापन गराउँदै आए पनि ति विद्यालयले हिन्दुस्तानी संगीत मात्रै सिकाउँदै आएको राई बताउँछन् । हिन्दुस्तानी शास्त्रीय संगीत पढाइ भए पनि आफ्नै देशका गीत-संगीत र बाजागाजा आझेलमा परेको उनको भनाइ छ ।
निजी विद्यालय र इन्स्टिच्युटहरूमा शास्त्रीय संगीत पढ्न पाइने भए पनि लोकबाजा र लोकगीतबारे पढ्न नपाइने भएकाले पाठ्यक्रममा समावेश गर्नुको विकल्प नरहेको उनले बताए ।
“नेपालमा रहेका विभिन्न लोकगीत, त्यसको इतिहास, उत्पत्ति, परिभाषा, कुन समुदाय र क्षेत्रको संगीत हो समावेश गरिनेछ । लोकबाजाहरूबारे जानकारी दिँदै बजाउने तरिका पनि सिकाइने गरि पाठ्य सामग्री तयार पारिनेछ,” संगीत विभाग प्रमुख राई भन्छन्, “टुङ्ना, सारङ्गी, सहनाई, खैंजडी, मादल, च्याब्रुङ, डम्फू, ढोल, मुरली, बाँसुरी, मुर्चुङ्गा, बिनायोजस्ता मौलिक र परम्परागत नेपाली लोकबाजाको सैद्धान्तिक र व्यावहारिक ज्ञानको आवश्यकता पाठ्यसामग्रीले पूरा गर्नेछ ।”
पाठ्यपुस्तकले नेपालमा लोकबाजाका दक्ष वाद्यवादक उत्पादन गर्न, लोकबाजाको आर्केस्ट्रा तयार पार्न र सांगीतिक क्षेत्रमा रोजगारी सिर्जना गर्नसमेत सहयोग पुर्याउने कुलपति श्रेष्ठको भनाइ छ ।
संगीतकार दीपक जंगम सरकारले सांगीतिक क्षेत्रलाई गम्भीर रुपमा नलिएको बताउँछन् । आठ/दशजनाले सांगीतिक क्षेत्रको आम्दानीबाट जीवन चलाउँदैमा सांगीतिक क्षेत्र व्यावसायिक भयो भन्न नमिल्ने भन्दै उनी सरकारले सांगीतिक क्षेत्रलाई गम्भीर रुपमा नलिएको जंगमको भनाइ छ ।
नेपालमा हालसम्म त्रिभुवन विश्वविद्यालयमा तीनवटा कलेजमा मात्रै संगीत पढाइ हुन्छ । रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर), पद्यकन्या कलेज र ललितकला कलेजमा मात्रै संगीतको अध्यापन हुन्छ । यी तीनवटै कलेज काठमाडौंभित्र छन् । काठमाडौंबाहिर रहेका विद्यार्थीले चाहेर पनि संगीत पढ्न पाउँदैनन् ।
“अहिलेसम्म करिब एक सयजनाले संगीतमा मास्टर्स गरिसकेका छन् । तर उनीहरूलाई व्यवस्थापन गर्न सरकारले के गर्यो ? संगीतमा स्नातकोत्तर गरेको जनशक्ति पनि बेरोजगार हुनुपरेको छ,” उनी भन्छन्, “काठमाडौंबाहिर संगीतको शिक्षा विस्तार नगर्नु, कलेजमा पनि रिक्त दरबन्दी पूर्ति नगर्नुले सांगीतिक क्षेत्रमा सरकार उदासिन छ भन्ने हो ।”
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले सरकारले लोकगीत तथा बाजाको संरक्षण तथा संवर्द्धनमा काम नगरेको बताउँदै आएको छ । प्रतिष्ठानका अध्यक्ष रमेश बीजी संगीतको विकासका लागि गठन भएको एकडेमी जागिर खाने थलो मात्रै भएको टिप्पणी गर्छन् । “एकेडेमीले लोकगीत-संगीतको विकासका लागि त काम गरेन नै बजारमा लोकगीतका नाममा विकृति फैलिँदा पनि बोल्दैन,” अध्यक्ष बीजी भन्छन्, “हाम्रै लोक संस्कृति विनाश भइरहेको छ । तर सरकार नजरअन्दाज गरेर बसिरहेको छ ।”