कोभिड–१९ सुरु हुनुअघि संसारमा व्यापारिक भ्रमण (बिजनेस ट्राभल) करिब १५ खर्ब डलर बराबर थियो जुन विश्वको कुल गार्हस्थ्य उत्पादनको १.७ प्रतिशत थियो । अहिले यो घटेर शुन्यप्रायः अवस्थामा पुगेको छ । किनभने देशहरूले आआफ्ना सीमा नाका बन्द गरे र भौतिकरुपमा सामाजिक दूरी कायम भयो । जहाज सबै थन्किए, होटल बन्द भए र धेरै उडेर प्राप्त गर्ने माइलेज बिलायो । तर, माथि भनिए जतिमात्र नोक्सान भएको भए यसको प्रभाव जति नै ठूलो भए पनि अन्तर्राष्ट्रिय पर्यटनमा परेको प्रभावको आधारमा निकै कम हुनेथियो र महाव्याधिको अन्त्यपछि फेरि उकास्न सकिन्थो ।
दुःखका साथ भन्नुपर्छ, हालै गरिएको एक शोध (जसमा मसहित हार्वर्ड विश्वविद्यालयका फ्र्यान्क नेफ्के तथा कोपनहेगन आईटी विश्वविद्यालयकी मिसेल कोसिकाले काम गरेका छन्) ले देखाएअनुसार व्यापारिक भ्रमण बन्द गर्नाले अर्थतन्त्रमा निकै नै गहिरो र दिगो असर पर्ने देखिन्छ । उक्त शोध पिएर रभ्यु जर्नल ‘नेचर ह्युमन बिहेभिएर’मा आउँदै छ । किन यस्तो असर पर्छ त? भन्ने प्रश्न गर्नु पहिले बिजनेस ट्राभल कति व्यापक थियो भने विश्वको कुल गार्हस्थ्य उत्पादनको वृद्धिको तुलनामा यो तीन गुणाको दरले बढ्दै थियो भन्ने बुझ्न जरुरी हुन्छ । त्यसबेला पनि स्काइप, फेसटाइम, ह्वाट्सएप, इमेल भने थिए जुन कोभिड–१९ र जुमभन्दा अघिदेखि नै अस्तित्व रहेका थिए ।
के १५ अर्ब डलर खर्चका लागि गरिएको खर्चमात्र थियो वा यसको समुचित प्रयोग भएको थियो ? अब यो पैसाले गरिने काम कारवाही रोकिएपश्चात् त्यसको प्रभाव कुन क्षेत्रमा र कसरी पर्ला ?
कुनै समय हामी प्रविधिको विस्तारको कुरा गर्दै थियौँ । हाम्रो तर्क थियो प्रविधि भनेको मुख्यतः तीन प्रकारका ज्ञान हुन्ः साधनमा अन्तर्निहित ज्ञान; सांकेतिक भाषामा रहेको संकेत (कोड्स), विधि, सूत्र, ‘अल्गोरिदम’ तथा कसरी चलाउने भन्ने निर्देशिका तथा मस्तिष्कमा निहित ज्ञान । यी तीनमध्ये साधन र संकेत सहजै परिचालित हुनसक्छन्, तर अनुभवको ज्ञान एउटा मस्तिष्कले नक्कल गर्दै सिक्न निकै समय लाग्छ । हामीसहित धेरै अध्येताले कंपनी–कंपनीबीचमा वा क्षेत्रक्षेत्रमा र देशदेशमा अनुभवको आदानप्रदान, कामदारको स्थानान्तरण, प्रवासन तथा विदेशी भूमी सम्बन्धमा धेरै काम गरेका छौँ ।
के व्यापारिक भ्रमणको विषयमा पनि अध्ययन भएका छन् त ? हाम्रो अघिल्लो एक अध्ययनमा हामीले यो विषय व्यापारसँग केही सम्बन्धित र नयाँ आउने वैदेशिक लगानीसँग अलि सम्बन्धित देखाएको थियौँ । तर, यो सम्बन्ध अलिकति वा केही मात्रामा नभई बढी नै सम्बन्धित देखियो । मुख्यरूपमा एउटा देशमा उत्पादन वा कार्यालय हुने र अर्को देशको संस्थाले चलाउने कंपनीहरू माझमा ।
डन तथा ब्राडस्ट्रिट नामक संस्थाका अनुसार एक देशमा कंपनी र अर्को देशमा संचालक हुने करिब डेढ लाख संस्था छन् । कुनै पनि व्यापारिक फर्म चलाउन सूचनाले मात्र पुग्दैन । यसका लागि अवस्था जान्न सक्ने क्षमता पनि चाहिन्छ । साथै अनुभव र सीप पनि चाहिन्छ । बहुराष्ट्रिय कम्पनी र ग्लोबल कन्सल्टिङ फर्मलाई फाइदा के छ भने यिनले आफ्नो क्षमता र अनुभव चाहिएको समयमा चाहिएको कुनामा पुर्याउन सक्छन् ।
हामीलाई मास्टर कार्डको समावेशी विकास केन्द्रले उपलब्ध गराएको तथ्यांकका आधारमा हेर्दा व्यापारिक भ्रमणले प्रविधिको फैलावट गर्ने र अनुभवबाट सिक्ने कुरालाई प्रापक देशसम्म पुर्याउन भूमिका खेल्ने देखिन्छ । कुनै उद्योग विशेषमा विकसित देशबाट व्यापारिक भ्रमण भएको खण्डमा तीन वर्षभित्र अर्को देशमा उत्पादकत्व, निर्यात तथा रोजगारी बढ्ने देखिएको छ । अझ भन्नुपर्दा दुई देशबीचका आपसी सम्बन्धका कारणले व्यापारिक भ्रमण पनि फरक फरक प्रकारको देखिन्छ । यो तथ्य मनन गर्दा उत्पादन, निर्यातजस्ता विषयसँग व्यापारिक भ्रमणको सम–सम्बन्ध (कोरिलेशन) भन्दा कारक सम्बन्ध (कजल लिन्क) देखिन्छ ।
व्यापारिक भ्रमणको कारणले माथि उल्लेखित फाइदा धेरै उठाउने देशमा अस्ट्रिया, आयरल्यान्ड, स्विजरल्यान्ड, डेनमार्क, बेल्जियम, हंगकंग तथा सिङ्गापुर देखिन्छन् । यस्तो सूचीको माथिल्लो २५ स्थानमा कुनै विकासशील देश छैनन् । तर, पनि अघिल्लो स्थानमा देखिएका विकासशील देशमा पनामा, उरुग्वे, सर्विया, मलेसिया, द. अफ्रिका तथा चिले छन् । त्यस्तै एकदमै धेरै ‘नलेज ट्रान्सफर’ गर्ने देशमा जर्मनी, क्यानडा, अमेरिका, बेलायत, द. कोरिया, फ्रान्स तथा जापान छन् । भारत, ब्राजिल तथा चीन क्रमशः १२ औं, १५ औं तथा १७ औं स्थानमा देखिएका छन् ।
हाम्रो अनुमानको आधारमा व्यापारिक भ्रमण पूर्णरुपमा बन्द हुने हो भने विश्वको कुल गार्हस्थ उत्पादनमा १७ प्रतिशतको नकारात्मक असर गर्नेछ । अर्थात्, १.७ प्रतिशतको मात्र लगानी भएको क्षेत्रले विश्व अर्थतन्त्रमा यति ठूलो असर पार्ने संभावना देखिएको छ । यस अवस्थामा जसले ज्ञान र प्रविधि ग्रहण गरिरहेका थिए ती देश सबैभन्दा बढी प्रभावित हुनेछन् ।
कोभिड –१९ पूर्वको संसार यसरी ज्ञान र सीपको प्रवाहमा निर्भर थियो । जुन अर्थतन्त्र यस प्रकारको संरचनाको फाइदा लिइरहेको थियो तिनको उत्पादकत्व, उत्पादन तथा निर्यातमा निकै फाइदा भएको थियो । विकासशील देशमध्ये धेरै यो सुविधाको बाहिरी वृत्तमा मात्रै थिए । तथापि, तिनले यो प्रकारको सेवाबाट जे पाए त्यसले उनीहरूको आर्थिक विविधता तथा विकासमा धेरै महत्त्वपूर्ण भूमिका खेलेको छ ।
मलगायत धेरै व्यक्तिको विचारमा व्यापारिक भ्रमणमा जानुपर्ने व्यक्ति जुमको प्रयोगमार्फत घरबाटै बैठक गरेर पनि त्यत्तिकै उत्पादनशील हुन सक्छन् । तर, यो छोटो समयका लागि एक अदूरदर्शी सोच हो जसको प्रभाव कामको प्रकृतिअनुसार फरक पर्छन् । अन्तर्राष्ट्रिय मुद्रा कोषले धेरै देशमा वित्तीय सहयोग पु¥याउनका लागि वेबेक्स र वायर ट्रान्सफर प्रयोग गरेर डेस्कबाटै आफ्ना काम सफल बनायो । तर विकास बैंकलाई आधारभूत संरचनाका प्रोजेक्टमा सहयोग गर्न त्यति सजिलो भएन । किनभने यस्तो प्रोजेक्टमा भौतिक उपस्थिति महत्त्वपूर्ण हुन्छ । अन्तर्राष्ट्रिय स्रोत व्यक्तिसँग भौतिक उपस्थितिमै सिक्नुपर्ने ज्ञान नपाएपछि संरचना निर्माण, मेसिनरी मर्मत तथा काम कारबाही कसरी सहज बनाउने भन्ने विषयमा समस्या देखिए ।
हाम्रो शोधले भन्छ व्यापारिक भ्रमण रोकिएको कारणले विश्वले धेरै मूल्य चुकाउनुपर्नेछ । यसको प्रभाव संकटपछिको विश्वमा घटेको उत्पादकत्व, बृद्धिदर, रोजगारी तथा उत्पादनबाट देखिनेछ । गएको समय पुनः प्राप्त गर्न सकिदैँन । त्यसैले अहिलेसम्म व्यापारिक भ्रमण नहुनुले गरेको घाटा पूर्ति हुँदैन चाहे भविष्यमा यस्तो भ्रमण पुनः सुरु नै किन नहोस् ? यद्यपि, अहिले भ्रमणमा लागेको रोक नकार्न सकिँदैन । किनभने जनस्वास्थ्यमा यसको ठूलो प्रभाव पर्नसक्छ । तर, सँगसँगै यसले गराएको घाटा पनि कटु सत्य हो ।
खोपको विकास तथा हवाई यात्रा–भ्रमण सुरु गर्न चाहिने प्रमाणीकरणमा खर्च गर्न ढिलाइ गर्दै गयौँ भने यस्तो घाटा अझ बढ्दै जान्छ । अनि कोभिड–१९को बहानामा भिसाको मामलामा कडाइ गर्ने देशहरूले ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले व्यावसायिक भिसामा रोक लगाउन कोसिस गरेर यो गल्ती गरिसकेको छ । साथै विदेशी विद्यार्थीलाई क्याम्पस नखुल्ने भएमा भिसा नदिने पनि निर्णय गरेको छ ।
केही व्यापारिक भ्रमणहरू अब नयाँ प्रविधि र जुमको आगमनले जरुरी नभएको देखिन सक्छ । तर, हाम्रो अध्ययनले भन्छ विज्ञले आफ्नो अनुभव र सीप भौतिकरुपमा उपस्थित भएर प्रत्र्यापण गर्ने विषय कोभिड –१९ अघि जति महत्त्वपूर्ण थियो यसपछि पनि उत्तिकै हुनेछ । अनि, व्यापारिक भ्रमण कम गरेर हुने आर्थिक घाटाको प्रभाव पनि लामै समय पर्नेछ ।
(भेनेजुएलाका पूर्वमन्त्री, अन्तर अमेरिकी विकास बैंकका प्रमुख अर्थशास्त्री तथा हार्वर्ड विश्वविद्यालयका प्राध्यापक)
(बाह्रखरी र प्रोजेक्ट सिन्डिकेटको सहकार्य )
Copyright: Project Syndicate, 2020.